Comments Add Comment

यसरी हुँदैछ भरतपुर विमानस्थलको स्तरोन्नति

२०, माघ, चितवन । भरतपुर बिमानस्थलको स्तरोन्नति चालु आर्थिक बर्षभित्र सिध्याउने गरी कामलाई तीव्रता दिइएको छ । स्तरोन्नतीका क्रममा धावन मार्ग ‘ओभर ले’ गर्नेदेखि लगेज स्क्यानर जडान गर्नेसम्मका योजना अघि बढेका छन् ।

१२ सय मिटरको धावनमार्गलाई निर्माणपछि एकपटक पनि ‘ओभर ले’ गरिएको छैन । विमानस्थलका प्रमुख पवन गौतमले धावनमार्ग ‘ओभर ले’ गर्न टेण्डर आह्वान गरी स्वीकृतिको प्रक्रियामा रहेको जानकारी दिए ।

‘बेलाबखतमा मर्मत गरे पनि धावन मार्गमा क्र्याकहरु आयो, रन वे बनेदेखि नै ओभर ले भएको छैन,’ विमानस्थलका प्रमुख गौतमले भने, ‘यसपटक १२ सय मिटर धावनमार्गमा नै ओभर ले गरेर दायाँवायाँ ग्रेडिङको काम पनि गर्छौं ।’

भरतपुर विमानस्थलको जहाज पार्किङ क्षेत्रलाई चालु आर्थिक बर्ष भित्र नै बढाउने तयारी भैरहेको छ । अहिले साना जहाज चारबटा अटे पनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रैं अटाउन सक्छन् । पाकिङ निकै साँघुरो भएको महसुस विगतदेखि नै हुँदै आएको छ ।

‘यसपटक पार्किङ एरिया थप्ने योजना छ, दुवैतर्फ गरेर ६० मिटर थप्छौं,’ बिमानस्थलका प्रमुख गौतमले अनलाइनखबरसँग भने, ‘एउटा हेलिप्याड छुट्टैं तयार हुन्छ, बाँकी चारबटा बिमान सजिलैंसँग अटाउने गरी पार्किङको व्यवस्थापन हुन्छ ।’

धावनमार्ग ओभर ले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रुपैंया लागत अनुमान गरिएको छ । टेण्डर मूल्याङ्कनको चरणमा छ ।

यस्तैं, नागरिक उड्यन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्यन विभागले ९० लाखको लागतमा लगेज स्क्यान ल्याउने तयारी गरेको छ । बिमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुहरुले निकै सास्ती झेल्नुपरेको छ । विमानस्थलमा यात्रु स्क्यानर भए पनि लगेज स्क्यानर भने छैन । चैत्र महिना भित्रमा नै लगेज स्क्यानर ल्याएर जडान गरिने कार्यालय प्रमुख गौतमले जानकारी दिए ।

लगेज स्क्यानर समेत नहुँदा यहाँबाट यात्रा गर्नेहरुले बेलाबखतमा आक्रोश पोख्दै आएका थिए । काठमाडौं र विदेशसमेत लैजाने गरी लगेजमा सामान प्याक गरेर ल्याएका हुन्छन् यात्रुहरुले ।

तर, चेकिङका क्रममा खोतलखातल गरेर भद्रगोल बनाइदिन्छन् सुरक्षाकर्मीले । लगेज स्क्यानर ल्याएपछि यो समस्या हट्नेछ । भरतपुर बिमानस्थल सुरक्षामा १४ जना प्रहरी छन् । तीमध्ये २ जना लगेज चेककै लागि खटिएका छन् । लगेज स्क्यानर भए प्रहरीको जनशक्ति पनि फारो हुने विमानस्थल प्रमुख गौत्तमको भनाई छ ।

चैत्र महिनामा नै २५ सय लिटर पानी र फर्म अट्ने दमकल ल्याउने काम पनि अघि बढेको छ । त्यसमा २ हजार लिटर पानी र ५ सय लिटर फर्म राख्न मिल्ने प्रमुख गौतमले जानकारी दिए ।

बिमानस्थलमा नै गाडी पार्किङ बिस्तारको काम भइरहेको छ । यसका लागि २० लाख खर्च हुने अनुमान छ । २० लाखको नै लागतमा अशक्तहरूका लागि शौचालय निर्माणको चरणमा छ । यस्तै १५ लाखको लागतमा पत्रकार सम्मेलन कक्ष बन्दै गरेको बिमानस्थलका प्रमुख गौतमले जानकारी दिए ।

विमानस्थलको सुरक्षाका लागि आठवटा सीसी क्यामेरा थप गरी १९ वटा पुर्‍याइएको छ । मेनगेट प्रवेशदेखि पार्किङसहितका सबै क्षेत्र सीसीटीभीको सुरक्षाभित्र समेटिएको प्रमुख गौतमले बताए । बिमान कम्पनीहरूले भरतपुर–काठमाडौं दैनिक १० जहाज उड्ने गर्दछन् । भरतपुरबाट पोखरा दैनिक एउटा उडान हुने गरेको छ ।

भरतपुरमा बुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्दै आएका छन् । नारायणगढ मुग्लिन सडकमा समस्या हुँदा भरतपुर विमानस्थलमा यात्रुको चाप उच्च भएको थियो । यहाँ एकै दिनमा हेलिकोप्टर र जहाज गरी ४१ उडानसम्म भएको रेकर्ड छ । बर्षाको समयमा लामो दिन हुँदा दैनिक २४ वटासम्म उडान भरतपुरबाट काठमाडौंमा भएको विमानस्थल प्रमुख पवन गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment