Comments Add Comment

भैरहवा ईपीएलको फाइनलमा, काठमाडौं पराजित

५ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधिका लागि भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिएटस भिड्ने भएका छन् ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा ईपीएलको दोस्रो क्वालिफायर खेलमा काठमाडौं किंग्स इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवाले फाइनलमा ललितपुरसँगको भेट निश्चित गरेको हो । काठमाडौंले दिएको १०१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १७ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

भैरहवाको जितमा रायन टेन डोस्च्याटले ४५ रन बनाए । त्यस्तै, रविइन्दर सिंहले ३१ रन बनाएका थिए ।

बलिङतर्फ काठमाडौंका सांसद शेखले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०० रन मात्रै बनाएको थियो । काठमाडौंका लागि  सन्दीप रजालीले २७, प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर पनि बनाउन सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा भैरहवाका कुशल मल्लले तीन र मोहम्मद नभिदले दुई विकेट लिए ।

काठमाडौं पहिलो क्वालिफायर खेलमा ललितपुर प्याट्रिएटससँग एक विकेटले पराजित हुदै दोस्रो क्वालिफायरमा पुगेको थियो । इलिमिनेटर राउण्डमा चितवन टाइगर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा दोस्रो क्वालिफयर राउण्डमा प्रवेश गरेको थियो ।

उपाधिका लागि अब शनिबार ललितपुरले भैरहवासँग खेल्ने भएको हो ।

प्रतियोगिताको विजेताले २५ लाख नगदसहित ट्रफी प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टीभीएस आपाची मोटरसाइकल पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment