Comments Add Comment

जब इन्डोनेसियामा नेपालको झण्डा ओढेँ

मेरो फुटबल यात्रा अनौठो छ । सानोमा गोलकिपर पनि खेलियो, डिफेन्स र स्ट्राइकर पनि । १६ वर्षको उमेरमा राष्ट्रिय टिममा आएपछि पनि गोलकिपरबाहेक सबै पोजिसनमा खेलिसकेँ । क्लब फुटबलमा पनि त्योभन्दा फरक छैन ।

जहाँबाट जसरी होस् फुटबल खेल्न पाउँदा रमाइलो लाग्छ । चाहे नेपालमा होस्, भारतमा, मलेसियामा या इन्डोनेसियामा नै किन नहोस् ।

खेलको व्यावसायिकताका हिसाबले भन्दा मलेसियामा निकै राम्रो छ । समर्थकका हिसाबले हेर्दा इन्डोनेसिया निकै राम्रो छ । पैसा खर्च गरिरहेको हेर्दा भारत निकै राम्रो छ । नेपालको त हामी सबैलाई थाहा नै छ । जहाँको त्यहीँ छौँ ।

जकार्तामा ८२ हजार दर्शक क्षमताको भव्य रंगशालामा खेलेर नेपाल फर्किएको म जब दशरथ रंगशाला हेर्छु नि… असाध्यै दुःख लाग्छ । हामीसँग एउटा राम्रो मैदानसम्म छैन !

दुःखहरुका बीच जहाँ जसरी पनि देशलाई चिनाउन पाउँदा खुशी लाग्छ । यो सिजन इन्डोनेसियामा लिग वान जितेपछि मोस्ट भ्यालुएबल प्लेयर तथा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेँ ।

त्यसमा सबैभन्दा खुशीको क्षण कुन हो थाहा छ ?

जब अवार्ड लिएर नेपालको झण्डा ओढिरहेको थिएँ …

****

मेरो फुटबल नेपालमा अरु खेलाडीको जसरी सुरु हुन्छ, त्यसैगरी सुरु भएको हो । सुर्खेतमा जन्मिएर सानो बेलामा त्यहीँको मैदानमा खेल्दै हुर्किएँ । त्यहाँ खेल मौसमअनुसार नै खेलकुद फेरिन्थ्यो । फुटबल विश्वकप हुँदा फुटबल, क्रिकेट विश्वकप हुँदा क्रिकेट चल्थ्यो । सानोमा हामी पनि त्यसरी नै खेल्थ्यौँ ।

विदाइको पछिपछि लागेर खेल्दाखेल्दै एन्फामा छनोट भएको हुँ । त्यसपछि निरन्तर खेलकुदमा नै लागेँ । सानो बेलामा खेल्दाका धेरै कुरा बिर्सनै सकिँदैन । पानी परेको बेला खेल्नु, साथीहरुसँग भागेर मैदान गएर खेल्नु, गालि खानु जस्ता धेरै कुरा सम्झनामा छन् । जे होस्, अहिले सम्झँदा ती क्षणहरु रमाइलो छन् ।

मेरो बुबा इन्डियन आर्मीमा भएकाले मलाई बल र बुटका लागि अप्ठ्यारो भएन । घरको कान्छो छोरा भएकाले पनि होला, ‘यो ल्याइदिनु, त्यो ल्याइदिनु’ भन्दा बुबाले हुन्न भन्नु भएन । सानोमा रबरको गिट्टी भएको जुत्ता लगाएर खेल्थ्यौँ । विस्तारै त्यसमा बानी परेपछि निभियाको जुत्ता लगाएर खेल्न थाल्यौँ । बल पनि बुबाले भारतबाटै ल्याइदिनु हुन्थ्यो । राम्रो हुन्थ्यो बल ।

सुर्खेतमा किपरदेखि फरवार्डसम्म सबै ठाउँबाट खेलिन्थ्यो । साथीहरुसँग जेसमा रमाइलो हुन्छ, त्यही गरिन्थ्यो । एन्फामा छनोट भने स्ट्राइकरबाट छानिएको थिएँ । पोजिसन विस्तारै विस्तारै परिवर्तन हुँदै गएर अहिले मिडफिल्डबाट खेलिरहेको छु ।

****

एन्फामा छनोट हुँदा पहिले क्षेत्रबाट छानिएर आएँ । एन्फाको छनोटमा पनि म दुईपटक भिडेँ । पहिलोपटक १० वर्षमुनिको उमेर समूहमा भिँड्दा अन्तिम राउण्डमा फालिएँ । दोस्रोपटक १२ वर्षमुनिको उमेर समूहमा छानिएको थिएँ ।

क्षेत्रीयबाट छानिएर काठमाडौं आएर पाँच दिन अभ्यास गर्‍यौँ । त्यो बेला श्याम थापा र राजु शाक्य प्रशिक्षक हुनुहुन्थ्यो । उहाँहरुको अगाडि हामीले आफ्नो खेल देखायौँ । बुबा पनि काठमाडौं आउनुभएको थियो । राजु सरले बुबालाई बताउनुभएको रहेछ, छोरा छनोट भयो, दुई महिनापछि काठमाडौं आएर होस्टेलमा बस्नुपर्छ ।

दुई महिनापछि एन्फा होस्टेलमा बस्ने गरी आएँ । एन्फामा आएको सुरुको वर्ष त असाध्यै अप्ठ्यारो भयो । हाम्रोतिरबाट आएका खेलाडी पनि असाध्यै थोरै थिए । घुलमिल हुँदै गएपछि सजिलो भयो । सुरुमा मेरो रुममेट रितेश मल्ल र सागर लामा थिए । रितेशसँग अलि बढी नै मिल्थेँ । जतिबेला पनि हसँगै हुन्थ्यौँ । विस्तारै सबै साथीहरु बन्दै गए । पछि त विशाल श्रेष्ठसँग अलि बढी नजिक भएँ ।

त्यति सानो बेलामा घर छाडेर आउन निकै गाह्रो हुनेरहेछ । अहिले सम्झँदा कसरी सकेँ जस्तो लाग्छ । कति समय त रोएरै बित्यो । घरको धेरै नै याद आउँथ्यो । परिवार, साथीभाइ सम्भिmरहन्थेँ । दाइ काठमाडौं आउनु भएपछि शुक्रबार उहाँ भएको ठाउँमा जान थालेँ र थोरै रहज भयो । शायद बानी पनि परिसकेको थियो ।

****

स्ट्राइकर खेलेर एन्फामा छनोट भएको मलाई स्ट्राइकरमा भिड्न नै अप्ठ्यारो भइरहेको थियो । एन्फामा नयाँ भएकाले पनि पुरानो खेलाडीसँग भिड्न सहज थिएन । हामीभन्दा अघि विशाल, निराजनहरु दुई वर्षदेखि एन्फामा नै थिए । उनीहरु निखारिएका थिए । स्ट्राइकरमा त्यस्तो धेरै अवसर पनि हुँदैन थियो । त्यसैले मैले विस्तारै पोजिसन परिवर्तन गर्न थालेँ र लेफ्ट डिफेन्स खेलेँ ।

सविन्द्र श्रेष्ठसँगै अरु दुईजना पनि निकै राम्रो थिए । त्यसैले म झन्डै एन्फाबाटै बाहिरिएसकेको थिएँ । जुनियर लिगमा खेल्दा राम्रो खेलेको भएर एन्फामा टिकिरहेँ, होइन भने मेरो फुटबल कता पो पुगिसक्थ्यो । म विस्तारै लेफ्ट डिफेन्समा जम्दै थिएँ, श्याम थापा सरले पोजिसन परिवर्तन गरिदिनु भयो । उहाँले ‘तिमी अब सेन्टर डिफेन्स खेल्नुपर्छ’ भन्नुभयो । मैले मानेँ । अर्को विकल्प पनि थिएन ।

काठमाडौं आएको एकवर्षमै झण्डै बाहिरिसकेकाले फुटबल नै मेरो लागि लक्ष्य हो भनेर सोच्न सकेको थिइनँ । १४ वर्षको भएपछि भने फुटबलमा फोकस हुँदै गएँ, एएफसीको प्रतियोगिताहरु खेल्न पाएँ । बल्ल फुटबलमा नै लाग्छु भन्ने भयो ।

घरबाट पनि एकदमै सहायता थियो । पहिले बुबा पनि खेल्नु भएकाले कुरा बुझ्नुभएको थियो । ममीले भने नखेल भागेर खेल्न गएका बेला गाली भने गर्नुहुन्थ्यो ।

****

खेल सँगै पढाइलाई निरन्तरता दिएँ । हामी छनोट भएर एन्फामा आएपछि पहिलो वर्ष नोभेल एकेडेमीमा पढ्यौँ । दोस्रो वर्ष तक्ष्यशिलामा पढ्यौँ र एसएलसी त्यहीँबाट दियौँ । स्कूल दिउँसो हुन्थ्यो । बिहान र बेलुका अभ्यास हुन्थ्यो । फुटबलमा अलि बढी नै लाग्नुपरेपछि पढाइमा धेरै समय दिन सकिएन । मैले १२ कक्षासम्म पढेँ । त्यसपछि बाहिर खेल्न जानु परेकोले यहाँको परीक्षाहरु छुट्यो ।

मैले क्लब फुटबल सुरु गर्नभन्दा पहिले राष्ट्रिय टिमबाट डेब्यू गरेको हुँ । त्यो कुरा एकछिनमा गरौँला ।

क्लब फुटबलमा २००९ मा पहिलोपटक मछिन्द्र क्लबबाट खेलेँ । एन्फामा हाम्रो ब्याचको खेलाडीलाई मनाङ मर्स्याङ्दी, संकटा र मछिन्द्रमा बाँडिएको थियो । विशाल राई, रुपेश केसीलगायत हामी आठ जना मछिन्द्रमा परेका थियौँ । लिग खेल्न पाउने कुराले खुशी थियौँ । टिम ठिकै थियो । सबै एन्फाको खेलाडी सेटमा भएकाले खेल्न पनि सजिलो थियो । लिगमा पनि राम्रो नै गरेका थियौँ ।

मेरो लागि २०१३ को साफमा अफगानिस्तानसँगको सेमिफाइनल खेल भने सधैँ झस्काइरहने बनिदियो । अफगानिस्तानले ११ औँ मिनेटमा बनाएको अग्रतामा खेलको अन्त्यतिर पाएको पेनाल्टीमार्फत हामीलाई बराबर गर्ने अवसर थियो ।मैले नै पेनाल्टी हानेको थिएँ, तर अफगान गोलकिपरले बचाए

उमेर समूहमा यू-१४, यू-१६, यू-१८, यू-१९, यू-२३ सबै खेलेँ । एन्फामा हाम्रो ब्याच अहिलेसम्मको राम्रो हो जस्तो  मलाई लाग्छ । धेरै कारणले अहिले को कहाँ को कहाँ पुगे तर, पनि त्यो समयमा सबै राम्रा थिए ।

प्रतियोगितामा खेल्दा पनि हामी राम्रो थियौँ । त्यसमा पनि मलाई यू-१६ हुँदाको खेल असाध्यै मन पर्छ । राम्रा भनिएका टिमसँग पनि हाम्रो खेल उत्कृष्ट थियो । यू-१६ पछि सुनिल श्रेष्ठ, किशोर केसीलगायत प्रशिक्षकको नजरमा पनि परेको थिएँ । उहाँहरुले यसले अब लिग खेल्न सक्छ भन्नुहुन्थ्यो । कहिले काहीँ सम्झँदा पनि त्यो बेलाको कुराहरु झलझली याद हुन्छ ।

****

२०६५ सालमा प्रथम प्रधानमन्त्री कप हुन भयो । एन्फामा रहेको ५९ जना खेलाडी मध्ये २०/२० जनालाई नेपाल रातो र नेपाल निलो गरी दुई टिममा बाँडियो । म निलोमा परेँ । त्यो नै मेरो फुटबलको नयाँ सिँढी बन्यो । त्यसपछि मछिन्द्रमा गएको थिएँ । मैले अहिलेसम्म पनि राम्रो खेलिरहन सक्नुमा मछिन्द्रलाई पनि जश जान्छ । मेरो पहिलो व्यावसायिक क्लब हो मछिन्द्र ।

त्यति छिटो राष्ट्रिय टिममा पर्छु जस्तो पनि लागेको थिएन । नेपाल निलोबाट प्रधानमन्त्री कप खेलेपछि एसियन कप छनोटको लागि क्लोज क्याम्प भएको थियो । त्यो बेला क्याम्पमा रहँदा आफू अलि सानो भएकाले अप्ठ्यारो हुन्छ कि जस्तो लागेको थियो । जे होस्, प्रशिक्षकले मलाई अवसर दिनुभयो ।

पहिलो पटक देशको लागि खेलेको खुशी शब्दमा व्यक्त गर्नै सक्दिनँ । १६ वर्षको उमेरमा राष्ट्रिय टिमबाट खेलेको भएर उत्साहित पनि थिएँ र दबाव पनि थियो । तर सिनियर दाइहरुले राम्रो माहोल बनाइदिनु भयो, हौसला दिनुभयो । १३ चैत ०६५ मा एसियन कप छनोट अन्तर्गत प्यालेस्टाइनविरुद्ध दशरथ रंगशालामा डेब्यु गरैँ । मैले लेफ्ट डिफेन्सबाट खेलेँ । खेल गोलरहित बराबरीमा टुंगियो ।

****

हाम्रो फुटबलको स्तरलाई आँकलन गर्दा साफ च्याम्पियनसिपलाई हेर्ने गरिन्छ । मैले साफ च्याम्पियनसिपमा २००९ देखि अहिलेसम्म पाँच प्रतियोगिता खेलेको छु । त्यसमा पनि हामीले राम्रो खेलेर जित्न सक्ने लागेको चाहिँ २०११ मा भारतमा भएको साफ र २०१३ मा नेपालमा भएको साफ नै हो ।

गएको बंगलादेश साफमा पनि हामीले राम्रो गर्दा गर्दै केही गल्तीका कारण खेल गुमाएका थियौँ । केही महत्वपूर्ण खेलाडीहरु चोटका कारण टिममा नभएकाले पनि हाम्रो पोजिसन राम्रो हुन सकेन । माथिल्लो लेभलमा खेल्न हामी अझै तयार नभएको हो कि जस्तो पनि पर्‍या । हुन त खेलमा जे पनि हुनसक्छ, सोचेको जस्तो नै सधैँ त हुँदैन । हामी कमजोर नै देखिएको साफ २००९ मा मात्रै हो ।

मेरो लागि २०१३ को साफमा अफगानिस्तानसँगको सेमिफाइनल खेल भने सधैँ झस्काइरहने बनिदियो । अहिलेसम्म याद आइरहन्छ । धेरैले मलाई सम्झाइ पनि रहनुहुन्छ ।

मेरा लागि त्यो असाध्यै नराम्रो क्षण हो । अफगानिस्तानले ११ औँ मिनेटमा बनाएको अग्रतामा खेलको अन्त्यतिर पाएको पेनाल्टीमार्फत हामीलाई बराबर गर्ने अवसर थियो । दर्शकले भरिएको दशरथ रंगशालामा मैले नै पेनाल्टी हानेको थिएँ । हामी फाइनल पुग्छौँ भन्ने थियो तर, अफगान गोलकिपरले बचाए ।

त्यो बेला धेरै नराम्रो लागे पनि अहिले भने त्यो एउटा सिक्ने अवसर हो जस्तो लाग्छ । त्यही कुरालाई लिएर यत्तिकै बसिरहनु पनि भएन । खेललाई अगाडि त बढाउनै पर्‍यो । खेल्न छाड्नु भएन । एक वर्ष त असाध्यै अप्ठ्यारो भएको थियो । मभित्रको इच्छाशक्ति र अनुशासनले फेरि लयमा आएँ ।

****

२००९ देखि अहिलेसम्म हेर्दा नेपाली फुटबलमा ठूलो परिवर्तन देखिएको छैन । हाम्रो खेल्ने शैली अहिलेसम्म पनि त्यही छ । ए लाइसेन्स लिएका पनि थुप्रै प्रशिक्षक नेपालमा हुनुहुन्छ तर, जुन सुकै स्तरको होस्, खेलमा परिवर्तन देखिएको छैन ।

फर्मेसन र तरिका बनाएर अगाडि बढाउनु पर्ने होज जस्तो लाग्छ । म बाहिर खेल्ने र फरकफरक प्रशिक्षकसँग काम गर्ने अवसर पाएकाले पनि त्यस्तो लागेको हुन सक्छ । तर, नेपाली फुटबलको तरिका उस्तै हुनु दुःखद हो । हाम्रो घरेलु संरचनादेखि लिएर माथिसम्म फुटबल व्यवस्थित भएकै छैन । हामी खेलाडीहरु आफैले पनि त्यो अनुसारको मेहनत गरेको छैनौँ कि जस्तो लाग्छ ।

नेपालमा अरु खेलबारे त मलाई धेरै थाहा छैन, फुटबलको कुरा गर्दा अनुशासनको कमी असाध्यै छ । कुन बेला उठ्ने, कुन बेला अभ्यास गर्ने, कसरी मेहनत गर्ने, के खाने भन्ने सोच खेलाडीहरुमा पनि कम छ । जुन हुनुपर्ने हो । खेलाडीमा व्यवहार मात्रै होइन, खेलको अनुशासन पनि कमी भएको देखिन्छ ।

हुन त हामीसँग खेलाडी नै कम छन् । लिगमा हेर्दा पनि त्यो देखिन्छ । हुन त यत्रो वर्षपछि बल्ल तल्ल लिग भएको छ । त्यसले गर्दा पनि खेलाडी छरिएका होलान् । तर व्यावसायिक तरिकाले अगाडि बढ्ने हो, विदेशमा लिग खेल्ने हो भने खेलाडीहरुले पनि आफूलाई रुपान्तरण गर्नुको विकल्प छैन, मेहनतको विकल्प हुँदैन । मेहनत नगरे त हामी जहाँ छौँ त्यही अड्किन्छौँ ।

****

हुन त जहाँ पनि अल्छि खेलाडीहरु हुन्छन् । तर त्यो कुन हदसम्म भन्ने हो । विदेशमा खेलाडीले व्यक्तिगत रुपमा खुब मेहनत गर्छन्, कुन समयमा के गर्ने भन्ने दिमागमा हुन्छ, त्यसलाई सोचेर अगाडि बढ्छन् । त्यो महत्वपूर्ण कुरा पनि हो ।

मेरो खेल जीवनमा पनि त्यस्ता अल्छि लाग्ने दिनहरु थिए । तर, त्यो लामो समय रहेन । छिटै मेहनतमा लागिहालेँ । कहिले काहीँ अभ्यास गर्ने समयमा अलि अल्छि लाग्छ । विस्तारै गर्दै गएपछि मैले गर्नुपर्छ भन्ने विचार आउँछ र अल्छिपन भाग्छ । बिहान भर्खरै उठेर गएकाले अल्छि लागे पनि वार्मअप गरेपछि ठीक भइहाल्छ ।

बाहिर र नेपालमा हुने अभ्यासलाई हेर्ने हो भने तरिका एउटै छन् । फरक अभ्यासमा प्रयोग हुने सामाग्रीहरु हुन् । हाम्रोमा अझै स्तरीय सामनको प्रयोग हुन सकेको छैन । त्यस्तो कुरामा हामी धेरै पछि छौँ । भर्खरभर्खर हुन खोजिरहेको पनि छ तर, यत्तिले भने पुग्दैन । हेरौँ विस्तारै त्यहि स्तरमा पुग्छौँ कि ।

प्रशिक्षण पनि दक्षिण एसियामा उस्तै छ । भारत भने निकै माथि पुगिसकेको छ । हामी जहाँको तहिँ छौँ, उनीहरु अघि पुगिसके । मैले लिग खेलेको भारत, मलेसिया र इन्डोनेसियालाई हेर्ने हो भने हामी कताकता हराएका जस्तो लाग्छौँ । व्यावसायिकताका हिसाबले भन्दा मलेसियामा निकै राम्रो छ । समर्थकका हिसाबले हेर्दा इन्डोनेसिया निकै राम्रो छ । पैसा खर्च गरिरहेको हेर्दा भारत निकै राम्रो छ । नेपालको त हामी सबैलाई थाहा नै छ । हामी जहाँको त्यहीँ छौँ ।

****

देश बाहिर लिग खेल्न जाँदा धेरै बुझ्न पाएको छु जस्तो लाग्छ । मछिन्द्रमा पहिलो सिजन खेलेपछि गोल नेपालका बिक्रम थापा दाइले भारतमा खेल्ने जाने अवसर मिलाइदिनुभयो । बैंगलोरमा एचएएल स्पोर्टस क्लबमा प्रशिक्षकले मैले खेलेको एकछिन हेरे र दुई दिनपछि साइन गराए । त्यसपछि भारतमै आईलिगमा खेलेँ ।

मछिन्द्रका नविन चित्रकार सरको सहयोगमा इन्डोनेसिया पुगेँ । सुरुमा सन्तोष साहुखल दाइ जानुभएको थियो । उहाँ फर्किएपछि म गएँ । सुरुमा मैले अरेमा एफसीमा ट्रायल दिएँ । एक हप्ताको ट्रायल भएपछि पीएसपीएस पेकानबारुमा गएँ ।

पेकानबारुमा झण्डै एक महिनासम्म ट्रायल दिएँ । एक महिना ट्रायल दिँदा असाध्यै कठीन भएको थियो । खाना नमिल्ने, भाषा नमिल्ने हुँदा साह्रै सकस थियो । उनीहरु अंग्रजी नबोल्ने र मलाई स्थानीय भाषा नआउने । नेपाल फर्किन्छु जस्तो भइसकेको थियो । तर, ट्रायल दिइरहेको बेला भएको एउटा प्रतियोगितापछि टिममा राखे । एक महिना लामो ट्रायल त कसैले दिएका छैनन् जस्तो लाग्छ ।

पेकानबारुबाट लिग खेल्न थालेपछि सिजनको बिचतिर म पर्सिजा जकार्ता गएको हुँ । बीचमा एकपटक मलेसियाको तेरेन्गनुमा पनि गएँ । अहिले भने पर्सिजामा नै छु । पर्सिजामा पहिलो सिजनभन्दा अहिले राम्रो पनि भइरहेको छ । खेल्ने शैली राम्रो हुँदै गइरहेको छ । पछिल्लो दुई वर्षमा त धेरै नै परिवर्तन भएको भन्दा फरक नपर्ला । त्यसमा मैले पनि योगदान गर्न पाउँदा खुशी लाग्छ ।

****

पर्सिजामा सबैभन्दा राम्रो कुरा त्यहाँका समर्थक नै हुन् । खेलाडीलाई धेरै माया गर्छन् । नेपालमा त क्लब फुटबलमा त्यस्तो समर्थन देखिँदैन । खेल हारेको बेला नराम्रो लाग्ने, गाली गर्ने त जहाँ पनि हुन्छ नै । तर, उनीहरुले गर्ने माया र सम्मान धेरै माथि छ । जस्तो अवस्थामा पनि उनीहरु टिमको साथ छाड्दैनन् ।

यसपटक हामीले पर्सिजाबाट लिग जित्यौं । त्यसमा पनि समर्थकको साथ धेरै नै थियो । मैले मोस्ट भ्यालुएबल प्लेयर तथा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेँ । नेपाल बाहिर गएर नेपाली फुटबललाई चिनाउन पाउँदा खुशी लाग्छ । त्यहाँ अवार्ड लिने बेला पनि मैले नेपाली झण्डा ओडिरहेको थिएँ । दाइ पनि त्यहीँ हुनुहुन्थ्यो, सँगै सेलिब्रेसन गर्‍यौँ । मेरो जीवनकै उत्कृष्ट क्षण हो त्यो ।

अवार्ड जित्छु जस्तो लागेकै थिएन । अन्तिम खेल जिते लिग च्याम्पियन हुने भएकाले सबैको ध्यान त्यसमै थियो । अवार्ड पाउने बेला पनि म कार्यक्रम भइरहेको ठाउँभन्दा अलिकति बाहिर थिएँ । उद्घोषकले उनीहरुकै भाषामा मेरो नाम भनेका रहेछन्, मैले बुझिनँ । खेलाडीहरुले नै तानेर लगेपछि बल्ल थाहा पाएँ ।

म पहिलोपटक इन्डोनेसिया खेल्न जाँदा नेपाल कहाँ पर्छ भन्ने त्यहाँ धेरैलाई थाहा थिएन । भारतमा हो ? भनेर सोधिरहेका हुन्थे । म उनीहरुलाई भारतमा होइन, नेपाल छुट्टै देश हो भनेर बुझाउँथे हुन्थेँ । अहिले सबैले नेपाल भनेर चिन्छन् । उनीहरु मलाई पनि रोहित मात्रै भनेर चिन्दैनन् रोहित चन्द नै भन्नुपर्छ । उनीहरु त्यतिसम्म नजिकिएका छन् । सम्मान र माया उसैगरी गर्छन् ।

पर्सिजामा ब्राजिलको स्टेफानो भन्ने प्रशिक्षक हुनुहन्छ । उहाँ अंग्रजी बोल्नुहुन्छ । त्यसले अभ्यास र खेल्ने बेला भाषाको समस्या हुँदैन । त्यो बेला सबैको भाषा फुटबल नै हुन्छ । कतिपय चाहिने कुरा त मैले उनीहरुको भाषाबाट पनि सिकिसकेँ । त्यहाँ मैले आफ्नो खेलले प्रशिक्षकको मन पनि जित्न सकेको छु । त्यहाँ गएर पनि मिडफल्ड र डिफेन्सको सबै पोजिसनबाट खेलिसकेँ । इन्डोनेसिया गएपछि मेरो खेल फेरिएको छ, राम्रो भइरहेको छ जस्तो लाग्छ ।

****

राष्ट्रिय टिममा हामी कसरी खेल्ने के गर्ने भन्ने कुरा गरिरहन्छौँ । अहिले त राष्ट्रिय टिममा म सिनियर खेलाडी जस्तो भइसकेँ । पछि आएका भाइहरुलाई आफूले जानेका कुराहरु शेयर गर्छु । यसरी खेल्नुपर्छ, यस्तो गर्नुपर्छ, यस्तो नगर भन्छु ।

राष्ट्रिय टिमबाट खेलेको पनि ५४ खेल भइसके । पछिल्लो समयको खेललाई हेर्दा ०७४ साल चैतमा एसियन कप छनोटमा यमनसँगको खेल मलाई निकै राम्रो लाग्छ ।

यमनले २४ औँ मिनेटमा गरेको अग्रता हामीले ४६ औँ मिनेटमा बराबरी गरेका थियौँ । ८४ औँ मिनेटमा गोल खाएर हामीले खेल हारे पनि राम्रो टिमसँग राम्रो खेल खेलका थियौँ जस्तो लाग्छ । ल है हामीले पनि खेल्न सक्छौँ भन्ने लागेको हो ।

देशको टिमलाई नेतृत्व गर्ने इच्छा सबैको हुन्छ, मलाई पनि कप्तान भएर देशको टिममा काम गर्ने मन छ । त्यसको लागि योग्य पनि छु जस्तो लाग्छ । तर, हाम्रोमा चलन अलि फरक छ । सिनियर खेलाडीलाई कप्तान दिइन्छ । अहिलेका कप्तानलाई अनादर गरेको होइन तर, व्यवस्था भिन्न गरेर सोच्नैपर्छ ।सानो बेलामा नेपाली फुटबल भन्दा विश्व फुटबलमा लागेका थियौँ । हुन त हरि खड्का, उपेन्द्रमान सिंहहरुको नाम त सुनेको हो । तै पनि त्यति धेरै ‘फलो’ गर्ने भन्ने थिएन । एन्फामा आएपछि भने भेट्न पाएँ र सबैलाई चिन्दै बुझ्दै गएँ । अग्रज खेलाडीप्रति सम्मान छ, उहाँहरुसँग धेरै कुरा सिक्न पनि पाएको छु ।

****

समर्थकको हिसाबले भन्दा चाहीँ म फुटबल क्रेजी होइन । खेल्छु तर अरुको खेल धेरै हेरेको हुँदिन । रातिराति उठेर फुटबल हेर्नै सक्दिन । कुनै क्लबको समर्थनमा पनि छैन ।
समय मिलेको बेला कहिले काहीँ अरुको खेल हेर्छु । स्टेडियममा बसेर अरुको खेल हेर्दा धेरै कुरा बुझिन्छ । यसो गर्न पर्ने रहेछ, यस्तो गल्ती हुने रहेछ भन्ने देखिन्छ । मैदानमा हुँदा अलि कठीन हुन्छ । बाहिर बसेर हेरेको जस्तो त हुँदैन ।

अब पर्सिजामा मेरो सम्झौता १२ डिसेम्बरबाट सकिएको छ । कहाँ जाने, कहाँ खेल्ने भनेर सोचिरहेको छु । एजेन्ट पनि इन्डोनेसियाकै हो । उसले पनि बुझिरहेको छ ।

अब कुनै राम्रो लिगमा जानसक्छु कि भनेर हेरिरहेको छु । राम्रो लिगमा अफर आयो भने जाने छु । इन्डोनेसिया भन्दा राम्रो लिग थाइल्याण्डमा छ । अरुतिर पनि छ । यही गर्छु भन्ने योजना त छैन । तर जहाँ गए पनि राम्रो गर्ने छु

पर्सिजामा चार वर्ष खेलिसकेँ, यसैले पनि अरु कतै हुन्छ भने पनि जाने सोचमा छु । अफरहरु आइरहेको पनि छ । तर, पर्सिजामा समर्थकबाट निकै प्रभावित भएकाले छाड्न सजिलो पनि छैन । त्यहाँ खेल्न असाध्यै रमाइलो हुन्छ । स्टेडियममा धेरै दर्शक हुन्छन् । जकार्ताको मुख्य स्टेडियममा ८२ हजार दर्शक क्षमता छ । त्यहाँ स्टेडियम भरिँदा माहोल कस्तो होला तपाइँले अनुमान गर्न सक्नुहुन्छ ।

त्यहाँ खेलेर नेपालमा भत्किएको रंगशाला हेर्दा दुःख लाग्छ । हामीसँग एउटा फुटबल रंगशाला पनि छैन । एन्फाको कृत्रिम मैदान रंगशाला नै होइन तर, सबै कुरा त्यसमा नै निर्भर भइरहेको छ । त्यसमा घाइते हुने सम्भावना धेरै नै हुन्छ । मैदान त प्राकृतिक नै हुनुपर्छ । फेरि हामीसँग त्यसको बिकल्प पनि छैन । दशरथ रंगशाला नै हेर्दा पनि बाहिरको फुटबलभन्दा हामी कति तल छौँ भन्ने थाहा हुन्छ ।

देशले चाहेर बोलाएको बेला खेल्न आएको छु । खेलेको छु । राष्ट्रिय टिममा परेपछि कतिपटक त क्लबमा झगडा नै गरेर आएको छु । क्लबले छाड्न नै मान्दैन । घाइते भइदियो भने समस्या हुन्छ जस्तो सोच्छन् । किचकिच गर्छन् । कुरा मिल्दैन । तै पनि देशभन्दा ठूलो अरु होइन, त्यसैले जस्तो अवस्थामा भए पनि आउँछु ।

****

नेपालमा लिग नखेले पनि साथीहरु खेलिरहेका छन् । हुन त अहिले भएको लिग पनि नाम मात्रको लिग छ । लिग नभएको बेला यही पनि भयो भनेर खुशी हुनुपर्ने अवस्था छ । लिगभन्दा धेरै मोफसलका प्रतियोगितामा समय खर्च भइरहेको हुन्छ । त्यो खेलेर वास्तवमा भन्दा काम नै छैन । घाइते हुने सम्भावना असाध्यै धेरै हुन्छ । त्यस्तोमा खेलाडी अनुशासनमा पनि बस्दैनन् ।

लिगलाई प्राथमिकता दिएर व्यवस्थित र लामो हुनुपर्छ । लिगलाई काठमाडौं भन्दा बाहिर पनि लैजानुपर्छ । बाँकी रहेको तीनचार वटा खेलमा खेलिदिनु पर्‍यो भनेर क्लबले बोलाएका पनि छन् तर, अब आराम चाहिन्छ भनेर नखेल्ने निर्णय लिएँ ।

अब कुनै राम्रो लिगमा जानसक्छु कि भनेर हेरिरहेको छु । राम्रो लिगमा अफर आयो भने जाने छु । इन्डोनेसिया भन्दा राम्रो लिग थाइल्याण्डमा छ । अरुतिर पनि छ । यही गर्छु भन्ने योजना त छैन । तर जहाँ गए पनि राम्रो गर्ने छु ।

****

रोहितले विदेशी क्लबमा जस्तो गरेको छ, राष्ट्रिय टिममा त्यसरी खेल्न सकेको छैन भन्ने गरेको पनि सुन्छु । म त टिम प्लेयर हुँ । आफ्नो टिमलाई सहयोग गर्छु । राष्ट्रिय टिमबाट खेल्दा र बाहिर खेल्दा पनि आफूले कसरी राम्रो गर्न सक्छु भनेर सोचिरहेको हुन्छु । मैले सधैँ सतप्रतिशत मेहनत नै गरेको हुन्छु तर, गर्दागर्दै पनि कहिले काहीँ केही मिल्दैन र नराम्रो लाग्छ ।

क्लबबाट वर्षमा ३४ वटा खेल खेलिन्छ । राष्ट्रिय टिमबाट एकदमै कम मात्र खेलिन्छ । त्यसले गर्दा पनि बाहिर र यहाँको खेललाई मिलाउन कहिले काहीँ भने अप्ठ्यारो पनि पर्छ । राष्ट्रिय टिमबाट कहिले काहीँ गाह्रो नै हुन्छ ।

एएफसी सोलिडारिटी र बंगबन्धु गोल्डकप जितेपछि अब राष्ट्रिय टिमबाट हाम्रो लक्ष्य नै साफ च्याम्पियनसिप जित्ने हो । हामीले कस्तो टिमसँग कहाँ खेलेका छौँ भनेर विचार भने गर्नैपर्छ । ठूलो आशा राख्ने र तयारी नगर्ने गर्नु राम्रो हुँदैन । हाम्रो फुटबलमा जुन स्तरमा छ, त्यसले हाम्रो लक्ष्य साफ नै हो ।

एसियन छनोट खेल्दा हाम्रो स्तर कुन हो भनेर बुझेका छौँ । त्यो कुरा खेलाडी, पदाधिकारी र दर्शकले पनि बुझ्नुपर्छ तब मात्र फुटबलको विकास हुन्छ जस्तो लाग्छ ।

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को १६ औं श्रृङ्खलामा यो हप्ता राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दको कथा प्रस्तुत गरिएको हो ।)

प्रस्तुतीः ऋग्वेद शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment