Comments Add Comment

‘मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो ! सरकारलाई बधाई’

२० माघ, काठमाडौं । कांग्रेस सांसद गगन थापाले मनमोहन अधिकारीका लागि देख्न नपाएको दुई तिहाई मार्सीमोहनका लागि देख्न पाएको भन्दै सरकारलाई बधाई दिएका छन् ।

सरकारले आफूसँग निहु खोज्ने जोगी डाक्टरलाई देखाइदिँदा धेरै खुसी भएको उनले व्यग्य गरेका हुन् । ‘एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ,’ संसदको आइतबार बैठकमा बोल्दै सांसद थापाले भने, ‘सरकारको अपार सफलतामा सरकार बनाउने माननीय सांसदहरु खुसी नहुने कुरै भएन तर, खुसी हुनेहरुको लाममा अरु पनि उभिएका रहेछन् ।’

प्रश्न यहाँ डाक्टरको मात्र होइन । प्रधानमन्त्रीप्रतिको विश्वास ढल्यो । यो ढलेको विश्वासलाई कसले उठाउने ?

डा. गोविन्द केसीको आन्दोलनका कारण रिसाएकाहरु अहिले खुसी भएको उनले बताए । मेडिकल शिक्षाका नाममा विद्यार्थी विदेश पठाउने, खडेबाबा डाक्टर र विरामी खडा गरेर मेडिकल कलेज चलाउने, गौरीबहादुर कार्कीको न्यायिक आयोगले डामेकाहरु सबै खुसी भएको भन्दै कांग्रेस सांसद थापाले भने, ‘लोकमानसिंह कार्कीदेखि कालिकास्थानको टहरामा मेडिकल कलेज सञ्चालन गर्नेसम्म खुसी भएका छन् । यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ ।’

बधाईको पात्र सरकारसँगै सरकार बनाउने पार्टी (नेकपा) पनि भएको थापाले बताए । आफूहरुले दुई तिहाईको दम्भ भन्दै आएपनि देख्न नपाएको भन्दै उनले भने, ‘अनाथ बालबालिकाका निम्ति विशेष समाजिक सुरक्षाको कानून बनाउँदा देख्न पाएनौं । भूमिहीन दलितका लागि संशोधन हाल्दा देख्न पाइएन ।’

शिक्षा र स्वास्थ्य राज्यको भूमिका बढाउन पनि दुई तिहाई देख्न नपाएको उनले बताए । प्रचण्ड सरकारकै पालामा चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम संशोधन गरेर मानमोहन अधिकारी चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेर संसदले कानुन बनाउन मात्र बाँकी रहेको भन्दै उनले भने, ‘कमरेड मनमोहनका लागि दुई तिहाई देख्न पाइएन । कमरेड मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो । सरकार र सरकार बनाउने पार्टीलाई बधाई छ ।’

डाक्टर त उठे, प्रधानमन्त्रीप्रतिको विश्वास सुत्यो

सांसद थापाले दुई तिहाईले अनसन बसेका डाक्टर गोविन्द केसीलाई उठाएपनि प्रधानमन्त्रीप्रतिको विश्वास ढलेको बताए । ‘प्रश्न यहाँ डाक्टरको मात्र होइन । प्रधानमन्त्रीप्रतिको विश्वास सुत्यो’ उनले भने, ‘यो ढलेको विश्वासलाई कसले उठाउने ? प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो । पानी कसले हाल्ने ?’

प्रधानमन्त्रीले सरकारको कामले सबै आर्चयचकित भएको दाबी गर्ने गरेको भएपनि जनता निराश भएको उनले बताए । शान्ति सुरक्षा नभएको, अर्थतन्त्र संकट उन्मुख भएको भएपनि सरकारले जनतामा विश्वास जगाउनुको साटो कमजोर ढाकछोप गर्न उद्दत रहेको कांग्रेस सांसद थापाको आरोप छ ।

प्रधानमन्त्री आफैंले तथ्यांक तोडमोड गर्न लागेको भन्दै उनले भने, ‘डुइङ विजनेश रिपोर्ट निस्कन्छ, सरकारले व्यवसायको वातावरण कसरी बनाउने भन्दैन । तेरो रिपोर्ट च्यातदिन्छु भन्छ, धम्क्याउँछ ।’ सबैलाई निकम्मा बनाएर सानो कोटरीबाट सरकार चलाउने प्रयास भइरहेको उनको दाबी छ ।

प्रधानमन्त्रीले म भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेपनि दायाँबायाँ भ्रष्टचारी रहेको भन्दै उनले भने, ‘मलाई डर लाग्न थालेको छ, प्रधानमन्त्रीले ऐन हेर्न बन्द गर्नुपर्ने त होइन ।’

जनताले प्रधानमन्त्रीको सफा अनुहार हेर्न चाहेको भन्दै उनले भने, ‘तर, ऐन अगाडि उभिएर दाग देख्दै गर्दा प्रधानमन्त्री भन्नुुहुन्छ, ऐनामा भएको फोहोर मेटा । किनकी मेरो अनुहारमा दाग हुँदै सक्दैन, सत्य मै हुँ, ब्रम्हा मै हुँ भन्नुहुन्छ ।’

सरकारको असक्षमता र अहंकारका कारण जनतामा देखिएको आक्रोस भर्खरै ल्याएको गणतन्त्रप्रति नजाओस् भन्नेतर्फ सर्तक हुनुपर्ने उनले बताए । उनले भने, ‘सरकारले सृजना गरेको निराशाको आगोमा कोही अरु रोटी सेक्न नआओस् । कोही जात धर्मका नाममा झण्डा बोकेर नआओस् । हामी व्यवस्था जोगाउन चाहन्छौं ।’

अब आचर्यचकित हुने पालो सरकारको

कांग्रेसले आफ्ना नेताहरुको नाममा स्थापना भएको दुई अस्पताललाई लिएर संसदमा प्रश्न उठाउँदा कतिपयले जाबो आस्पतालका लागि भनेको सुनाउँदै सांसद थापाले यो अस्पतालको मात्र नभइ सरकारको सोच र नियतसँग जोडिएको बताएका छन् । ‘सरकार यति हैसियतमा भएको प्रतिपक्षलाई निषेध गरेर जान चाहन्छ भने हामी स्वभाविक रुपमा चिन्तित हुन्छौं’ उनले भने ।

सरकारलाई गल्ती सच्याउन बाध्य बनाएको भन्दै संवैधानिक परिषदमा भएको छलछामलाई पनि सच्याउन बाध्य बनाइने बताए । उनले भने, ‘चिकित्सा शिक्षा विधेयक पारित भएको छ । तर, त्यसमा जुन प्वाल राखिएको छ, जुन बदनीयतका साथ जे गर्छु भनिएको छ, त्यो गर्न दिइन्न । कांग्रेस उभिन्छ र चिकित्सा शिक्षा सुधारमा अवरोध गर्ने खोज्ने कदमलाई रोक्छौं ।’

कांग्रेसले पनि सरकारलाई देखाइदिन्छु भन्ने हो केन्द्रमा मात्र होइन, प्रदेशमा पनि संसद रोक्न सक्ने भएपनि जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने उनले बताए । संसद चलेपनि सरकारसँग हिजोको जस्तो सम्बन्ध भने नहुने उनले प्रष्ट पारे ।

कांग्रेस सांसद थापाले भने, ‘हामीसँग यो सदनमा जस्तो व्यवहार गरिएको छ, एउटा दुई वटा घटनाबाट त्यो बिर्सन सक्दैनौं । मनमा लिइराख्छौं र त्यो अनुरुप व्यवहार गर्छौं ।’

मदत गर्नुपर्ने ठाउँमा मदत गर्ने र प्रतिवाद गर्नुपर्ने ठाउँमा सरकारको प्रतिवाद गर्ने भन्दै उनले भने, ‘प्रतिपक्ष देखिएन भनेको होइन सरकारले । भोलिदेखि सडकबाट पनि सदनबाट पनि प्रतिकक्ष कहाँ छ भनेर देखाउँछौं । प्रतिपक्ष कस्तो हुनेरहेछ भनेर आश्चर्यचकित हुने पालो सरकारको ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment