Comments Add Comment

आमा-बाबुलाई ‘फकिर’ बनाए ५ वर्षसम्म जेल !

२९ पुस, काठमाडौं । छोराछोरीले घरबाट निकालेपछि बाबु-आमा सडकमा पुगेको धेरै घटना छ । कतिपय आश्रमहरुमा पुगेका छन् भने कतिपय सडकमै मागेर गुजारा चलाएका घटना पनि बेलाबेला सुनिन्छ । तर, सरकारले यसलाई दण्डनीय बनाउने गरी जेष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्दैछ ।

संसदमा दर्ता भएको जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा छोराछोरीले आफ्नो पारिश्रमिकको निश्चित रकम आमाबाबुको खातामा जम्मा गर्नुपर्ने व्यवस्था पनि गरेको छ । साथै इच्छा विपरित अलग बस्न बाध्य बनाए, भिक्षा माग्न लगाए वा बेवारिसे बनाए दण्डनीय हुनेछ ।

प्रस्तावित कानुन अनसार इच्छा विपरित अलग बस्न बाध्य बनाए एकदेखि तीन महिनासम्म जेल वा १० देखि ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनेछ ।

यस्तै भिक्षा माग्न लगाए तीन वर्षसम्म कैद वा ३० देखि ९० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ भने फकिर (बेवारिसे) बनाए एकदेखि ५ वर्षसम्म जेल वा एकदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

जेष्ठ नागरिकको सम्पत्ति लिन वदनियतले काम गरे पनि एकदेखि ५ वर्षसम्म कैद वा विगो बमोजिम जरिवाना हुनेछ । जरिवाना रकम आमाबाबुको बैंक खातामा जम्मा गरिनेछ ।

यदि यो ऐन अनुसार सजायँ पाएको व्यक्तिले पुनः गल्ती गरेमा १० प्रतिशत सजायँ थप हुनेछ ।

छोराछोरीले आफ्नो कर्तव्य पालना गरे-नगरेको सम्बन्धी मुद्दा स्थानीय तहको न्यायिक समितिले हेर्नेछ भने बाँकी मुद्दा जिल्ला अदालतले हेर्ने व्यवस्था गरिएको छ ।

जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएपछि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment