
सरकारले सन् २०२० लाई नेपाल पर्यटन बर्षको रुपमा मनाउने घोषणा गरेसँगै कोरियाको बसाई छाडेर नेपाल जाउँ भन्ने चाहाना हवात्तै बढेर आयो ।
पर्यटन व्यवस्थापनमा पिएचडी गर्दै गर्दा नेपालमा पर्यटनको क्षेत्रमा भएका केही सुधारका कुराहरु समाचारमा पढ्ने गर्थें । सरकारले १०० वटा पर्यटन गन्तव्य स्थलहरु तोकेको समाचार अनि पर्यटन वर्ष २०२० को तयारीका समाचारले मनलाई फुरुङ्ग बनाइरहेको थियो ।
अहिले नै गएर सबै ठाउँहरु घुमेर सो क्षेत्रहरुको विकास गरी यसबाट आर्थिक विकासको सभाव्यता केलाउन पाए अनि हाम्रो देशलाई पनि युरोप, सिंगापुर, दुबई, मलेसिया, कोरिया, चाइनाजस्तै प्याकेज टुरको रुपमा पर्यटकले अत्यन्तै रुचाउने गन्तव्य स्थल बनाउन पाए ?
बुद्ध जन्मिएको मेरो देशलाई संसारकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्न पाए ? यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै म बिहान काममा निस्कन्थें । अनि बलियो आत्मबलसहित नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बोकेर घर फर्कन्थें ।
मान्छे कोरियामा छु । तर, मन भन्छ- अहिले नै सबै छाडेर नेपाल गएर बसौं । सोचेजस्तो हुन्न जीवन भनेझैं भन्नेबित्तिकै सबै छाडेर हिँड्न पनि कहाँ सकिँदो रहेछ र ?
पीएचडीसँगै आर्थिकरुपमा केही बलियो भएर जान पाए नेपालमै लगानी गरेर पर्यटनको क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सोचले पनि पीएचडी सकेर नेपाल र्फकने निर्णय गरे ।
लुम्बिनीमा बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०१९ को आयोजना हुन लागेको खबरले मलाई थप उत्साहित बनाएको थियो । अन्तराष्ट्रिय मार्टमा सहभागी हुन साह्रै मन पनि थियो । तर, विदेशको बसाई चराझैं उडेर नेपाल जान पनि त सकिँदैन । कोरियाबाट केही चिनजानको कोरियन साथीहरु सोही कार्यक्रमा भाग लिन नेपाल पुगेका थिए ।
नेपालबाट फर्केपछि उनीहरुसँग मैले भेट्ने योजना बनाएँ ।
म उत्साही थिएँ । कोरियामा बुद्ध धर्म मान्नेहरु नेपालको पर्यटनको क्षेत्रमा भएको विकास र विस्तारको प्रचार प्रसार सँगै नेपाल जाने कोरियनहरुको संख्यामा उल्लेख्य बृद्धि हुनेमा कुनै शंका गर्ने ठाउँ थिएन ।
कोरियन साथीहरु नेपालबाट फर्केपछि हामीसँगै डिनर खान बस्यौं ।
मैले सोधें- कस्तो रह्यो नेपालको यात्रा ?
उसले जवाफ दियो- अहिलेको सरकारले नेपालमा धेरै राम्रा कामहरु गरेको छ भन्ने सन्देशचाहिँ जताततै फैलिएको छ । तर, गएर हेर्दा एअरपोर्टमा अलिकति सुधारबाहेक बाँकी कुरा त जस्ताको त्यस्तै ।
विदेशी मान्छेले आफ्नो देशलाई त्यसरी होच्याउने तरिकाले बोल्दा मन कटक्क खायो । मैले भनें- तपाईले मजाक गर्नुभाको त हैन ? सरकारले ०२० लाई पर्यटन वर्षका रुपमा मनाउने धोषणासँगै धेरै कामहरु गरेको छ रे त ?
उसको जवाफ थियो- पर्यटकलाई रिझाउने खालको कुनै पनि गतिविधि मैले त्यहाँ देखिनँ ।
अरु ठाउँको कुरालाई छाडौं, लुम्बिनीको मात्रै कुरा गर्दा पनि अन्तरराष्ट्रिय मार्ट गर्ने योजना बनाएको सरकारले त्यहाँको बाटो सम्म त व्यवस्थित गर्न सक्थ्यो । खन्दै गरेको सडकबाट उडेको धुलो, लुम्बिनीसम्म आफ्नै तरिकाले घुमेर आउँछु भन्नेका लागि यातायातको साधन पाउन समेत निकै कठिन भएपछि पर्यटकले कसरी सहजै घुमेर र्फकने वातावरण बन्छ ?
एक ठाउँबाट अर्को ठाउँ पुग्नका लागि टयाक्सीको सुविधा समेत छैन । मार्टको उदघाटन भएको ठाउँबाट खानाको व्यवस्था भएको होटल अनि मार्टको स्टलहरु राखिएको ठाउँसम्म पुग्नका लागि प्राइभेट सवारी साधन बाहेक अर्को विकल्प थिएन यही हो त लुम्बिनी नेपालको प्रमुख पर्यटकीय स्थल बनाउने सरकारको तयारी ?
काठमाडौंदेखि लुम्बिनी पुग्दासम्मको असजिलो वास्तविकता पस्कँदै उ एकोहोरो बोलिरह्यो म लाचार भएर उसको कुरा सुन्दै गएँ ।
हामीसँग अर्का एकजना साथी पनि हुनुहुन्थ्यो । वहाँ पनि कोरियनहरुसँगै नेपाल पुगेर फर्कनुभएको थियो । मैले सोधें- हैन, यसले किन यति साह्रै हेपेर कुरा गर्यो ? भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालमा पूर्वाधारको विकास गरिएको छैन र ?
हेर साथी, आफ्नो देश हामीलाई यसै प्यारो लाग्छ । तर, पनि आदर्शले बाँच्न सकिने भए तिमी हामी किन विदेशिनु पर्थ्यो र ?
बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट पनि आयोजना गर्यो भव्यताका साथ सम्पन्न भनेर प्रचार-प्रसार पनि गर्यो । तर, सो मार्टमा कति पर्यटकहरु नेपाल आए र उनीहरुले नेपालबाट के सन्देश लिएर फर्के भन्ने कुरा लाजमर्दो नै छ ।
पर्यटकको प्रमुख सम्भाव्यता बोकेको चाइना कोरियाका प्रतिनिधिले यस्तो सन्देश लिएर फर्केपछि यस्तो प्रभाव कस्तो रहला ?
पर्यटन क्षेत्रको विकास र विस्तार गर्छु भनेर लागेकाहरुवीचको राजनीतिले पनि हामीजस्तो सिण्डिकेट नबुझेकाहरुलाई नेपालमा गएर केही गर्न दिने स्थिति नै छैन ।
हरेक कुरामा धमिराले विस्तारै आफ्नै घर भत्काएजस्तै पर्यटन क्षेत्रभित्रको राजनीतिले पनि यही क्षेत्रको विकास र विस्तारमा सिण्डिकेटको जालो ओछ्याएको छ । त्यसकै एउटा नमूनाका रुपमा देखियो ट्राभल मार्ट ।
सो मार्टको आयोजक संस्थाभित्र समेटिएका ट्राभल एजेन्सीहरु र अन्यवीचको आन्तरिक किचलोले सो मार्टलाई असफल बनाउन मलजल गरेको देखिन्थ्यो । अन्तर्राष्ट्रिय मार्टमा स्टल राखेर बस्नेहरुको गुनासो सुन्दा सरकारले गरेको करोडौको लगानी बालुवामा पानी हाले बराबर भएको स्पष्ट हुन्थ्यो । त्यसैले समस्या पूर्वाधार विकासको मात्रै नभई हरेक क्षेत्रमा नराम्रोसँग गाँजिएको सिण्डिकेटले पर्यटन क्षेत्रलाई अछुतो राखेको रहेनछ भन्ने कुरा मैले त्यही मार्टबाट थाहा पाएँ ।
पूर्वाधारको व्यवस्थापनमा सरकार कहाँ कहाँ कसरी चुकेको छ भन्ने कुरालाई पनि उसले उदाहरणसहित पुष्टयाइँ गर्न खोजिरह्यो ।
विदेशमा बस्ने नेपालीहरु समेत हिजोआज विदामा अरु देश घुम्न जान्छन् । तर, नेपाल आउन रुचाउँदैनन् किन होला ? के उनीहरुलाई आफ्नो देशको माया नहोला र ? उसले प्रश्न तेर्साएर विदा भयो । म भने गरुङ्गो मन लिएर घर फर्केँ
रातभरि निद्रा नै परेन । हिजोसम्म नेपाल गएर केही गर्न सकिन्छ भनी जुर्मुराएको मेरो आत्मविश्वासमाथि ठूलो ठेस लागेको अनुभव गरें । तर, अझै पनि मेरो आशा भने मरेको छैन । पर्यटन प्रवर्द्धन मेरो रुचि, लगाव अनि प्रतिवद्धता हो भने मेरो देशको आर्थिक उपार्जनको महत्वपूर्ण आधार । त्यसैले म मेरो रुचिलाई आर्थिक सशक्तीकरणको पाटोसँग जोडेर पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको आधार बनाउन चाहान्छु
के साँच्चै नेपालमा फर्किएर केही गरौं भन्ने मजस्ता आशावादी युवाका लागि सिण्डिकेटको जालोले अगाडि बढ्न नदिने नै हो त ?
मलाई निर्णय छिटै लिनुछ, त्यसैले सरकार, तपाईहरुबाटै जवाफको आशा गरेको छु ।
प्रतिक्रिया 4