Comments Add Comment

महासमिति कि महाभद्रगोल ?

३ पुस, काठमाडौं । आम चुनावमा व्यहोरेको हार र सरकारप्रति बढ्दो संशयका बीच नेपाली कांग्रेसका झण्डै १६ सय नेता–कार्यकर्ता भेला हुँदा चिसिँदै गएको काठमाडौंमा यतिबेला गर्मागर्मी बहस हुनुपर्ने हो ।

तर, महासमिति बैठकको पूर्वघोषित अन्तिम दिन ३ पुसको साँझसम्म पनि ‘गम्भीर’ बहस नै सुरु हुन सकेन कांग्रेसको महासमितिमा ।

‘महासमिति बैठकको पहिलो एजेण्डा भएको राष्ट्रिय एजेण्डामा छलफल गर्नुपर्ने हो । यसले विगत र वर्तमानको समीक्षा गर्दै भविश्यको रुपरेखा कोर्नुपर्ने हो’ राजनीतिक विश्लेषक पुरञ्जन अचार्य भन्छन्, ‘तर, त्यतापट्टि छलफल नै सुरु भएन ।’

उदघाटन सत्रलाई कटाउने हो भने चार दिनमा मुस्किलले ८ घण्टा छलफल भएको छ । शनिबार उद्घाटन समारोह सकिएपछि भएको भएको राजनीतिक, आर्थिक, सांगठनिक प्रतिवेदनमा अहिलेसम्म मुस्किलले तीन दर्शन नेताले बोलेका छन् ।

मंगलबार छलफल भन्दा धेरै विवाद भयो । सहमहामन्त्री प्रकाश शरण महत र नुवाकोटका सभापति जगदिशनरसिंह केसीको माइक खोसाखोस, पार्टी सभापति शेरबहादुर देउवा बोल्दा माइकमा आवाज नआएर हुटिङ जस्ता घटना सतहमा आएका छन् ।

पहिलो दिन गुमाएको अवसर

आम चुनावमा नराम्रो हार व्यहारेपछि थला परेको कांग्रेस अझै उठ्न सकेको छैन । पार्टीभित्र देखिएको गुट उपगुट, अन्तरघातले कांग्रेसका नेता कार्यकर्ता मात्र होइन, शुभेच्छुक पनि निराश छन् । त्यसैले महासमिति बैठक कांग्रेसका लागि नेता कार्यकर्तामा उर्जा भर्ने र शुभेच्छुकमा आशा जगाउने एउटा राम्रो अवसर थियो ।

तर, उसले त्यो अवसर गुमाएको छ । देशभरबाट १५/१६ महासमिति सदस्य आएकै थिए । केन्द्रीय सदस्य गगन थापाका अनुसार उपत्यकाका र आसपासका जिल्लाबाट कार्यकर्ता बोलाएर आमसभा गर्न सकिन्थ्यो । यसो गरेको भए नेताहरु पनि पार्टीको अन्तरिक विवादभन्दा राष्ट्रिय राजनीति र सरकारबारे बढी बोल्थे ।

तर, कांग्रेस नेतृत्वले आमसभाको साटो पार्टी प्यालेसभित्र कार्यक्रम गर्न रुचायो । उद्घाटन समारोहमा धेरै नेताहरुले बोले तर, राष्ट्रिय राजनीतिभन्दा गुटकै धेरै कुरा गरे । स्वयं पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दा त धेरै हल्ला भएपछि मञ्चबाटै ‘ए प्रकाश महत’ भन्दै कराउनुपर्ने अवस्था आएको थियो ।

भद्रगोल व्यवस्थापन

उद्घाटन सत्रसँगै सुरु भएको भद्रगोल चाथो दिनसम्म आइपुग्दा महाभद्रगोलमा परिणत भएको छ ।

शनिबार नै राजनीतिक, आर्थिक, सांगठनिक प्रतिवेदन पेश भयो । तर, विधान संशोधन प्रस्तावमा सहमति जुटेको थिएन । महासमितिमा छलफल गर्दै जाने र विधानमा पनि सहमति खोज्दै जाने नीति नेतृत्वले लियो तर, त्यसअनुसार व्यवस्थापन हुन सकेन ।

एक नेताका अनुसार सातवटा प्रदेश समिति बनाएर समूहगत छलफल गर्ने योजना लागू नै भएन । ‘विधान हातहातमा दिन नसकेपछि केन्द्रीय समितिको हात तल पर्‍यो’ उनले भने, ‘सुरुमा सबै दस्तावेज प्रस्तुत गर्नुको साटो पहिलो र दोस्रो दिन राजनीतिक र आर्थिक प्रस्तावमाथि छलफल गर्ने भनेर समूह बनाउनु सकेको भए सहज हुने रहेछ । सांगठनिक प्रस्ताव पनि पेश भएपछि सबैले विधान खोजे ।’

विधानमा सहमति खोज्न केही नेतालाई जिम्मा दिइएको थियो तर, त्यहाँ पनि हरेक दिन एउटा सहमति नजिक पुग्ने र भोलिपल्ट उल्टिने गर्दा झन समस्या बढ्यो । सुरुमा ९ पदाधिकारीमा सहमति भयो तर, निर्वाचित र मनोनितको संख्या टुंगो लाग्न सकेन भनियो । सोमबार साँझ १२ पदाधिकारीमा लगभग सहमति भनियो तर, टुंगो लागेन । यसले महासमिति सदस्यहरुमा आक्रोस र आशंका बढायो ।

विधान संशोधनको प्रस्ताव नल्याई महासमिति बैठक सक्ने त होइन भन्ने चर्चा सहभागीहरुमाझ चलिरहेकै थियो ।

मंगलबार अपराह्न पार्टी सभापति शेरबहादुर देउवाले मञ्चमा उभिएर ‘बैठक स्थगित गर्छु’ भनेपछि चर्को नाराबाजी भयो । नुवाकोटका सभापति मञ्चमा गएर विरोध गर्न खोजेपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले माइक खोस्न खोजे ।

नेतृत्वको संकट

कांग्रेस नेताहरुका अनुसार विगतका महासमिति बैठकहरुमा पनि छलफल भन्दा धेरै हल्ला हुने गरेको थियो । चाहे नेपालगञ्जको महासमिति होस् वा १३ औं महाधिवेशन अगाडि प्रज्ञा प्रतिष्ठानमा भएको महासमिति किन नहोस् । तर, यति भद्रगोल थिएन ।

कम्तिमा पार्टीका सभापति, वरिष्ठ नेता मञ्चमा उभिएपछि के भन्छन् भन्ने सुन्न तयार हुन्थे ।

तर, अहिले अवस्था त्यस्तो रहेन । कांग्रेसलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक विश्लेषक आचार्य यसलाई कांग्रेसमा नेतृत्व संकटको परिणाम मान्छन् । भन्छन्, ‘अहिले कांग्रेसको नेतृत्व थालेको छ, उर्जा नै छैन । ब्याट्री सकेका गाडी जस्ता भए । आफैंसँग उर्जा नभएको नेतृत्वले अरुलाई के उर्जा दिन्छन् ?’

यो पनि पढ्नुहोस महासमिति बैठकमा महत र केसीबीच माइक खोसाखोस यो पनि पढ्नुहोस कांग्रेसीहरु ! कि फुट, कि जुट यो पनि पढ्नुहोस कांग्रेसको आर्थिक बहसः दाइ महत ठीक कि भाइ ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment