Comments Add Comment

सिन्धुपाल्चोकका १३ हजार परिवार भूकम्प पीडितको घरमा खानेपानी

३ पुस, सिन्धुपाल्चोक । भूकम्पपछि जिल्लाका विभिन्न क्षेत्रमा क्षतीग्रस्त खानेपानी योजनाहरु निर्माण सम्पन्न पछि २३ योजनामार्फत १३ हजार घरपरिवारलाई शुद्ध खानेपानी वितरण गरिएको छ ।

भूकम्प पुनलाभ कार्यक्रम अन्तर्गत ग्लोबल अफेयरस क्यानडाको सहयोगमा अक्सफाम नेपालले सिन्धुपाल्चोक जिल्लाका स्थानीय गैरसरकारी संस्थामार्फत खानेपानी योजना मर्मत र नयाँ योजना सञ्चालनमा ल्याएको हो ।

जिल्लाका सहयोगी संस्थाहरु जनहित ग्रामीण सेवा समिति, ग्रामीण महिला सिर्जनशील परिवार र महिला आत्मनिर्भरता केन्द्रले खानेपानी योजना मर्मत र नयाँ योजना सुरुआत गरेका थिए ।

जुगल गाउँपालिका, चौतारा साँगाचोक गढी नगरपालिका, बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका विभिन्न वडाहरुमा ती संघ संस्थाहरुले खानेपानी र सरसफाइको क्षेत्रमा काम गरेका थिए ।

दुइवर्षको अवधिमा २३ योजनामार्फत २ हजार २८७ घरधुरीका १२ हजार ४४१ परिवारलाई खानेपानी वितरण गरिएको जनहित ग्रामीण सेवा समितिका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

यो अवधिमा जनहित ग्रामीण सेवा समितिमार्फत १२ योजनाका लागि कुल दुई करोड ७४ लाख ८ हजार ४५९ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै ग्रामीण महिला सिर्जनशील परिवारले ७ वटा योजनामा कुल एक करोड ८२ लाख दुई हजार खर्च गरेको थियो ।

महिला आत्मनिर्भरता केन्द्रले चार योजनामा एक करोड ५४ लाख ७२ हजार ८८४ रुपैयाँ खर्च गरेको कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिए ।

संघसंस्थाहरुले खानेपानीसँगै सरसफाइको क्षेत्रमा पनि काम गरेका थिए । कार्यक्रम सम्पन्न भएको जनहित ग्रामीण सेवा समितिका कार्यकारी प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । जनहित ग्रामीण सेवा समितिमार्फत ११ विद्यालयमा सरसफाइ र खानेपानीको काम भएका थिए ।

ग्रामीण महिला सिर्जनशील परिवारमार्फत दुई वटा विद्यालय र महिला आत्मनिर्भरता केन्द्रमार्फत तीनवटा विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको थियो । संघसंस्थाहरुले सार्वजनिक स्थानमा समेत यो अवधिमा शौचालय निर्माण गरेका थिए ।

नेपाल भूकम्प पुनर्लाभ कार्यक्रमले कालिका, चोकटी र तातोपानीका झण्डै तीनहजार जनतालाई खानेपानी सहज बनाएको छ ।

ग्रामीण महिला सिर्जनशील परीवारद्वारा सञ्चालित नेपाल भूकम्प पुनर्लाभ कार्यक्रमले कालिका, चोकटी र तातोपानीमा खानेपानीका विभिन्न ७ योजना सम्पन्न गरी तीन हजारलाई लाभवान्वित गरेको हो ।

खानेपानीका ७ योजना सम्पन्न गरी २०४ धारा निर्माण गर्दै ४५७ घर परिवारलाई शुद्ध खानेपानीको सहज व्यवस्था गरिएको ग्रामीण महिला सिर्जनशील परिवारले जानकारी दिएको छ । ‘साढे चार सय परिवारका तीन हजारमा खानेपानीको सहज सुविधा पुर्‍याइएको छ,’ ग्रामीण महिला सिर्जनशील परिवारका भूकम्प पुनर्लाभ कार्यक्रमका संयोजक ओम तामाङले भने ।

झण्डै २ करोडको लागतमा खानेपानीका ७ योजनाहरु सम्पन्न गरिएको ग्रामीण महिला सिर्जनशील परिवारले जानकारी दिएको छ ।

नेपाल भूकम्प पुनर्लाभ कार्यक्रमअन्तर्गत खानेपानी योजनाका काम सम्पन्न भएपछि खानेपानीको अभावमा बाँचिरहेका जनताका जनजीवन नै फेरिएको भोटेकोसी गाउँपालिकाकी उपाध्यक्ष दावुटी शेर्पाले बताइन् ।

एक घर एक धाराको अवधारण अनुसार कार्यक्रमअघि बढिरहँदा खानेपानीमा अभावको अवस्थ्ाा अन्त्य भएको उनी सुनाउँछिन् । ‘संस्थाहरुसँग सहकार्य गर्दै एक घर एक धाराको अवधारणमा हामी छौं’, उपाध्यक्ष शेर्पाले भनिन्, ‘अबखानेपानीका लागि कोही कसैले दुःख खेप्नुपर्दैन ।’

जिल्लाकै महत्वपूर्ण लाटुको लट्टेश्वरी मन्दिर परिसरमा भूकम्प पुनर्लाभ कार्यक्रमले धारा बनाइदिएपछि खानेपानी सहज भएको छ ।

मन्दिर परिसरमै शौचालय निर्माण भएपछि मन्दिर आसपासको फोहो व्यवस्थापन भएको चोकटीका स्थानीय ऋषी सापकोटाले बताए ।

कार्यक्रमअन्तर्गत कालिका, चोकटी र तातोपानीका विभिन्न ४ विद्यालयमा शौचालय र खानेपानीको सुविधा पुगेको छ ।

कार्यक्रमअन्तर्गत स्वास्थ्य सरसफाइ कार्यक्रमलाई थप टेवा पुर्‍याउने गरी महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत करिब चार सय किशोरीहरु लाभान्वित हुने गरी सेनेटरी प्याड निर्माण तालिम पनि संचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment