Comments Add Comment

एमबीबीएस छात्रवृत्ति निल्नु न ओकल्नु ! अतिरिक्त १९ लाख नतिरे भर्ना रद्द

२६ पुस, काठमाडौं । कपिलवस्तुका दिलिप चमार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को परीक्षामा राम्रो अंक प्राप्त गरेपछि एमबीबीएस छात्रवृत्तिका लागि छनौट भए । सरकारले विश्व विद्यालय अनुदान आयोगमार्फत उनलाई अध्ययन खर्च उपलब्ध गरायो ।

आईओएमले लिएको प्रवेश परीक्षाको प्राप्तांकका आधारमा उनी पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएका छन् । अनुदान आयोगबाट प्राप्त रकममध्ये पहिलो किस्ताबापतको रकम पनि कलेजको बैंक खातामा जम्मा भइसकेको छ ।

तर, दिलिपले पढ्न पाउने नपाउने निश्चित छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार अतिरिक्त रकम तिर्न नसके भर्ना रद्द गराउने स्पष्ट व्यहोराको पत्र दिलिपलाई गराइसकेको छ ।

सरकारले उपलब्ध गराएको छात्रवृत्तिबाहेक कलेजले अतिरिक्त १८ लाख ८१ हजार ९ सय मागेपछि दिलिपलाई सरकारी छात्रवृत्ति निल्नु न ओकल्नु भएको हो ।

जो होचो उसैलाई घोचो

सरकारले न्यून आय भएका दलित समुदाय मध्ये शैक्षिक क्षेत्रमा अत्यन्त पछाडि रहेको विद्यार्थीका इञ्जिनियरिङ र चिकित्साशास्त्र विषयमा स्नातक तहका कार्यक्रमहरूमा पहुँच विस्तार गर्ने उद्देश्यले विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ ।

१८ वर्षीय दिलिपका आमाबुबा ज्यालामजदुरी गर्छन् । आर्थिक अवस्था अत्यन्त न्यून भएका उनले कक्षा ११ र १२ पनि एचएसईबीको छात्रवृत्ति पाएर पढे । दिलिपका छिमेकीहरूका अनुसार उनको परिवार १९ लाख होइन १९ हजार रुपैयाँ उपलब्ध गराउन सक्ने आर्थिक हैसियतमा छैन ।

तर, कलेजले भने बकाइदा कबुलियतनामा गराएर उनको भर्ना रद्द गर्न खोजेको प्रमाण अनलाइनखबरलाई प्राप्त भएको छ । शिक्षा मन्त्रालय स्रोतबाट प्राप्त कबुलियतनामा अनुसार २८ पुसभित्र एक लाख रुपियाँ कलेजमा जम्मा गर्न नसके दिलिपको छात्रवृत्ति खोसिन्छ ।

कबुलियतनामामा १५ माघ भित्र थप एक लाख र ३० माघभित्र ५९ हजार बुझाउनु पर्ने उल्लेख छ । १८ लाख ८१ ह्जार ९ सय रुपैयाँ कलेजले तोकेको समयमा उपलब्ध गराउन नसके उनको भर्ना रद्द हुने व्यवहोराको पत्रमा कलेजले उनलाई हस्ताक्षर गराएको छ ।


कबुलियतनामामा भनिएको छ, ‘यदि तोकिएको समयमा उक्त समयमा उक्त रकमहरू बुझाउन नसकेमा मेरो एमबिबिएस भर्ना बदर गरिदिनु हुन यसै निवेदन अनुसार अनुरोध गर्दछु । साथै मेरो भर्ना बदर गरिए पश्चात मैले नेपालको कुनै पनि न्यायीक/अर्धन्यायीक/सरकारी/अर्धसरकारी एवम कुनै पनि निकायमा उजुर बाजुर गर्ने गर्ने छैन । उजुरबाजुरको कुनै हक सिर्जना हुने छैन ।’

यो व्यवहोरा कबुलियतनामा दुई ठाउँमा उल्लेख छ । राष्ट्रियसभाका सांसद रामलखन चमार कबुलियतनामाको व्यवहोरा हेर्दा जोकोहीले कलेजले जवरजस्ती गराएको ठोकुवा गर्न सकिने बताउँछन् ।

‘मेडिकल पढ्न लागेका १८ वर्षीय विद्यार्थीले कानूनको नौ सिङ बुझ्ने वकिलले जस्तो भाषामा कबुलियतनामा लेख्यो भनेर तपाई विश्वास गर्नुहुन्छ ?’ सांसद चमार भन्छन्, ‘साँझ विहान हातमुख जोड्न धौधौ भएको परिवारले १९ लाख कहाँबाट तिर्न सक्ला ?’

गैर–कानूनी असुली

गत २८ असोजमा बसेको मन्त्रिपरिषद बैठकले एमबिबिएसका लागि काठमाडौं उपत्यका र उपत्यका बाहिर छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ । सरकारको निर्णय अनुसार एमबीबीएसमा उपत्यका बाहिर आर्थिक वर्ष ०७५/०७६ का लागि अधिकतम ४२ लाख ४५ हजार शुल्क लिन पाउँछ ।

गण्डकी कलेजले भने विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको ४२ लाख ४५ हजार रुपैयाँबाहेक १९ लाख बढी रकम नतिरे विद्यार्थीको भर्ना रद्द गर्ने कबुलियतनामा गराएको छ । तोकिएको भन्दा बढी शुल्क लिनेलाई कारवाही गर्न शिक्षा मन्त्रालयले गत १२ कात्तिक मै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार पनि गरिसकेको छ ।

तर, कलेजले भने सरकारी निर्णयको सिधै वेवास्ता गरेको छ । उसले विभिन्न शीर्षक बनाएर विद्यार्थीबाट थप रकम असुल गर्न लागेको प्रस्ट छ । शिक्षा मन्त्रालयले अनलाइनखबरलाई उपलब्ध गराएको पत्र अनुसार आन्तरिक परिक्षा, मेडिकल लाभ, सामुदायिक कल्याण जस्ता अनेकथरी शीर्षक राखेर हरेक तीन महिना ७५ हजारका दरले १५ लाख रुपैयाँ मागेको छ ।

यस्तै रजिस्ट्रेशन शुल्क ५० हजार, मेडिकल टेस्ट पाँच हजार, त्रिवि शेवा शुल्क ८४ हजार ९ सय, होस्टल आठ लाख ४० हजार, धरौटी ५० हजार माग गरेको पत्रमा उल्लेख छ । यस्तै एक लाख ९२ हजार रुपैयाँ पाँचांै वर्षको अवसरमा भन्ने अचम्मको शीर्षक राखेर लिन लागेको देखिन्छ ।

दिलिपले पाएको छात्रवृत्ति तथाकथित दलित मध्ये पनि अतिसीमान्तकृत र विपन्न परिवारले मात्रै पाउने विशेष छात्रवृत्ति हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा चमार, मुसहर, डोम र वादी समुदायका लागि यस्तो छात्रवृत्तिको व्यवस्था गरेको थियो ।

‘सरकारले विशेष छात्रवृत्ति दिन आवश्यक ठानेको अतिसीमान्तकृत परिवारका विद्यार्थीसँग कलेजले यत्रो रकम असुल्न खोजेको देख्दा अचम्मित भएको छु’, सांसद चमार भन्छन्, ‘त्यो विद्यार्थीले अब पढाइमा ध्यान दिने कि भर्ना रद्द हुन्छ भनेर १९ लाखका लागि हारगुहार गर्दै हिँड्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment