Comments Add Comment

हिउँदे अधिबेशनबाटै स्थायी राजधानीको टुङ्गो लाग्छ : मुख्यमन्त्री राई

१६ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँले अधिबेशनबाटै प्रदेशको स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने बताएका छन् । प्रदेश १ को हिउँदे अधिबेशन यही माघ २० गतेबाट सुरु हुँदै छ ।

नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले -११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटन कार्यक्रममा उनले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिए ।

उनले विकास र सम्वृद्धिको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको धारणा व्यक्त गरे ।

मुख्यमन्त्री राईले हिमाल, तराई र पहाडका जनताको विकासप्रतिको चाहना परिपूर्ति गर्न भूगोलअनुसारका विकास कार्य गर्न प्रदेश सरकार योजनाबद्ध भएर लागेको चर्चा गर्दै यस क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरी स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने बताए ।

मुख्यमन्त्री राईले विराटनगरवासीको चाहनाअनुरूपको बृहत् मनोरञ्जनस्थलका पार्कको निर्माण गर्नुपर्नेमा जोड दिँदै ‘सडक, विद्युत्, सहरीकरण, स्वास्थ्य, शिक्षा’ जस्ता जनताका आवश्यक विकास योजनालाई गुरुयोजना बनाइ सरकारले निर्माण गर्ने छ भए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले टर्मिनल क्षेत्रमा सेवा केन्द्र स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउँदै यसको संरक्षण, सफाइ र सुरक्षाका लागि सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष जनशक्ति निर्माणका लागि प्रदेश सरकारले नौ हजार युवालाई तालीम प्रदान गर्ने बताउँदै नगर क्षेत्रमा ३०० किलोमिटर सडक कालोपत्रे, विमानस्थल विस्तार र वैजनाथपुरमा सुविधासम्पन्न खेलमैदान निर्माण कार्य अगाडि बढाएको जानकारी दिए ।

प्रदेशसभामा नेपाली काङ्ग्रेसका सचेतक केदार कार्कीले नयाँ बस टर्र्मिनलमा शिशुस्तनपान स्थान र सुरक्षाको उचित प्रबन्धसहित सिसीटिभीको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले विराटनगरलाई स्थायी राजधानी घोषणा नभएमा जिल्लावासीको सहयोगमा समितिका भवनमा सञ्चालन भएको प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने घोषणा गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्घीय र प्रदेश सरकारको सहयोगमा विकास कार्य अगाडि बढाउँदै जाने विचार व्यक्त गर्दै बस टर्मिनल क्षेत्रमा बायोग्यास शौचालयको निर्माण गरिने बताए ।

विसं २०७३ मङ्सिर १९ गते शिलान्यास भइ विसं २०७५ असोज १४ गते सम्पन्न भएको उक्त टर्मिनल ३० कट्ठा जग्गामा पाँच हजार ५८० वर्गमिटरमा निर्माण गरिएको छ । गौरीपार्वती निर्माण सेवा काठमाडौँले रु आठ करोड ४७ लाखमा निर्माण सम्पन्न गरेको बस टर्मिनलमा रेष्टुराँ, कफीसप, लगेज रुम, टिकट काउण्टर र महिला तथा पुरुष शौचालयको व्यवस्था रहेको छ ।

टर्मिनलबाट एक समयमा ५५ वटा यातायात साधन राख्ने व्यवस्थासहित सरसफाइका लागि २० हजार लिटर पानी अट्ने पानी ट्याङ्कीसमेत निर्माण गरिएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश अध्यक्ष किशोर धमलाले टर्मिनल सञ्चालनका लागि यातायात मजदूरसँग छलफल नभएको बताउँदै लामो र छोटो दूरीका गरी ३५० यातायात प्रत्येक पाँच/पाँच मिनेटमा छुट्ने भएकाले महानगरपालिकाले यातायात व्यवस्थासँग सहकार्य गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment