Comments Add Comment

अविनाश बोहरा : आर्मी बन्न आउँदा क्रिकेटर

काठमाडौं । भारतबाट आर्मीमा भर्ती हुने सोचेर नागरिकता बनाउन पुर्ख्याैली थलो दाङ आउँदा अभिनाश बोहरालाई लागेको थिएन, राष्ट्रिय टिमबाट क्रिकेट खेल्नेछु भन्ने ।

झण्डै पाँच वर्षअघि नेपाल आएको त्यो बेला नेपालगञ्जबाट क्षेत्रीयस्तरको क्रिकेट खेल्ने अवसर पाएपछि भने उनलाई लाग्यो, ‘मैले पनि खेल्न सक्ने रहेछु । आर्मी होइन अब क्रिकेटर बन्नुपर्छ । नेपालको लागि खेल्नुपर्छ ।’

अभिनाशका बुबाआमा भारत सिम्लामा नै स्याउ ब्यापार गर्छन् । उनी उतै जन्मिए । उनमा क्रिकेटको रुची सानैदेखिको हो । सिम्लामा राम्रा प्रतियोगिताहरु खेल्न नपाए पनि उनी साथीहरुसँग टेनिस बलले नै भएपनि नियमित खेल्थे ।

क्रिकेट खेल्न थालेपछि बुबाआमा, दिदी र बहिनी भारत सिम्लामै रहँदा अभिनाशको बसाईं भने नेपालगञ्जमा ठूलीआमाको घरमा भयो । त्यहाँबाट उनले नियमित अभ्यास गर्दै मिलेका प्रतियोगिता खेल्न थाले ।

सिम्लामा हुँदाका दिन सम्झँदै अभिनाश भन्छन्, ‘त्यहाँ गाउँमा नै भएकाले क्रिकेटको लेभल धेरै राम्रो त थिएन । त्यत्तिकै टेनिस बलले नै खेलिन्थ्यो ।’

अभिनाशले ड्युज बलले राम्ररी क्रिकेट खेलेको भने नेपालमै आएर हो । ‘नेपाल आएको पाँच वर्ष भयो । सुरुदेखि नै मिडियम पेस बलिङमा लागेँ । भारतमा खेल्दा त केही लागेको थिएन । नेपालमा आएर खेल्न थालेपछि क्रिकेटबाट केही होला जस्तो लाग्यो र नियमित गरेँ’ उनी भन्छन् ।

क्षेत्रीय प्रतियोगिता खेलेपछि २०७१ सालमा अभिनाश यू १९ क्याम्पमा पनि परेका थिए । उनलाई लाग्छ ‘त्यसपछि धेरै कुरा बुझ्दै गएँ । क्रिकेट कसरी खेलिन्छ, के के गर्नुपर्छ भन्ने थाहा भयो ।’

नेपालगञ्जमा हुँदा पनि प्रशिक्षक दिपेन्द्र प्रताप सिंहसँग नियमित अभ्यास गर्न पाएपछि उनको बलिङ सुधार हुँदै गयो । ‘बलिङ र फिल्डिङमा मात्रै फोकस गरेर अभ्यास गर्दै गएँ र राम्रो पनि हुँदै गयो’ उनी भन्छन् ।

यू १९ मा रहँदा सिक्न नपाएका धेरै कुरा अहिले राष्ट्रिय टिमको क्याम्पबाट सिक्न पाएको जस्तो उनलाई लाग्छ । सिनियर खेलाडीसँग रहँदाको अनुभव भिन्नै हुने र धेरै कुरा बुझ्न पाइने उनले सुनाए ।

राष्ट्रिय टिममा परेपछि

राष्ट्रिय टिमको क्याम्पमा रहँदा भित्र मनमा कताकता टिममा पर्छु कि जस्तो लागेपनि अभिनाशमा धेरै आश भने थिएन । तर उनीसँगै सन्दीप जोरा, भीम सार्की र पवन सर्राफ पहिलोपटक राष्ट्रिय टिममा आए । नेपालले यूएईविरुद्धको तीन म्याचको सिरिजमा अविनाशले मौका पाएनन् । तर, पहिलो टि-२० मा उनलाई प्लेइङ सेटमा राखिएको छ ।

पहिलोपटक राष्ट्रिय टिममा परेको खबर सुन्दा उनलाई विश्वास नै भएको थिएन । तर जब समाचारहरुमा आˆनो नाम देखे उनी विश्वस्त भए । परिवारलाई सुनाए । सबैजना खुशी भए ।

यो पनि पढ्नुहोस नेपाली युवा क्रिकेटरकाे टेष्ट सपना

नेपालमा क्रिकेट समर्थकले दिएको माया र सम्मानले पनि आफूहरुलाई अघि बढ्न सहज हुँदै जाने उनलाई लाग्छ । त्यसैले युएई जानुअघि अनलाइनखबरसँगको कुराकानीमा उनले भनेका थिए, ‘युएईमा खेल्ने अवसर पाएँ भने पूरा मेहनत लगाएर खेल्नेछु । सक्दो राम्रो खेलेर नेपाललाई जिताउनुपर्छ भन्ने लागेको छ ।’

अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाका लसिथ मालिङ्गाको बलिङ मन पराउने अभिनाशले भिडियोहरुमा हेरेर मालिङ्गाको योर्कर, स्लोअर बलहरु पनि सिकिरहेका हुन्छन् । नेपालमा पारस खड्का, सोमपाल कामी, करण केसी, शरद भेषावकर लगायतबाट प्रभावित छन् उनी । ‘अहिले क्याम्पमा रहँदा पनि एउटा परिवार जस्तो नै हुन्छ । रमाइलो गर्ने, आफूले जानेको कुरा सिकाउने भइरहेको हुन्छ’ उनले भने ।

फ्रेन्चाइज क्रिकेटले दिएको अवसर

नेपालमा भइरहेका टी-ट्वान्टी फ्रेन्चाइज प्रतियोगिताका कारण आफ्नो लागि अवसर बन्दै गएको अभिनाशले सुनाए ।

उनले डीपीएलमा सिवाइसी अत्तरीया र विराटनगर किंग्स, इपीएलमा कान्तिपुर गुर्खाज र भैरहवा ग्लाडियटर्स साथै पीपीएल बुटवल ब्लास्टर्सबाट राम्रो अनुभव बटुलेका छन् । यसपटक डीपीएलमा महेन्द्रनगर युनाइटेडमा रहेका उनी हरेक प्रतियोगितामा विशेष ध्यान दिएको बताउँछन् ।

‘तीनै प्रतियोगिताले गर्दा आत्मविश्वास पनि बढ्दै गयो । विदेशी खेलाडीलाई बलिङ गर्दा आन्नो खेल कस्तो रहेछ भनेर बुझ्न पनि मद्धत मिल्यो । यिनीहरुसँग मैले खेल्न सक्ने रहेछु भनेर गर्व पनि लाग्यो,’ उनले भने ।

गएको इपीएलमा त उनको खेल अरुमा भन्दा धेरै राम्रो भएको थियो । भैरहवा ग्लाडियटर्सबाट खेलेका उनले ८ खेलमा ७ विकेट लिएका थिए । छोटो समयमै राष्ट्रिय टिममा आइपुगेका अभिनाश अब युएई भ्रमणपछि हुने डीपीएलमा खेल्नेछन् । ‘राष्ट्रिय टिममा मात्रै होइन हरेक क्लबबाट खेल्दा नै सबैभन्दा राम्रो गर्ने प्रयासमा हुन्छु’ उनले भने ।

फिटनेसमा ध्यान

खेलाडीले अभ्याससँगै नियमित ध्यान दिनुपर्ने कुरा फिटनेस नै हो । अभिनाशलाई पनि लाग्छ फिटनेस भएन भने अरु कुरा पनि बिग्रदै जान्छ । पहिले आर्मी बन्ने तयारी गर्दा पनि नियमित दौडने गरेका उनले त्यसलाई निरन्तरता दिइरहेका छन् ।

‘फिटनेस नभएसम्म खेलाडीका लागि धेरै नै अप्ठ्यारो हुन्छ । त्यसैले यसमा विशेष ध्यान दिन्छु । खेल नभएका बेला पनि बिहान उठेर दौडने, जिम जाने गरेर शरीर फुर्तिलो बनाइराख्ने काम गर्छु,’ उनले सुनाए ।

यो पनि पढ्नुहोस डेब्यू ब्वाइ सन्दीप जोरा : घरेलु क्रिकेटबाट चम्किएका ब्याट्सम्यान

गएको नौ महिनादेखि उनी सशस्त्र प्रहरीको एपीएफ टिममा पनि छन् । त्यहाँ पनि हाम्रो अभ्यास भइरहेको र बेलुका पनि वर्कआउट गर्ने गरेको अविनाशले बताए ।
फिटनेसबारेको उनको सोच राष्ट्रिय टिमको क्याम्पमा परेपछि झनै राम्रो बन्दै गयो । कति बेला के गर्ने, कसरी काम गर्ने भन्ने बुझ्दै गएको जस्तो उनलाई लाग्छ ।
‘पहिले त धेरै कुरा विचार पनि गरिँदैन थियो । क्याम्पमा रहँदा धेरै नै थाहा भयो । दौडँदा पनि कसरी दौडनुपर्ने रहेछ, खाने कुरा कसरी मिलाएर खानुपर्ने रहेछ भन्ने थाहा भयो’ उनले भने ।

विश्वकपको सपना

पहिलोपटक राष्ट्रिय टिममा परेपछि अब नेपाली टिमबाट एकदिवसीय विश्वकप खेल्ने उनको सपना छ । ‘त्यो सपना पूरा गर्नका लागि हामी सबैले मेहनत गर्छौं’ उनी भन्छन् ।

अरु देशले खेलेको विश्वकप हेर्दा पनि नेपालले किन विश्वकप खेल्न सक्दैन भनेर उनी सोचिरहेको हुन्थे । अब आफू नै नेपाली टिमको हिस्सा बन्न पाएपछि त्यही सपनाको लागि काम गर्ने उनलाई मन छ ।

नेपाललाई विश्वकपसम्म लैजान आफूहरुले हरेक खेल र अभ्यासमा ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘हामीले बाहिरबाट प्रशिक्षक ल्याएर नयाँ नयाँ कुरा सिक्ने र मेहनत गर्दै जाने गर्नुपर्छ । हामी विश्वकपको धेरै नै नजिक पनि पुगिसकेका छौँ । अब राम्रो क्रिकेटलाई निरन्तर गर्दै लैजानु पर्छ,’ उनले भने ।

‘नागरिकता बनाएर भारतीय आर्मीमा गएको भए आफ्नो देशको लागि केही गर्न पाउने अवसरबाट वञ्चित हुने थिएँ । राष्ट्रिय टिममा परेपछि विदेशको होइन, देशको सेवा गर्न पाएको छु ।’

क्रिकेट संघ निलम्बनमा रहेको अवस्थामा पनि पछिल्लो समय नेपाली क्रिकेटमा देखिएको उपलब्धी राम्रो मान्छन् उनी । अभिनाशलाई पनि लाग्छ यसरी मेहनत गर्दै जाँदा छिटै टेष्ट राष्ट्रसम्म पुग्न सकिन्छ ।

‘राम्रो मेहनत गर्दै जाँदा टेष्टसम्म पुगिन्छ नै । नेपालले एकदिवसीय मान्यता पाउने कुरामा पनि धेरैले विश्वास गरेका थिएनन् होला तर पाएका छौँ । त्यसैले टेस्ट क्रिकेटको सपना पनि पूरा हुन्छ नै,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment