Comments Add Comment

अमेजन मालिक बने दुनियाकै दानी दम्पत्ति, बिल गेट्स र जुकरबर्ग कन्जुस बन्दै !

हालै मात्र सम्बन्ध विच्छेद गरेका अमेरिकी इकमर्श कम्पनी अमेजनका मालिक जेफ बेजोस र म्याकेन्जी बेजोस विश्वका सबैभन्दा दानी दम्पत्ति बनेका छन् ।
सन् २०१८ मा यो दम्पत्तिले विश्वमा सबैभन्दा धेरै रकम च्यारिटीका लागि दान गरेको छ ।

दी क्रोनिकल फिलान्थ्रोपीका अनुसार जेफ र म्याकेन्जीले सन् २०१८ मा घरवारबिहीन परिवारहरुको सहयोगका लागि २ अर्ब डलर दान गरेका छन् ।

बेजोस डे वन फन्ड नामक कोष अन्तर्गत उनीहरुले सो रकम कल्याणकारी कार्यमा दान गरेका हुन् जुन कोष सन् २०१८ को सेप्टेम्बरमा स्थापना भएको हो ।
यो जोडीले गत महिला डिभोर्सको घोषणा गरेको थियो । तर, व्यवसाय तथा प्रोजेक्टहरुमा आफुहरुको सहकार्य जारी रहने दुबै जनाले बताएका छन् ।

क्रोनिकलले सार्वजनिक गरेको सबैभन्दा धेरै दान गर्ने दानीहरुको सूची अनुसार सन् २०१८ मा धनाढ्यहरुको दानीपन कम देखिएको छ । सबैभन्दा बढी दान गर्ने ५० दानीहरुले गरेको आर्थिक सहयोग सन् २०१७ मा भन्दा झण्डै आधाले घटेको छ ।

सन् २०१७ मा विश्वमा सबैभन्दा धेरै दान गर्ने ५० जनाले १७ अर्ब ७० करोड डलर रकम दान गरेकोमा सन् २०१८ मा यो रकम ७ अर्ब ८० करोड मात्र दान गरेका छन् ।

सन् २०१८ मा बेजोस दम्पत्तिपछि सबैभन्दा धेरै दान गर्नेमा अर्बपती व्यवसायी माइकल ब्लुम्बर्ग रहेका छन् । उनले कल्याणकारी कार्यका लागि ७६ करोड ७० लाख डलर दान गरेका छन् ।

त्यस्तै पेरी तथा पाम ओमीडायर दम्पत्तिले तेश्रो सबैभन्दा धेरै अर्थात् ३९ करोड २० लाख डलर दान गरेका छन् । चौथो स्थानमा ब्लाकस्टोन कम्पनीका सीइओ स्टेफेन स्वार्जम्यान रहेका छन् । उनले ३९ करोड डलर दान गरेका छन् ।

सन् २०१७ मा सबैभन्दा धेरै रकम दान गर्ने सूचीमा पहिलो स्थानमा रहेका बिल गेट्स दम्पत्ति सन् २०१८ मा १२ औँ स्थानमा खस्किएका छन् । सन् २०१७ मा ४ अर्ब ८० करोड दान गरेको यो दम्पत्तिले सन् २०१८ मा जम्मा १३ करोड ८० लाख दान गरेको छ ।

उता फेसबुकका सीइओ मार्क जुकरबर्ग र उनकी पत्नी प्रिस्सिला चानले गर्ने दान रकममा पनि उल्लेखनीय रुपले कमी आएको छ ।

सन् २०१७ मा २ अर्ब दान गरेर सबैभन्दा दानीको दोश्रो स्थानमा रहेको जुकरबर्ग दम्पत्तिले सन् २०१८ मा जम्मा २१ करोड ३६ लाख डलर मात्रै दान गरेर सातौँ स्थानमा झरेको छ ।

क्रेानिकलका अनुसार उसले तयार पारेको सूचीमा कतिपय दानीहरु नपरेका हुन सक्दछन् । कतिपय अर्बपतीहरुले आफ्नो नाम गोप्य राखेर वा सार्वजनिक घोषणा नै नगरिकन निकै ठूलो रकम च्यारिटीमा खर्च गरेका हुन्छन् ।

त्यस्तै कतिपय दाताहरुले आक्कल झुक्कल मात्र ठूलो रकम दान गर्ने हुँदा उनीहरुको समेत अभिलेखिकरण नभएको हुनसक्छ । त्यस्ता २१ जना दाताले सन् २०१८ मा कूल साढे ५ अर्ब डलर दान गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment