Comments Add Comment

‘डाक्टर’ अर्थमन्त्री तर, अर्थतन्त्र चाहिँ किन बिरामी ?

२७ मंसिर, काठमाडौं । दुईतिहाई बहुमतको सरकार, मिहीन ढंगले अर्थतन्त्र बुझेका अर्थमन्त्री, उनको ‘व्यवसायिक’ काम गराई र अब्बल गनिएका कर्मचारीको टिमले चलाएको अर्थ मन्त्रालय । अर्थतन्त्र चाहीँ बिरामी ? अर्थमन्त्री डा. युवराज खतिवडा स्वयम्ले स्वीकार गरेका छन् कि अर्थतन्त्र विरामी छ ।

तर, उनको तर्क छ–यो बच्चालाई दाँत निस्कने बेलामा आएको ज्वरो जस्तै हो, केही समयमै निको हुन्छ ।’

अर्थविदहरुले भने यसलाई विद्वान अर्थमन्त्रीको हल्का टिप्पणीका रुपमा लिएका छन् । अर्थविद् डा. अच्युत वाग्ले अर्थमन्त्रीले अर्थतन्त्रको गम्भीर अवस्थालाई हल्का रुपमा लिएको बताउँछन् । हुन पनि तथ्यांकहरुले स्पष्ट देखाइरहकै छन्–रेमिट्यान्स आप्रवाह र मूल्य वद्धिदरबाहेक अर्थतन्त्रका कुनै सूचक सकारात्मक छैनन् ।

अर्थमन्त्रीको तर्क मान्ने हो भने अब अर्थतन्त्र फैलने अवस्थाको नजिक छ, विकासको चरणमा प्रवेश गर्ने समयमा यस्ता समस्या देखिन्छन् । तर, अर्थविदहरु यसलाई अर्थमन्त्रीको ‘प्रतीरक्षा’ मान्छन् । किनभने अर्थतन्त्र निकै खराब अवस्थामा पुगिसकेको छ ।

पूर्व गभर्नर  दिपेन्द्रबहादुर क्षेत्री मूल्यवृद्धि ५ प्रतिशतको सीमा भित्रै रहनुलाई सकारात्मक मान्छन् ।

तर, पेट्रोलियम पदार्थ र अटोमोबाइलको उच्च आयात निन्त्रण गर्नेतर्फ ध्यान नदिँदा ब्यापार घाटा चुलिँदै गएर अर्थतन्त्र पुरै ओरालो लागेको उनी बताउँछन् ।

क्षेत्रीका अनुसार, काकदारको तलव बढ्यो, विभिन्न कारणले उत्पादन महंगियो तर, उत्पादकत्व जहाँको त्यहीँ रह्यो । ‘आन्तरिक उत्पादन नबढी अपेक्षा मात्रै गरेर अर्थतन्त्र सुध्रिदैन’ उनले भने, ‘त्यसका लागि स्पष्ट योजना र नीतिहहरुको कार्यान्वयन चाहिन्छ ।’

बढ्दै शोधनान्तर घाटा

देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति) यो वर्षको सुरुबाटै घाटामा छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड करोड रुपैयाँ छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर ४ अर्ब २७ करोड रुपैयाँ बचतको स्थितिमा थियो ।

भुक्तानी सन्तुलनको स्थिति ऋणात्मक हुनु भनेको मुलुकले आम्दानीभन्दा खर्च बढी गर्नु हो । आर्थिक वर्ष २०६७/०६८ को १० महिना शोधनान्तर घाटामा थियो । गतवर्ष यही समस्या थियो । त्यसकै आधारमा अर्थमन्त्रीले जारी गरेको श्वेतपत्रमा देशको ढुकुटी रित्तिएको उल्लेख थियो । अवस्था अहिले पनि त्यस्तै जर्जर छ ।

अर्थमन्त्रालयका अधिकारीहरु वस्तु आयातमा उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा बढेको बताउँछन् । यसैको असर शोधनान्तरमा पनि परेको उनीहरुको तर्क छ । कात्तिकसम्म चालु खाता घाटा ८२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो २५ अर्ब ५२ करोड थियो ।

‘बेलुनजस्तै रेमिट्यान्स’

अर्थतन्त्रलाई राहत दिने एउटै सूचक बनेको छ, रेमिट्यान्स । असोजसम्म रेमिट्यान्स आप्रवाह ३७.३ प्रतिशतले वृद्धि भएको छ, जसले अर्थतन्त्रलाई डामाडोल हुनबाट रोकेको छ ।

अर्थशास्त्रीहरु रेमिट्यान्सको यो वृद्धिलाई डलरको भाउ आकाशिनुको परिणाम मान्छन् । डलरको मूल्य बढेपछि विदेशबाट रेमिट्यान्स पठाउने क्रम तीव्र भएको छ । किनभने डलरको भाउ बढेको बेला सापटी गरेर पनि पैसा पठाउँछन् ।

तर, रेमिट्यान्स वृद्धिमा अहिले देखिएको गति लामो समय नरहने अर्थविद्हरुको अनुमान छ । किनभने वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य कमी आएको छ ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा यो संख्या २.६ प्रतिशतले मात्र घटेको थियो ।

राष्ट्र बैंकका एक अधिकारी रेमिट्यान्स वृद्धिदरमा हावा एक–दुई महिनापछि नै फुस्किन थाल्ने बताउँछन् ।

कमजोर सञ्चिती, बढ्दो मूल्यवृद्धि

विदेशी विनमियको सञ्चिती पनि राम्रो अवस्थामा छैन । अहिले कुल विदेशी विनिमय सञ्चिती ११ खर्ब २० अर्ब ९२ करोड छ । अमेरिकी डलरको सञ्चिति ९ अर्ब ५६ करोड रहेको छ । विदेशी विनिमय सञ्चितीले ७.९ महिनाको वस्तु तथा सेवा मात्र आयात धान्न सक्छ । राष्ट्रबैंकका अधिकारी कम्तिमा ८ महिना आयात धान्ने सञ्चिती हुनुलाई निकै खराब सूचक भएको स्वीकार्छन् ।

मूल्यवृद्विदर नियन्त्रणमै देखिए पनि गतवर्षको भन्दा बढी छ । गत असोजमा उपभोक्ता मूल्यवृद्धि ४.७ प्रतिशत रहेको राष्ट्र बैंककै प्रतिवेदनले देखाउँछ । २०७४ असोजमा यो दर ३.१ प्रतिशत मात्र थियो ।

खासगरी, खाद्यान्न, तरकारी, माछामासु र पेय पदार्थको भाउ र घरभाडा बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको हो ।

अनियन्त्रित ब्यापार घाटा

बढ्दो आयातले ब्यापार घाटा उच्च बनाउँदै लगेको छ । असोजसम्म वस्तु आयात ४३.६ प्रतिशतले बढेर ३ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा आयात १७.९ प्रतिशतले बढेको छ । भारतबाट ४०.८ प्रतिशत, चीनबाट ४५.९ प्रतिशत र अन्य मुलुकबाट ५०.५ प्रतिशत आयात बढेको छ ।

पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूजा, एम.एस. बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात पनि बढेको छ ।

अर्थमन्त्री डा. खतिवडाले मेसिनरी आयातको बढोत्तरीलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै आएका छन् । यस्तो आयातले अर्थतन्त्रमा उत्पादशनीलता बढाएर अर्थतन्त्रमा दिर्घकालीन फाइदा पुर्‍याउने उनको भनाइ छ ।

कुल वस्तु निर्यात भने पछिल्लो तीन महिनामा १६.१ प्रतिशतले बढेर २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिको निर्यात वृद्धि ८.१ प्रतिशत थियो ।

कमजोर विकास खर्च

दुई तिहाई बहुमतको शक्तिशाली सरकारले विकास बजेट खर्चको दर बढाउन सकेको छैन । साधारण खर्च भने बढेको बढ्यै छ । यसले अर्थतन्त्रका सूचकहरुमा नकारात्मक प्रभावहरु पारिरहेको छ ।

२० मंसिरसम्म जम्मा ११ प्रतिशत विकास खर्च भएको छ । सरकारले साढेचार महिनामा विकास आयोजनामा ३४ अर्ब मात्र खर्च गर्न सकेको छ । यो अवधिको चालु खर्च भने २७ प्रतिशत (२ खर्ब २९ अर्ब रुपैंयाँ) छ । सरकारले यो अवधिमा ३ खर्ब ३१ अर्ब राजश्व संकलन र २ खर्ब ८० अर्ब कुल खर्च गरेको छ ।

सरकारका विकासे अड्डाहरु गतिहिन छन् । वर्षभर हात बाँधेर बसेका तिनका हाकिमहरु बल्ल टेन्डर डकुमेन्टको खेस्रो कोर्दैछन् । यसबाट फेरि पनि असारकै हिलोमा विकास बजेट खनिने र आर्थिक अनियमितता मौलाउने खतरा देखिएको छ ।

विकास बजेट बढाउन सरकारले न सार्वजनिक खरिद ऐनका झन्झट फुकाउन चाहेको छ न त निर्माण व्यवसायीहरुलाई जिम्मेवार बनाउने पहल थालेको छ ।

तरलतामा चाप

विकास खर्च हुन नसक्दा तरलतामा चाप परेको छ । प्रणालीमा राज्यको अर्बौं रकम चाङ लाग्दा लगानीयोग्य पुँजीको अभाव चर्किएको छ । करिब ५ खर्ब ऋण मागिएको फाइल बैंकहरुमा पेश भएका छन् तर, बैंकहरुसँग ऋण दिने रकम अभाव छ ।

यही कारण बैंकहरुबीच बचतमा दिने ब्याजदरमा होडबाजी चलेको छ । त्यसको असर कर्जाको ब्याजदरमा पनि परेको छ । ब्याजदर अनियन्त्रित हुँदा अर्थतन्त्रका धेरै अवयवले राम्रोसँग काम गर्न सक्दैनन् । आर्थिक तथा व्यवसायिक गतिविधिमा परेको असरले अर्थतन्त्रमा नराम्रो छाप छाड्दै गएको छ । यो अवस्थामा वैदेशिक लगानीको प्रतिवद्धता पनि कमजोर देखिएको छ ।

घट्दो वैदेशिक लगानी

यो आर्थिक वर्षको पहिलो ४ महिनामै वैदेशिक लगानीको प्रतिवद्धता २७ प्रतिशत घटेको छ । कात्तिकसम्म ६ अर्ब ४८ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । गतवर्ष यही अवधिमा ९ अर्ब ३७ लाख वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

मुख्य क्षेत्र मानिने कृषि र वनमा लगानीको प्रतिवद्धता ९६ प्रतिशत घटेको छ । त्यस्तै, उत्पादनमूलक उद्योगमा २९ प्रतिशतले प्रतिबद्धता रकम घटेको छ । जबकी राजनीतिक स्थिरतासँगै वैदेशिक लगानी ह्वात्तै बढ्ने सरकारको दाबी थियो ।

सरकारले विदेशी बैंकबाट ऋण ल्याउन खुला गरेपनि बैंकहरुले रकम ल्याउन सकेका छैनन् । समग्रमा यो सरकारले लगानीकर्ताहरुलाई विश्वस्त पार्न सकेको छैन ।

संकटमा सेयर बजार

पछिल्लो समय सेयर बजार पनि ओरलो लागेको लाग्यै छ । अनलाइन कारोबार प्रणाली शुरु भएकै दिनबाट सेयर बजार लगातार ओरालोमा छ । सेयर बजारका लगानीकर्ता अर्थमन्त्री र नेपाल स्टक एक्सचेञ्जप्रति आक्रोशित छन् । सेयर बजारलाई हेर्ने अर्थमन्त्री डा. खतिवडाको दृष्टिकोण र नेप्सेको लापरबाहीका कारण यो अवस्था आएको उनीहरुको आरोप छ ।

लगानीकर्ताको एउटा समूह गत आइतबारदेखि सेयर बजार सुधारको माग सहित रिले अनसनमा छ । उनीहरुले पुँजी बजार बुझेको अर्थमन्त्री नियुक्त हुनुपर्ने माग समेत अघि सारेको अवस्था छ ।

एक ताका सेयर बजारको आकारले १९ खर्ब नाघेको थियो, जुन यतिबेला १४ खर्बको हाराहारीमा खुम्चिएको छ । यती धेरै पुँजीकरण भएको बजार निरन्तर ओरालो लाग्नुले पनि अर्थतन्त्र कता जाँदैछ भन्ने प्रष्ट देखाएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

किन बिग्रँदैछ अर्थतन्त्र ?

अर्थशास्त्री अच्युत वाग्ले अर्थतन्त्र ओरालो लाग्नुको ३ वटा प्रमुख कारण देख्छन् । पहिलो– सरकारले निजी सम्पत्तिमाथिको अधिकार ‘अकुण्ठित’ रहने सुनिश्चतता नगर्नु । सँगै वैध नाफाको सम्मान नहुनु अर्थात् ‘उद्योगी–ब्यापारी फटाह हुन्’ भन्ने वातावरण बन्दै जानु । सरकारले सबैलाई एउटै डालोमा राखेर व्यवहार गर्नु ।

दोस्रो– लगानीकर्तालाई राजनीतिक नेतृत्वमाथि विश्वास नहुनु । आन्तरिक र बाह्य विकास साझेदार तथा दातृ निकायहरुमा सरकारले लगानी र विकास वातावरण बनाउँछ भन्ने विश्वास नपलाउनु ।

र तेस्रो– मुलुक संघीयतामा गएपनि सरकारमा आर्थिक विकास संघीयतामार्फत अघि बढाउने अठोट नदेखिनु ।

हुन पनि, केपी शर्मा ओली नेतृत्वको सरकार प्रदेश र स्थानीय तहलाई कानुनी, संरचनागत र प्रशाशनिक रुपमा कमजोर पारेर सिंहदरबारबाटै शासन लाद्न लागि परेको देखिन्छ ।

‘सिंहदबारको आदेशबाट सबथोक गर्ने नियतलाई सफा मान्न सकिन्न’ वाग्ले भन्छन्, ‘संघीयतालाई सफल बनाउनु छ र संघीय सरकार पनि सफल हुनु छ भने यी कुरामा ध्यान दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment