Comments Add Comment

भ्यालेन्टाइन्सको समाजशास्त्र : लोकतन्त्र पनि उतैबाट…

काठमाडौं । आज भ्यालेन्टाइन्स डे ! पछिल्लो समय हामीले नेपालमा पश्चात्य संस्कृतिको बढी नै सिको गर्दै आएका छौँ । यसबारे समाजमा धेरैथरीका टिप्पणी भए पनि मुख्यतः दुईवटा धार देखिन्छन् । एकथरी भन्छन्– यस्तो अभ्यासले नेपालको मौलिकतामाथि हस्तक्षेप भइरहेको छ । अर्का थरीचाहिँ यसबाट समाजलाई खासै नकारात्मक फरक नपर्ने तर्क गर्छन् ।

यसै सन्दर्भमा बदलिँदो नेपाली समाजको स्वरुप र चरित्रबारे समाजस्त्रीय विश्लेषण गर्ने नेपालका चर्चित समाजशास्त्री चैतन्य मिश्रसँग हामीले ‘भ्यालेन्टाइन्स डे’लगायतका विषयमा संक्षिप्त कुराकानी गरेका छौं ।

समाजशास्त्री मिश्रको विचारमा भ्यालेन्टाइन्स मात्र नभएर हामीले लोकतन्त्र पनि पश्चिमाहरुबाटै सिकिरहेका छौं ।

भ्यालेन्टाइन्स जस्ता पश्चिमा रीतिरिवाज नेपालीले मनाउनु ठीक छ कि छैन भन्ने प्रश्नमा मिश्रको जवाफ छ– ‘ठीक छ, ठीक छैन भन्नेतिर म जान्नँ । किन भयो भन्नेतिर मात्रै जान्छु ।… हामीले युवायुवतीलाई अमेरिका, अस्ट्रेलिया पढ्न जान लागि प्रेरित गरिरहेका छौँ । त्यसैको भाग त हो भ्यालेनटाइन पनि ।’

शहर र सामाजिक सञ्जाल ‘भ्यालेन्टाइन्स डे’ ले तातेको छ । युवापुस्ता गोजीमा गुलाब हालेर हिँडिरहेका छन् । परिस्थिति यस्तो आइसक्यो कि अंग्रेजी नयाँ वर्ष, क्रिसमस, अप्रिल फूल नमनाएपछि त असामाजिक नै भइन्छ कि भन्ने डर । यसमा तपाईलाई कस्तो लाग्छ ?

हो, भ्यालेन्टाइन्सको खास समूहमा क्रेज छ । हामी अलिकति नयाँ, भएजस्तो पनि लाग्छ । यो किन हो भने संसार ‘कनेक्टेड’ भयो । यो संसारमा एक ऐतिहासिक अवधिमा एउटा मुलुक, सभ्यताले डोमिनेट गर्ने चलन बस्यो । हामीले चाहे पनि, नचाहे पनि त्यही हुँदै आयो ।

नेपालमा प्रेम त हुन्छ । तर, प्रेम दिवस किन हुँदैन भने इतिहासको कुनै कालखण्डमा मागेर बिहे गर्ने प्रचलन थियो । कम उमेरमै बिहे गर्ने पनि चलन चल्यो । त्यसरी बिहे गर्दा मानिसलाई प्रेम दिवस मनाउने फुर्सद नै कहाँ ?

चार सय वर्ष अगाडि फर्कने हो भने भारत, नेपाल, चीन विश्वको केन्द्र थियो । संसारका आधाभन्दा बढी सामान–वस्तु चीन भारत र अलिअलि नेपालमा उत्पादन हुन्थे । त्यसपछि विभिन्न कारणले युरोप विश्वको केन्द्र बन्दै गयो । अहिले कारणको चर्चा नगरौँ ।

युरोपमा क्रिश्चियानिटी पनि भयो । अमेरिका र अरु ब्रिटेन, फ्रेन्च, जर्मनी उपनिवेशले सिंगो पुँजीवादी व्यवस्थाअन्तरर्गत आफूलाई ठीक हुनेखालका संरचना निर्माण हुँदै गए । त्यसबाट हामीले धेरै कुरा सिक्ने असवर पनि पायौँ । थिचोमिचो पनि भयो ।

भ्यालेन्टाइन्स मात्र होइन, लोकतन्त्र पनि उतैबाट आएको हो नि । राजा तिनीहरुले नै पहिला चिप्ल्याएका हुन् । त्यसैले हामीले केही ठीकै कुरा पनि सिकियो । योबीचमा हामीले उनीहरुका मात्रै कुरा मन पराउनेजस्तो भयो ।

हामीले लिने मात्र नभएर दिन पनि सक्नुपर्‍यो । आधारभुत रुपमा आपसी लेनदेनमा जानुपर्छ । यसका लागि हामी लामो ऐतिहासिक प्रक्रियामा छिर्नुपरेको छ ।

हुन त हाम्रा अधिकांश संस्कार भारतसँग मिल्छन् । तर, पश्चिमाले कुनै व्यक्तिका नाममा स्थापना गरेको ‘भ्यालेनटाइन डे’ पनि हामीले मनाइदिनै पर्ने यो कस्तो लहड ? यसरी त हाम्रो प्रेम दिवस खतरामा परेन ?

हामी नेपाली भनेको के त ? हामीले नेपाल छाडेका त छैनौँ । हामी पनि कतैबाट च्यापिएर आएका हौँ । यहाँबाट पनि कति च्यापिएर बाहिर गएका छन् । अमेरिकामा बसेका मानिसहरुले पनि नेपालको कुरा गर्छन् । वास्तविकता के हो भने हामी पनि कतैबाट आयौँ र केही सिक्यौँ । नितान्त नेपाली भन्ने केही हुँदैन, कतिपय छिमेकले सिकाउँछ ।

नेपालमा प्रेम त हुन्छ । तर, प्रेम दिवस किन हुँदैन भने इतिहासको कुनै कालखण्डमा मागेर बिहे गर्ने प्रचलन थियो । कम उमेरमै बिहे गर्ने पनि चलन चल्यो । त्यसरी बिहे गर्दा मानिसलाई प्रेम दिवस मनाउने फुर्सद नै कहाँ ?

प्रेम दिवस त्यतिबेला मनाइन्छ, जहाँ मागी नभएर आफ्नो इच्छाले बिहे हुन्छ, बढी उमेरमा बिहे हुन्छ ।

समस्या के भने हामीले पाश्चात्य संस्कृतिको सिको गरेनौं भने हामी त मान्छे नै होइनौँ कि जस्तो हुने भइसक्यो । यो कति ठीक, कति बेठीक ?

ठीक छ, ठीक छैन भन्नेतिर म जान्नँ । किन भयो भन्नेतिर मात्र जान्छु । हो, उनीहरु विश्वमा हावी भए । युरोप, अमेरिकाको संस्कृति नसिक्दा हामीलाई घाटा हुने भयो । जस्तो कि अंग्रेजी भाषा नसिक्दा हामी घाटामा पर्ने भयौँ नि । त्यसैले बच्चालाई अंग्रेजी स्कुलमा पढ्न पठाएनौं भने हामीलाई ग्लानी हुन्छ ।

यसो गर्दा विश्वसँग नजिक भएजस्तो पनि हुने भयो । यसो गर्दा सम्पन्न मुलुकको समाजमा छिर्न सजिलो पनि भयो । कतिपय संस्कृति यस्ता छन््, जुन कुरा नसिक्दा हामीलाई घाटा हुन्छ । जस्तो कि पाश्चात्य म्युजिक, हलिउड फिल्मलगायतका चिजहरु नसिक्दा हामी उनीहरुको समाजमा छिर्न सक्दैनौँ ।

या, यसो भनौँ– हामी त्यो समाजमा छिर्न लालायित पनि त छौँ । भ्यालेन्टाइन्स त्यसैमध्येको एउटा कम्पोनेन्ट हो । त्यसैले यसलाई समग्रतामा राखेर हेनुपर्र्छ । र, हामी मात्र होइन, विश्वमा हामीजस्ता धेरै मुलुक छन् । हामी पनि त्यही बाटोमा छौँ ।

समग्र युरोपियन पुँजीवादी, अमेरिकन संस्कृति र सभ्यता हामीमाथि हावी छ । त्यसमाथि विजय पाउन अलिअलि कोशिस गर्दैछौँ । हामीले उनीहरुबाट सिकेर कलान्तरमा उनीहरुलाई हराउनु छ । फुटबल, क्रिकेट पनि पहिला उनीहरुले नै खेलेको त हुन् नि । विस्तारै क्रिकेटमा जित्नेतर्फ अगाडि बढेका छौँ ।

तर, विदेशीको लपेटामा परेर आफू को हो भन्ने चाहि बिर्संदै गयौँ नि हैन ?

यो कुरा पनि सही हो । तर, हामी भनेको को हो त नि ! हामी भन्ने त्यस्तो चिज केही छैन । उनीहरुबाट सिक्दै, हामी बन्दै जाने हो । त्यस्तो कुनै चीज छैन, जुन छिमेकीबाट नसिकेको होस, सँगीसाथीहरुबाट नसिकेको होस । वा विश्वसँग नसिकेको होस् ।

भनेपछि, यस्ता अभ्यासबाट हाम्रो समाज विकासको गतिमा अगाडि बढेजस्तो लाग्छ तपाईलाई ?

केही हदसम्म लाग्छ । तर, मैले यो भुलेको छैन कि उनीहरु हामीमाथि हाबी छन् । हामी तल्तिर छौँ र उनीहरु मास्तिर छन् । केही कुरा नसिके पनि हुन्थ्यो । तर, नसिकी रहन सकिँदैन । हामीले युवायुवतीलाई अमेरिका, अस्ट्रेलिया पढ्न जान लागि प्रेरित गरिरहेका छौँ । त्यसैको भाग त हो भ्यालेनटाइन पनि ।

विश्वमा हामी कुन अवस्थामा छौँ भन्ने लाग्छ ?

मैले भनिसके कि पछाडि परेकाले अगाडि भएकाहरुसँग केही कुरा सिक्छ र त्यो नगरी नहुने पनि हुन्छ । पछाडिको मुलुकले थिचोमिचो पनि खप्छ । त्यसैले हामी पनि सिक्दै गरेका छौँ । हामी खप्ने क्रममा छौँ, जुन दुःखद चाहिँ हो ।

आखिर लड्दै सिक्दै जाने हो । लड्दाखेरि दुख्छ पनि । तर, हामी यसरी नै बराबरीमा जानुपर्छ भन्ने लाग्छ । कतिपय कुरामा हामी पछाडि छौँ र सिक्नुपर्छ भन्ने कुरा पनि आत्मसात गरिसकेका छौँ ।

भनेपछि यस्ता देखासिकीलाई विकृति भन्न मिल्दैन ?

मलाई त्यस्तो लाग्दैन । किनभने, हामी नै त्यही तरिकाबाट अगाडि बढ्दै छौँ । हामीले अंग्रेजी मात्र सिकेका छौँ भन्ने होइन । लोकतन्त्र, पुँजीवादी व्यवस्था पनि सिक्दै छौँ । उद्योग कलकारखाना कसरी बनाउने भन्ने मात्रै नभएर समग्र अर्थतन्त्र पनि उतैबाट सिक्दै छौँ । जानीनजानी हामीले त्यही व्यवस्थाभित्र हेलिएका छौँ । हामी पुँजीवादी व्यवस्थाभित्र छिरिसक्यौँ र सिक्दैछौँ ।

यसरी सिकिरहँदा हामी सजग हुनुपर्ने विन्दु पनि त होला नि ?

यो गम्भीर प्रश्न हो । हामी सजग हुने भनेको हामी आफैंभित्र धेरै द्वन्द्व नगर्नु हो । विश्वसँग एकाकार हुँदै जाने र यसरी एकाकार हुँदै जाँदा हामी सँधै तलै पर्ने अवस्थामा आफूलाई नराख्ने हो ।

हामी कसरी उक्लन सक्छौँ, कसरी विश्वका श्रेष्ठ मुलुकहरुको हाराहारीमा बस्ने भन्ने नै हाम्रो चुनौति हो । यदि हामी त्यसतर्फ नलाग्ने हो भने थिचेको थिच्यै हुन्छौँ । र, हामी विश्वको सम्पन्न विकसित मुलुकहरुमध्ये हुनुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै यसमा एकाकार भएर जुट्ने हो । अहिलेको परिस्थितिमा हामीले गर्न सक्ने भनेको यत्ति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment