Comments Add Comment

सुरेश केडिया अपहरण प्रकरणः ‘सुपारी’ नदिएपछि योजनाकारकै हत्या ?

२५ फागुन, वीरगञ्ज । व्यापारी सुरेश केडिया अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेको दु्ई भारतीय अभियुक्तलाई आज सार्वजनिक गरिएको छ । भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगर परिषद वडा नं. १७ बस्ने ३५ वर्षीय बब्लु पासवान र राजहर्नाही ग्रामपञ्चायत वडा नं. ३ बस्ने २५ बस्ने नन्की भन्ने विजय महतो (कुशवाहा)लाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रेवती ढकालले बब्लु मुख्य योजनाकार र विजय अपहरणपछि गाडी चलाएर जाने व्यक्ति रहेको बताए । ‘भिश्वा क्षेत्रमा गस्ती गर्ने दुई जना मानिसहरु भेटिए, उनीहरु ०७३ जेठ १३ गते भएको व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न व्यक्तिहरु रहेको तथ्य खुल्यो,’ उनले भने, ‘त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिएका हौं ।’

गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई  २४ गते बिहान १ बजेको समयमा पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई छिपहरमाई गाउँपालिका वडा नं ५ भिश्वा क्षेत्रबाट पक्राउ गरिएको दावी प्रहरीले गरेको छ ।

०७३ जेठ १३ गते बाराको महागढीमाई नगरपालिका वडा नं. १ स्थित पसाहा पुलबाट अपरहणमा परेका केडियालाई जेठ १६ गते भारतीय प्रहरीको सहयोगमा अपहरणमुक्त गरिएको प्रहरीको भनाइ छ । तर स्रोतकाअनुसार केडिया परिवारका सदस्यले १० करोड रुपैयाँ फिरौती हुण्डी मार्फत बुझाएपछि अपहरणकारी आफैंले केडियालाई छोडेका थिए ।

यो पनि पढ्नुहोस यस्तो छ केडिया अपहरणकाण्डको अन्तरकथा

केडिया अपहरण मुक्त भइसकेपछि अपहरणकारीहरु विरुद्ध सुरेश केडियाको छोरा शौरभले जिल्ला प्रहरी कार्यालय बारामा अपहरण तथा शरीर बन्धक, हातहतियार तथा खरखजाना, संगठित अपराध मुद्दामा जाहेरी दिएका थिए ।

बब्लु पासवानले भने बब्लु दुवे नै मुख्य योजनाकार रहेको र आफूहरुसँग भएको सहमतिअनुसार एक करोड नदिएपछि उनको हत्या गरेको दाबी गरेका छन् । ‘बब्लु दुवेको योजनाअनुसार नै अपहरण भएको हो, १० करोड फिरौति मागेर लिइएको थियो । तर, बब्लुले सहमतिअनुसार १ करोड हामीलाई दिएनन्,’ उनले भने, ‘हामीले दुःख गर्ने, जेल बस्नुपर्ने अनि उ चाहिँ रकम लिने ? त्यसैले उसको हत्या गरिदिएँ ।’

अपहरणलाई सफल बनाउन नेपालका प्रशासनिक निकायलाई ३० लाख रुपैयाँ छुट्याएको जानकारी आफूले पाएको उनको भनाइ छ । तर कसकसलाई दिइएको हो भनेर आफूलाई कुनै जानकारी नभएको उनले बताए ।

प्रहरीले उनीहरु नै नेपाल आएर अपरहण गरेर लगेको दावी गरे पनि बब्लु पासवानले भने भारतीय सीमासम्म मात्रै आफूहरु आएको बताए ।

चञ्चला पाण्डे, वीरेन्द्र यादव, जियालाल यादवलगायत पाँचजना यसअघि नै पक्राउ परेका छन् । उनीहरुले पनि बब्लुको योजनामा चञ्चलाले केडियाको अपहरण गरेर भारत पुर्‍याएर बन्धक बनाएको खुलेको प्रहरी स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस अपहरण र फिरौती : १० वर्षे द्वन्द्वले फैलाएको अपराध

को थिए बब्लु दुवे ?

भारतको सिसुवाथान पूर्वी चम्पारण मोतिहारी जिल्ला घर भएका बल्लु भनिने मिथिलेश दुवेलाई बेतिया सिभिल कोर्टमा पेस गर्न लैजानेक्रममा प्रहरी घेराभित्रै गोली हानी हत्या गरिएको थियो । बक्सार कारागारमा विभिन्न मुद्दामा सजाय काटिरहेका उनको  २०७४ बैशाखमा हत्या भयो । उनलाई पाँच वटा गोली लागेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीको सुरक्षा घेरामा रहेका बब्लुलाई अदालत परिसरमै तीन जनाको संख्यामा आएका हतियारधारीले गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

बब्लु दुवे भारतका विभिन्न ठाउँमा आपराधिक क्रियाकलाप गरी नेपालमा समेत लुक्ने गरेका थिए । नेपाल प्रहरीका तत्कालीन एसएसपी सर्वेन्द्र खनालले विशेष सुराकीको आधारमा १५ जेठ, २०७० मा सीतापाइलाको गेस्ट हाउसबाट उनलाई पक्राउ गरेका थिए । नेपालमा अपराधिक क्रियाकलाप गरेको कुनै प्रमाण नभेटिएपछि २१ जेठ, २०७० माभारतीय प्रहरीको जिम्मा लगाएको थियो ।

उनको समूहले वीरगञ्ज-रक्सौल क्षेत्रमा समूहले हत्या, अपहरण फिरौती, हातहतियार तथा चन्दा आतंक फैलाउँदै आएको थियो ।

उनले जेलबाट पनि नेपाली व्यवसायीलाई आतंकित पार्दै आएका थिए । गत वर्ष उद्योगी सुरेश केडियाको अपहरणसमेत बब्लु समूहले नै गरेको नेपाल प्रहरीले दाबी गर्दै आएको छ । जेलभित्रै रहँदा उनले केडियाको अपहरण योजना बनाई आफ्नो समूहलाई सक्रिय बनाएको दावी गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment