+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पोखरा ग्राउण्ड जीरो: सबैलाई हसाउँथे, आज रुवाउन रहेछ !

बालसखा र गाउँलेको सम्झनामा रविन्द्र अधिकारी

अमृत सुवेदी अमृत सुवेदी
२०७५ फागुन १६ गते २०:०८

१६ फागुन, पोखरा । पोखरा एयरपोर्टबाट घारीपाटन, ढुंगेसाँघु, भगवती चौतारा हुँदै गाडीमा २५ मिनेटमै पुगिन्छ, गैरीगाउँ । गाउँको थाप्लोबाटै देखिने जामुनबोट पुग्न त्यहाँबाट ५/७ मिनेटमात्रै लाग्छ । जामुनबोटमा एउटा ढुंगाले छाएको घर छ ।

मान्छे नियमित बस्न छाडेपछि घरमा झार पलाएका छन् । भित्ताको रङ खुइलिएको छ । त्यो हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको घर हो ।

यो घरको रङ जसरी खुइलिएको छ, जामुनबोट र गैरी गाउँवासीको मन पनि खुइलिएको छ । सिंगो गाउँले रित्तो महसुस गरिरहेको छ । जब नेकपा नेता एवं पर्यटनमन्त्री अधिकारीको ज्यान गएको खबर पुग्यो, गाउँले निःशब्द छन् ।

बुधबार दिनभरि बादल लागिरहृयो, पानी पर्ने-रोकिने क्रम चलिरहृयो । सँधै खेतबारिमा हुने किसान घरमै थिए । गाउँमा त्यति तन्नेरीहरु छैनन् । अधवैंशेका आँखा फेसबुकतिर र बुढाबुढीका आँखा टीभी स्किनमा घुम्दै थिए ।

निशा आचार्यले पोखराबाट आˆनै श्रीमानले राखेको पोस्ट देखिन्, ‘रविन्द्र अधिकारी चढेको हेलिहप्टर सम्पर्कबिहीन । हे भगवान उहाँलाई केही नभइदिओस् ।’

निशाको मनमा चिसो पस्यो । उनले गाउँतिर बुझिन् । अरुले टीभीमा यो खबर थाहा पाइसकेका छन् । ‘बजारमा रहेकालाई फोन गर्ने, गाउँले जम्मा हुने र मुखामुखमात्रै गर्न सक्यौं,’ निशाले अनलाइनखबरसँग भनिन्, ‘जब हाम्रो गाउँको एकमात्र आशाको नेता ढलेको खबर आयो, डाँको छोडेर रोयौं ।’

रविन्द्रको मृत्युको खबर पाएसँगै स्कुलमा सँगै पढेका प्राणनाथ आचार्यको मनमा सुईं…य गरेर केही पस्यो । ‘आङ सिरिङ्ग भयोे,’ आचार्यले भने, ‘हामी सँगै नांगै दौडिएका छौं । लेकबेशी गरेका छौं । उहाँ गाउँको एकमात्र नेता त हुँदैहो, देशकै होनाहार योद्धा थिए । उनलाई गुमाउनुपर्दा बोल्ने शब्द नै छैन ।’

रविन्द्रको मृत्युको खबरले सिंगो गाउँको मन रोएको निशाले बताइन् । ‘न खान मन लाग्छ न केही काम गर्न । आँखामा उनैको तस्वीर घुमिरहेको छ,’ निशाले सुनाइन् ।

रविन्द्रका बाआमा गाउँलेका साथी थिए । रविन्द्रकी आमा जुन आमा समूह संस्थापक अध्यक्ष थिइन्, त्यही समूहकी कार्यवाहक अध्यक्ष छिन् निशा । बुबाआमा गाउँ भइन्जेल बेलामौकामा गाउँ रहन्थे रविन्द्र । बुबाआमा पोखरा झरेपछि गाउँ जान उतिसाह्रो भ्याउँदैनथे । तर, ३ दिन अघिमात्र गाउँ नजिकैको स्कुलको उदघाटनमा पुगेका रविन्द्रले आफ्नै घरको आँगन टेक्ने समय पाएनन् ।

‘अस्ति गाउँ नजिकैको स्कुलको उद्घाटनमा आउँदा छिट्टै आउने बाचा गर्नुभएको थियो रे । अब कहिल्यै घर-गाउँको आँगनै नटेक्ने गरी बिदा भए,’ रविन्द्रका बालसखा प्राणनाथले भन्छन्, ‘यो खबरले मुटु नै चुँडिएको छ ।’

रविन्द्रले गाउँको समस्या र विकास निर्माणमा अगुवाई गरे । स्कुले जीवनमा राजनीति थाल्दा गाउँ बनाउनुपर्छ है भनेको सम्झन्छन्, कृष्ण भण्डारी । ‘सानैदेखि केही गर्नुपर्छ भन्थे, सबैलाई हसाउँथे । आज रुवाउन रहेछ,’ बालसखा कृष्णले भने ।

रविन्द्रको निधनले निर्वाचन क्षेत्रमा ठूलो क्षति पुगेको स्थानीय शिव आचार्यले बताए । ‘रविन्द्रको निधनले सिंगो गाउँ शोकमा त छँदैछ, अब यहाँको विकासको गति समेत रोकिने भयो,’ अधिकारीको जन्म गाउँ पर्ने पोखरा वडा नम्बर ३३ का अध्यक्ष शिवले भने, ‘रविन्द्रजस्तो नेता अब यो क्षेत्रले पाउने छैन ।’

गाउँदेखि पोखरा पृथ्वीनारायण क्याम्पससम्म आन्दोलनमा साथमै हिँडेका रामजी अधिकारीको पनि आँखा रसाएको छ । उनीहरु ६ देखि १० कक्षासम्म सँगै पढे । रविन्द्रले मूल राजनीतिको जग हाल्नको साक्षी हुन्, रामजी । भन्छन्, ‘शान्ति उदय माविमा हामी ६ देखि १० सम्म सँगै पढ्यौं । उनले त्यही समयमा राजनीति थाले, म उनको एजेन्डामा होस्टेमाहैंसे गरेर हिँडे । प्राधानमन्त्री बन्छन् भन्ने ठूलो आशा थियो । हाम्रो आशाको दियो निभ्यो ।’

गाउँमा तातेताते गर्दादेखि अहिलेसम्मका सहपाठी बनेका धनराज आचार्य पनि विक्षिप्त छन् । अझै खुलेर बोल्न सक्ने अवस्थामा छैनन् । भरतपोखरी गैरीगाउँदेखि हालसम्म सुखदुखमा दुबै जना सँगै भेटिन्थे । आचार्यले बुधबार आफू विक्षिप्त भएकाले फोन नगर्न सामाजिक सञ्जालमार्फत अपील नै गरे ।

बिहीबार पनि उनले रविन्द्रलाई सम्झिँदै लेखे, ‘तपाईँको तस्वीरर राखेर श्रद्धाञ्जली छ भन्ने हिम्मत छैन मेरो, रविन्द्र सर !! तातेताते हिँड्ने बेलादेखि हिजो बिहान साढे ९ बजेको अन्तिम सम्वादका लाखौं स्मृतिले विक्षिप्त बनायो । कसरी विश्वास गरुँ सर, अब हाम्रो भेट कहिल्यै हुँदैन भनेर ?’

गाउँले र उनका सहपाठीका अनुसार रविन्द्र सानैदेखि सरल, मिजारिलो स्वभावका थिए । विलासी जीवन र सुखभन्दा पनि जोखिम मोल्न सक्ने र समयअनुसार चल्न सक्ने नेताका रुपमा सम्झन्छन्, उनका सहपाठीहरु रविन्द्रलाई ।

फरक राजनीतिक आस्था भएकाहरुलाई पनि कसरी मिलाउने, स्ववियुलाई कसरी सिर्जनात्मक बनाउने र प्राध्यापक तथा विद्यार्थीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने नमूना रविन्द्रले देखाएको सहपाठी विश्व अधिकारी सम्झन्छन् । ‘कतिसम्म भने विद्यार्थी आन्दोलनमा उनी रातभर लुक्नुपथ्र्यो । कुनै दिन राती हाम्रो कोठमा आइपुग्थे, हामी खाटमा सुतिरहेका हुन्थ्यौं । उनी गुन्द्रीमा सुत्थे,’ अधिकारीले भने, ‘यस्ता असल र सादगी मित्र गुमाउनु पीडाको छटपटी छ ।’

विश्व बैंकको सीईओ भए, अधिकारी राजनीतिक सिँडी चढ्दै गए । तर, विन्द्रले साथीभाइको विज्ञतालाई प्रयोग गर्न सक्ने क्षमता भएको उनले बताए । ‘म बैंकिङ क्षेत्रमा थिएँ । उहाँ विकास समितिको सभापति । उहाँले बैंकिङ क्षेत्रका कुरा केके हुन् मिटिङ राख्नुस्, म आउँछु भनेर सुनेर जानुहुन्थ्यो,’ विश्वले भने ।

रविन्द्रको निधनले उनको गाउँ, निर्वाचन क्षेत्र, जिल्लाबासी सहपाठी र शुभचिन्तकलाई ठूलो चोट पुर्‍याएको छ । पोखराका नेता कार्यकर्तादेखि पोखरा महानगरका मेयर मानबहादुर जिसी, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसम्मले दुःख व्यक्त गरिरहेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बाले गण्डकी प्रदेशले मात्र नभएर, राष्ट्रले एक जुझारु र सिर्जनशील युवा नेता गुमाएको बताएका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?