१३ पुस, काठमाडौं । मलेसियामा रहेका नेपाली कामदारलाई त्यहाँको नयाँ सामाजिक सुरक्षा कार्यक्रममा समावेश हुन आग्रह गरिएको छ ।
क्वालालम्पुरस्थित नेपाली दूतावासले सूचना जारी विद्यमान फोरेन वर्कर्स कम्पेन्सन स्किम (एफडब्लूसीएस) को सट्टा नयाँ व्यवस्था सोसियल सेक्युरिटी अर्गनाईजेशन (सोक्सो) मा आवद्ध हुन आग्रह गरेको हो ।
मलेसिया सरकारले हालै मात्र सामाजिक सुरक्षा कार्यक्रमका लागि सोक्सो लागू गरेको छ । नयाँ सामाजिक सुरक्षा कार्यक्रममा कामदारको पारिश्रमिकबाट पैसा काटिने छैन ।
रोजगारदाताले नै विदेशी कामदारलाई सोक्सोमा दर्ता गर्नुपर्ने र सामाजिक सुरक्षा वापतको कामदारको मासिक न्युनतम् पारिश्रमिकको १.२५ प्रतिशत तिरिदिनु पर्नेछ । रोजगार दाताले कामदारको पारिश्रमिकबाट पनि यो रकम कट्टा गर्न पाउँदैन ।
विद्यमान एफडब्लूसीएस अन्तर्गत रहेका काामदाहरुले उक्त कार्यक्रमको म्याद सकिएको भोलिपल्ट नै नयाँ योजना सोक्सोमा दर्ता भइसक्नुपर्नेछ ।
एफडब्लूसीएसको म्याद बाँकी नै रहेपनि आउँदो १ जनवरी २०१९ देखि भने अनिवार्यरुपमा सोक्सोमा दर्ता भइसक्नुपर्नेछ ।
अब मलेसिया जाने कामदारले पनि नयाँ सामाजिक सुरक्षा कार्यक्रम सोक्सो मा नै अनिवार्य दर्ता हुनुपर्ने दूतावासले जानकारी दिएको छ ।
नयाँ कार्यक्रममा दर्ता हुने कामदारहरुले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रमि परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुनस्र्थापना लगायतका सुविधा पाउनेछन् ।
हाल मलेसियामा कार्यरत र अब जानेले आ-आफ्ना रोजगारसँग सम्पर्क राखेर आफूलाई सोक्सोमा दर्ता गराइदिन भन्न पनि दूतावासको आग्रह छ ।
मलेसियामा वैधानिक रुपमा रहेका कामदारले मात्र यो सुविधा पाउनेछन् । साविकको कम्पनी छाडेर भागेमा तथा अवैधानिक भएमा त्यस्ता कामदारले सामाजिक सुरक्षा वापतको सेवा सुविधाबाट बञ्चित हुनुपर्नेछ ।
प्रतिक्रिया 4