Comments Add Comment

सर्वोच्चको आदेशपछि बादी समुदायमा खुशी

समुदायका अगुवा भन्छन्- हाम्रो आत्मसम्मान भएको छ

२१ फागुन, काठमाडौं । बादी अगुवाले सर्वोच्च अदालतको आदेशले आफूहरुको आत्मसम्मान कायम गरेको बताएका छन् । दुई उपन्यास र एउटा फिल्मले आफूहरुको आत्मसम्मानमा ठेस पुगेको र समाजमा नकारात्मक सन्देश दिएको भन्दै अदालत पुगेका उनीहरुले अदालतबाट लेखक र सरकारलाई निर्देशनात्मक आदेश जारी भएपछि आत्मसम्मान कायम गरेको बताएका हुन् ।

राष्ट्रिय बादी परिषदले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केशव नेपाली बादीले सर्वोच्चको आदेशपछि अब प्रकाशित हुने कृति, श्रव्य दृश्यमार्फत लान्छना लगाउने क्रम रोकिने विश्वास व्यक्त गरे ।

उपन्यासहरु नथिया, ऐलानी र चलचित्र पण्डित बाजेको लौरीमा उल्लेख गरिएका प्रसंग र शब्दले बादी समुदायको इतिहास बंग्याएको भन्दै ती कृतिहरु सच्याउन र क्षमा माग्न निर्देशनात्मक आदेशको माग गर्दै बादी अगुवाले गत भदौ १८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा फागुन १५ गते न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठले कृतिका लेखक, निर्माता निर्देशक र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

आदेशको पूर्णपाठ सार्वजनिक नभए पनि आफूहरुको मागअनुसार नै आदेश आएको अध्यक्ष केशव नेपाली बादीले बताए ।

बादीमाथि प्राज्ञिक क्षेत्रबाट आक्रमण

पत्रकार सम्मेलनमा उपाध्यक्ष निर्मल नेपाली बादीले बादी समुदायमाथि विगतमा साहु महाजनले शोषण गरेकामा अहिले प्राज्ञिक क्षेत्रबाट पनि शोषण हुन थालेको गुनासो गरे । उनले उपन्यास र चलचित्रमा देखाइएजस्तो यौन व्यवसाय सिंगो बादी समुदायको प्रथा नभएको दावी गरे ।

‘बादी समुदायको गौरवमय इतिहास छ, पछि राजा रजौटाहरुका कारण केही अविवाहित महिला यौन शोषणमा परेका हुन्, त्यसपछि बादी समुदायमाथि नै लान्छना लगाउन सुरु भयो’ उनले भने ‘अहिले एकेडेमिक क्षेत्र, वौद्धिक क्षेत्रबाट पनि आक्रमण हुन थालेको छ ।’
उनका अनुसार केवल ६ प्रतिशत अविवाहित बादी महिलामात्र विगतमा यौन पेशामा थिए । त्यो पनि सामाजिक जागरणसँगै अन्त्य भएको र सरकारले ०६५ पुस २३ गतेदेखि बादी समुदायमा यौन शोषण नरहेको घोषणा गरेको छ ।

‘कारबाही गर्ने उद्देश्य होइन, सत्य लेखियोस्’

बादी अगुवाले आफूहरुले लेखक वा फिल्म निर्मातालाई कारबाही गराउने उद्देश्य नभएको बताए । ‘यसअघि लेखिएको सच्याइयोस् र अब लेखिँदा सत्य तथ्य लेखियोस् भन्ने मात्र हो’ अध्यक्ष केशव नेपाली बादीले भने ।

अहिले बादी समुदायप्रति धेरै कृतिहरु लेखिन थालेकाले लेखक र श्रष्टा सचेत नहुँदा इतिहास नै तोडमोड हुने बताए । ‘एउटाले लेखेपछि अर्कोले पनि लेख्छ, हाम्रो इतिहास नै बिग्रन्छ’ उनले भने ।

कृतिमाथि के हो आपत्ति ?

बादी समुदायलाई मुख्य विषय बनाइएको उपन्यासहरु नथिया, ऐलानी र फिल्म पण्डित बाजेको लौरीमा उल्लेख भएका केही प्रसंग र शब्दमा बादी समुदायले आपत्ति जनाएका हुन् । सरकारले बादी समुदायको आत्मसम्मानमा ठेस लाग्ने शब्द भनी किटान गरेका शब्दहरु ती उपन्यासमा प्रयोग गरिएको छ । २०६४ असोज २८ गते सरकार र बादी समुदायका बीच भएको सम्झौतामा यस्ता शब्द प्रयोग गर्न रोक लगाइएको र कसैले ती शब्द प्रयोग गरेमा कारबाही हुने उल्लेख गरिएको अध्यक्ष केशव नेपाली बादीले बताए ।

नथियामा श्रीमतीले यौन पेशा गरेर परिवारको जीविका चलाएको उल्लेख छ । बादी अगुवाका अनुसार बादी महिलाहरुले विवाह गरेपछि यौन व्यवसाय गर्दैनन् । यस्ता प्रसंगले बादी समुदायको बेइज्जत भएको राष्ट्रिय बादी परिषदका उपाध्यक्ष निर्मल नेपाली बादीले बताए ।
त्यस्तै उपन्यासमा बाबुले छोरीको यौन शोषण गरेको प्रसंग पनि उल्लेख गरिएको र त्यो असत्य भएको उनले बताए । नथियामा अहिले पनि जीवित ५ महिलाको नाम नै उल्लेख गरिएको उनीहरुको गुनासो छ ।

आफूलाई गलत लान्छना लगाएको भन्दै नथियामा उल्लेखित एक पात्रले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरीसमेत दिएकी छन् ।

त्यसैगरी उपन्यास ऐलानीमा बादी महिलालाई ‘जग्गाजस्तो’ भनिएको छ । ‘जसले हडपे पनि हुने, जसले प्रयोग गरे पनि हुने भन्ने आशय झल्काइएको छ’ अध्यक्ष केशव बादीले गुनासो गर्दै भने, ‘पिसाब फेरे पनि हुन्छ भन्ने लेखिएको छ ।’

पण्डित बाजेको लौरीमा यौन ब्यवसायका लागि श्रीमानले श्रीमतीका लागि ग्राहक खोजेको देखाइएको छ । बादी समुदायमा हुदै नभएको प्रचलनलाई कथाबस्तु बनाइएको उनीहरुको भनाइ छ । ‘आगामी दिनमा यस्ता फिल्म नबनोस्, यसरी उपन्यास नलेखियोस् भनेर हामी अदालतसम्म पुगेका हौं’ केशव बादीले भने ।

यो पनि पढ्नुहोस्–

‘सरस्वती प्रतीक्षाले माफी मागून्, पण्डित बाजेको लौरी खारेज होस्’ (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment