
१२ फागुन वीरगंज । प्रहरीले आइतबार दिउँसो जलाउन लैजादै गरेको किशोरीको शव बरामद गरेको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नं २ सेढवा चन्द्रवती खोलाको किनारबाट शव बरामद गरेको हो ।
स्थानीय चन्द्रिका मुखिया बिनको १८ बर्षीया छोरी लालसाकुमारी बिनको शव बरामद गरेको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक राजेश चौधरीले बताए ।
आत्महत्या गरेको दावी गरिएकी युवतीको शव प्रहरीले बरामद गरेको हो । उक्त शव प्रहरीले पोस्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ । युवतीको मृत्युको घटनालाई लुकाउन खोजेको आशंकामा प्रहरीले शव बरामद गरेको बताएको छ ।
प्रहरीले शव बरामद गरेपछि परिवारका सदस्य र छिमेकी भागेका छन् ।
स्थानीयका अनुसार किशोरीको बिवाहको तयारी भइरहेको थियो । फागुन १३ गते पटेर्वासुगौली गाउँपालिका ५ निचुटाबाट टीकाटालो (छेका) गर्न आउने कुरा थियो केटा पक्षले किशोरीको अभिभावकसंग पचास हजार रुपैयाँ दाइजो मागी रहेका थिए ।
किशोरीका अभिभावक चन्द्रिका मुखिया बिनको आर्थिक अवस्था कमजोर रहेको र पैसाको कारण बिहे रोकिने स्थिति बनेको जानकारी केटीले पाएपछि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले सुसाइड हो वा अन्य कारणले मृत्यु भएको हो पोष्टमार्टम रिपोर्ट पछि मात्रै भन्न सकिने जानकारी दिए ।
प्रतिक्रिया 4