Comments Add Comment

स्वच्छन्दता त कम्युनिस्टभित्र देखिँदोरहेछ !

महासमिति बैठकमा जुटेको नेपाली कांग्रेसले राजनीतिक, आर्थिक र सांगठानिक विषयमा सघन छलफल गर्दैछ । तर, ‘फ्रायडवादी’ वीपी कोइरालालाई ‘महामानव’ बताउँदै आएको कांग्रेसभित्र सांस्कृतिक बहसचाहिँ खासै हुन सकेको छैन ।

यसै सन्दर्भमा हामीले कांग्रेस नेतृ डिला संग्रौलालाई प्रश्न सोध्यौं– ‘परस्त्रीगमन’ लाई छाड्न नसक्ने वीपी कोइरालाले महिलाहरुलाई दिएको न्यायचाहिँ के हो ?’

अनलाइनखबरको प्रश्नमा कांग्रेस नेतृ संग्रौलाले नेपाली कांग्रेस सामाजिक संस्कारयुक्त पार्टी भएको दाबी गरिन् । यौनको मामिलामा नेपाली कांग्रेस पार्टी कम्युनिस्टभन्दा बढ्ता अनुशासित रहेको उनको जिकिर छ ।

कम्युनिस्टहरुले जस्तो कार्यकर्तासँगै बिहे गर्ने र जनजाति कोटामा खस नेताकी श्रीमतीलाई संसदमा पठाउने चलन कांग्रेसमा नभएको उनले बताइन् ।

 

नेपाली कांग्रेसभित्र ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भन्ने संख्यात्मक कुरो त छँदैछ, तर, यहाँभित्र महिला नेता–कार्यकर्ताले इज्जत, सम्मान र स्वतन्त्रताको अनुभूतिचाहिँ कत्तिको गर्न पाइरहेका छन् ? महिला नेतृलाई पुरुषहरुसँग जोडेर ‘ब्याक बाइटिङ’ गर्ने रोग कांग्रेसभित्र कत्तिको छ ?

राजनीतिमा र सामाजिक क्षेत्रमा लागेका महिलाहरुलाई टीकाटिप्पणी गर्ने र अनेकसँग जोड्ने राम्रो प्रवृत्ति होइन । माथि पुगेका महिलाहरुलाई तल झार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । यो समस्या हरेक दलभित्र छ । कांग्रेसभित्र पनि छ ।

तपाईहरु यस्तो प्रवृत्तिविरुद्ध जुधिराख्नुभएको छ कि यसबारेमा पर्याप्त आवाज उठ्न सकिरहेको छैन ?

यो प्रवृत्ति छ । प्रायः म देश दौडाहामा जाँदाखेरि सहयात्रीचाहिँ महिला नेतालाई नै बनाउने गरेकी छु । यसले गर्दा मैले कमै झेल्नुपरेको छ । तर, धेरैले झेलेको मैले अनुभव गरेकी छु ।

तर, हरेक राजनीति र सामाजिक कार्यमा महिलाले पुरुषसँग र पुरुषले महिलासँग त हिँडडुल, उठबस त गर्नैपर्छ नि हैन र ?

वीपीको साहित्यमा कुनै कमेन्ट गर्न चाहन्न । म राजनीतिकर्मी भएको हुनाले वीपीको प्रजातान्त्रिक समाजवादको बाटोमा लागेर म कांग्रेसमा छु ।

सहकार्य त गर्नैपर्छ । राजनीतिमा लागेपछि सहकार्य नगरी पनि हुँदैन । बहस नगरी पनि हुँदैन । लबिङ नगरी पनि हुँदैन । सँगै हिँड्दैमा वा लबिङ गर्दैमा नाम जोड्ने प्रवृत्तिलाई चाहिँ हामीले समाप्त पार्नुपर्छ । यस्ता नचाहिने कुरालाई कतिपय मिडियाले पनि हाइलाइट गरिराखेका हुन्छन् । पत्रपत्रिकाले पनि टिप्पणी गर्छन् र राजनीतिक चरित्र हत्या गर्छन् । यस्तो हरेक क्षेत्रमा छ र राजनीतिमा पनि छ । यो राम्रो पक्ष होइन ।

खासगरी कम्युनिस्टहरुले नेपाली कांग्रेसभित्र यौन स्वच्छन्दता हुन्छ भन्ने गरेको सुनिन्छ । यसमा तपाई के भन्नुहुन्छ ?

आरोप मात्रै हो । स्वच्छन्दता भन्ने कुरा त कम्युनिस्टभित्र देखिँदोरहेछ क्या ! उनीहरुको ‘स्टेट म्यारिज’ हुन्छ । तिनै बन्दूक बोक्छन्, तिनै लड्छन्, तिनै बिहे गर्छन् । हामी कांग्रेस भनेको त एउटा संस्कार हो क्या ! संस्कार, संस्कृति, धर्म, रहनसहन, परिवेश र मूल्यमान्यतालाई अंगाल्ने पार्टी भनेकै कांग्रेस हो नि । कांग्रेस भनेको संस्कार हो । त्यसकारण हाम्रो समाज जसरी हुर्किइरहेको छ, हाम्रो संस्कृतिले जसरी महिलालाई महत्व दिएको छ, त्यसलाई मान्ने पार्टी हो क्या कांग्रेस भनेको ।

तर, वीपी कोइरालाको ‘लिटरेचर’ हेर्दाखेरि उहाँले तीनवटा कुरा छाड्न सकिनँ भन्नुभएको छ । एउटा– रक्सी छाड्न सकिनँ, अर्को– चुरोट छाड्न सकिनँ र तेस्रो, ‘परस्त्रीगमन’ छाड्न सकिनँ भन्नुभएको छ । तपाईहरु, नेपाली कांग्रेसमा लागेका महिलाले वीपी कोइरालाभित्र कहाँनेर न्याय भेट्नुहुन्छ ?

वीपी राजनीतिको शिखर पुरुष हुनुहुन्थ्यो । साहित्यमा पनि महिलाको स्वतन्त्रता, स्वच्छन्दताको पक्षधर हुनुहुन्थ्यो । साहित्यमा वीपीले आफ्नो अभिव्यक्ति गर्नुभएको छ । त्यो उहाँको व्यक्तिगत अभिव्यक्ति हो । कतिले त्यसलाई रुचाएका छन्, महिलालाई पनि स्वतन्त्रता, स्वच्छन्दता हुनुपर्‍यो भनेका छन् । कतिलेचाहिँ महिलाप्रतिको दृष्टिको रुपमा पनि लिएका छन् ।

साहित्यमा लेखकको भावनाप्रति म कुनै कमेन्ट गर्न चाहन्न । म राजनीतिकर्मी भएको हुनाले वीपीको प्रजातान्त्रिक समाजवादको बाटो लागेर म कांग्रेसमा छु ।

वीपीले जुन ‘बहुनिष्ट सेक्स’ को मान्यता अघि सार्नुभएको थियो, त्यो हाम्रो नेपाली समाज र परम्परासँग मेल खान्छ कि खाँदैन ?

मेल खाएको छैन । नेपाली कांग्रेस सामाजिक मूल्य मान्यताहरुको पक्षमा छ । कुनै पनि व्यक्तिले महिलामाथि हिंसा गर्छ भने त्यो मान्छे कांग्रेसको साधारण सदस्य पनि नरहने हाम्रो विधानमा व्यवस्था छ । दलितप्रति छुवाछुत गर्‍यो भने पनि ऊ साधारण सदस्य रहँदैन ।

नेपाली कांग्रेस विभेदको विरुद्धमा, असमानताको विरुद्धमा छ । नेपाली कांग्रेसले स्वतन्त्रताको पक्षमा, समानुपातिक र समावेशिताको पक्षमा लामो लडाइँ लडेको छ । त्यसैले सामाजिक मूल्य र मान्यताको विरुद्धमा गएर जसले महिलामाथि हिंसा गर्छ, कुदृष्टिले हेर्छ र समानताको भाव राख्दैन भने त्यो कांग्रेसको नेता होइन ।

नेपाली कांग्रेस ‘एकनिष्टता’ कै पक्षधर पार्टी हो ?

हो । बहुविवाहको पक्षमा कांग्रेस छैन । कसैले त्यसो गरेको छ भने त्यो कांग्रेसको नेता होइन । मेरो भनाइ त्यति नै हो ।

पछिल्लो चरणमा तपाईले मीटू अभियानलाई नेपालमा पनि बढावा दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहनुभएको सुनिन्छ । किन यस्तो भन्नुभएको ?

रस्मिला सिजापतिले खुलासा गरिन् । नेपालमा चाहे बुढी होस्, चाहे बच्चा, उनीहरुमाथि बलात्कार र हिंसाका घटना घटिरहेका छन् । अहिले निर्मला पन्तको न्यायका लागि जिल्लाहरुमा अभियान चलाएर म फर्किएकी छु । हामी राजनीतिमा लागेका छौं, सबै कुराहरु सहासिक ढंगले अगाडि लान्छौं । आफूलाई बचाएर जान्छौं ।

तर, नेपाली समाजभित्र यस्तो छ कि धेरै महिलाहरु दमन, शोषण र हिंसामा पीडित छन्, बाहिर उजागर गर्न सकेका छैनन् । यस्ता घटनाहरु ठूलो ठाउँमा पुगेको मान्छेले उजागर गर्‍यो भने हिंसा कम हुन्छ, बलात्कार कम हुन्छ । महिलालाई दबाउने र मानसिक यातना दिने प्रवृत्ति कम हुन्छ । त्यसैले यसलाई उजागर गरौं भनेर मैले बोलेकी पनि छु र लेखेकी पनि छु ।

तर, यसो गर्दा कांग्रेसकै ठूला नेताहरु पो पर्छन् कि ?

यो कुरा त मलाई थाहा छैन । को नेता पर्छ र को पर्दैन भन्ने हरेक सेक्टरमा छ । यसमा सानो, ठूलो भन्ने कुरै आउँदैन । एउटा पीडित पक्षचाहिँ पीडित भएको भयै हुने, उसले बोल्नै नमिल्ने, ठूला ठूला चाहिँ बच्दै जाने त कुरा होइन नि । यो त सानो ठूलोकै कुरा होइन ।

यो एक्काइशौं शताब्दीलाई हामी महिलाको शताब्दी भन्छौं । संविधानले पनि हामीलाई ३३ प्रतिशतको अधिकार दिइसक्यो । हरेक दलले पनि ३३ प्रतिशत र हाम्रो विधानमा पनि ३३ आइसक्यो । महिलालाई कसरी अगाडि लैजाने भन्ने एजेण्डा पनि हामी प्रस्तुत गर्छौं । त्यही महिलामाथि विभेद गर्न त भएन नि त । अर्को आँखाले हेर्न त भएन नि त ।

वीपीको ‘सेक्स फ्री’ देखि अहिलेको ‘मीटू अभियान’सम्म आइपुग्दा नेपाली कांग्रेसलाई सांस्कृतिक मामिलामा वीपीसँग जोडेर हेर्न मिल्छ कि मिल्दैन ?

सांस्कृतिक मामिलामा त्यसरी हेर्न भएन । यो मीटू अभियानलाई राजनीतिसँग जोडेर हेर्ने कुरा पनि होइन । यसलाई सामाजिक परिवेशले हेर्ने पनि होइन । यो अभियान जुन चल्यो, यो विद्यमान परिवेश अनुसार चलेको हो ।

अहिले निर्मला पन्तमाथि न्याय खोई त ? बलात्कार भइरहेको छ । सरकारले अपराधी पत्ता लाग्यो भन्यो, पत्ता लागेन । आखिरी के हो त तत्व ? ७० वर्षकी हजुरआमामाथि पनि बलात्कार हुने, दुई वर्षकी बच्चीमाथि पनि बलात्कार हुने भनेपछि यो के हो त ? यो त अचम्मको कुरा भयो नि त । त्यसैले यो विकृति हो । यो पाशविक प्रवृत्ति हो । यो प्रवृत्ति त सबैमा रहे छ नि । त्यसैले यसलाई निमिट्यान्न पार्न पनि मीटू अभियानले सहयोग पुर्‍याओस् । जो–जो दमन शोषणमा हुनुहुन्छ, ती घटनालाई उजागर गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment