+
+

प्रचण्डको सन्देशः नेकपामा अर्को अध्यक्ष पनि छ !

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २६ गते १९:४८

२६ माघ, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ ।

भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेका हुन् । यसको यो अभिव्यक्तिले स्वयंम नेकपामा हल्लीखल्ली मम्चिएको छ ।

कतिपयले सत्तारुढ नेकपामा फुट आउन लागेको त होइन भन्ने आशंका समेत गरेका छन् ।

तर, प्रचण्डलाई नजिकबाट चिन्ने नेताहरु भने यो अभिव्यक्ति त्यो स्तरको नभएको बताउँछन् । तर, प्रचण्ड प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको स्वीकार गर्छन् ।
एमाले र माओवादीबीच पार्टी एकता गर्दा नेकपामा दुबै अध्यक्ष कायम रहने साझा सहमति थियो । आलोपालोको भद्र सहमति पनि भएको नेताहरु बताउँछन् ।

तर, एकीकृत पार्टीमा ओलीले एकलौटी गरेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । प्रधानमन्त्री समेत भएकाले प्रचण्ड सहयोगी जस्तो मात्र देखिनु स्वभाविक भएपछि ओलीले पार्टी र सरकार सञ्चालनमा एकलौटी गर्न खोजेको उनीहरु बताउँछन् ।

अझ बुधबार एउटा टेलिभिजन अन्तर्वार्तामा ओलीले भेनेजुएला प्रकरणमा प्रचण्डले जारी गरेको वक्तव्य चिप्लिएको मात्र भनेनन्, ‘एक जना साथीले दिएको वक्तव्य’ भनेपछि प्रचण्ड असन्तुष्ट बनेको निकटवर्तीहरु बताउँछन् । एक नेताले भने, ‘प्रचण्डले नेकपामा अर्का अध्यक्ष पनि छ भन्ने सन्देश दिनु भएको हो ।’

साथै द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन सरकारको अपेक्षाकृत काम नगरेको पूर्व माओवादी नेताहरुको बुझाइ छ । सतय निरुपण तथा मेलमिलाप र वेपत्ता छानविनसम्बन्धी आयोगको म्याद त थपिएको छ तर, ऐन संशोधन अझै टुंगो लागेको छैन ।

यसबारे प्रमुख विपक्षी कांग्रेस र द्वन्द्व पीडितहरुसँग पनि निरन्तर सम्वाद भने भइरहेको छ ।

सरकारले ऐन संशोधनमा अलमल गरिरहँदा आममाफी दिन खोजिएको भन्दै विरोध समेत भयो । राष्ट्रसंघ र युरोपेली युनियनसहित ७ देशले संयुक्त वक्तव्य जारी गर्दै दबाव दिए । सरकारले त्यसको प्रतिवाद त गरेको छ तर, सरोकारवाला पक्षलाई समेत विश्वासमा लिएर यो मुद्दा टुंग्याउने ठोस खाका कोरेको छैन ।

जबकी प्रचण्ड यसलाई जति सकिन्छ, छिटो टुंग्याउन चाहन्छन् । ‘अर्को माओवादी जन्मिन्छ’ भन्ने उनको अभिव्यक्तिले सरकारलाई दबावसँगै अन्तराष्ट्रिय समुदायलाई पनि जवाफ भएको प्रचण्ड निकट पूर्व माओवादी नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?