Comments Add Comment

कांग्रेसले बुझ्नुपर्ने वीपीको सांस्कृतिक चिन्तन

नेपाली कांग्रेसको सहासमितिको बैठकमा देशभरिका कार्यकर्ता जम्मा भएको सुनेर म पनि आफू पढाउने कलेज पद्मकन्याबाट रामशाहपथस्थित एउटा पार्टी प्यालेसमा पुगेकी थिएँ ।

आजभोलि म पार्टीभित्र प्रत्यक्ष–अप्रत्यक्ष कुनै जिम्मेवारी वा भूमिकामा छैन । तर, साहित्यको विद्यार्थी र वीपी चिन्तनको प्रभावमा परेका कारण मलाई यो दलका कार्यकर्ताले देश बनाउन कस्तो नीति लिइरहेका छन्, जान्न मन लाग्छ ।

अझ त्यसमाथि, सञ्चारमाध्यमहरुमा नेपाली कांग्रेसभित्र सांस्कृतिक चिन्तन नै नभएको कुरा आइरहँदा यो विषयमा नेपाली कांग्रेसको धारणा के हो भन्ने बुझ्न मन लाग्यो । तर, कार्यक्रमस्थलमा पुगेपछि म निराश भएँ ।

एकजना अपरिचित व्यक्तिका रुपमा मैले प्रतिनिधिहरुलाई वीपीका साहित्यिक एवं सांस्कृतिक चिन्तनबारे सोध्दा उहाँहरुमध्ये धेरैले अनविज्ञता व्यक्त गर्नुभयो । केहीले वीपीका २००७ सालअघि लेख्नुभएका यौनमनोविज्ञान नजिक रहेका केही कथाका विषयमा थाहा पाएको बताउनुभयो । तर, पछिल्ला कृति र त्यसको विशाल सांस्कृतिक चिन्तनका बारेमा उहाँहरुले सजिलै केही भन्न सक्नुभएन ।

नेपालका अन्य दलका नेता कार्यकर्ताको तुलनामा वीपीले जति साहित्य लेख्नुभयो, अरुले लेखेका छैनन् । लेखिए पनि त्यो उच्चस्तरका छैनन् । वीपीका साहित्यभित्र नेपाली समाजको अवस्था मात्रै छैन, वीपीको समग्र चिन्तन आएको छ ।

प्रश्न उठ्छ– नेपाली कांग्रेसको सांस्कृतिक चिन्तन के हो ? यो विषयमा वीपीले हामीलाई के दिएका छन् ? यसको छिनोफानो हुनुपर्छ

त्यति मात्रै होइन, वीपीका जेल जर्नल र आत्मवृतान्तहरुबाट पनि धेरै कुरा बुभ्न सकिन्छ । तर, वीपीका केही यौनजन्य कुराहरु टिपेर उनको समग्र साहित्यको अवमूल्यवन हुँदै आएको छ ।

नाताले नेपाली कांग्रेसका कार्यकर्ताले वीपीको यो चुरोलाई बुझ्नु आवश्यक छ । प्रजातान्त्रिक समाजवादको रटाइ अब धेरै भयो, अति भयो ।

प्रजातान्त्रिक समाजवाद भनेको नेपाली–नेपालीबीचको सांस्कृतिक समन्वय पनि हो । अब निख्खर राजनीतिले देशको समग्र विकास हुन सक्दैन । सामाजिक राजनीति गर्नुपर्ने आजको समयको माग हो, जसले समग्र जीवनशैलीलाई समेटन सक्छ ।

कम्युनिष्टहरूले पारिजातलाई भँजाउनु भजाएका छन् । आफ्ना दलनिकट साहित्यकारमार्फत आफ्ना कुरा भन्नु गलत होइन । यसमा कम्युनिस्टहरु बधाइका पात्र छन् ।

तर, नेपाली कांग्रेसको कुनै पनि सञ्जालले वीपीको साहित्यमार्फत व्यक्त भएको सांस्कृतिक चुरोलाई राजनीतिको केन्द्रमा ल्याउन सकेका छैनन् । किनभने, कार्यकर्ताहरू वीपीको लेखनलाई पढ्दै पढ्दैनन् । पढे पनि यौन मनोविज्ञानको चश्मा लगाएर मात्र पढ्छन् र यसबारेमा हल्का टिप्पणी गर्छन् । यो ज्यादै दुःखको कुरा हो । आजको अवस्था त्यसैको परिणाम हो ।

यसमा कार्यकर्ताभन्दा नेतृत्व बढी दोषी छ । किनभने, नेपाली कांग्रेस भनेको वीपीको समाजवाद मात्र होइन, वीपीले लेखेको साहित्यभित्रको समाज पनि हो । आफ्ना कार्यकर्तालाई विभिन्न किसिमको तालिम दिने नेतृत्वले वीपीको साहित्य र त्यसको समाज र संस्कृतिको तालिम किन दिएन ? के वीपीको साहित्य बुझाउन सक्ने विज्ञ नेपालमा छैनन् ? अथवा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला र राजनीतिज्ञ वीपी अलग हुन् ?

आखिर के छ वीपीको साहित्यमा ?

त्यसोभए प्रश्न उठ्छ, नेपाली कांग्रेसको सांस्कृतिक चिन्तन के हो ? यो विषयमा वीपीले हामीलाई के दिएका छन् ? यसको छिनोफानो हुनुपर्छ । यो लेख त्यसलाई देखाउन एउटा संकेत हुने आशा गरेकी छु ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादलाई भित्र्याउने श्रेय कथाकार वीपी कोइरालालाई जान्छ । कुशल राजनीतिज्ञ भनी कहलिएका वीपीसाहित्यकारका रूपमा पनि त्यत्तिकै कुशल देखिएका छन् ।

साहित्यका बारेमा उनको विचार यस्तो देखिन्छ– ‘राजनीतिमा म एउटा अन्तःप्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरीत प्रेरणाले । र, म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।’

यसरी आफ्नो अवधारणाको घोषणा गरे पनि ती साहित्यभित्र राजनेताको दूरदृष्टिले स्थान पाएको देखिन्छ । नेपालको मूर्धन्य राजनेता भएर पनि उनले साहित्यलाई कहिल्यै पनि राजनैतिक नारा नबनाइकन राजनीति गर्ने मान्छेले समाजको गहिराइलाइ कसरी बुझ्नुपर्छ, देशका लागि कमजोर होइन, अस्तित्ववान नागरिकको आवश्यकता पर्दछ भन्ने मान्यतालाई स्थापित गर्दै उनले आफ्ना पात्रलाई अस्तिववादी चिन्तनको रुझान दिएर आख्यानभित्र उतारेका छन् ।

पञ्चायती शासनका तीव्रविरोधी बनेका र २००७ सालको परिवर्तनपछि ०१५ सालमा बकाइदा जनताले चुनेर पठाएको प्रधानमन्त्रीत्वबाट हत्याइएर नजरबन्दमा परेका बेला सिर्जना भएको यो आख्यानमा कहीँ कतै राजनैतिक द्वेष भेटिँदैन ।

मृत्युदण्डका मुद्दा खेपिरहेका बेलामा पनि उनका सिर्जनालाई तत्कालीन औपचारिक शिक्षाको पाठ्यक्रममा समावेश गरिएको थियो । पञ्चायती शासनको चरम अवस्थामा पनि वीपीको सिर्जनाबारे पढाइ हुने गर्दथ्यो । साहित्य सिर्जनाभित्रको उनको नितान्त सौन्दर्यात्मक र कलात्मक शैलीले पस्केको जीवनको कथा औपचारिक शिक्षामा नपढाई नहुने विषय बनेको थियो । यस अर्थमा वीपी नेपाली साहित्य आकाशको एउटा यस्तो विन्दु हो, जसलाई नेपाली साहित्यको इतिहासबाट एकैछिन निकालिदिने हो भने इतिहासको बाटो अन्योलमा पर्छ ।

नेपाली साहित्यमा वीपीको उपस्थिति आदि इत्यादिको हैसियतमा होइन, परिवर्तनकारी भूमिका खेल्ने कोसेढुंगा स्थापित गर्ने हैसियतमा देखिन्छ ।

बीपीले पहिले मानिसलाई बुझे, त्यसपछि मानिसहरूबीचको दुरीलाई ठम्याए । जो उनलाई असंगत लाग्यो, त्यसैलाई भेट्ने प्रयासमा आफ्ना सोचाइलाई कथ्यमा ढाली औपन्यासिक संरचनामा प्रस्तुत गरेको देखिन्छ । उनी भन्थेः ‘म गोर्की र चेखबबाट पनि धेरथोर प्रभावित भएँ । मेरो साहित्यमा हात हाल्नुको उद्देश्य व्यक्तिलाई निहार्नु र वैयक्तिक धारणा र विचारलाई साहित्यका माध्यमबाट व्यक्त गर्नु थियो । यस अतिरिक्त मेरो जीवनको थालनीदेखि नै राजनीति र साहित्य यी दुई तत्वले मेरा मनमा पूरा प्रभाव पारेकाले यी दुई तत्व अलग अलग अन्तः प्रेरणाका उपज भए पनि मेरो हृदयमा दौँतरीजस्तै भएर बसेको हुँदा म एकअर्काको प्रभावमा आएर एकअर्कालाई बिर्सिन सक्ने अवस्थामा पनि थिइनँ र चाहन्नथेँ पनि ।’

साहित्यमा अराजकतावादी बनेका वीपीले यौनको विषयमा निर्धक्कसाथ कलम चलाएका छन् । सामाजिक परिवेशमा सुन्दा विषयवस्तुले अराजकताको अनुभूति दिए पनि उनको कलात्मक प्रस्तुतिले विषयको सालिनतालाई प्रवाहित गरेको देखिन्छ । फ्रायडीय यौन मनोविज्ञानको क्रिडाभूमि बनेका उनका उपन्यासभित्र उनले सांस्कृतिक समझदारीको सन्देश पनि प्रवाहित गरेका छन् ।

वीपीको लेखनको अन्तरंग चिन्तनमा सामाजिक सौहार्दताको संचेतना फैलाउने संवाहक घटनाक्रमहरू प्रशस्त देखिन्छन् । उनका जति पनि उपन्यास छन्, तिनमा एकपछि अर्को नितान्त भिन्न–भिन्न परिवेशका घटनाक्रममा जीवनको व्याख्या भएका छन् । तिनले मानवीय मूल्यको स्थापनाका लागि चखिलो स्वर उचालेका देखिन्छन् । चाहे त्यो तीनघुम्तीमा होस्, चाहे नरेन्द्र दाइमा, चाहे त्यो सुम्निमा लगायत अन्य उपन्यासमा होस् । तिनमा कतै व्यक्ति–चरित्रको अस्तित्वबोधलाई स्थापित गरिएको छ भने कतै व्यक्तिकै अस्तित्वबोध देखिएता पनि त्यो पात्रले आ–आफ्नो वर्गको अस्तित्वलाई स्थापित गर्न अग्रसर भएको देखिन्छ ।

अब किन लडाइँ झगडा, किन तेरो मेरो किन एक अर्कालाई नीच देखाउने ? प्रतीकात्मक अर्थमा बुझ्ने हो भने नेपालभित्रको हरेक जातिमा हरेक जातिको रक्त मिश्रण भएको छ, घुलमिल भएको छ ।

सुम्निमाले भन्न खोजेको यति कुरा मात्रै पनि नेपाली कांग्रेसका कार्यकर्ताले बुझिदिने हो भने अहिले सञ्चार माध्यममा आइरहेको नेपाली कांग्रेसको सांस्कृतिक चिन्तनको बहस स्वतः अन्त्य हुने देखिन्छ ।

यो पनि पढ्नुहोस वीपीले सुम्निमा उपन्यासमा के भन्न खोजेका छन् ? यो पनि पढ्नुहोस स्वच्छन्दता त कम्युनिस्टभित्र देखिँदोरहेछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment