Comments Add Comment

एसिड आक्रमणकी पीडित भन्छिन्- छोराछोरी डराएर नजिक पर्दैनन्

Photo Credit : चन्द्र आले /अनलाइनखबर

१८ पुस, काठमाडौं । बेलुकीको त्यस्तै साढे नौ बजेको थियो । डेरामा थिएँ, झ्याप्प बिजुली गयो । त्यही बेला झलक्क सम्झेँ- कावासोती- १६, डण्डाकी एसिड अपराध पीडित बसन्ती परियारलाई ।

उनी अहिले कहाँ, कस्तो अवस्था होलिन् ? एसिड र छुरी दुबैको सामना गरेकी बसन्ती के सोच्दै होलिन् ? कि चोटले शरीरलाई जस्तै जीवनका सपनाहरुलाई पनि गाल्दै लगेका छन् ?

बिजुली फेरि आयो । मैले एसिड अपराध बिरुद्ध  लडिरहेकी सीमा बस्नेतलाई डायल गरें । उनले बसन्तीकै फोन फोन नम्बर दिइन् ।

***

भोलिपल्ट विहानै बसन्तीलाई फोन गरेर भेट्न चाहेको बताएँ । मैले ‘लोकेशन’ सोध्दा उनले उल्टै भनिन्, ‘म बसेको ठाउँ मलाई नै थाहा छैन, सीमाले भन्नुभएन ?’

आफू रहेको ठाउँठेगाना आफैलाई थाहा नहुने अवस्थाको छटपटी कस्तो हुँदो हो ? सोच्दै सीमालाई फेरि फोन गरेँ ।

उनले बसन्तीको लोकेसन दिइन्- ‘कान्ति बाल अस्पताल हुँदै केही पर पुगेपछि ओरालो आउँछ । त्यो ओरालो सकिँदै सानो मन्दिर भेटिन्छ । त्यसको ठ्याक्क ‘अपोजिट’ गल्लीमा बस्छिन्, उनी ।’

***

कोठाको ढोका उघार्नेबित्तिकै खाटमा बसेकी बसन्ती देखिइन् । टाउकामा उनीको टोपीमाथि नीलो हुट राखेर ब्लाङकेटमा बेरिएकी छन् ।

भुँईको म्याट्रेसमा आमा कल्पना परियार छिन् । मुडामा बस्दै मैले सोधेँ, ‘अहिले घाउ र अरु अवस्था कस्तो छ ?

गहिरो सुस्केरा हाल्दै आमाले भनिन्, ‘खै के भन्नु बाबु, एउटा आँखाले हेर्न सक्दिन । बिजाइराख्यो भन्छे । डाक्टरले पछि अप्रेशन गर्नुपर्छ भनेका छन् । घाउँहरु दुखिराख्छन् । उपचार गर्नै बाँकी छ । सत्रु लाग्यो, अब सबै कुरा भगवानको हाहतमा छ ।’

आमाले एकै सासमा बताइन्, यसरीकी यति भन्नैका लागि उनी लामो समयदेखि प्रतिक्षारत थिइन् ।

कहाँ, कहाँ पर्‍यो एसिड ?

आमा उठेर छोरीको हुड र टोपी खोलिदिइन् । अनि बसन्तीको अनुहार पनि देखियो । उनको देब्रे टाउकामा खाल्टो जस्तो देखिने गहिरो घाउले लगातार पीप उत्पादन गरिरहेको छ । खाल्टा भरिएर घरी-घरी पिप बगिराख्छ ।

आधा टाउकामा कपाल छैन, आधा कपाल ठुट्याइएको छ । टाउकोको खाल्टा मुनी देब्रे आँखा नजिक एसिडले उस्तै खाल्टो पारेको छ । उनीसँग नाम मात्रको अनुहार बचेको छ ।

आमा भन्न थाल्नुभयो, ‘कति राम्री मेरी छोरीलाई यस्तो बनाइदियो । मेरा तीन छोरी मात्र हुन् । बोलिदिने कोही छैन भनेर मार्न खोज्यो । हट्टा-कट्टा छोरा पनि भएको भए हेप्न सक्थेन होला । सरकारले त्यसलाई कडा सजायँ देओस् ।’

आमापछि ३१ वर्षकी छोरीको आक्रोश पोखियो, ‘सरकारले कारवाही गरेन भने मलाई जस्तो हालत बनाएको छ, त्यसलाई पनि त्यस्तै बनाउँछु । अपराधको शिकार बन्नु कति गाह्रो हुदो रहेछ भनेर त्यसले पनि थाहा पाओस् ।’

बसन्तीको मुख बांंगिएको छ र बोली पनि फेरिएको छ ।

***

१५ वर्ष अगाडि बिहे गरेकी बसन्तीका १३ वर्षका छोरा र आठ बषिर्या छोरी छिन् ।

तीन वर्ष साउदी अरबमा नफापेर फर्केका श्रीमान् यमनारायण परियार लामो समय घरमै बसेर मलेसियातिर लागेका थिए । त्यहाँ पनि पायल्स र मधुमेहले थला पार्न नछाडेपछि बसन्तीले नै ‘ज्यान भए सबथोक हुन्छ, आउ बुढा घरमै केही गरौँला’ भनेर बोलाइन् ।

यमनारायण मलेसियाबाट फर्केएको चार महिना बित्दै थियो । उनका दिन बसन्तीले पालेका भैंसी र बाख्रा हेर्दै बितिरहेका थिए । उब्जनीले वर्ष दिन खान नपुग्ने हुनाले बसन्तीले सिलाई-कटाई तालिम पनि लिँदै थिइन् ।

८ असोज २०७५, सोमबारको दिन । बसन्तीले बिहान छोराछोरीलाई खाना खुवाएर स्कुल पठाइन् । त्यसपछि श्रीमानलाई खुवाएर नजिकै रहेको माइततिर लागिन् ।बसन्तीको घरको कपडा सिउने मेसिन बिग्रिएको थियो । माइतमा माइली बहिनी सिलाउनमा निकै सिपालु थिइन् । बसन्तीले त्यही कपडा काटेर राखेकी थिइन् । त्यसलाई सिलाई सकेर उनी दौडदै घर पुगेर श्रीमानलाई सोधिन्, ‘औषधी खानुभयो ?’

छोराछोरी स्कुलबाट फर्किसकेका थिए । खाजा तयार पारेर खुवाइन् । त्यसपछि यमनारायणका लागि तोरीको साग किन बजारतिर लागिन् । यमले धनियाँको बीउ ल्याउन नबिर्सिन सम्झाए ।

पाहुना आएकी मामाकी छोरी पनि बसन्तीको साथ लागिन् । बाटोमा एउटा खुट्टा नभएको मानिसले भिख माग्दै थिए । बसन्तीले ५ रुपैयाँ थमाइ दिइन् । अलि पर्तिर पुगेपछि टाउको ठूलो ज्यान सानो भएको बालकले पनि सहयोगको याचना गर्‍यो । बसन्तीले पर्सबाट अर्को ५ रुपैयाँ झिकेर दिइन् । ‘कसैलाई त कस्तो-कस्तो पर्छ नि जीन्दगीमा ! सोच्दै उनी अगाडि बढिन् ।

**

कावासोती बजारमा आमाको तरकारी पसल छ । सिधै त्यहीँ पुगिन्, बसन्ती । त्यहाँ एकछिन् बसिन् र तरकारी लिएर घर लागिन् । वाहिनीले चटपट खाने भनेपछि उनीहरु बिचमा केहि बेर रोकिए ।

अपरान्हको साढे चार बजेको हुँदो हो । चटपटले बसन्तीलाई तिर्खा लगाएको थियो । त्यसैले छिटछिटो पाइला चाल्दै थिइन् उनी ।

अकस्मात पछाडिबाट कसैले बसन्तीको चुल्ठो समाएर तान्यो । र, माथिबाट एसिड खन्याइदियो । सँगै, देब्रे कोखामा छुरी घुसाइदियो र भाग्यो । बहिनी चिच्याइन्, ‘विमल श्रीपाइली …’

मोवाइलमा आफ्नो पहिलेको तस्वीर हेर्दै बसन्ती ।

बसन्तीले तीव्र पीडा भइरहेको कोखा छामिन्, आन्द्रा बाहिर निस्किएका थिए । एसिडले डढाइरहेका आँखा खोल्ने अवस्था थिएन । उनी चिच्याउँदै गुहार मागिरहेकी थिइन् ।

उनलाई अटो रिक्सामा राखेर भरतपुर अस्ताल पुर्‍याइयो । त्यो एक घण्टाको यात्रामा जलन सहँदै उनले सबैलाई सुनाइन्, ‘त्यसले मलाई मन पराउँछु भन्दा मैले बेस्सरी गाली गरेको थिएँ । यसो गर्ला भनेर सोचेको थिइनँ ।’

त्यो दिन बेहोस हुनुभन्दा अघिको सम्झना सुनाउँदै बसन्तीले भनिन्, ‘मलाई एसिड र छुरा हान्ने वित्तिकै बचाओ, बचाओ भन्दै कराएँ । त्यही बेला परिवार र आमालाई सम्झीएँ । अनि डाक्टरलाई मलाई छिटो निको बनाइदिनुस्, विमल श्रीपाइलीलाई समात्छु भने । अनि पानी खान पनि नपाई बेहोस् भएछु ।’

विमल श्रीपाइली यमनारायणका छिमेकका साथी हुन् । श्रीमती र चार वर्षकी छोरी भएका उनी प्रायः वैदेशिक रोजगारीमा हुन्थे । विदामा घर आएका बेला मौका पाउँनासाथ बसन्तीलाई ‘म तिमीलाई मन पराउँछु, बिहे गर्छु’ भन्थे । बसन्तीलाई उदेक लाग्थ्यो । अति भएपछि ‘मेरो त छोराको बिहे गर्ने बेला भैसक्यो, के बोलेको त्यस्तो’ भन्दै बेस्सरी हप्काइन् ।

त्यसपछि बेलाचाल बन्द भएको थियो । लोग्नेको साथी यो तहको अपराधमा उत्रेला भन्ने बसन्तीलाई एकरति लागेको थिएन ।

***

बसन्तीले तीन दिनपछि आँखा खोल्दा छेउमा यमनारायण थिए । उनको आन्द्राभित्र घुसाएर ठुलो घाउ सिइएको थियो । अनि बसन्तीले यमलाई सोधिन्, ‘छोराछोरीलाई पनि एसिड हान्यो कि ?’

एकछिन औषधी नखाँदा उनको शरीर पोलेर मुटु नै फुट्लाजस्तो हुन्थ्यो । नाकबाट घुसारिएको पाइपबाट खानुपरेको थियो ।

एसिड आक्रामणपछिको उनको जीवन पीडा र आँशुमा डुबेको छ, तर हिम्मत हारेकी छैनन् । उनी भन्छिन्, ‘आधा उमेर गैसक्यो, आधा उमेर जसो-तसो गैहाल्छ । तर, ममाथि यस्तो अपराध गर्नेले कठोर सजायँ पाएको हुनुपर्छ ।’

***

एक हप्तापछि देवदूत बनेर भरतपुर अस्पतालमा प्रकट भएकी खुश्बु प्रधानले बसन्तीलाई हेलिकप्टरमा राखेर उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित टिचिङ ल्याइदिइन् । आमा कल्पना भन्छिन्, ‘त्यही रहेकी भएँ मेरी छोरी मर्थी कि बाँच्थी, खुश्बु नानीलाई कोटी-कोटी नमस्कार छ ।’

एसिड आक्रमणमा पर्नुभन्दा पहिले ।

त्यतिबेला बसन्ती हलचल नै गर्न सक्दैनथिन् । एसिडले भेटेको पुरै शरीर पट्टीमा जकडिएको थियो, मधुरो देख्ने देब्रे आँखासमेत ।

टिचिङ आएपछि पनि दुई महिनासम्म पट्टीमा जकडिएर बेडमा छटपटाइन् । उनले साह्रै सम्झेपछि छोराछोरीलाई पनि अस्पताल बोलाइयो, तर छोरी डराएर नजिक परिनन् । ‘फोनमा कुरा गर्दा ममी छिटो निको भएर आउनुस् है भन्छे, तर भेट्न आउनै मान्दिनँ रे’, बसन्तीले भनिन् ।

यो अवस्थाले पनि उनको पीडा बढाएको छ ।

***

बसन्ती अस्पतालबाट मासिक १० हजार भाडा लाग्ने डेरामा सरेकी छन् । आमा र श्रीमानले महिनामा तीनपटक फलोअपमा अस्पताल पुर्‍याउँछन् । अरुबेला त्यही डेराको चार दिवारभित्र कैद छिन्, उनी ।

उनलाई बाहिर निस्किएर हिँड्ने, डुल्ने औडाहा भइरहेको छ, तर हिँड्यो भने छाला च्यातिन्छ भनेका छन्, डाक्टरले । संक्रमणबाट जोगिन पुरै शरीर छोपेर बस्नुपर्छ ।

दाहिने हात अझै सोझिएको छैन । दिसापिसाबका लागि आमा वा श्रीमानको सहारामा ट्वाइलेट चेयरमा बस्नुपर्छ, जुन ज्यादै सकसपूर्ण हुन्छ । यसरी बितेको छ बसन्तीको पछिल्लो दुई महिना ।

उपचार खर्चमा बीबीएस, नेपाल नामक गैर-सरकारी संस्थाले सहयोग गरेको छ । अरु कुनै राहत पाएकी छैनन् । डाक्टरले डाइट पुगिरहेको छैन भनेका छन्, तर उनीहरुलाई काठमाडौंमा बस्न पनि धौधौ छ ।

सहयोग गर्ने सरकार कतै छ भन्ने अुनुभुति छैन, उनीहरुलाई । आमा कल्पना भन्छिन्, ‘दुःखी त जहाँ मर्‍यो, मर्‍यो । सरकारी सहयोग पनि धनी र पहुँचवालालाई नै हुने रहेछ ।’

अबको जिन्दगी कस्तो हुन्छ त बसन्तीको ? त्यो उनैलाई पनि थाहा छैन ।

‘अपराधी समातिएकोमा न्याय पाउने आशा पलाएको छ’, उनी भन्छिन्, ‘मेरो जीन्दगीलाई चाहिँ खै, समयले कसरी, कता लैजाला !’

सबै तस्वीरः चन्द्र आले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment