Comments Add Comment

तरकारीमा डोजर लगाउने किसान भन्छन् : सित्तै लैजाऊ भन्दा पनि मानेनन्

१२, माघ, चितवन । बजार मूल्यभन्दा पन्ध्र गुणा कममा पनि तरकारी बिक्री नभएपछि पूर्वी चितवनका एक किसानले आफ्नो तरकारी बारीमा डोजर लगाएका छन् ।

खैरहनी नगरपालिका वडा नं ६ तुलसीपुरका किसान पुरन महतोले तरकारीको मुल्य नपाएको भन्दैं खेतमै डोजर लगाएर तरकारी नष्ट गरे । उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयाँमा किनिरहेको मुला र ३० रुपैयाँ प्रतिकेजीमा किनिरहेको बन्दालाई बिचौलिया ब्यापारीले प्रतिकेजी दुई रुपैयामा पनि नलगेपछि महतोले खेतमै डोजर लगाए ।

‘लगानी र मेहनत नै नउठेपछि डोजर लगाए’ महतोले भने ‘व्यापारीले आफु खुसी तोकेको मुल्यमा दिनुभन्दा नष्ट गर्न उचित लाग्यो । बरु सित्तैमा लैजाउ भन्दा पनि मानेनन् ।’ महतोले अर्काको जग्गा भाडामा लिएर तरकारी लगाएका थिए । मल, बीउ, सिंचाई, औषधि र श्रमशक्ति खर्च गरेर उत्पादन गरेको तरकारी सित्तैमा लैजाउ भन्दा पनि व्यापारी लैजान नमानेको महतोको भनाइ छ ।

किसान महतोले १६ कठ्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलामा डोजर लगाएका हुन् । उनले १० लाख बरावरको क्षति भएको बताए । ‘ट्याक्टरले जोत्यो भने पनि अर्काे तरकारीमा किरा लाग्ने सम्भावना हुन्छ’ उनले भने ‘त्यही भएर डोजर लगाएर बन्दा र मुला नष्ट गरेको हुँ ।’

२६ कठ्ठा क्षेत्रफलमा उत्पादन गरेको बन्दा र मुलाको मुल्य नपाउँदा अहिलेसम्म करिब १५ लाख रुपैयाँ नोक्सान भएको महतोेको भनाइ छ । ‘मौसमअनुसारको अर्को तरकारी लगाउने बेला भइसक्यो, खेतको तयारी तरकारी बिकेन’ महतोले भने ‘मूल्य आउँछ की भनेर १५ दिनसम्म कुरे, यहाँका व्यापारीले तरकारी नउठाएपछि काठमाडौंको कालिमाटी तरकारी मण्डीमा पुगे सबैका कुरा उहि पाएपछि नष्ट गरेँ ।’

महतोको अझै १० कठ्ठामा लगाएको बन्दा तयारी अवस्थामा छ । उनी अझै पनि तरकारीको भाउ आउनेमा आशावादी छन् । अब १० दिनसम्म पनि बन्दा र मुलाको भाउ आएन भने बाँकी १० कठ्ठामा पनि डोजर लगाएर तरकारी नष्ट गर्ने योजना उनले बनाएका छन् ।

महतोले खेतमा बन्दा, काउली, भेन्टा, केराउ, खुर्सानी, आलु र राजमा लगाएका छन् । सबै तरकारीहरु बजार पठाउने बेला भइसकेको छ । उनले अब बोडी, करेला र घिरौला लगाउने योजना रहेका छन् ।

‘हामीले उत्पादन गरेको तरकारी व्यापारी बिचौलियाले लिनै मान्दैनन्’ महतोले भने ‘तरकारीको आयत बढदै गएका कारण हाम्रो उत्पादनले बजार नपाएको होला । अहिलेसम्म यस्तो अवस्था नआएको महतोले दुखेसो छ ।

किसान महतोको तरकारी खेती पूख्यौली पेशा हो । बुवाले गर्दै आएको पेशालाई आफुले पनि निरन्तरता दिएको उनले बताए । महतोले अहिले ५ विगाहा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । आफ्नो जग्गा १६ कठ्ठा मात्रै छ ।

बाँकी जमिन भाडामा लिएर तरकारी खेति गर्दै आएका छन् महतोले । भारतबाट अत्याधिक तरकारी आयत हुने गरेका कारण नेपालका किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो महतोको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment