Comments Add Comment

पारस खड्का भन्छन् : ओपनिङको चुनौती लिन तयार छु

‘अब मध्यक्रम बलियो छ, त्यसैले ओपनिङ’

८ माघ, काठमाडौं । युएईसँगको तीन एकदिवसीय र तीन टी–ट्वान्टी क्रिकेट सिरिज खेल्न नेपाली टोली मंगलबार त्यसतर्फ जाँदैछ ।

१२ दिनको क्लोज क्याम्पपछि २० जना खेलाडीबाट अन्तिम टोलीमा परेका १६ जना युएई भ्रमणका लागि उत्साहित छन् । टोलीमा चार नयाँ खोलाडी पनि रहेकाले उनीहरुलाई परख्न पनि भ्रमण महत्वपूर्ण हुनेछ ।

एकदिवसीय वरियतामा जान पनि युएई सिरिज महत्वपूर्ण भएकाले टिम राम्रो क्रिकेट खेल्नुपर्ने दबावमा छ । त्यही दबावलाई अवसर बनाउने र नेपाली क्रिकेटलाई अझै सम्बृद्ध गर्ने योजनामा छन् खेलाडी । युएई जानु एकदिन अघि हामीले नेपाली टिमका कप्तान पारस खड्कालाई भेटेर टिमको तयारी, योजना, ब्याटिङक्रम र समग्र क्रिकेटमा केन्द्रित रहेर कुराकानी गरेका छौँ ।

यसपटक तयारी कस्तो भयो ?

ओपनिङमा रन लाग्ने, मध्यक्रममा नलाग्ने भन्ने हुँदैन । खेलाडीलाई टिम हेरेर दिइने स्थानमा उसले राम्रो गर्न सक्नुपर्छ ।

तयारी राम्रो भएको छ । नियमित क्रिकेट खेलिरहेका छौँ । पीपीएल, इपीएल पनि खेल्यौँ । हाम्रो दोस्रो एकदिवसीय सिरिज भएकाले उत्साहित छौँ । पहिलो एकदिवसीय सिरिज जित्न मौका छ । टी–ट्वान्टी पनि छ ।

१६ जना खेलाडी गइरहेका छौँ । चार जना नयाँ खेलाडी पनि छन् । हामी सबै सकारात्मक छौँ । राष्ट्रिय टिममा पनि प्रतिस्पर्धा बढीरहेको छ । त्यसले गर्दा हामीले राम्रो खेल देखाउन सक्ने आधार बढेको छ ।

अभ्यासलाई मैदानमा उतार्न केही समस्या त छैन ?

युएई राम्रो टिम हो, सजिलो भने हुँदैन नै । नेपाल र युएईबीचको तीन/चार वर्षदेखिको खेल हेर्ने हो भने पनि हेड टु हेड उस्तै उस्तै छ । हामीसँग अब एकदिवसीय मान्यता भएकाले हरेक खेलको नतिजाले वरियतामा पनि फरक पार्छ ।

यसैले राम्रो खेल्न मेहनत गरेका छौँ । अभ्यास पनि राम्रो भएको छ, अब त्यसलाई खेलमा उतार्न बाँकी छ । हामी विश्वस्त रहेकाले अप्ठ्यारो हुँदैन । कति कुरा त मैदानमा गएपछि नै देखिन्छ ।

टिममा यसपटक सँगै चार जना नयाँ खेलाडी राखिएको छ । उनीहरु ठूलो मैदानमा दबाव झेल्न तयार छन् ?

धेरैजसो खेलाडी क्याम्पहरुमा त थिए । घरेलु क्रिकेटमा पनि हामी एकआपसमा खेलिरहेका हुन्छौँ । उनीहरु आफ्नो खेलकै आधारमा टिममा आएका छन् । हुन त अहिले टिममा आउने सबै जना खेल्छन् नै भन्ने पनि छैन । हामी अहिले अगाडिका लागि राम्रो गर्नुपर्ने अवस्थामा छौँ ।

एकदिवसीय राष्ट्र भएपछि जतिसक्दो खेलाडी अगाडि ल्याएर दुई/तीन वर्षमा धेरै राम्रो टिम बनाएर बढ्नु पर्छ । उनीहरुको क्षमताको आधारमा नै स्थान बनेको छ । आश छ उनीहरुले मौका पाए भने आफू छानिनुको कारण प्रमाणित गर्ने छन् ।

बन्द प्रशिक्षणका क्रममा तपाईंले ओपनिङमा आएर पनि खेल्नुभएको थियो । सिरिजमा पनि ओपनिङ आउने तयारी गरिरहनु भएको हो ?

ए अँ, यसपटक सबैले यही सोधिरहनु भएको छ । त्यस्तै हुन सक्छ । यदि टिमको लागि जिम्मेवारी लिनु छ भने किन नगर्ने भन्ने हो । फेरि अब ओपनिङ गर्छु मात्र भनेर भएन, नतिजा पनि त्यही अनुसार दिनुपर्‍यो ।

यो पनि पढ्नुहोस यूएईविरुद्ध पारस खड्का नै ओपनर ?

नतिजाका लागि त्यही अनुसारको खेल देखाउनु पनि पर्‍यो । प्रशिक्षकहरुसँग कुरापछि यदि मैले ओपनिङ गरेँ भने सक्दो उपयोग गर्ने हो । ओपनरले मात्रै रन हानेर जित्छ भन्ने पनि होइन, सिनियर खेलाडी भएका हिसाबले त्यो जिम्मेवारी ममा आइपर्छ भने चुनौती लिन तयार छु ।

ओपनिङमा हामीले को खेलाडी राख्ने भनेर प्रयास गरेको पनि लामो समय भयो । भनेजस्तो देखिएको छैन । त्यसैले आफैँ प्रयास गरौँ जस्तो लागेको हो ?

होइन होइन । मैले खेल जीवनमा लगभग मध्यक्रममा नै ब्याटिङ गरिरहेँ, चौथो नम्बरमा ८ वर्षजस्तो खेलेपछि डिभिजन टु देखि तेस्रो नम्बरमा खेलिरहेको हो । अब तेस्रो नम्बरबाट ओपनिङमा आएँ भने पनि जिम्मेवारी लिनुपर्छ भन्ने कुरा नै हो ।

अघि मैले भने जस्तै स्थान जुन भए पनि रन बनाउनु पर्छ । अन्तर्राष्ट्रिय क्रिकेट त्यति सजिलो पनि छैन । ओपनिङमा रन लाग्ने, मध्यक्रममा नलाग्ने भन्ने हुँदैन । खेलाडीलाई टिम हेरेर दिइने स्थानमा उसले राम्रो गर्न सक्नुपर्छ । किनभने टिमले, प्रशिक्षकले कुनै क्षमता देखेर नै तपाईंलाई त्यो स्थानमा लैजान्छन् ।

विस्तारै मध्यक्रम बलियो बनेकाले ओपनिङमा पनि बलियो बनाउन सकियो भने पछाडिको ब्याटिङ पनि राम्रो हुन्छ । कि ठीक हुन्छ कि बेठिक हुन्छ । यही हुन्छ भन्ने ग्यारेन्टी त कहाँ छ र !

हामीसँग वास्तवमै नयाँ तयारी गर्ने समय पनि छ । यो वर्ष हामीसँग टी–ट्वान्टी विश्वकप छनोटका खेलहरु पनि आउँदै छन् । त्यसका लागि पनि अहिलेदेखि सोच बनाएर बढिरहेका छौँ । कुन अवस्थामा कुन खेलाडी कहाँ फिट हुन्छ त्यही नै गर्ने हो ।

गएको एभरेस्ट प्रिमियर लिगको एक खेलमा तपाईँ ओपनिङमा आउनुभएको थियो । आफैंले म यसमा गर्छु भन्ने सोचिरहनु भएको थियो हो ?

ओपनिङमा आउने इच्छा पहिले पनि थियो । पुबुदु दासानायके सर हुँदा पनि एकपटक ओपनिङ गर्ने कि भन्ने भएको थियो । तर, त्यतिबेला मध्यक्रममा नै जसोतसो सन्तुलन मिलाएर टिमलाई लैजानुपर्ने थियो ।

अब अहिले मध्यक्रममा राम्रा खेलाडी आइसकेका छन् । उनीहरु त्यो जिम्मेवारी लिन सक्छन् । त्यसले गर्दा पनि मलाई ओपनिङमा गएर खेल्ने आत्मबल आएको हो कि जस्तो लाग्छ । मध्यक्रम बलियो नभएको भए सायद म ओपनिङ जाने सोच्दैन थिएँ ।

विस्तारै मध्यक्रम बलियो बनेकाले ओपनिङमा पनि बलियो बनाउन सकियो भने पछाडिको ब्याटिङ पनि राम्रो हुन्छ । कि ठीक हुन्छ कि बेठिक हुन्छ । यही हुन्छ भन्ने ग्यारेन्टी त कहाँ छ र !

यो एउटा प्रयोग नै हो । के बेस्ट हुन्छ त्यही गर्छौँ ।

एउटै विषयमा धेरै कुरा गरेजस्तो भयो । तर, टिममा पारस खेल्न बाँकी नै छ भनेपछि दर्शकलाई मात्र होइन, खेलाडीहरुलाई पनि एक खालको अपेक्षा हुन्छ । तपाईँ नै ओपनिङमा आएर रन बनेन भने पछाडि आउने युवा खेलाडीलाई दबाव बढी हुन्छ कि ?

होइन, समय बढ्दै जाँदा त्यही अनुसार चल्नुपर्छ । सबैले जिम्मेवारी लिनैपर्छ । म सधैँभरि क्रिकेट खेल्दा पनि खेल्दिनँ । जबसम्म खेल्छु, आफ्नो तर्फबाट सक्ने मेहनत गर्छु । पारसले, ज्ञानेन्द्रले मात्रै रन हानेर टिमले जित्छ भन्ने छैन । त्यो होइन पनि, हरेक खेलाडीले आइपर्ने सबैखाले जिम्मेवारी लिनुपर्छ, लिएका पनि छन् ।

एक जनाले राम्रो रन बनाए पनि अरु खेलाडीको १०÷१५ रनले ठूलो भूमिका खेल्छ । अब हामी अवस्था जे जस्तो भए पनि एकदिवसीय राष्ट्र भइसक्यौँ । नेपालभित्र नेपालबाहिर जता भए पनि आफ्नो स्तरमाथि उकास्ने प्रयास गर्नैपर्छ । ब्याटिङ मात्र गरेर खेल जितिने पनि होइन । यो स्तरमा बलिङ र फिल्डिङ पनि अझै राम्रो हुनैपर्छ । आशा गरौँ सबै कुरामा राम्रो गर्दै हामी अगाडि बढ्ने छौँ ।

हामी यसपटक पनि बलिङकै भरमा धेरै पर्नुपर्ने त होइन ?

हामीसँग ब्याटिङ कमजोर बलिङ बलियो भनेर जाने अवस्था छैन । हरेक कुरा सोच्नुपर्छ । टिमका रुपमा ब्याटिङ राम्रो नहुँदा बलिङले त्यसलाई कभर गर्ने र बलिङ नराम्रो हुँदा ब्याटिङले कभर गर्नुपर्छ । मलाई लाग्छ, अब हामीले बलिङ राम्रो ब्याटिङ नराम्रो भन्ने बहसको अन्त्य गर्ने पर्छ ।

ब्याटिङमा कुन बलमा कुन सट खेल्ने भन्ने सोच राम्रो बनेको देखिँदैन, बलको अवस्था भन्दा पहिले सटको तयारी गर्छन् भन्ने आरोप पनि लाग्छ, ब्याटिङ गर्दा ठीक समयमा ठीक निर्णय नभएको हो ?

केही हदसम्म हो पनि । हामीले यो स्तरमा आएपछि सन्तुलनमा ध्यान दिनैपर्छ । कुन बेला के गर्ने भन्ने निर्णय लिन सक्नुपर्छ । लामो समय कसरी खेल्ने भन्ने सोच्नुपर्छ । हाम्रो संरचना बलियो देखिँदैन ।

अझ अघिल्लो पुस्ताका हामीले टेलिभिजनमा हेरेर कसरी खेल्ने भन्ने सिकेका हौँ । अहिले आएका नयाँ खेलाडी पनि राम्रो प्रशिक्षणको तयारीबाट आएका होइनन् । त्यसले जे जानेका थियौँ, त्यसमा नै लडेर यहाँसम्म आइपुगेका हौँ । आगामि दिनमा राम्रो सिस्टम बन्छ भन्ने आश गरौँ ।

खेलाडीले नियमित राम्रो क्रिकेट खेल्ने वातावरण बन्छ भने हामीले स्किल लेभलमा अझ काम गर्न सक्छौँ । ब्याटिङ गर्दा ब्याट्सम्यान आउट हुन एक बल नै त हो । त्यही एक बलमा राम्रो सोचिएन भने आउट भइहालियो । त्यसैले क्रिकेटमा ब्याटिङ अलि अप्ठ्यारो कला हो । हाम्रो समस्या जहिले ब्याटिङ नै भए पनि आफूलाई त्यसमा सहज बनाउनैपर्छ ।

हाम्रो लागि जतिसक्दो राम्रो गरेर वरियतामा राम्रो गर्ने मौका पनि हो । हामीले अब खेल्ने भनेको यस्तै सिरिजहरु नै हो । त्यसले नै हाम्रो लागि हरेक खेल महत्वपूर्ण हुन्छ ।

टी–ट्वान्टी खेलहरु धेरै खेले पनि हामीले एकदिवसीयहरु खेल्न पाइरहेका हुँदैनौँ । त्यसले गर्दा ब्याटिङको तरिका त्यही फर्म्याट अनुसार मात्र गएको त होइन ?

होइन होइन, यसमा केही बाहना बनाउने ठाउँ नै छैन । अवस्था अनुसार ब्याटिङ गर्नैपर्छ । भविष्यमा टेस्ट खेल्ने कुरा गरिरहेका छौँ अनि ब्याटिङ टी–ट्वान्टीका लागि मात्र ठीक हुने गर्‍यौँ भने पाइन्छ ?

सबै फम्र्याटमा ब्याटिङ गर्ने क्षमता राख्नैपर्छ । एउटै सिरिजमा एउटै खेलाडीले टी–ट्वान्टी, एकदिवसीय र टेस्ट खेल्नुपर्छ । खेलाडीका रुपमा सोच्दा त्यो दिनको त्यो खेलमा के आवश्यकता छ गर्ने त्यही नै हो । आफ्नो स्किललाई म्यानेज गर्नैपर्छ ।

हामीले एकदिवसीय र टी–ट्वान्टीमा ब्याटिङ क्रम परिवर्तन गर्ने र केही खेलाडी परिवर्तन गर्ने सोचेको हो ?

पक्कै पनि परिवर्तन हुन्छ । केही खेलाडी विशेष त्यसैका लागि छन् । हामीसँग भएका केही खेलाडी टी–ट्वान्टीका लागि मात्र खेल्न सक्छन्, केही एकदिवसीयका लागि मात्रै पनि खेल्न सक्छन् । सबै खेलाडीले आफूले आफूलाई प्रमाणित गर्दै आएका छन् । पाएको अवसरमा राम्रो गर्ने छन् भन्ने आश गरौँ ।

पहिलो एकदिवसीयका लागि नेदरल्याण्ड्स गएपछि दोस्रो एकदिवसीयबीचको समय धेरै भयो जस्तो लाग्दैन ?

के गर्नु यस्तै छ । हाम्रो संरचना नहुँदा भनेजस्तो गर्न पाएका छैनौँ । आईसीसीमा भनिरहेका त हौँ, भन्न यो युएई सिरिज आइपुग्यो । केही भर नै छैन । जे पाएका छौँ, त्यसलाई अवसर बनाएर अगाडि बढ्ने नै हो ।

पहिलो एकदिवसीय भ्रमणपछि अहिले दोस्रोमा आइपुग्दा हामीले केही नयाँ कुरा सिक्यौँ ? खेलाडी आफैँले कुनै नयाँ स्किल या केही सुधार ?

हेर्नुस् अब नयाँ आइडिया, स्किल भन्दा पनि हामीले गर्न बाँकी भनेको सिकेको कुराको राम्रो प्रयोग नै हो । हामीले गएको चार/पाँच महिनामा राम्रो क्रिकेट खेल्ने प्रयास गरिरहेका छौँ । व्यक्तिगत रुपमा पनि खेलाडीहरुले आफूमा सुधार गरिरहेका छन् ।

यही कुरा भनेर नभए पनि आफ्नो कमजोरीमा सुधार सबैले गरेका छन् । त्यसमा नियमित काम भएको छ । घरेलु प्रतियोगिता नै भए पनि नियमित क्रिकेट खेलिरहेकाले सहज पनि भएको छ ।

अन्तर्राष्ट्रिय खेल अलि फरक हुने भए पनि हामीले त्यसमा सोच्नै पर्छ । देशको लागि भनेर खेलेपछि अलिकति दबाव पनि बढ्छ । त्यसले गर्दा जिम्मेवारी पनि थपिन्छ । हरेक चुनौतीलाई हामीले अवसर बनाउनै पर्छ ।

हामीले युएई टिमलाई अहिले कत्तिको याद गरिरहेका छौँ ? उनीहरुको बलियो र कमजोर पक्ष बुझेका छौँ ?

उनीहरु धेरै राम्रो टिम छन् । उनीहरुको तीन जना सिनियर खेलाडी प्रतिबन्धमा छन् तर, सबै खेलाडी नियमित क्रिकेट खेल्ने नै छन् । युएईमा क्रिकेट डेब्यु गर्नेहरु पाकिस्तान, भारत, श्रीलंका कतै न कतै क्रिकेटमा नै लागिरहेका हुन्छन् । त्यसैले उनीहरुसँग अनुभव धेरै हुन्छ । प्राय त हामीसँग पनि खेलेकै खेलाडी छन् । प्रतिस्पर्धा निकै बलियो हुने छ जस्तो लाग्छ ।

नेपालकै मैदानमा हामीले कहिले सिरिज हेर्न पाइएला त ?

यो अहिलेसम्मका लागि आईसीसीमै भर पर्ने कुरा हो । भयो भने खबर भइहाल्ला । अहिलेसम्म त हामीले भनिरहे पनि खबर केही आएको छैन ।

हाम्रो लागि जतिसक्दो राम्रो गरेर वरियतामा राम्रो गर्ने मौका पनि हो । हामीले अब खेल्ने भनेको यस्तै सिरिजहरु नै हो । त्यसले नै हाम्रो लागि हरेक खेल महत्वपूर्ण हुन्छ । नतिजा रेकर्डमा जाने भएर त्यसमा राम्रो गर्नुपर्छ । टेस्ट राष्ट्रसँग सिरिज खेल्नेसम्म पुग्न हामीले हरेक खेल राम्रो गर्ने सोच्नुपर्छ ।

अरु योजना कस्ता छन् ?

हाम्रा लागि अर्को विश्वकप छनोटसम्मको समय निकै महत्वपूर्ण छ । त्यसले अर्को भविष्य देखाउँछ, त्यसैले त्यहाँसम्म हामी राम्ररी पुग्नुपर्छ ।

आश गरौँ, हाम्रो तयारी त्यहाँ पुग्न पर्याप्त हुने छ । यो वर्ष टी–ट्वान्टी विश्वकपमा फोकस गरेर बढौँ । त्यसपछि आएका हरेक खेलमा राम्रो गर्नुपर्छ । विश्वकपमा जाने हाम्रो सपना पनि छ, इच्छा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment