Comments Add Comment

रक्सीको लतले थलिएको वस्ती : देबु र भोला पनि रहेनन्

वस्तीमा त्रास, छुट्टै कानून बनाउने तयारी

९ माघ, सप्तरी । अत्यधिक रक्सी सेवनका कारण गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका राजविराज-६ मेहतर वस्तीका दुई जनाकै मृत्यु भएको छ ।

सोमबार गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना एका कारागार टोलका ३९ वर्षीय देबु मेहतर र ३५ वर्षीय भोला मेहतरको मंगलबार मृत्यु भएको हो ।

भोला यसै अस्पतालका कार्यालय सहयोगी थिए । उनी अस्पतालमा सरसफाइको काम गर्दै आएका थिए । धेरै ठाउँमा उपचार गराएर आएपनि निको हुन नसक्दा दुबैलाई गाउँलेहरु मिलेर अस्पताल भर्ना गराएका थिए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले कलेजो नै काम नलाग्ने गरी ड्यामेज भएका कारण दुबैलाई बचाउन नसकिएको बताए । ‘दुबैको कलेजो बर्बाद भइसकेको पाइयो,’ उनले भने, ‘रक्सी सेवन गर्दा शरीरको कलेजोमै पहिलो असर पर्छ ।’

यसअघि यी दुई जनाले विराटनगर, धरानसहित बिभिन्न ठाउँमा उपचार गराएपनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन् ।

यो वस्तीमा माघ महिनामा अत्यधिक रक्सी सेवनका कारण दुई जनाको मृत्यु भएको छ । मेहतर वस्ती यस्तो हो, जहाँ हरेक महिना एक जना पुरुषको रक्सी सेवनका कारण मृत्यु हुने गर्छ ।

एक महिना अगाडि मात्रै ललित मण्डलको मृत्यु भएको यो वस्तीमा त्यसअघि शिबनारायण मेहतर र त्यसको अघिल्लो महिना प्रदीप मेहतरको मृत्यु भएको थियो ।

आश्चर्यको कुरा त के छ भने ५० वर्ष नकट्दै यस वस्तीका पुरुषहरुले मृत्युबरण गर्नु परेको छ । वस्तीमा ६५/७० वर्षका बृद्वहरु पाउनै गाह्रो छ । मेहतर जातिका अगुवा मनोज भन्छन्, ‘रक्सी पिएरै बृद्ध नभइकनै ज्यान गुमाउँछन् ।’

यो पनि पढ्नुहोस रक्सीको लत : ५० वर्ष नपुग्दै ज्यान गुमाउने वस्ती

अञ्चल अस्पतालका प्रमुख डा. दासले यो वस्तीमा ज्यान गुमाउने प्रायः सबैको कलेजो नै खराब भएको बताए । उनले रक्सी सेवन गर्ने मृत्यु हुनेको संख्या बढ्नु चिन्ताको बिषय भएको भन्दै रक्सीको प्रयोग नगर्न चेतना फैलाउनु पर्ने बताए ।

लगातारको मृत्युले वस्तीमा त्रास

कमै उमेरदेखि रक्सी सेवन गर्ने वस्तीको रुपमासमेत प्रचलित भएको छ यो वस्ती । १२ वर्ष उमेर समूहका बालकदेखि वस्तीका प्रायः पुरुष रक्सीको लतमा छन् । जसकारण कलेजो खराब भइ प्रत्येक महिनामा एकजनाको मृत्यु हुने गरेको छ ।

मंगलबार देबु र भोलाको मृत्युसँगै सिंगो वस्ती नै शोकमा डुबेको छ ।

गाउँका महिला जतिसुकै प्रयास गरेपनि पुरुषहरुले रक्सी सेवन गर्न नछाडेको भन्दै चिन्ति भएका छन् । ‘बारम्बार रक्सी सेवन नगर्न छोरालाई सम्झायौं, तर मानेनन्,’ गीतादेवीले भनिन्, ‘छोरा छोड्न मानेपनि वस्तीका अन्य पूरुषले पिलाइदिएपछि उनले छाड्न सकेनन् ।’

एकैपटक दुईजनाको मृत्यु भएपछि वस्तीमा रक्सीबारे बहस पनि शुरु भएको छ । वस्तीका महिलाहरुले रक्सीमुक्त वस्ती बनाउन कसैले ध्यान नदिएको बताइन् । उनीहरुले पुरुषहरुले आफूहरुलाई नटेरेको र नगरपालिकालाई भन्दा पनि कुनै चासो नदिएको बताएका छन् ।

रक्सी नियन्त्रण गर्न छुट्टै कानून बनाउने तयारी 

रक्सी सेवनका कारण लगातार वस्तीमा मान्छेको मृत्यु हुन थालेपछि सम्बन्धित निकायले ध्यानाकर्षण भएको जनाएको छ ।

एकैदिन दुईजनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारीदेखि मेयरसहितका जनप्रतिनिधि र प्रहरीले यो घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

‘यो एकदमै हृदयविदारक घट्ना भएको छ,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘उनीहरु आफैं ज्यान गुमाइरहेपनि यो चिन्ताको बिषय हो ।’

उनी खुल्ला अवैध रक्सी नियन्त्रण गर्न प्रहरी सकृय रहेको बताउँदै वैध रक्सीको हकमा स्थानीय तह वा प्रदेशले छुट्टै कानून बनाउनुपर्ने बताउँछन् । ‘कानून बनाए, हामी त्यसलाई कार्यान्वयन गराउन तयार छौं,’ उनले भने, ‘यस्तो घट्ना कतै नहोस् त्यसका लागि सबैले ध्यान दिनु जरुरी छ ।’

राजविराज नगरपालिकाका मेयर शम्भु यादव मेहतर वस्तीको अवस्था हेरेर आफू धेरै दुःखित बनेको बताए ।

उनले यस्तो समाचार बुझे लगत्तै आफूसहित अन्य स्थानीय तहका प्रमुखहरु मिलेर रक्सी नियन्त्रण सन्दर्भमा जिल्ला प्रहरी प्रमुख रोजन्द्र बिष्टसँग छलफल गरेको बताए । ‘पहिलो चरणको छलफल भइसकेको छ,’ उनले भने, ‘एक/दुई दिनभित्रै जिल्लाका सम्पूर्ण सरोकारबालाहरुसँग बैठक बसेर रक्सी नियन्त्रण गर्न छुट्टै कानून नै तयार पार्‍छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment