Comments Add Comment

बल टिप्ने केटोबाट नम्बर वान गल्फर !

मेरो खेल जीवनको यात्रा अलि भिन्न छ । सामान्य परिवारको केटाले गल्फ खेल्ने कल्पना अहिले त गर्न सक्दैन भने त्यो समय त कल्पनाभन्दा धेरै पर थियो । तर त्यही परको कल्पना मेरो भने सपना बन्दै गयो । जुन अहिले पूरा पनि भइरहेको छ ।

गल्फ अलि महँगो खेल हो भनिन्छ । हो पनि । ठूलो एरियामा हुने गल्फ कोर्सको रेखदेख, विदेशबाट झिकाउनुपर्ने महँगो खेल सामग्री र त्यसको पहुँच सबै कुराले यो खेल महँगो छ । त्यसैले सामान्य मान्छेले पहुँच देख्दैनन् ।

अहिले कति प्रतियोगिता जितिसक्दा, नेपालको नम्बर वान गल्फर भइरहँदा म पुराना दिनहरु सम्झिरहेको हुन्छु । गल्फ कोर्सको बाहिर जालीबाट भित्र खेल हेरिरहेका दिन, काठको लठ्ठीले बल हानेको समय अनि गल्फ क्लबमा अरुले खेलेको बल टिप्ने जागिर र कहिले खेलौं हुने आतुरी । ती हरेक दिनको आफ्नै महत्व छ । मेहनतको पाठ सिकेका बेला, हारेर गरिएका थप मेहनत र जितको उत्सवले रमाएका क्षण सबैले केही न केही सिकाएकै छ ।

****

म रोयल नेपाल गल्फ क्लब नजिकै जन्मिएको हुँ । हाम्रो पुर्खा त्रिवि विमानस्थल नजिकै रहेको अहिले गल्फ कोर्स भएको ठाउँमा बस्थे । अहिले होल नम्बर थ्रीमा रहेको स्थान हाम्रो पुर्खाको घर भएको ठाउँ हो भनेर बुबा भन्नुहुन्थ्यो । बुबाले रोयल नेपाल गल्फ क्लबमा रेखदेख, व्यवस्थापनको काम गर्नुभएको हो । त्यसैले म गल्फ कोर्स नजिकै रहेर हुर्किएँ ।

बाल्यकालमा आफूले भनेको जस्तो खाने, लाउने, गर्छु भन्ने अवस्था थिएन । अलि दुःख गरेर नै हुर्किएँ । गल्फमा लागेपछि मेरो जीवन अहिले जस्तो भएको छ, यस्तो होला भन्ने बाल्यकालमा त कल्पना पनि छँदै थिएन ।

तर, बुझ्ने भएदेखि गल्फ खेल्न असाध्यै मन लागेको याद छ । बुबा गल्फ कोर्समै काम गर्ने भएपनि खेल्ने अवस्था थिएन । क्लबमा मेम्बर बनेर खेल्न सम्भव भएन । त्यसैले अरुहरुले खेलिरहेका बेला गल्फ कोर्सबाहिर जालीबाट चियाएर हेरिरहेको हुन्थेँ । ‘कस्तो राम्रो खेल रहेछ, बल हान्यो सट्ठ होलमा छिरायो, फेरि गफ गर्दै अर्को ठाउँमा गयो, त्यसरी नै हान्यो’ जस्तो लाग्थ्यो ।

गल्फ कोर्समै खेल्न नपाएपनि बाँझो खेतमा खेल्ने उपाय खोजेँ । बुबा गल्फ कोर्सकै कामदार भएकाले बल पाउन मुस्किल थिएन । बल हान्ने क्लब लठ्ठी काटेर बनाएँ । रुखको हाँगा मिलाएर काटेर तलपट्टी अलिकति मोटो बनाएँ । त्यसले पनि टाढासम्म बल हान्न मिल्ने भएन । बल त टाढासम्म हान्नपर्छ भन्ने लागेपछि घर बनाउन प्रयोग गर्ने रड, पाइपहरु बंग्याएर बनाएँ । धाराको पाइपमा रड छिराएर बनाएको लठ्ठीले बल अलि टाढासम्म जान थाल्यो । यसरी नै म गल्फमा हराउन थालेँ । कहिँलेकाहीँ त यस्तरी खेलिन्थ्यो कि खाना खान पनि बिर्सन्थेँ । बुबाले खाना त खानुपर्छ नि भन्नुहुन्थ्यो ।

****

घरमा कमाउने भनेको बुबा मात्र हुनुहुन्थ्यो । त्यसैले मलाई पनि सानैबाट केही गरौँ भन्ने लाग्थ्यो । बुबालाई केही सहयोग गर्न सकियोस् भनेर गल्फ क्लबमा काम गर्न थालेँ । १३ वर्षको हुँदा बल टिप्ने काम सुरु गरेँ । अरुले हानेको बल टिपेर ल्याएर झोलामा राखिदिने, अगाडि-अगाडि बल हेर्दै जाने काम गर्न थालेँ ।

तीन वर्ष बल टिपेपछि प्रमोसन भयो, झोला बोक्ने काम पाएँ । यसरी झोला बोक्नुपर्छ, यसरी खेलाउनुपर्छ भनेर सिकाइयो । मलाई ट्रेनिङ गराइयो । बल टिप्दा भन्दा भन्दा अलि बढी कमाइ हुन थाल्यो । त्यो साल काम गर्दै खेल्न पाएँ । त्यो बेला झोला बोक्नेहरुबीचको गल्फ प्रतिस्पर्धा ‘क्याडी कम्पिटिसन’ भन्ने हुन्थ्यो । मैले त्यही प्रतियोगितामा पहिलोपटक खेल्न पाएँ ।

साच्चैको गल्फ कोर्समा, साच्चैको क्लब समातेर खेल्न पाउँदा खुशी लागेको थियो । अब रुखको हाँगा काटेर वा पाइपमा रड हालेर बनाएको क्लबले खेल्नुपर्दैन भनेर खुसी भएँ । सबै सेट नै रोयल नेपाल क्लबले नै दिएको थियो ।

क्याडी टुर्नामेन्टमा खेलेपछि सबैको नजरमा परेँ । सबैले ओहो यो भाइले त धेरै राम्रो खेल्यो भने । प्रतियोगितामा ४० जना थिए । केही पैसा पाउन उत्कृष्ट २० भित्र छिर्नुपर्ने हुन्थ्यो । पहिलोपटक खेल्दा नै म उत्कृष्ट २० भित्र परेँ ।

सबैले चिन्ने रहेछन्, पैसा पनि पाइँदोरहेछ भन्ने भएपछि मैले अर्को वर्षको क्याडी टुर्नामेन्ट आउनुअघि नै मेहनत गरेँ । त्यसैले हरेक वर्ष राम्रो गर्दै गएँ । चौथो वर्ष क्याडी टुर्नामेन्ट खेल्दा त अन्डर पार नै खेलेको थिएँ, जसलाई गल्फमा असाध्यै राम्रो रेकर्ड मानिन्छ । त्यसपछि नै मेरो जीवन उकालो लाग्यो ।

रोयल नेपाल क्लबका टासी सरले मलाई अभ्यास गर्न, स्पोन्सर खोजेर धेरै सहयोग गर्नुभयो । उहाँले भारतदेखि अमेरिकासम्म गएर अभ्यास गर्ने, खेल्ने अवसरहरु जुटाउनुभयो । एमच्योर लेभलमा गल्फको राष्ट्रिय टिममा पनि परेर धेरै देशमा गएर खेलेँ । नेपालबाट जानेहरुमा पनि मेरो खेल राम्रै भएको अरुले सुनाउँथे ।

****

२००७ मा प्रोफेसनल गल्फर भएँ र टुरहरु खेल्न थालेँ । त्यसपछि त धेरै प्रतियोगिता जितेँ । अहिलेसम्म ४४ वटा प्रतियोगिता जितिसकेछु । यो सफलतामा मुख्य त मेरो अमेरिकन कोचको सहयोगमा धेरै कुरा बुझ्न पाएँ जस्तो लाग्छ ।

भारतमा गएर प्रोफेसनलहरुसँग पनि खेलेँ, तर मुख्य कोच बनाएर सिकेको एरोन बल्डम्यानसँग हो । म एमच्योरमा खेलिरहेकै बेला एरोन भुटानबाट नेपाल आउनुभएको थियो । यहाँ म एक्लै अभ्यास गरिरहेको थिएँ । उहाँले हेरिरहनुभएको रहेछ । यो केटाले त राम्रो खेल्छ भनेर टासी सरलाई भन्नुभएछ । उहाँले पनि ‘यो केटाले राम्रो खेल्छ, लामो पनि हान्छ’ भन्नु भएको छ ।

त्यसपछि नै डाइभिङ रेञ्जमा एरोन सरसँग कुराकानी भयो । उहाँले मेरो एक-दुईवटा सट जाँच्न खोज्नुभयो । पहिला सिधा हान भन्नुभयो । मैले सिधा हानिदिएँ ।

दोस्रो सटमा ल बल अलिकति सिधा गएर अलिकति देब्रे घुम्ने गरी हान भन्नुभयो । गल्फमा त्यसलाई ‘ड्र सट’ भन्छ । मैले त्यसरी नै हानिदिएँ । फेड हान भन्नुभयो । फेड पनि हानिदिएँ । लो हान भन्नुभयो, लो पनि हानिदिएँ । टाढा हान भन्नुभयो, टाढा पनि हानिदिएँ । उहाँले जस्तो भन्नुभयो, त्यस्तै हानेपछि ‘यो केटा एकदमै राम्रो गल्फर बन्छ, म यसलाई सिकाउन चाहन्छु’ भन्नुभयो ।

उहाँ एक-दुई हप्तापछि थाइल्याण्ड जानुभयो । उहाँ त्यहीँ प्रशिक्षणको काम गर्नुहुन्थ्यो । टासी सरमार्फत मलाई पनि थाइल्याण्ड बोलाउनुभयो । टासी सरले नै थाइल्याण्ड लगिदिनुभयो । त्यहाँ चार महिनासम्म एरोन सरसँगै बसेर सिकेँ । सँगै बस्ने, सँगै खाने र गल्फ सिक्ने अवसर पाएँ । यसले मेरो खेल अझै राम्रो भयो । त्यो नै मेरो राम्रो गल्फ कोर्समा गरेको राम्रो अभ्यास थियो ।

घरमा अहिले ठूला ट्रफी झण्डै ६० वटा होलान् । राम्ररी राख्न पनि सकेको छैन । कहिले काँही त एउटा राम्रो घर बनाउन पाए ट्रफीहरु गज्जबले राख्थेँ जस्तो लाग्छ

त्यसपछि थाइल्याण्ड जाने-आउने क्रम चलिरहृयो । यसरी हेर्दा मैले एरोन सरसँग दुई वर्ष जस्तो सिक्न पाएँ । त्यसले मेरो खेल असाध्यै राम्रो भइहाल्यो ।

सन् २००४ देखि २००७ सम्म एमच्योचरमा राष्ट्रिय टिममा खेलेँ । त्यसपछि प्रोफेसनल रुपमै खेल्न थालिहालेँ । पहिलोपटक प्रोफेसनल प्रतियोगिता जितेको २००७ मा हो । त्यो बेला म विदेशमा अभ्यास गरिरहेको थिएँ । स्पोन्सरले बोलाएपछि नेपाल आएर पहिलो सिएमएस कप भनिने प्रोफेसनल प्रतियोगिता खेलेँ । रोयल नेपाल गल्फ क्लबमा भएको थियो । मैले उपाधि जितेँ । प्रोफेसनल गल्फरहरुको पहिलो उपाधि जित्न पाउँदा असाध्यै खुशी लाग्यो ।

****

एमच्योचरमा त नम्बर वान बनिसकेको थिएँ । पोखरामा ट्रफीहरु पनि फुत्काएको थिएँ । तर, प्रोफेसनलमा पहिलो प्रतियोगिता नै भनेर जितेको सिएमएस कप नै हो ।

भारतमा हुने प्रतियोगितामा प्रोफेसनल छनोट राउण्ड खेल्न पनि दिल्ली गएँ । त्यसमा म छनोट भएँ । २००८ देखि २०१५ सम्म भारतको पीजीटीआई प्रतियोगिता लगातार खेलेँ । त्यसपछि भारतकै अरु ठाउँसँगै श्रीलंका, पाकिस्तान, बंगलादेशमा गएर खेलेँ । अहिले भने स्पोन्सर नभएपछि भारतमा गएको छैन ।

विजेता भइरहन धेरै गाह्रो छ । पहिलेदेखि नै गरेको मेहनत र त्यसैको निरन्तरताले मात्रै सकिने हो । नेपालमा बसेर खेलिरहेको भए पनि यत्तिको हुन्नथ्यो जस्तो लाग्छ । बाहिर गएर पनि धेरै अभ्यासहरु गरेँ, त्यसले धेरै सजिलो बनायो । गल्फमा धेरै राम्रो मानिने अमेरिकामा नै दुईपटक गएर अभ्यास गरेँ ।

राम्रो ठाउँमा गएर राम्रो कोच गर्न पाएकाले नेपालमा नम्बर एक भइरहन सकेँ जस्तो लाग्छ । त्यसअघि भारतमा गएर पनि धेरै वर्ष खेलेँ । त्यसको अनुभव पनि राम्रो छ ।

हुन त नेपालको गल्फ कोर्स अलि सानो नै छ । विदेशमा गएर ठूलो गल्फ कोर्स हेर्दा खेल्न सकिँदैन कि जस्तो पनि लाग्थ्यो । किनभने असाध्यै ठूलो गल्फ कोर्समा अलि टाढै हान्नुपर्ने हुन्थ्यो । विस्तारै खेल्दै जाँदा सजिलो हुँदै गयो ।

****

अहिले पनि पहिलोपटक जितेको ट्रफी याद आइरहन्छ । पहिलोपटक जित्दा अलि सानै थिएँ । गल्फ कोर्समा होइन, एयरपोर्टमा अहिले पार्किङ बनेको ठाउँमा मिनी गल्फ कोर्स थियो । त्यहाँ जुनियर प्रतियोगिता हुँदा एउटा ट्रफी जितेको थिएँ ।

अहिले त्यो ट्रफी मसँग छैन । ठूलठूला ट्रफी त हराए, त्यो त सानो थियो कता पो पर्‍यो ! घरमा अहिले ठूला ट्रफी झण्डै ६० वटा होलान् । राम्ररी राख्न पनि सकेको छैन । दुईवटा कोठाको फ्ल्याटमा सबै अटाउन सकिँदोरहेनछ । कहिले काँही त एउटा राम्रो घर बनाउन पाए ट्रफीहरु गज्जबले राख्थेँ जस्तो लाग्छ । कहिँले काहीँ त चित्त नै दुख्छ, यत्रो मेहनत गरेर जितेको ट्रफीहरुलाई यसरी राख्नु परिरहेको छ जस्तो लाग्छ । तर के गर्नु बाध्यता हो ।

साथीहरु, शिवरामले खेल्यो कि जितिहाल्छ भन्छन् । सँगै खेल्नेहरु पनि ‘उसलाई फस्ट दिएर हामी सेकेण्डको लागि भिडे भइहाल्छ नि’ भनेर ठट्टा गर्छन् । रोयल नेपालकै मेम्बरहरुले पनि ‘तिमी कति जितिरहेको, अरुलाई पनि जित्न देउ न’ भन्नुहुन्छ । मलाई भने खेलमा छाड्ने भन्दा पनि कसैले हराओस् जस्तो लाग्छ । नम्बर वानको टाइटल छाड्न गाह्रो होइन, तर टाइटलसँगै पैसा पनि छाडिन्छ नि त ! (ठट्टाठट्टामा भने) पैसा भएन भने त चल्नै सकिँदैन नि । त्यही भएर कसैले च्यालेन्ज गरेर हराओस् भन्ने लाग्छ ।

उनी मेरो घर छेउको ट्राभल एजेन्सीमा उनी काम गर्थिन् । एकदिन ‘म पनि खेल हेर्न जान्छु’ भनिन् । त्यो प्रतियोगिता मैले जितेँ पनि । जितेपछि पत्रकार साथीहरुले सम्झनाको लागि हुन्छ भनेर सँगै राखेर ट्रफी लिएको फोटो खिचौँ भने । भोलिपल्ट पत्रिकामा त्यही फोटो आयो । पत्रिकामा फोटो आएको तीन दिनमै बिहे गर्यौं ।

नम्बर वान भएपनि मैले हारेका प्रतियोगिता पनि छन् । हारेको बेला अझ मेहनत गर्नुपर्नेरहेछ भन्ने लाग्छ ।

पोखरा, धरान, गोकर्ण सबैतिर प्रतियोगिता भइरहन्छन् । कुनैमा साढे दुई लाख, कुनैमा एक लाख, कुनैमा ८० हजार जस्तो पुरस्कार हुन्छन् । त्यसले हामीलाई हरेक समय अभ्यास गरेर खेलमा लागिरहन सघाउँछ । रोयल नेपाल गल्फ क्लबको कर्मचारी पनि भएकाले केही पैसा यहाँबाट पनि आउँछ ।

****

हामी तीन दाजुभाइ हौं । मेरो दाइले पनि प्रोफेसनल लेभलमै गल्फ खेल्नुहुन्छ । भाइ पनि गल्फ खेल्छ । अहिले पनि क्याडी टुर्नामेन्टमा अभ्यास गरिरहेको छ ।

छोरा ४ वर्ष पुग्यो । उसलाई पनि गल्फ सुरु गराएको छु । मैले ट्रफी जितेर लैजाँदा उ पनि खुशी हुन्छ । कतै खेल्न जान लाग्दा ‘ट्रफी जितेर आउनू है’ भन्छ । मैले जितेर आउँदा ‘ठूलो मान्छे भएपछि म पनि ट्रफी जित्छु है बाबा’ भन्छ ।

स्कूलबाट फर्किँदा पनि घर नगइ गल्फ खेल्न जाउँ भन्छ । बल र लठ्ठी दिन्छु, ऊ हान्दै बस्छ ।

कुनै कारण ग्याप हुँदा गल्फ असाध्यै मिस हुन्छ । के नपुगेको जस्तो हुन्छ, कहिँले गल्फ कोर्समा पुगौँ जस्तो लाग्छ । यहाँ वातावरण पनि असाध्यै शान्त रमाइलो लाग्ने छ । यहाँ मन लागेपछि बाहिर जाँदा त अप्ठ्यारो नै हुन्छ । घुम्न कतै जाँदा पनि हरियो डाँडा, मैदानहरु मन पर्छ । त्यसैले फुर्सद हुँदा इलामतिर घुम्न जान्छु । त्यहाँको चिया बगानको हरियो मन पर्छ, शान्त पनि छ ।

****

मेरो जीवनमा खेलमा मात्रै हैन, संयोगहरु प्रेममा पनि भए । बिहेको कुरा सम्झने हो भने अलि अनौठो छ । ६ वर्ष भयो बिहे भएको । लभ परिरहेको थियो । मेरो घरछेउको ट्राभल एजेन्सीमा उनी काम गर्थिन् । त्यतिबेला नै हाम्रो बोलचाल भएको थियो । विस्तारै बोलचाल हुँदै जाँदा नजिकिँदै गएका थियौँ ।

एकदिन ‘म पनि खेल हेर्न जान्छु’ भनिन् । ल हिँड न त भनेर लिएर आएँ । त्यो प्रतियोगितामा मैले जितेँ पनि । जितेपछि खुशी मनाइरहेका थियौँ । पत्रकार साथीहरुले मेरो प्रेमिका भनेर थाहा पाइसकेका थिए । उनीहरुले सम्झनाको लागि हुन्छ भनेर सँगै राखेर ट्रफी लिएको फोटो खिचौँ भने । ठीकै छ भनेर फोटो खिचाएँ ।

भोलिपल्ट पत्रिकामा त्यही फोटो आयो, त्यो पनि ‘शिवराम प्रेमिकाको साथ’ भनेर । हाम्रो सम्बन्धबारे घरपरिवारमा थाहा थियो । तर फोटो आएपछि उनको घरमा असाध्यै प्रेसर भयो । उनलाई ममीले ‘त्यसरी फोटो खिचाउने हो ?’ भनेर गाली गर्नुभएछ ।

मिडियामै आयो, सबै जनाले नराम्रो सोच्यो भनेर हामीमाथि बिहे गरिहाल्ने प्रेसर भयो । पत्रिकामा फोटो आएको तीन दिनमै बिहे गर्यौं । ६ महिनापछि बिहे गर्ने योजनामा रहेको बिना तयारी तीन दिनभित्र वैबाहिक जीवन प्रवेश गर्यौं ।

****

सामान्य मान्छेलाई गल्फ खेल्न कठीन नै छ । महँगो पैसा तिरेर खेल्न सकिँदैन । मैले यहाँ काम गर्दै जाँदा खेल्न पाएँ, सकेँ । तर, सबैलाई त्यस्तो अवसर कहाँ होला र !

गल्फ खेलेरै खान लाउन पुगिरहेको छ । गल्फकै कारण मलाई सबैले चिने जस्तो लाग्छ, त्यसैले सन्तुष्ट छु । अलिकति बैंक ब्यालेन्स होस्, आफ्नै एउटा घर होस् भन्ने चाहना त सबैको हुन्छ, मेरो पनि छ । तर, निराश भने छैन ।

अझै खेल्ने, मेहनत गर्ने समय छ । अहिले ३४ वर्षको भएँ । ५५-६० वर्षका मान्छेले पनि खेलिरहेको देखिरहेकै छौं । त्यसैले ममा पनि जहिलेसम्म बाँच्छु, गल्फ नै खेलिरहन्छु भन्ने आत्मविश्वास छ । गल्फलाई छाडेर बस्न पनि सक्दिनँ ।

प्रस्तुति – ऋग्वेद शर्मा

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को २३ औं श्रृंखलामा यो हप्ता नेपाल नम्बर वान गल्फर शिबराम श्रेष्ठको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment