Comments Add Comment

धरहरामा प्रधानमन्त्री ! पहिले मै बनाउँछु, अहिले चढ्छु !

१२ पुस, काठमाडौं । विनासकारी भूकम्पले भत्किएको ऐतिहासिक सम्पदा धरहराको औपचारिक पुनर्निर्माण शुरु भएको छ । दुईवर्ष पहिले प्रधानमन्त्री केपी ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ भनेका थिए । विहीबार उनले धरहरामा चढेर काठमाडौं हेर्ने मनोकांक्षा प्रकट गरेका छन् ।

भत्किएको धरहराकै ठूटोको आडैमा बन्न लागेको नयाँ धरहराको जगमा इँटा राखेर ताम्रपत्र अनावरण गर्दै बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे ।
धरहरा पुनर्निर्माणलाई सरकारले समेत उच्च प्राथमिकता दिएको झल्को शिलान्यास समारोहमा देखिन्थ्यो ।

शिलान्यास प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले गर्ने पूर्वनिर्धारित तालिका थियो । तर, कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित झण्डै आधा दर्जन मन्त्रीहरुसमेत पुगे ।

‘मै बनाउँछु’ भन्दै अनेक थरी प्रयास

३ वर्ष ८ महिना अघि ०७२ वैशाख १२ को भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण कहिले नेपाल टेलिकम, कहिले काठमाडौं महानगरपालिका त कहिले चन्दा उठाएर गर्ने चर्चा पनि रहृयो ।

नेपाल टेलिकमले धरहरालाई व्यवसायिक मोडालिटीमा बनाउने भनेपछि पुरातत्व विभागले रोक्यो ।

टेलिकमले आफैंले नबनाएपछि धरहरा पुनर्निर्माणका लागि झण्डै एक अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

टेलिकम पछि हटेपछि चन्दा उठाएर धरहरा पुनर्निर्माण गर्ने बहस शुरु भयो । त्यसै दौरान ०७२ फागुन ४ गते प्रधानमन्त्री ओलीले धरहराकै फेदबाट ‘मै बनाउँछु मेरो धरहरा’ नारा दिएर पुनर्निर्माणको शिलान्याससमेत गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीकै शब्दमा त्यो अभियान अपेक्षितरुपमा अघि बढ्न सकेन र ‘ब्रेक’ लाग्यो ।

अन्ततः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै अग्रसरतामा धरहरा निर्माण थालिएको छ । प्राधिकरणसँग भएको सम्झौताअनुसार ठेकेदारले काम गरे अबको ठ्याक्कै २ वर्षपछि धरहराले आफ्नो पुरानै विरासत पाउनेछ ।

पुरानै स्वरुपको बन्ने दाबी

शिलान्यासपछि प्रधानमन्त्री ओलीले भनेझैं धरहरा पुरानै स्वरुपको तर, अत्याधुनिक बन्नेछ ।

अब बन्ने धरहरामा लिफ्टदेखि पार्किङसम्मका विविध सुविधा हुनेछन् । प्राधिकरणका कार्यकारी निर्देशक -सीईओ) सुशील ज्ञवालीले प्राचिन सम्पदाहरुलाई पुरानै स्वरुपमा ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

अब बन्ने धरहराको भुईं तलामा पुनर्निर्माणका क्रमका तस्वीरहरु संग्रहित गरेर प्रदर्शनीमा राखिने उनले बताए ।

ठेकेदार कम्पनी रमन जेभीका प्रतिनिधि रमन महतोले तोकिएको समय (९ अक्टोबर २०२०) भित्रै धरहराको निर्माण सक्ने प्रतिबद्धता जनाए ।

‘धरहरा निर्माणको जिम्मा हामी दृढ संकल्पका साथ तोकिएको समयमा पूरा गर्नेछौं, यसको निर्माण नेपालको उत्कृष्ठ इञ्जिनियरिङको नमूना पनि बन्नेछ’, उनले भने ।

इञ्जिनियरिङ जगतमा नेपाली पनि कमजोर नरहेको दृष्टान्त धरहरा निर्माणपछि देखिने उनको दावी छ ।

२ वर्षमा ठडिएला त धरहरा ?

गत १० सेप्टेम्बरमा प्राधिकरणले टेण्डर आहृवान गरेर जीआईईटीसी रमन जेभीलाई धरहरा पुनर्निर्माणको ठेक्का दिएको हो ।

सम्झौता अनुसार रमन जेभीले १० अक्टोबरदेखि काम थाल्ने भनिएपनि २१ दिन ढिलोगरी निर्माणस्थलमा प्रोटेक्सन पालिङ (छेकबार) गर्ने लगायतका काम थालेको थियो ।

टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

रमन जेभीले नयाँ धरहराको जग खन्ने काम सकिसकेको छ । यस्तै भत्किएको धरहराकोठूटोमाथि छत राख्ने काम सकिएको छ, अब त्यसलाई चारैतिरबाट १० मिलिमिटरको टेम्परग्लास (सिसा) ले घेरेर संरक्षण गर्ने योजना छ ।

धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ ।

रमन जेभीले ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपैयाँमा यो ठेक्का पाएको हो ।

अब बन्ने धरहरा बाहिरबाट ११ तला र भित्रबाट २२ तलाको हुनेछ भने टुप्पोको गजुरहित ७९ दशमलब २ मिटर (२५७.४ फिट) अग्लो हुनेछ ।

विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’ मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । लिफ्ट एक पटकमा १० जनासम्म चढ्न सक्ने हुने भनिएको छ ।

लिफ्टबाट धरहराको भित्री भागको २०औं तलासम्म पुग्न सकिनेछ र त्यहीँबाट काठमाडौं अवलोकन गर्ने व्यवस्था हुनेछ । २० औं तलाको उक्त अवलोकन कक्षमा एक पटकमा ५४ जनासम्म अटाउनेछन् ।

धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ ।

बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ ।

म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले जनाएको छ ।

धरहरा छिर्नेबित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् ।

धरहरा परिसरमा तीनतले पार्किङ हुने छ । पार्किङमा ३४७ वटा सवारी र ७०० वटासम्म मोटरसाइकल अट्ने बताइएको छ ।

पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।

धरहराको क्षेत्र विस्तार गर्न सुन्धारा आडैमा रहेको राष्ट्र बैंकको टक्सार विभागलाई समेत त्यहाँबाट हटाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment