१९ पुस, पोखरा । पोखरामा माघ दोश्रो साता सामुदायिक मावि स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा आगामी माघ ८ गतेदेखि १२ गतेसम्म कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित स्कुल– स्कुलमा भलिबल खेल पुर्याउने लक्ष्यसहित आयोजित प्रतियोगिताको तयारी सुरु गरिएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुको सहभागिता रहने पराजुलीले बताए । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागि बन्नसक्ने प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ ५०÷५० टिमको सहभागिता रहने अनुमान गरिएको उनले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकमध्येका एक सिर्जना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराईले बताए । उनले प्रतियोगिताले लुकेर रहेका प्रतिभा उजागर गर्नुका साथै खेलाडी उत्पादनमा पनि सघाउने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । यसैगरी प्रतियोगितामा सहभागी सबै टिमलाई तयारीका लागि ५/५ हजार प्रदान गरिने जनाइएको छ ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करीब ८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरेको सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक इन्द्र पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4