Comments Add Comment

बैंशालु मन र फास्टफुड प्रेम  

जसै प्रेमको प्रसंग आउँछ, हामी ‘मुना-मदन’को दृष्टान्त पेश गर्छौं । भन्छौं, त्यो एक अमर प्रेम कहानी थियो ।

हामीले भन्दै आयौं, प्रेम त रोमियो-जुलियटको जस्तो हुनुपर्छ । लैला मजनु जस्तो हुनुपर्छ । तर, त्यो आदर्श प्रेम आज दन्त्य कथा भएको छ । तिब्र गतिमा बद्लिइरहेको दुनियाले प्रेमलाई फरक ढंगले परिभाषित गर्न थालेको छ । अहिले फास्टफुड लभको जो जमना छ ।

हिजो प्लेटोनिक लभको कुरा गरिन्थ्यो । आज क्याजुअल लभको । हिजो प्रेमलाई दुई आत्मको मिलन भनियो । आज प्रेमलाई शारीरिक आवश्यक्ता ठानियो ।

प्रेम त उही हो । प्रेम एक मानसिक रसायन हो । यो भौतिक नभई भावनात्मक कुरा हो । तर, आज भौतिक आवश्यक्ताका परिपूर्तिका खातिर हामी प्रेम खोजिरहेका छौं । हिजो प्रेमले दुई फरक व्यक्तिलाई एकाकार गराउथ्यो । आज प्रेमले दुई फरक व्यक्तिको स्वार्थलाई घुलनसिल गराउँछ । प्रेमको प्रारुप यसरी बद्लिदैछ ।

प्रेम एक भावनात्मक अवस्था हो । जब मनलाई प्रेमिल भावनाले पगाल्छ, तब प्रेम प्रकट हुन्छ । यस्तो प्रेम कुनै वैंशालु युवा वा युवतीसामु मात्र पोखिदैन, आमा-बुवा, छोरा-छोरी, साथी-संगी सबैसामु पोखिन्छ । तर, आज प्रेमको रुप खुम्च्याइएको छ र त्यसलाई वैंशालु जोडीको पेवा जस्तै बनाइएको छ ।

जरुर, एक युवा र युवतीबीच हुने स्वभाविक आकर्षणलाई हामी प्रेम भन्छौं । यस्तो आकर्षण आँखाबाट पैदा हुन्छ । त्यही आकर्षणले दुबैको मन र मुटुलाई एकाकार गराउँछ । अब बल्ल उनीहरुमा प्रेम प्रकट हुन्छ ।

यस किसिमको प्रेम सम्बन्ध नै हो, युवापुस्ताले पच्छ्याइरहेको ।

दुई विपरितलिंगबीच हुने स्वभाविक आकर्षण र त्यसपछि अंकुराउने प्रेम नै आज प्रेमको भाषा बनेको छ । तर, अहिलेको पुस्ताको प्रेम शरीरबाट भित्र प्रवेश गर्न सक्दैन । अर्थात उनीहरुको प्रेमले मनमा स्पर्श गदर्ैैनन् । प्रेममा उनीहरु पग्लदैनन् । बरु बहकिन्छन् ।

प्रेमलाई जति कोणबाट, जुन विन्दुबाट, जस्तो पाटोबाट व्याख्या गरेपनि यो एक भावनात्मक स्थिती हो । प्रेम गरिदैन, आफै प्रकट हुन्छ । तर, आज हामी प्रेम गर्ने कुरा गर्छौं । हाम्रो प्रेम मनमा होइन, आँखामा झल्कन्छ । त्यसैले प्रेममा हाम्रो भावना भन्दा बढी इन्द्रिय चल्छ ।

आज हामी प्रेमका कुरा गर्छौं, तर मनमा प्रेम-भाव पैदा भएकै हुँदैन । केवल शारीरिक आकर्षण र वासनाले हामीलाई प्रेमको नाटक गर्न उकास्छ । यही कारण हामी कसैलाई मन पराउँछौं । उसको पछि लाग्छौं । डेटिङ जान्छौं । र, शारीरिक भोक मेटाउँछौं । त्यसपछि ?

त्यसपछि हाम्रो प्रेम, प्रेम रहदैन । हामी यसलाई ‘फ्रेन्डस् विथ बेनिफिट्स’ भनेर टार्छौं । लभ-रोमान्स र ब्रेकअपको यही चक्रमा हामी वैंशालु वय नष्ट गर्छौं ।

आज हामीले प्रेमको लय विगारेका छौं । प्रेमको बुझाई फरक भएको छ । ओशो भन्छन्, ‘प्रेम शब्द जति दिग्भ्रमित छ, जति गलत बुझाई छ, त्यती सायद मनुष्यको भाषामा कुनै दोस्रो शब्द छैन ।’

ओशोलाई प्रेमका व्याख्याता मानिन्छ । उनका अनुसार आज प्रेम सम्बन्धप्रतिको गलत बुझाईले सारा उपद्रव, कलह, द्वन्द्व र संघर्ष पैदा गरेको छ ।

संसारमा ठूल-ठूला युद्ध भएको छ, प्रेमकै निहुँमा । संसारमा ठूल-ठूला विध्वंश भएको छ, प्रेमकै निहुँमा । व्यक्ति-व्यक्तिवीच वैमनस्य, इष्र्य, क्रोध, अपराधको विजारोपण गर्ने निहुँ बनेको छ प्रेम ।

जबकी प्रेमले एक-अर्कालाई जोड्नुपर्ने हो । मनलाई कृतज्ञ, विनयी, विनम्र बनाउनुपर्ने हो । प्रेम त त्यस्तो रसायन हो, जसले संसारलाई एकढिक्का बनाउँछ । एकअर्काको इष्र्य, द्वेष, क्रोधलाई साम्य गर्छ । तर, आज किन प्रेम विकारयुक्त भयो ?

किनभने हामीले प्रेमको असली भाषा बुझेनौं । प्रेमलाई सही अर्थले उपयोग गरेनौं । आफैभित्र प्रेमको उत्खनन गरेनौं । प्रेमको रसायन पैदा गरेनौं ।

अनेक स्वार्थको तानाबाना बुनेर प्रेमको नाटक रच्यौं । सायद यही कारण आज हामी फस्यौं । तर, प्रेम कति सुन्दर, कति मोहक, कति मधुर कुरा हो । प्रेमले हामीलाई जोड्छ, एकाकार गराउँछ । आज दुनिया नै प्रमिल हुँदो हो त, घृणा, अहंकार, दम्भ सबै विकार घटेर जान्थ्यो । समाजमा अपराध, हेलाहोचो घटेर जान्थ्यो । संसार सुन्दर हुन्थ्यो ।

‘जब हामी जीवन जिउछौं, प्रत्येकलाई यो अनुभव भएको हुन्छ कि शायद जीवनको केन्द्रमा प्रेमको आकंक्षा, प्रेमको प्यास र प्रेमको प्रार्थना छ ।’ उनी के पनि भन्छन् भने जीवनको केन्द्र खोज्ने हो भने प्रेमको अतिरिक्त अरु कुनै केन्द्र मिल्न सक्दैन ।

ओशोले प्रेम सफल भएमा जीवन सार्थक, कृतार्थता र धन्यतामा परिणत हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment