Comments Add Comment

बीएस्सी एजीको छात्रवृत्तिमा त्रिविले अनियमितता गरेको विद्यार्थीको आरोप

३० पुस, काठमाडौं । बीएस्सी इन एग्रिकल्चर (बीएस्सी एजी) को छात्रवृत्ति कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले अनियमितता गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

मेरिट लिस्टमा अगाडि रहेका विद्यार्थीहरुलाई पन्छाएर पछाडि रहेकाहरुलाई ‘लेनदेनका आधारमा’ भर्ना गरिएको उनीहरुको दाबी छ ।

बीएस्सी एजीका लागि गत २१ गते प्रवेश परीक्षा लिइएको थियो । त्यसमा करिब २५ सय परीक्षार्थीले भाग लिएका थिए । २४ गते रिजल्ट हुँदा १३ सय ८५ जना पास भए । उत्तिर्ण हुन ५० भन्दा बढी अंक ल्याउनुपर्ने व्यवस्था छ ।

उत्तीर्ण परीक्षार्थीहरुमध्ये १ सय ४६ जनाले विभिन्न कलेजमा पूर्ण छात्रवृत्ति पाउने भनिएको थियो, जसमध्ये एक सय ६ सिट खुल्ला र ४० सिट आरक्षित थिए । सामान्य हिसाबले मेरिट लिस्टका आधारमा अगाडि रहेका विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति पाउनुपर्ने हो । तर, उनीहरुलाई ‘जालझेलपूर्वक’ पन्छाएर राखेर अपारदर्शी तवरले मेरिट लिस्टमा ५ सय ५७ नम्बर सम्ममा रहेकाहरुलाई भर्ना गरिएको छ ।

खुल्लामा नाम निस्केका विद्यार्थीहरुलाई २० गते र आरक्षितलाई ३० गते भर्नाका लागि बोलाइएका थियो । तर, समयमै आउनेहरुलाई समेत गेटमै रोकेर ‘अनुपस्थित’ देखाउँदै सुचीमा तल रहेकाहरुलाई भर्ना गरिएको हो ।

गोरखाका विद्यार्थी शम्भु सापकोटाले ‘अन्य’ को आरक्षण सुचीमा आफू एक नम्बरमा पर्दा पनि भर्ना हुन नपाएको गुनासो गरे । उक्त कोटामा तीन विद्यार्थीलाई आरक्षण थियो ।

शम्भुले आफू बोलाएकै समयमा आउँदा पनि समय सकिएको भनेर फिर्ता पठाइएको बताए । उनले फोनमा भने, ‘मलाई ३० गते बोलाइएको थियो । तर, आज आउँदा मेरो ठाउँमा अरु नै भर्ना भइसकेछन् ।’

विद्यार्थीहरुका अनुसार २९ गते दुई बजे आइपुग्नेहरुले पनि भर्ना गर्न पाएनन् ।

यसैगरी मुस्लिम कोटामा एक नम्बरमा नाम निस्केका बाराका खुर्सिद अहमदले पनि त्रिविले खेल रचेर आफूलाई भर्ना हुन वञ्चित गरेको बताए ।

‘छात्रवृत्ति त परै जावस, मैले पैसा तिरेर पनि पढ्न नपाउने भएँ,’ उनले भने ।

त्रिविका डीनले भने कल गरेको बेला नआएकाले विद्यार्थीहरु भर्ना हुन नपाएको दावी गरेका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘विद्यार्थीहरुमाथि अन्याय भएको होइन । हामीले कल गर्दा आउनुभएन, त्यसैले छुट्नुभएको हो ।’

त्रिवि अन्तरगत लमजुङ, पक्लिहवा, चितवन र झापाका कलेजहरुले पूर्ण छात्रवृत्ति दिने गर्छन् । छात्रवृत्ति नपाउनेहरुले बीएस्सी एजी पढ्न सात लाखभन्दा बढि लाग्छ ।

त्यसैले त्रिविका पदाधिकारीले मिलेमतोमा पैसा लिएर छात्रवृत्ति बेचेको पिडित विद्यार्थीको आरोप छ । उनीहरु आफू कानूनी प्रक्रियामा जाने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment