२९ पुस, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले बन्दुक र बिष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । धुर्कोट गाउँपालिका-३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई भरुवा बन्दुक र बिष्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) दिपककुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका जिसीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिसीको घरबाट एकनाले भरुवा बन्दुक ४ नाल, मेडइन कोलकाता लेखेको एउटा, २६ र २२ ईन्च लामो बन्दुको नाल दुईवटा, छर्रा बनाउन प्रयोग हुने १९ ईन्च लामो रड ६ पिस र ६ देखि ८ ईन्च लम्बाईका रड ६ पिस बरामद गरिएको एसपी बस्नेतले बताए ।
प्रहरीले जिसीको घरबाट बारुद आधा किलो, पटका सानोठूलो गरी ५ पाकेट, बन्दुकको केप १, बन्दुको टेगर १, कटिङ्ग पेलेट १, सटगनको खोका १, बरामद गरेको छ ।
त्यस्तै, टाटा र सुनेरा कम्पनीको ब्याट्री दुई थान, युरिया आधा किलो र आरन पफ्ासमेत बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए ।
प्रहरीले गत पुस १९ गते प्रहरी चौकी धुर्कोटबस्तुले गुल्मी धुर्कोट गाउँपालिका-७ बस्ने कृष्ण घर्तीको घरमा भरुवा बन्दुक छ भन्ने सूचनाका आधारमा एक नाल भरुवा बन्दुक फेला पारेको थियो ।
थप अनुसन्धान गर्नेक्रममा हाडहाडेका जिसीको घरमा पनि बन्दुकसहितका खरखजना भएको थाहा भएपछि बरामद गरिएको प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।
जिसीलाई हाल जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया 4