+
+
Shares

वीपीको नेपाल प्रत्यागमन र आजको कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १६ गते १४:१३

नेपाली राजनीतिक फाँटमा वीपी कोइरालाको जति चर्चा सायदैै अन्य राजनीतिज्ञको भएको होला । समय सापेक्ष नीति र लिएको नीतिमा देखाएको दृढताकै कारण वीपी आजपर्यन्त चर्चामा छन् ।

वीपी कोइरालाले विशिष्ट कालखण्डहरुमा लिएका नीति मध्ये राष्ट्रिय मेलमिलापको नीतिसँगै भारतवाट नेपाल प्रत्यागमनलाई एउटा विशिष्ट कार्यनीतिका रुपमा लिने गरिन्छ ।

देशैभरका कांग्रेसजन आज पुस १६ गते राष्ट्रिय मेलमिलाप नामक कार्यक्रममा जुट्दै गर्दा वीपी कोइरालाको नेपाल प्रत्यागमन, तत्कालीन विशिष्ट कालखण्ड र आजको कांग्रेसले लिएको नीतिकाबारे संक्षिप्त चर्चा गरिनु सान्दर्भिक रहला ।

वीपीको नेपाल प्रत्यागमनः

आस र त्रासका वीच भारतमै राख्नेसँगै वीपीलाई देखाएर राजासँग र राजालाई देखाएर वीपीसँग बार्गेनिङ गर्ने रणनीतिक कार्डका रुपमा इन्दिरा गान्धीद्वारा प्रयोग गरिएको थियो- वीपीलाई देश छाड्न लगाउने विषय । वीपीलाई नेपाली राजनीतिमा पुनस्र्थापना गराइदिने रणनीतिक चालमा नेपालको राष्ट्रियता नै कमजोर बनाउने इन्दिरा गान्धीको खेलको आभाष वीपी जत्तिका चतुर राजनीतिज्ञलाई थाहा नहुने कुरै भएन ।

आफूमाथि फाँसीसहितका ८/ वटा मुद्दा भएकै समय नेपाल फिर्ती एउटा आफैंमा दुस्साहस पनि थियो वीपीको । तर, उनले विश्लेषण निकाले – राष्ट्रियता नै नरहे राजाले कहाँ शासन गर्लान् ? तसर्थ राष्ट्रियताको सन्दर्भ जोडेर फकर्ंदा फाँसी नै भए पनि स्वीकार्छ भन्दै उनी नेपाल फर्किए । राष्ट्रियताको झण्डा उचालेर नेपाल फर्किएका वीपीले देशभित्रै संघर्ष गरेर जनमत संग्रह हुँदै त्यसको २० वर्षपछि नेपालमा प्रजातन्त्र प्राप्ति भयो । प्रजातन्त्र प्राप्तिको जग तीनै वीपीले बसाएका थिए ।

सुदर्शन आचार्य

विद्रोही स्वभावका वीपीले नेपाली जनताका खातिर विद्रोहको (सशस्त्रदेखि गान्धीवादीसम्म ) झण्डा उठाए । तर, वीपीले ती निर्णय लिँदा केन्द्रीय तहदेखि ग्रामीण

हसम्मका कार्यकर्तावीच बिहंगम बहस चलाए । जुझारुपनसँगै नेतृत्व कौशल भएका वीपीले भारतको कार्ड बनेर इन्दिरा गान्धीलाई साथ दिनुस् भन्दा मुलुकभित्र राष्ट्रवाद र लोकतन्त्रको झण्डा उठाएरै मृत्युवरण गर्नु उचित ठाने भारत छाड्दै गर्दा उनले भने- राष्ट्रियताका सवालमा मेरो राजासँग मत मिल्छ । तर, लोकतन्त्रका सवालमा मेरा लडाई र संघर्ष राजासँगै हो ।

कार्यवाहक सभापति सुर्वण समशेर रहेकै समय केन्द्रीय कार्य समिति पुर्नगठन गरी सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै वीपीले भने – यतिबेला प्रजातन्त्रवादीले राष्ट्रियताप्रति र राजावादीहरुले प्रजातन्त्रप्रति ध्यान दिनुपर्ने बेला आएको छ ।

वीपीले भारत छाड्दै गर्दा वीपीका अनन्य मित्र जयप्रकाश नारायणले भावविह्ल हुँदै भनेका थिए – जानोस् वीपी जानोस् । हामी राजा साहेबसँग विनम्र अनुरोध गर्दछौं कि आफ्नो देशभक्त नेतालाई पहिचान गर्नोस्, आफ्नो र उनको विचारलाई मिलाएर देश चलाउनोस् । आफ्नो देशलाई स्वतन्त्र राख्नोस् ।

अन्ततः वीपी, गणेशमान सिंह लगायत नेतालाई सुन्दरीजल जेल पुर्‍याइयो । वीपी र गणेशमान लगायतलाई जेलको पर्खालले रोके पनि लोकतन्त्र प्राप्तिको उनीहरुको विचारलाई त्यो पर्खालले रोक्न सकेन । राज्य कोष खर्चेर ल्याइएका केही थान भाडाका मानिसले वीपीविरुद्ध एअरपोर्टबाट सुन्दरीजल लैजाँदै गर्दा वीपीलाई फाँसि दे, अराष्ट्रिय तत्व मूर्दावाद जस्ता नारा लगाए । तर, स्वतन्त्रताको लामो लडाइँ लड्न मृत्युको समेत पर्वाह नगरी नेपाल फर्किएका वीपीले आफ्नाविरुद्ध नारावाजी गर्नेतिरसमेत र्फकंदै हात हल्लाएर जेलको यात्रालाई स्वीकार गरे ।

जेल जीवनको विशिष्ट कालखण्डः

विसं. २०१७ पुस १ पश्चात ८ वर्ष बिताएको सुन्दरीजल जेल वीपीको दोस्रो घर थियो । जहाँबाट पुनः प्रजातन्त्रको संघर्ष प्रारम्भ गरे उनले । एकातिर राजासँग लडाइँ रहेकै बेला नेपाल आगमन, अर्कातिर भारतको कार्ड बन्न नमानेकै कारण भारतसँग बिगि्रएको सम्बन्ध र नेपालमा वामपन्थी राजनीति गर्नेले समेत वीपीलाई कहिले राजा र कहिले भारतको देख्ने गरेको विशिष्ट परिस्थितिवीच वीपीको सुन्दरीजल जेल यात्रा थियो त्यो ।

न राजा, न त भारतसँगै घाँटी जोडिएको, दुबैतिर घाँटी नजोडी केवल लोकतन्त्र प्राप्तिसँगै राष्ट्रियता बचाउन जनतासँग घाँटी जोडिएका वीपीलाई राजा र वामपन्थी दुबैले चिन्न सकेनन् । जब भारतको निर्वाचनमा इन्दिरा गान्धीको पार्टीको पराजयपछि मोरारजी देसाई प्रधानमन्त्री बने, तब नेपालमा प्रजातान्त्र प्राप्ति र राष्ट्रियता मजबुत हुनु पर्छ भन्ने शक्ति भारतमा समेत बलियो भएकाले नेपालको लोकतन्त्र र स्वाधीनताको आन्दोलनमा वीपीलाई बल पुग्यो ।

जेलमा रहेका वीपीका मुद्दा त यथावत थिए नै । प्लेन अपहरणको पैसा के गरेको भन्नेसम्मको प्रश्नको सामना गर्नुपर्‍यो वीपीले । उनले जवाफ दिए- जनताको पैसा जनताले नै खर्च गरे ।

सर्लाहीको धानखेतमा प्रहरीको हत्या गरेको, धरानको फुस्रे ब्यारेकमा हाते बम प्रहार गरेको, बीपीसहित अशोक कुमारले बम पेस्तोल उठाई अव्यवस्था सिर्जना गरेको, पञ्चायती व्यवस्थामा जनताको मौलिक हक नभएकाले सहस्त्र क्रान्तिद्वारा पञ्चायत पल्टाई लोकतान्त्रिक समाजवादी व्यवस्था ल्याउन लागेको, सशस्त्र क्रान्तिका लागि झापा धुलावारी र मोरङको सिजुवाका किसानका घरमा हतियार भण्डारण गरेको, श्री ५ विरोधी लेख स्प्रिड फायर पत्रिकामा प्रकाशन गर्न लगाएको, स्याङजामा हतियार पुर्‍याई राष्ट्र विप्लव गरेको र क्याप्टेन यज्ञबहादुर थापासमेतले सोलु ओखलढुंगामा हतियारबन्द आन्दोलन गरी राजकाजमा अवरोध गेको जस्ता संगीन मुद्दा थिए वीपीमाथि ।

विशिष्ट कालखण्डमा जेलभित्रैबाट वीपीले भने- मेराविरुद्ध पञ्चायत र राजासँग रौं जति पनि प्रमाण छैन । तर, मैले क्रान्तिको आह्वान किन गर्नुपर्‍यो भन्नेबारे भने म लामो वयान दिन सक्छु ।

अन्ततः वीपी र गणेशमानको अडानमा राजा र पञ्चायत दुबै झुक्न पुगे । उनीहरुमाथिका ८ मुद्दामा प्रमाण नपुग्ने भन्दै सफाइ दिइयो । तर, त्यही मुद्दामा क्याप्टेन थापा र भीमबहादुर श्रेष्ठलाई भने फाँसीको सजायँ सुनाइयो । तिनै सहिदहरुको बलिदानीपूर्ण संघर्ष र वीपी गणेशमानजस्ता आँटिला नेताहरुको योगदानको विरासतस्वरुप आज मुलुकले गणतन्त्र प्राप्त गरेको छ ।

आजको कांग्रेस

विरासतबाट प्राप्त गौरवमय इतिहासको भारीले थिचिएको महसुस गर्दैछ आजको कांग्रेस । हिजो वीपीले इन्दिरा गान्धीको सन्देश लिएर आउने रक्षामन्त्री जगजीवन रामालाई समेत भेट्न मानेनन्, इन्दिरा गान्धीको चालबाजी बुझेर । तर, आजको कांग्रेसलाई बालुवाट आसपासको फोननै काफी छ । इन्दिरा गान्धीतिर लक्षित गर्दै सन्देशबाहक रक्षामन्त्री रामालाई वीपीले भने – महारानीको सन्देश लिएर आउन खोज्नुभएको भए कृपया कष्ट नगर्नु होला ।

कति दुरदृष्टि थियो वीपीमा ! आजको कांग्रेसले कृपया वनभिटारुपी डिनर खुवाएर कांग्रेसको विरासतवाट प्राप्त इमेजलाई बिगार्न खोजिएको हो भने कृपया डिनरमा बोलाउने कष्ट नगर्नु होला भन्न किन सक्दैन कांग्रेस नेतृत्व ?

निर्वाचन भएको एक वर्ष पुग्न लाग्यो । हिजो वीपी व्यवस्थाको मूलधारभन्दा बाहिर रहेर पनि राजनीतिलाई आफ्नै वरिपरि घुमाउन काविल थिए । आज कांग्रेस आफैंले संघर्ष गरेर ल्याएको सिस्टमको फ्रेमवर्कभित्रै छ । तर, नेकपाका निर्णयको फडके किनाराको साक्षी मात्र !

नेकपाका नेता कम्युनिष्ट शासन भैदिएको भए ड्याम ड्याम निर्णय हुन्थे भन्दै लोकतन्त्रमा नसुहाउने कुरा गर्दैछन् । हत्या, हिंसा, बलात्कार, आतंक, महंगीजस्ता विषय नेपाली जनताको दिनचर्या नै बन्न पुगेका छन् । न्यायालयदेखि कर्मचारी प्रशासनको तहसम्म सत्ताको छाँया प्रस्टै देखिन्छ । तर, प्रतिपक्ष भने पुरापूर मौन छ । यसलाई सामान्य मान्न सकिन्न ।

कांग्रेसभित्रैको मात्र कुरा गर्ने हो भने आफैंभित्रको पुरै गुटले समेत स्वीकार गर्न नसकेको नेतृत्वले राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रको विश्वास कसरी आर्जन गर्ला ? देउवा नेतृत्वको कांग्रेसले आजका मितिमा नेकपाको सरकारलाई न त संविधानको ट्रयाकमा राख्न सक्यो, न त युवा विद्यार्थी र तरुण परिचालन गरेर मुलुकमा देखिएको बेथितिलाई आन्दोलनका माध्यमबाट सरकारलाई दबाव नै दिन सक्यो । दुबै विषयमा चुक्यो कांग्रेस ।

टीठलाग्दो अवस्थामा कांग्रेस रहँदा फाँसीको सजायँको पनि पर्वाह नगर्ने नेता वीपी कोइरालाको पार्टी हो नेपाली कांग्रेस भन्ने अनुभूतिसमेत हराउँदै गएको छ ।

कांग्रेसले हालै आफ्नो महासमिति बैठक सम्पन्न गर्‍यो, उक्त बैठकको रुप हेर्दा झिलीमिली र खानपान हेर्दा स्वादिलै भएको बताइन्छ । तर, सारमा हेर्ने हो भने न त राजनीतिक सन्देश सम्प्रेषित गर्न सक्यो, न त सत्तालाई सच्याउने दिशानिर्देश नै । केवल नेतृत्वले महासमिति नामको एउटा खड्गो मात्र पार गर्‍यो । आजका मितिको सोच, शैली र संस्कारको कांग्रेस नेतृत्वले सत्तामा रहँदा वा नरहँदा सम्पति त आर्जन गर्ला नै, बिरासतवाट प्राप्त गौरवमय इतिहासमा थप इतिहास भने नथप्ने नै निश्चित छ ।

वीपीको योगदान र महासमिति बैठकको उपलब्धीको कुरा छाडौं, यतिबेला गिरिजाप्रसाद कोइरालामात्र जिवित थिए भने पनि सत्तालाई साइजमा राख्न र देशैभर कार्यकर्तालाई परिचालन गर्दै राष्ट्रिय राजनीतिको मियो शक्ति कांग्रेस हो भन्ने सन्देश दिनसमेत उनी सफल हुन्थे । तर, आजको कांग्रेसले राष्ट्रिय राजनीतिमा दिनुपर्ने सन्देशसमेत दिन नसक्दा लोकतन्त्रवादीलाई चिन्तित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?