Comments Add Comment

तिलोत्तमामा पहिले जनप्रतिनिधि र कर्मचारीबाट कर

४ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करदातालाई समयमै कर तिर्ने बानीको विकास गराउने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीबाटै पहिले कर उठाउने अभियान सुरु गरेको छ ।

आर्थिक मितव्ययिता र पारदर्शितासँगै तोकिएको राजस्व उठाउन नगरपालिकाले पुस १ गतेदेखि राजस्व परिचालन अभियान सुरु गरेको हो ।

अभियानको सुरुआत जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकबाट गरिएको छ ।

नगरपालिकाले कर सहभागिता अवधिको पहिलो चरण अन्तर्गत कर्मचारी तथा शिक्षक, जनप्रतिनिधिलाई पुस १५ गतेसम्म कर चुक्ता गर्न निर्देशन गरेको छ ।

जनप्रतिनिधि, कर्मचारी र सरकारी विद्यालयका शिक्षकले आय कर दाखिला नगरेसम्म तलब भक्ता बुझ्न पाउने छैनन् ।

यस्तै नगरपालिकाबाट अनुदान लिने संघसंस्थाले पनि आय कर तिरेर मात्र अनुदान पाउने छन् ।

दोस्रो चरणमा विभिन्न संघ-संस्थाका नेतृत्वकर्ता, ठूला व्यवसायिक प्रतिष्ठान,उद्योगी व्यवसायी लगायतलाई लक्षित गरिने नगरपालिकाको योजना छ ।

सर्वसाधारण नागरिकको हकमा उनीहरुलाई समयमै कर तिर्नुपर्छ भन्ने विषयबारे बुझाउंदै क्रमशः स्वतस्फुर्त कर तिर्ने परिपाटीको विकास गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

कर तिर्न आफैबाट सुरु गरौं भनेर अभियानमा पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई समेटिएको सापकोटाले जानकारी दिए ।

अभियानको मुख्य उद्देश्य आर्थिक वर्षको अन्त्यतिर मात्रै तिर्ने परिपाटी र करप्रति नगरवासीमा रहेको नकारात्मक धारणामा परिवर्तन ल्याउनु संगै नगरपालिकाले तोकेको राजस्व समयमै उठोस् भन्ने रहेको सापकोटा बताउंछन् ।

समयमै कर र राजस्व संकलन नहुंदा बजेट व्यवस्थापनमा आउने समस्याले विकास निर्माणका काम समयमैं सम्पन्न हुन नसक्ने देखिएपछि तिलोत्तमा नगरपालिकाले राजस्व परिचालनलाई अभियानको रुपमा अघि बढाएको हो ।

चालु आर्थिक वर्षमा ४० करोड रुपैंयाँ आन्तरिक राजस्व संकलन हुने नगरपालिकाको प्रक्षेपण छ ।

प्रचलित कानूनअनुसार सम्पत्ति तथा भूमिकर, घरवहाल कर,व्यवसाय कर,सिफारिस शुल्कलगायत उठाउन पाउने नगरपालिकाको अधिकार छ ।

कुनै पनि स्थानीय तहको आन्तरिक राजस्व परिचालन क्षमताको आधारमा संघ, प्रदेश सरकार र अन्तर्राष्ट्रिय निकायबाट अनुदान/सहयोग प्राप्त हुने भएकाले समेत यसलाई महत्व दिइएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

तिलोत्तमा नगरपालिकामा चालू आर्थिक वर्षमा चालूभन्दा पुँजिगत खर्च बढी छ । अभियानअन्तर्गत् विभिन्न कार्यक्रम, प्रचार-प्रसार, शिविरहरु समेत सञ्चालन हुनेछन् ।

नयाँ नगरपालिका भएकाले तिलोत्तमामा अहिलेसम्म अपेक्षाअनुरुप व्यवसाय र घर बहाल करको दायरामा सबै आउन सकेका छैनन् । ‘यो अभियानले सबैलाई सामाजिक न्यायको सिद्धान्तको आधारमा करको दायरामा ल्याउनेछ,’ प्रवक्ता श्रीले भने ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको व्यवसाय करप्रति व्यवसायीले असन्तुष्टि जनाएपछि त्यसलाई घटाइसकेको छ ।

अधिकांश व्यवसाय करको दर चौथो नगरसभाले घटाएको हो । नगरपालिकाको चालु आर्थिक वर्षको वजेट एक अर्ब ३५ करोड रुपैंयाँको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment