Comments Add Comment

देशबासीलाई प्रधानमन्त्रीको प्रश्न– म पनि ठट्टा गरौं ?

सरकार प्रमुखको सम्वोधनमा गालीगलौचको वर्षा किन ?

२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यो देशका सरकार प्रमुख हुन् । उनीसँग दुई तिहाई बहुमतको शक्ति छ ।

जनताले देश बनाउने जिम्मेवारी दिएका छन् । तर, यस्तो जिम्मेवारी र शक्तिमा रहेका प्रधानमन्त्री ओली आफ्नो सम्वोधनमा जनतामाथि नै गालीगलौचमा उत्रने गर्छन् । कुनै अदृश्य शक्तिलाई उनी शत्रुका रुपमा उभ्याउँछन् र गाली गर्न थाल्छन् ।

बुद्धिजीवी, विपक्षी र आलोचकलाई उनी देख्नै सक्दैनन् र छुद्र शब्दमा निन्दा गर्छन् । विहीबारको सम्वोधनमा पनि प्रधानमन्त्रीले त्यसै गरे ।

विगतमा नेकपा एमालेको नेता हुँदा ओलीको भाषणको जुन स्तर थियो, प्रधानमन्त्री हुँदा पनि त्यसमा कुनै सुधार आएको छैन । सरकार सञ्चालनको वर्ष दिन पुगेको उपलक्ष्यमा विहीबार प्रधानमन्त्री ओली यस्तै घृणात्मक अभिव्यक्तिमा उत्रिए, जुन सरकार प्रमुखबाट अपेक्षित होइन ।

प्रधानमन्त्री ओलीले सरकारका कार्यक्रम र योजनामाथि प्रश्न उठाउने वा संशय प्रकट गर्नेहरुलाई ‘झुण्ड’को संज्ञासमेत दिए । सरकारका चुनौतीहरु के हुन् भन्ने राम्रोसँग थाहा छ भन्दै उनले आफूलाई सर्वज्ञाताका रुपमा प्रस्तुत गरे । देशबासीका नाममा गरिएको प्रधानमन्त्रीको सम्वोधनमै सुनियो– म पनि ठट्टा गरौं !

प्रधानमन्त्री ओलीको लिखित भाषणमा यस्ता शब्दहरु प्रधानमन्त्रीले आफैं उल्लेख गरेका हुन् या कार्यकर्ताले भाषणको मस्यौदा गर्ने क्रममा स्तरहीन शब्द घुसाएका हुन् ? यो प्रष्ट भैसकेको छैन । तर, ‘तित्राको मुखै बैरी’ भन्ने उखानजस्तो प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले यस्ता शब्दहरु प्रयोग नगरेको भए उनको भाषण विषयवस्तुमा केन्द्रित भएको मानिन सक्थ्यो र बहस पनि त्यसैमा केन्द्रित हुने थियो ।

विगतमा पनि प्रधानमन्त्रीले यस्तै कमजोरी गर्ने गरेका थिए । जस्तो कि सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्दा प्रधानमन्त्रीले सरकार छैन भन्नेहरुले पोलपोलमा देख्यौ हैन ? कलंकीमा हेर्न गए हुन्छ भन्ने भावमा गाली गरेका थिए, जसले सरकारको राम्रो कार्यक्रममाथिको बहसलाई विषयान्तर गरिदिएको थियो ।

विहीबार सरकारको एक वर्षे उपलब्धी सुनाउने क्रममा प्रधानमन्त्री ओलीले व्यक्त गरेका छुच्चा शब्द केही दृष्टान्त हामीले यहाँ १७ वटा बुँदामा पाठक समक्ष प्रस्तुत गरेका छौं । प्रधानमन्त्रीबाट देशबासीका नाममा सम्वोधन गरिरहँदा यस्तो भाषा शैली वाञ्छनीय हुन्छ या हुँदैन ? यसबारेमा बहस होस् भन्ने हाम्रो पवित्र चाहना छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति १७ बुँदामा

१. स्मरण गरौं, गत वर्ष आजको दिन । आम निर्वाचन सकिएको ३ महिना बितेको थियो । जनमतले ‘तिम्रो मिति पुग्यो’ भनेकाहरु अझै सरकारमै थिए । झण्डै दुईतिहाई जनमत सहित शासनको वागडोर सम्हाल्न तयार रहेको मेरो नेतृत्वको गठबन्धनलाई बैध सत्ता हस्तान्तरण गर्न त्यो पक्ष आनाकानी गरिरहेको थियो । तीन महिनादेखि कानुनका नौवटै सिङले हाम्रो लोकतन्त्रलाई बारम्बार उधिनिरहेको थियो । आम जनमत ‘अब त अति भयो’ भन्ने तहमा थियो । जिम्मा लिने पक्ष तयार थियो, तर छोड्नुपर्नेमा भने ‘यो के अनर्थ भयो’ भनेजस्तो विस्मयकारी मनस्थिति कायमै थियो । यही स्थितिलाई सङ्केत गर्दै मैले भनेको थिएँ, ‘अनर्थ हैन– यो नयाँ जनमत हो । यो त आयो । आयो है भन्ने बुझ्नुस् र त्यही अनुरुपको बानी बसाल्नुस ्।’

२. केही मानिसहरुमा विचारधारात्मक आग्रह/पूर्वाग्रह देखिँदैछ । जनतालाई सबै हिसावमा सार्वभौम तुल्याउने र उनीहरुलाई सवल बनाउने हाम्रो अभियानबाट ध्यान बराल्न ‘लोकतन्त्र खुम्चिन थाल्यो, अधिनायकवाद आयो’ भन्ने अफवाह फैलाईंदैछ । फैलिँदो र फैलिएको परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु आश्चर्यलाग्दो दृष्टिदोष हो । म स्पष्ट पार्न चाहन्छु, लोकतन्त्र हाम्रा लागि आदर्श हो, थितियुक्त, सुसंगत र परिष्कृत व्यवस्था हो– जिविका चलाउने व्यवसाय हैन ।

३. जगखन्दा तल्ला र छानाको परिकल्पना त गरिन्छ । तर, कसैले जगलाई नै हेरेर खै त चोटा÷कोठा, खै छाना भन्यो भने कसको के लाग्छ ? मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेहरुले नै ‘खै घर बनाएको’ भनेर गरिएका प्रश्नलाई अहिले हामी सामना गरिरहेका छौं । यस्ता प्रश्नमा प्रतिक्रिया किन दिउँ भन्ने म ठान्दछु ।

४. गत पुस २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दा मैले केही तथ्याङ्क उल्लेख गरेको थिएँ । मेरा भनाइलाई अङ्कमा हैन, भावमा सुन्न रुचाउनेहरुले ‘प्रधानमन्त्रीले तथ्याङ्क’ बोल्ने भन्दै प्रश्न गर्नुभयो । जसलाई सरकारले गरेका प्रगतिले पोल्यो, उनीहरुले त्यसलाई ‘मिथ्याङ्क’को रुपमा होहल्ला गरे । यस्तो सुनिन्थ्यो, नेपाल भन्ने एउटा यस्तो मुलुक छ, जहाँका जनताको नियति भनेकै बिग्रेको, भत्केको, उजाडिएको सुन्नु हो । यो मुलुकमा प्रगतिको अङ्क बोल्ने ? त्यो त तथ्याङ्क नै हैन, मिथ्याङ्क हो … । आज जे भइरहेछ, त्यसलाई म कसरी उल्लेख नगरौं ?

५. खै लगानी आएको ? खै त उद्योग ? भन्नेहरुलाई यत्तिचाँहि भनौं, यस अवधिमा ४ सय ९९ वटा उद्योग दर्ता भई जम्मा १ खर्ब ९८ अर्व रुपैयाँको लगानी प्रस्ताव भएको छ । विदेशी लगानीतर्फ ४ सय १६ वटा उद्योगले अनुमति लिई ५१ अर्व ८३ करोड रुपैयाँको लगानी प्रस्ताव भएको छ ।

६. एकजना शुभचिन्तकले गर्नुभएको प्रश्न याद आइरहेको छ– तपाईंलाई सुन्दा मुलुकमा केही भइरहेको महसुस हुन्छ । तर तपाईंले जे भनिरहनु भएको छ नि, हो त्यसलाई अरुहरुले किन पत्याइरहेका छैनन् त ? प्रश्न गहिरो हो । अरु भनेका को र कस्ता हुन् मैले जिज्ञासा राखिनँ । एउटा प्रतिप्रश्न गरेँ– खाली भाँडो थियो, त्यसलाई मैले आधा भरेँ । म जेलाई आधा भरी भनिरहेको छु, प्रश्नकर्ताहरु त्यसैलाई आधा खाली भनिरहेका छन् त कसरी स्पष्ट पारौं ?

७. हाम्रो एउटा अनौठो बानी छ, ९/९ महिनामा नयाँ सरकार हेर्ने । सरकार बनेको ३ महिना चुप लाग्ने, अर्को तीन महिना खै त काम भन्ने र ९ औं महिनामा सरकार फाल्ने । यस्तो बानी परेका हामीहरुलाई सरकारले कामै गरेर एक बर्ष कटायो भन्दा पनि अनौठो लागेको हुनसक्छ भन्ने म अनुमान गर्न सक्दछु । आज जे जे प्रश्नहरु म सुनिरहेको छु, ती ‘नौ–महिने’ अनुभवमा आधारित प्रश्नका सार पो हुन् कि ? यदि यस्तै हो भने– विनम्र अनुरोध गर्दछु, बानी फेरौं । नयाँ बानी पारौं ।

८. बस्तु नदेखी त्यसको आकार आँकलन कमैले मात्र गर्न सक्छ । त्यसैले पनि हुन सक्छ नेपालमा पानीजहाज, जल परिवहन र रेल यातायातको चर्चा गर्दा ‘यस्तो पनि भन्ने’ जस्ता प्रश्न उठे । हवाइजहाजले यस धर्तीलाई परिक्रमा गरेको गर्‍यै छ । समुद्रमा जहाज कुदेको कुदै छ, नदीहरुको बाटो हुँदै तिनीहरुले फन्को मारी नै रहेका छन् । हामी पनि चलाऊँ न भन्दा सपना मात्रै किन ठानिन्छ ?

९. के यी हाम्रा योजनाहरु, नारायण गोपाल–अरुणा लामाले गाएको गीत जस्तो– ‘… त्यो तारा मात्रै हैन, जून पनि झारी दिउँला’ भने जस्तो हो र ?

१० आज बिहानमात्रै मैले पानीजहाज कार्यालय उद्घाटन गरेँ । त्यो रमाइलोका लागि हैन, जहाज चलाउनकै लागि हो । भोलिबाट फेरि कसैलाई गिज्याउन मन लाग्ला र भनिएला– ‘अड्डा खुलेछ, टिकट काट्न जाऔं कि ?’ म पनि ठट्टा गरौं ? ‘त्यो टिकट काट्ने अड्डा हैन । नजानुस् । टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ । खबर मैं गरौंला ।’

११. द्वन्द्व व्यवस्थापन, शान्ति प्रक्रिया, विशिष्ट प्रकृतिको निर्वाचन प्रणाली र अन्त्य भएको राजनीतिक संक्रमणकालजस्ता प्रगति दुनियाँलाई आश्चर्य नै पार्ने प्रकृतिको मैले पाएँ । यसै विषयलाई लिएर उटपट्याङ् टिप्पणी गरियो, त्यो पनि पढ्न/लेख्न जान्ने, आफूलाई ‘ओपिनियन मेकर’ भन्न रुचाउनेहरुबाट । अघि बढिरहेको आफ्नो मुलुक ओरालो लागेको र स्वाधीन देश परनिर्भर रहेको सन्देश सम्प्रेषण गरेर रमाउने यस्तो प्रवृत्ति देख्दा दुःख लाग्छ ।

१२. यहीँनेर ‘महंगी अचाक्ली बढ्यो । के यही दिन देख्न हामीले लोकतन्त्र ल्याएका थियौं ?’ जस्ता तर्क गर्नेसँग थोरै सम्वाद गर्न चाहन्छु । बेसाहा सस्तो छ, ज्यालाबाट ब्रम्हाण्ड नै किन्न सकिन्छ त म पनि कहाँ भनिरहेको छु र ? तर, तुलना त हिजो र आजको बीचमा हुनुपर्ने होला नि ? तपाईंहरु नै भन्नुस् न त, अहिले औसत मुद्रास्फिति ४.२ प्रतिशत छ, गत साल कति थियो ? यो मुद्रास्फिति स्वाभाविक सीमाभित्र छ कि छैन ?

१३. तपाईंहरुलाई नै विनम्र प्रश्न गर्ने अनुमति चाहन्छु– छातीमा हात राखेर आफैंलाई सोध्नुस्, पहिलेको तुलनामा तपाईंले चुन्नुभएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरुको जीवन कष्टकर हुने नकाम के के भए ?

१४. काम पनि नभएका, रोजगारीको अवसर समेत नपाएकालाई सकेसम्म न्यूनतम रोजगारीको प्रत्याभूत गर्ने, रोजगारी दिन नसके निश्चित मापदण्डका आधारमा बेरोजगार भत्ता दिने व्यवस्था मिलाइएको छ । फेरि पनि केही हल्ला त रही रहने छ । यस्तो हल्ला गर्नेहरु रोजगारबिनाको रोजगारी र परिश्रमबिनाको पारिश्रमिक पाउने झुण्ड मात्रै हुन् ।

१५. मैले घोषणा गरेको छु– ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ कसैले यसलाई भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ती गर्दैछ । बुझे हुन्छ– भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा म मुखमा पानी हालेर बोलिरहेको छैन । अहिले सुशासनका संयन्त्रहरु क्रियाशील भएका छन् । हिजो भ्रष्टाचार गर्नेहरु आज क्रुद्ध छन् । भ्रष्टाचार गर्न तम्सिनेहरु तर्सिएका छन् । कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर दुलो गौंडा चाहार्नेहरु मुर्मुरिएका छन् । अनौठो लाग्छ, तिनै व्यक्तिहरु देशमा सुशाशन भएन भन्दै मिडियामा झुल्किन्छन् ।

१६. फेरि पनि उही गीत सुन्छु– भ्रष्टमाथि कारबाही खै ? तथ्यमा जाऔं ।….. महत्वाकांक्षा उच्च, डेलिभरी सुस्त भयो, विकासको हल्ला भयो– अविकास हात लाग्यो, प्रतिलोकतान्त्रिकरणको प्रक्रियामा यो सरकार सहायक भयो जस्ता भूमिबिनाको आरोप र टिप्पणी पनि नसुनिएको हैन ।

१७. हाम्रा चुनौती के–के हुन् मात्र होइन को को हुन् भन्ने पनि हामीलाई राम्रैसँग थाहा छ, । कतिलाई यही स्थायित्व अभिसाप बनेको हुन सक्छ । त्यसैले राजनीतिक स्थायीत्वलाई तेजवोध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्यत छन् । समृद्ध नेपाल निर्माणको यस तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै आएका छौं, र तोड्दै जानेछौं पनि ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्रीले सुनाए सरकारको उपलब्धी (पूर्णपाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment