Comments Add Comment

रानीपोखरी पुनर्निर्माण काठमाडौं महानगरबाट खोसियो, प्राधिकरणलाई जिम्मा

प्राधिकरण आफैंले बनाउने

 

२१ माघ, काठमाडौं  । अन्नतः सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाबाट खोसेको छ । अब पुनर्निर्माण प्रधिकरण आफैंले बनाउनेछ ।

काठमाडौं महानगरलाई पुनर्निर्माणको जिम्मा दिएर २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । तर, यो तीन वर्षमा महानगरले पुनर्निर्माण गर्नुको साटो एकपछि अर्को विवाद मात्र झिकिरह्यो ।

सुरुमा कंक्रिट प्रयोग गरेको भेटिएपछि सुरुमा बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मेवारी खोसिउको थियो । यो पुरातत्व विभाग आफैंले बनाइरहेको छ ।

त्यसपछि महानगरले रानीपोखरी मात्र बनाउने काम पायो । तर, त्यो पनि विवाद मुक्त हुन सकेन । पुरातात्विक सम्पदाका रुपमा रहेको रानीपोखरीमा कंक्रिट प्रयोग गरेको भेटियो । पुरातत्वविद्, स्थानीयबासीले विरोध गरेपछि महानगर हच्कियो ।

विज्ञसहित बनेको कार्यदलको सिफारिसपछि कंक्रिट हटाइयो । तर, बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीलाई कुन शैलीमा बनाउने भन्ने बहस कायम रह्यो । कार्यदलले ग्रन्थकुट शैलीमा सिफारिस गरेपनि महानगर र पुरातत्वबीच जुहारी चलिरह्यो । यसले पुनर्निर्माणको काम लथालिंग भयो ।

नेपाली सेनालाई निर्माण जिम्मा दिने प्रस्ताव महानगरले अघि सार्‍यो । तर, पुनर्निर्माण प्राधिकरणले अस्वीकार गरेपछि फेरि महानगरले नै टेण्डर प्रक्रिया सुरु गर्‍यो तर, काम हुन सकेन । पछिल्लो समय उपभोक्ता समितिमार्फत काम गर्न प्रस्ताव ल्याएपछि सरकार महानगरपालिकामार्फत रानीपोखरी नबन्ने निष्कर्षमा पुग्यो ।

स्रोतका अनुसार यसमा राष्ट्रपति कार्यालयको पनि चासो थियो । राष्ट्रपति आफैंले शिलान्यास गरेको योजना लामो समयसम्म अलपत्र पर्दा अपजस आएको भन्दै शीतल निवासले पुनर्निर्माणलाई छिटो अगाडि बढाउन ताकेता गर्दै आएको थियो ।

१४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले बालगोपालेश्वर मन्दिरसँगै रानीपोखरी पुनर्निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व, महानगर, विज्ञ, स्थानीय समुदाय लगायतको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताए । ‘परम्परागत शैली र मौलिकतालाई विशेष ध्यान दिई पुनर्निर्माण कार्य तत्काल अघि बढाइनेछ ‘ उनले भने ।

प्राधिकरणले भूगर्भविद्हरुमार्फत रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञहरुले तीन सय फिट तलबाट पानी निकाल्न सकिने र कालीमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन् । ‘हामीले रानीपोखरीको वरिपरीको भाग पनि प्रताप मल्लकालीन शैलीमा पुनर्निर्माण गर्छाैं’ ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment