Comments Add Comment

‘मान्छे मार्ने गैँडालाई किन जोगाउने ?’

२५ फागुन, काठमाडौं । भर्खरै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘खाग’ले आफूलाई बजारका आम चलचित्रभन्दा फरक देखाउने दाबी प्रस्तुत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका एकजना पूर्वअधिकारी कमलजङ्ग कुँवरले लेखेको ‘गैँडालाई चार वर्ष’ नामको पुस्तकमा आधारित चलचित्रका रूपमा यसलाई चिनाइएको छ ।

‘खाग’का लागि एकातिर अन्य धारका फिल्मसँग प्रतिस्पर्धा गर्ने चुनौती छ भने अर्कातिर गैँडा संरक्षण किन गर्नुपर्ने भन्ने कुरा सर्वसाधारणलाई बुझाउनुपर्ने दुःख पनि छ ।

यसै सन्दर्भमा अनलाइखबरले ‘गैँडालाई चार वर्ष’ पुस्तकका लेखक कुँवर र ‘खाग’ चलचित्रका निर्देशक मनोज पण्डितसँग कुराकानी गरेको छ ।

सुरुमा यो चलचित्रको आधार मानिएको पुस्तकबारे बताइदिनुस् न ।

कुँवर : गैँडा संरक्षणमा हाम्रो टोलीले काम गर्दै जाँदा चौँथो वर्षमा एउटा दुःखद् घटना भयो  । निकुञ्जको हिरासतमा एकजना स्थानीयको निधन भयो । हामीलाई त्यसको आरोप लगाइयो । कानुन कार्यान्वयन गर्ने निकायले कुनै अभियोगमा पक्राउ गरेको मान्छेको कुनै हिसाबले मृत्यु भयो भने स्वाभाविक रूपमा पीडित पक्षले अर्को पक्षलाई यातना दिएको आरोप लगाउँछ नै । पछि यस घटनाको मेडिकल परीक्षणको रिपोर्ट पनि विवादास्पद भयो । तर, पनि यस घटनालाई अतिरञ्जित गरियो, अफवाहका भरमा हामीमाथि त्रुटिपूर्ण तरिकाले अनुसन्धान भयो । त्यसमा सारा शक्ति लागे । प्रधानमन्त्री, प्रहरी प्रशासन, राजनीतिक दल, न्यायालय पनि हामीमाथि लागे ।

राजनीतिक दलका मान्छेलाई पनि चुनावमा, पार्टी चलाउन तस्करबाट सहयोग आएको जस्तो देखियो । न्यायालयका मान्छेलाई सकेससम्म धेरै मुद्दा चलून् भन्ने रहेछ, चोरीशिकारी शून्य हुनेबित्तिकै कम मुद्दा चल्ने भए । कर्मचारीले चलखेल गर्ने कुरा रहेछ । त्यो हिसाबले सारा मान्छे एकजुट भएको कुरा अनौठो छ । अनि मलाई जुन अभियोग लगाइयो, त्यही अभियोगमा पक्राउ परेका प्रमुख वार्डेनलाई धरौटीमा छाडियो भने मलाई पुर्पक्षका लागि थुनामा पठाइयो । जब कि उक्त व्यक्ति मारिएका बेला म भारतमा थिएँ ।

भित्रैदेखि मैले केही गल्ती गरेको छैन, यो देशको सम्पदा जोगाउने जिम्मेवारी निभाएको हुँ भन्नेमा म ढुक्क थिएँ । मलाई कहिल्यै पनि डर भएन । तर, पारिवारिक हिसाबले आमा, श्रीमतीलाई पीडा थियो । त्यसपछि मलाई गैंडाको चोरीसिकारीको अन्तर्वस्तु आम जनतालाई थाहा होस् अनि संरक्षणको चेतना जागृत होस् भन्ने लाग्यो । साथै, चोरी शिकारीमा संलग्नहरूलाई खबरदारी गर्न मन लाग्यो ताकि उनीहरूका सन्ततिले भोलि गैँडा सिकारीका सन्तति भनेर चिनिन नपरोस् । अनि पुर्पक्षमै हुँदा नै यो सबै कुरा समेटेर पुस्तक लेख्नुपर्छ भन्ने लाग्यो ।

पुनरावेदन अदालतले धरौटीमा छाड्ने आशा समाप्त भएपछि मैले ०६३ कात्तिकदेखि जेलमै पुस्तक लेख्न थालेँ ।

तपाईको किताबप्रति बजारको प्रतिक्रिया कस्तो पाउनुभयो ?

कुँवर : एकदमै राम्रो प्रतिक्रिया पाएँ । अहिलेसम्म १० हजारप्रति पुस्तक बिक्री भयो । त्यतिबेला बजारीकरणको कुनै अभियान नभई पनि सात/आठ हजार बिक्री भयो ।

कमलजङ्ग कुँवर

तर, मैले खाग तस्करीमा संलग्न व्यक्तिहरूको नाम नै राखेकाले केही समस्या भयो । केही मुद्दा पनि परे र हामीले मेलमिलापमा मिलायौँ । तर, वास्तविक तस्करहरूले नै भने आँट गरेनन्, खालि केही कर्मचारी र स्थानीयको आपत्ति रहृयो । मैले पछि त्यसलाई अलिकति सच्याएँ ।

यही पुस्तकमाथि चलचित्र बनाउने विचार चाँहि कसरी जन्मियो ?

कुँवर : मैले किताब लेख्दा नै यो एउटा चाखलाग्दो कहानी हुन्छ र फिल्म पनि बन्न सक्छ जस्तो लागेर त्यसै अनुसार संवादहरू बनाएको थिएँ । पछि एकजना पत्रकारले पनि फिल्म बनाउन सुझाव दिनुभयो । तर, कसरी बनाउने त्यस्तो कुनै ठोस योजना थिएन ।

पछि ०६९/७० सालतिर मनोज (पण्डित) जीले किताब पढ्नुभएछ । मकहाँ आएर फिल्म बनाऔँ भन्नुभो । यसबाट जनतामा राम्रो सन्देश जान्छ भन्नुभो । मैले आफूसँग स्रोत नभएको बताउँदा उहाँले लगानी उठ्छ भन्ने आशा देखाउनुभो । पछि मलाई अरू केही साथीहरूले पनि सहयोग गर्ने वचन दिनुभयो । अनि ‘ल, गरौँ न त’ भनेँ ।

यो चलचित्र निर्माणमा, विशेष गरी कलाकारको छनोट र सुटिङमा, तपाईँको भूमिका कस्तो रहृयो ?

कुँवर : यस विषयमा मलाई त्यति ज्ञान छैन । मनोजजी र उहाँको टिमले नै कलाकार छनोट गर्नुभो । सुटिङका सन्दर्भमा सुरुवात र अन्तिमतिरका केही सटहरू सुटिङ गर्दा उहाँहरूको आग्रहमा म गएँ । करिब ९० प्रतिशत सटहरू चितवनमै सुटिङ भए र बाँकी नवलपरासी र मकवानपुर लगायत आसपासका जिल्लाहरूमा ।

लगानीमा तपाईँको भूमिका के कस्तो छ ?

कुँवर : यसको लगानी पूर्णतः सेभ द राइनो फाउन्डेसन तथा चित्रबहादुर कुँवर स्मृति प्रतिष्ठानको हो । यिनलाई मेरै श्रीमतीले सञ्चालन गर्नुहुन्छ । सरसापट, ऋण गरेर पैसा जम्मा गरेका छौँ । चलचित्रमा करिब ४५ लाख लगानी भएको छ ।

यो किताब तपाईँको आफ्नो दृष्टिकोण हो, कुनै निष्पक्ष अनुसन्धान प्रतिवेदन होइन । किताब पनि तपाईँको, फिल्ममा लगानी पनि तपाईँको, निर्देशक पनि तपाईँकै रोजाइको भएपछि त यो तपाईँलाई मात्र हिरो देखाउने प्रयास मात्र हुने भयो । वास्तविकताभन्दा टाढा हुने भयो नि त ?

कुँवर : निर्जन जङ्गलमा गैँडा मारिँदा ती घटनाका साक्षी त चरा, मुसा मात्रै त हुन्थे । कसले गैँडा मार्‍यो भनेर पत्ता लगाउनु त्यति सजिलो कुरा थिएन । गोली पड्केको सुनेपछि दौडेर जाँदा कोही भेटिँदैनथे, खालि गैँडाको लास मात्र । यस्तो चुनौतीपूर्ण अवस्थालाई हामीले बिस्तारै निराकरण गर्दै गयौँ । तर, गैँडा मार्ने क्रम अझै जारी छ, मान्छे समात्ने क्रम पनि जारी छ ।

तर, अब यो खेललाई अन्त्य गर्नुपर्छ । म चितवनमा हुँदा मेरो जिम्मेवारी नै गैँडा संरक्षण थियो । तर, अब त्यहाँबाट बाहिर आएपछि पनि मेरो जिम्मेवारीलाई कसरी निर्वाह गर्न सक्छु भन्दा पुस्तक लेख्नुपर्छ जस्तो लाग्यो । यो चलचित्र पनि यो अभियानको तेस्रो कदम हो । ०५९मा गैँडा संरक्षणका लागि जिम्मेवारी पाएपछिको निरन्तरता हो ।

मलाई मारिदिनेसम्मका धम्की आएका थिए । कोही हिरो हुनैका लागि आफ्नो जीवनमात्र नभएर परिवारलाई धरापमा राख्दैन नि

यो किताबलाई चलचित्रमा रूपान्तरण गर्दा कत्तिको गाह्रो भयो ?

पण्डित : एउटा फिल्ममेकरका लागि सबभन्दा ठूलो चुनौती नै विश्वसनीयता सिर्जना गर्नु हो । चलचित्र हेर्ने मान्छेका लागि कमलजङग कुँवर, गैँडा, चितवन राष्ट्रिय निकुञ्जभन्दा पनि पात्र कसरी बाँचिरहेको हुुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । पात्रको जीवन विश्वसनीय लागेन भने सिनेमा असफल हुन्छ ।

तपाईँलाई यो कथा किन सिनेमाका लागि उपयुक्त छ जस्तो लाग्यो ?

पण्डित : अहिले समाजमा निराशा व्याप्त छ । तर, समाजमा कहिलेकाँहि आउने कुनै कथाले आशाको दियो जगाउँछन् । समाजमा केही भइरहेको छ, केही काम गर्ने मान्छे छन् भन्ने देखिन्छ । मैले नेपालगञ्ज जाने क्रममा बसमा यो किताब पढ्दा हाम्रो समाजमा यस्तो मान्छे पनि छ र भनेजस्तो लाग्यो । सम्मान जागेर आयो । एउटा मान्छेले सबै कुरा त्यागेर आफ्नो उद्देश्यका लागि सङ्घर्ष गर्छ भने त्योजस्तो नायकत्व अरू के हुन्छ र ? समाजले अनि सिनेमाले नायक खोजिरहेको हुन्छ र यो कथामा त्यो पाइन्छ ।

हिजोका दिनहरूमा मैले बनाएका सिनेमामा निराशाजनक प्रश्न थिए । यो आशावादी प्रश्न हो । इमान्दार भई बाँचेर पनि समाजलाई योगदान दिन सक्छौँ है भन्ने हिसाबले यो फिल्म बनाएँ । मैले कताकता त्यो पात्रमा आफैँलाई पनि देखेँ । किनकि, सिनेमा बनाउन म पनि त्यसरी पागल भएर हिँडेको थिएँ, घरबार, बाउआमा, श्रीमतीलाई लथालिङ्ग छाडेर ।

तर, उहाँकै लगानीमा उहाँलाई नायक बनाएर फिल्म बनाउँदा एकपक्षीय हुने जोखिम पनि छ नि त ?अर्को कुरा, उहाँको जीवन नाटकीय भयो । आफूले जुन आरोपमा अरूलाई थुनिएको छ, त्यही कारणले उहाँ आफैँ थुनिनुपरेको छ । यो घटनाक्रम अन्य नायकहरूका जीवनमा हुने उतार-चढावजस्तै छ ।

पण्डित : हो, छ । तर, उहाँले मलाई सबैले प्रशंसा नै गरिदिऊन् भनेर आशा गर्ने समय पार गरिसक्नुभएको छ । यो फिल्ममा त्यसको प्रतिबिम्ब छैन ।

मैले किताब सारेको होइन, त्यसबाट प्रभावित भएको मात्र हुँ । यसमा मेरो आलोचनात्मक दृष्टिकोण छ । उहाँप्रति उठेका प्रश्नहरू पनि छन् । सुरुवातमा म आफैँ उहाँको विरुद्धमा थिएँ । नेपालका सरकारी कर्मचारी कर्तव्यनिष्ठ छैनन् भन्ने मेरो निष्कर्ष थियो । तर, यो किताबले मेरो पूर्वाग्रह भत्काइदियो ।

मैले फिल्म बनाउन किताब मात्र पढिनँ, अनुसन्धानका सिलसिलामा विभिन्न मान्छेसँग घुलमिल पनि गरेँ ।

इमान्दार मान्छेका हजारौँ शत्रु छन् । आर्थिक, सामाजिक, राजनीतिक शक्ति भएका मान्छे उहाँका विरुद्धमा छन् । म उनीहरूसँग पनि भेटघाटमै छु । मलाई उहाँको बारेमा सबै जानकारी छ र फिल्ममा ती सबै पाटालाई उजागर गरेको छु । यो जबर्जस्ती लादिएको नायकत्व होइन कि सङ्घर्षबाट जन्मिएको पात्र हो । यो फिल्ममा कसैप्रति कुनै आग्रहपूर्वाग्रह छैन । यो कमलजङ्ग कुँवरको मात्र कथा होइन, एउटा इमान्दार मान्छेले गर्ने सङ्घर्षको कथा हो ।

मलाई व्यक्तिलाई हिरो बनाउनुछैन, पात्र र चरित्रलाई हिरो बनाउनु छ । ता कि, भोलि यस्ता अरू मान्छे पनि जन्मिऊन् । अहिले काम गरिरहेकालाई पनि उत्प्रेरणा होस्

मैले पनि सुनेको छु धेरैले मान्छे “कमलजङ्ग कुँवरले आफू हिरो बन्न किताब लेख्यो, फिल्म बनायो” भन्छन् । तर, उहाँले गर्नुभयो, र त लेख्नुभयो, तथ्यबिना लेख्नुभएको होइन । कसैलाई उहाँ नायक लाग्छ भने त्यो त उहाँको सफलताको कुरा भयो । तर, जो मान्छे आफू गर्न सक्दैन, उसलाई अरूप्रति शंका हुन्छ । मलाई यो कुरा थाहा छ ।

तर, विश्व सन्दर्भमा हेर्दा पनि आत्मकथा लेख्नु वा बायोपिक बनाउनुको उद्देश्य विभिन्न विवादबाट आफूलाई चोख्याउने नै हुने गरेको छ नि त ?

कुँवर : म त्यहाँ केही वर्षका लागि मात्र रहेको थिएँ । म त्यहाँ हुनु अगाडि पनि, र पछाडि पनि गैँडा संरक्षणको अभियान जारी थियो र छ । खालि म त प्रतिनिधि पात्र मात्र हुँ ।

अनि अर्को कुरा, मैले जे गरिरहेको थिएँ, आफ्नो जिम्मेवारी पूरा गर्ने सिलसिलामा राम्रै गरिरहेको थिएँ । तर, मविरुद्ध धेरै शक्ति लागेपछि आफ्नो कामको बारे प्रस्ट्याउनुपर्छ भन्ने लागेर नै पुस्तक लेखेको हुँ ।

कोही पनि हिरो हुनका लागि जेल जाँदैन, एम्बुसमा पर्दैन । धरौटीमा छाड्ने हो भने मलाई मारिदिनेसम्मका धम्की आएका थिए । कोही हिरो हुनैका लागि आफ्नो जीवनमात्र नभएर परिवारलाई धरापमा राख्दैन नि । खालि आफ्नो जिम्मेवारी निभाउनका लागि हो ।

हामीले एउटा तहमा गैँडा तस्करीलाई समाप्त पारेका छौँ । यो देशकै सफलताको कुरा हो । हामीजस्तो सीमित स्रोतसाधन भएका देशमा पनि समुदायसँग मिलेर कसरी सफल भयौँ भन्ने उदाहरण हो यो । यो देश हिरो भएको कुरा हो ।

पण्डित : हो, वास्तवमा खाग राष्ट्रियताको कथा हो । यो उहाँको लडाइँ होइन, राष्ट्रको लडाइँ थियो । यो सङ्घर्षले नेपाललाई प्रतिनिधित्व गर्छ ।

मलाई व्यक्तिलाई हिरो बनाउनुछैन, पात्र र चरित्रलाई हिरो बनाउनु छ । ता कि, भोलि यस्ता अरू मान्छे पनि जन्मिऊन् । अहिले काम गरिरहेकालाई पनि उत्प्रेरणा होस् । यो समाज खालि फटाहा र भ्रष्टाचारीको मात्र होइन । काम गर्नेहरू पनि छन्, तिनीहरूको पनि आवाज बोलिनुपर्छ ।

तर, आजको जमानामा, अनमोल केसीको पछि लाग्ने नयाँ पुस्ताले तपाईँको फिल्म हेर्ला त ?

पण्डित : अहिले दुई किसिमका दर्शक देखिएका छन् । एकथरी शुक्रबार र शनिबार हेर्ने चलचित्र खोज्छन्, अर्काथरी जिन्दगीभरि हेर्न मिल्ने फिल्म खोज्छन् । यो फिल्मको अस्तित्व नेपाली समाज रहुन्जेलसम्म नै रहन्छ ।

धेरै फिल्महरूको अस्तित्व शुक्रबार र शनिबार चलेन भने सकिन्छ । तर, शुक्रबार र शनिबार कति मान्छे हलमा जम्मा भए भन्ने कुराले यो फिल्मको मूल्याङ्कन हुँदैन ।

यो फिल्ममा भएको लगानी उठाउन सकिन्छ कि नाइँ भनेर म चिन्तित छु । करिब ४५ लाख रुपैयाँ लगानी भएको छ । त्यो उठाउने मेरो दायित्व हो किनकि सिनेमा उहाँ -कुँवर)को कार्य क्षेत्र होइन । हिजो मैले काम गरेका सबै सिनेमा राम्रा बनेका छन् भने निर्माता पनि लाभान्वित भएका छन् । यो फिल्मले पनि व्यावसायिक सफलता पाउँछ ।

गैँडा संरक्षणका लागि तपाईँको फिल्मको मूल्य आफ्नो ठाउँमा होला । तर, सधैँ उठ्ने प्रश्न के पनि हो भने गैँडा संरक्षण केका लागि त ? राज्यले यति धेरै लगानी गर्नुपर्ने, गैँडाकै लागि कतिले ज्यान गुमाउनुपर्ने किन ? आखिर गैँडा मान्छे भन्दा ठूलो हो त ?

कुँवर : यसको मुख्य उद्देश्य वातावरण संरक्षण हो । जहाँजहाँ गैँडा, बाघ, हात्ती छन्, त्यहाँत्यहाँको चुरे क्षेत्र सुरक्षित छन् । रौतहतदेखि सिराहासम्मको चुरे क्षेत्र विनाश भइसकेको छ किनकि त्यहाँ कुनै जनावर छैनन् । चुरे सुरक्षित हुनु भनेको स्वच्छ हावापानी मात्र होइन, यसले कृषि क्षेत्र मरुभूमीकरण हुनबाट बचाउँछ र बाढीपहिरोबाट जिउधनको सुरक्षा हुन्छ । यो वास्तविकता हो, तर धेरै मान्छेले बुझ्दैनन् ।

त्यसैगरी पहाडमा चितुवा सकियो भने पहाडी पर्यावरण सकिन्छ । हिमचितुवा सकियो भने हिमाली पर्यावरण सकिन्छ । यदि यिनलाई संरक्षण गर्न सकिएन भने ठूलो मूल्य चुकाउनुपर्छ ।

यसको आर्थिक पाटो पनि छ । नेपालमा आउने ६० प्रतिशतभन्दा बढी पर्यटकहरू पर्यावरण हेर्नका लागि आउँछन् । यसबाट धेरैलाई रोजीरोटी मिलेको छ । हो, यसको मुख्य फाइदा केही सीमित मानिसले लिएका छन् । तर, स्थानीय स्तरमा पनि केही फाइदा पुगेको छ । रिक्सावालाले ग्राहक पाएका छन्, किसानले तरकारी बेचेका छन् । स्थानीयले वेटर, नेचर गाइड लगायतका काम पाएका छन् । अन्ततोगत्वा यो सबै एउटै देशको सम्पत्ति हो ।

तर, अहिले संसारभर संरक्षणको सैनिकीकरणका विरुद्ध आवाज उठिरहेका छन् । पहिला-पहिला त मान्छे र जनावरसँगै बसेका थिए । तर, अहिले स्थानीयबासीलाई उनीहरूको बसोबास रहेको क्षेत्रबाट लखेटेर केही लाभ पनि लिन नदिने काम भइरहेको छ भनिन्छ । यो हिसाबले संरक्षण दिगो होला र ?

कुँवर : स्थानीयको सहभागिता नभइकन संरक्षण दिगो हुन सक्दैन भन्ने विश्वासकै आधारमा मध्यवर्ती क्षेत्रको अवधारणा आएको हो । निकुञ्जको आयको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने नीति छ । नेपालको शून्य चोरीशिकारी अभियानलाई सफल बनाउन पनि समुदाय नै पर्खाल बनेको छ ।

तर अर्को कुरा, एउटा बोटेले जिन्दगीभर माछा मारेर मात्र हुन्छ कि त्यसको विकल्पका रूपमा पढ्ने, सीप सिक्ने, अरू काम गर्ने ? तिनका अधिकारबारे कुरा गर्ने मान्छे चाँहि काठमाडौँमा, भरतपुरमा घर बनाएर, विदेश घुमेर बस्ने । अनि जसका बारेमा उसले कुरा गर्छ, ऊचाहिँ माछा मारेरै जीविका चलाउनुपर्ने ? उसको जिन्दगीमा चाँहि परिवर्तन हुनुपर्दैन ? स्वार्थका लागि मात्र अधिकारको कुरा गरेर हुँदैन, जीवन रूपान्तरणको अधिकारको कुरा गर्नुपर्छ । हामीले यसमा पनि ध्यान दिनुपर्छ ।

हो, संरक्षणमा समुदायकै मुख्य भूमिका हुनुपर्छ । तर अहिलेकै अवस्थामा सम्पूर्ण जिम्मेवारी समुदायलाई दिँदा निकुञ्जको हालत पनि तराईका सामुदायिक वनजस्तै हुन्छन् । नेपालका सबै क्षेत्रमा सामुदायिक वनको अवधारणा सफल भए पनि तराईमा भएन । त्यसकारण अहिलेकै अवस्थामा स्थानीयलाई जिम्मेवारी दिने हो भने सालका काठजस्तै गैँडाका खाग पनि सक्किन्छन् ।

के फिल्ममा पनि यो सन्देश छ ?

पण्डित : मुख्यतः यो आफ्नो काममा जिम्मेवार इमान्दार मान्छेको कथा हो । अलि गहिराइमा, यस फिल्मले सत्ता किन मानिसलाई दास बनाएर आफ्ना लागि फाइदा लुटिरहेको छ भन्ने प्रश्न छ । हामी किन गैँडालाई मार्दैछौँ भन्ने प्रश्न छ ।

यो भूगोलमा मेरो जति अधिकार छ, अर्को जनावरको पनि त्यत्ति नै अधिकार छ नि त । यो संरक्षणको मात्र होइन, सिङ्गो मानव सभ्यताकै सवाल हो । यो फिल्म किताबभन्दा अलि बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment