
२१ माघ, झापा । झापाको बिर्तामोडमा चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी हस्पिटलमा तोडफोड भएको छ ।
झाडापखाला लागेपछि उपचारका लागि ल्याइएका मेचीनगर-१४ का दुई वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् ।
इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डीएसपी सुवास खड्काका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो ।
घटनापछि बसेको सर्वदलीय बैठकले मेची अञ्चल अस्पतालको सिनियर सुपरिटेन्डेन्टको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गर्ने निर्णय गरेको छ ।
टोलीले १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा छानबिन प्रतिवेदन बुझाउनु पर्नेछ । जसको आधारमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।
परिवारका सदस्यले भने हस्पिटलमा इन्जेक्सन लगाएको केहीवेरमै बालकको मृत्यु भएको दाबी गर्दै चिकित्सकले गलत औषधि प्रयोग गरेको आरोप लगाएका छन् ।
हाल बैठकपछि मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाने तयारी गरिएको छ ।
प्रतिक्रिया 4