Comments Add Comment

राजमार्गमा पुस्तकालयसहितको सार्वजनिक शौचालय

२९ पुस, विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकामा पूर्वपश्चिम राजमार्गमा सातवटा आधुनिक सार्वजनिक शौचालय निर्माणको चरणमा छन् ।

स्थानीयबासीको अग्रसरतामा निर्माणाधीन सार्बजनिक शौचालयमा आधुनिक पुस्तकालयसहितका सुविधाहरु हुनेछन् । ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयलागि ३५ प्रतिशत मात्र स्थानीय सरकारको लगानी छ । बाकी ६५ प्रतिशत रकम स्थानीयबासीले जुटाएका हुन् ।

शौचालय निर्माणका लागि स्थानीय व्यवसायीसमेत रहेका भोलेश्वर दुलालको अध्यक्षतामा ‘सार्वजनिक शौचालय निर्माण महाअभियान’ सुरु गरिएको छ । महाअभियान अन्तर्गत विराटचोक, खोर्साने, बलिया, सलकपुर, गछिया, गोठगाउ र हरैचामा शौचालय निर्माणाधीन अवस्थामा छ ।

शौचालय निर्माण थालिएको हरैचा बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गको छेउमा पर्छन् ।सातवटै शौचालय एउटै डिजाइनमा निर्माण भइरहेको सार्बजनिक शौचालय निर्माण महाअभियान समितिका अध्यक्ष भोलेश्वर दुलालले जानकारी दिए ।

‘निर्माणको काम तिब्र भइरहेको छ’, अध्यक्ष दुलालले भने ‘शौचालय भवनभित्र सम्पूर्ण सुविधा हुनेछ ।’ शौचालयमा इन्टरनेटको सुविधासहितको आधुनिक पुस्तकालय, चमेना गृह, सैलुन, आराम कक्ष पनि रहने छ । सार्बजनिक यातायतालाई लक्षित गरी निर्माण गरिएको शौचालयमा ५० वटासम्म गाडी पार्किङका लागि स्पेस बनाइने छ ।

राजमार्गमा निर्माणाधीन दुई तल्ले शौचालयको भुई तलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन रहने छ । पहिलो तल्लामा अडियो भिडियो सुविधासहितको आधुनिक पुस्तकालय रहने अध्यक्ष दुलालले बताए । पुस्तकालय सहितको शौचाय युरोपेली मापदण्ड अनुसारको निर्माण भइरहेको उनले जानकारी दिए । ‘शौचालयको डिजाइन युरोपियन देशहरुको जस्तै हुन्छ’ दुलालले भने ‘शौचालय प्रवेशको ढोका पनि आधुनिक हुन्छ ।’

अध्यक्ष दुलालका अनुसार पुस्तकालय र पसलकालागि आवश्यक पर्ने बिजुली शौचायलबाट नै उत्पादन गरिने छ । २०७४ माघबाट निर्माण सुरु गरिएको सातवटामध्ये चारवटा शौचायल निर्माणको काम ८० प्रतिशत हाराहारी पूरा भएको छ ।

कसरी जुट्यो स्रोत ?

महाअभियानमा सुन्दरहरैचा नगरपालिकाले ३५ प्रतिशत मात्र लगानी रहनेछ । बाँकी ६५ प्रतिशत पूजि व्यवस्थापन स्थानीयबासी, व्यापारी र सहयोगीहरुबाट जुटाइनेछ । ‘सुन्दरहरैचामा बस्ने एक व्यक्तिले न्यूनतम १०० रुपैया सहयोग गर्नुपर्छ’ दुलालले भने ‘ जनसमुदायबाट २० प्रतिशत रकम उठाउने लक्ष्य छ ।’

स्थानीयबासीबाट १ करोड ९२ लाख ९२ हजार रुपैयाँ संकलन गर्ने उनले बताए । स्थानीय व्यवसायीहरुबाट ३० प्रतिशत अर्थात २ करोड ८९ लाख ३८ हजार रुपैयाँ संकलन गरिने छ । बैंक वित्तीय संस्था तथा एसोसिएटहरुबाट एक करोड ४४ लाख ६९ हजार रुपैयाँ संकलन गरिने छ । नगरपालिकाले भने ३ करोड ३७ लाख रुपैयाँ बजेट दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment