Comments Add Comment

महिला साफ च्यापियनसिप : रंगशालामा पानीका बोतल र सिक्का प्रतिबन्ध

प्रचण्डले उद्घाटन गर्ने

२६ फागुन, विराटनगर । विराटनगरमा मंगलबारदेखि सुरु हुने पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हेर्न आउने दर्शकलाई पानीको बोतल र सिक्क मैदानमा लैजान प्रतिबन्ध लगाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरक्षाको कारण देखाउँदै पानीको बोतल र सिक्का मैदानमा लैजान प्रतिबन्ध लगाएको हो ।

खेलको दौरानमा हुन सक्ने सम्भावित उत्श्रृङ्खल गतिविधि नियन्त्रणका लागि सिक्का र पानीका बोतललगायत हातले फाल्न सकिने सामाग्री मैदानमा ल्याउन रोक लगाइएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । उनका अनुसार एन्फाले नै मैदानभित्र पानीको व्यवस्थापन गर्ने छ ।

सबै टोली विराटनगरमा

पहिलो पटक राजधानी बाहिर हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन आयोजक राष्ट्र नेपाल सहित भारत, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशको महिला फुटबल टोली विराटनगर आइपुगेका छन् । पाकिस्तानले भने अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने बताएको थियो ।

फागुन २८ गतेदेखि चैत ८ गतेसम्म हुने प्रतियोगितामा सहभागी टिमलाई प्रशिक्षणका लागि विराटनगरको डीपीएस स्कुल, विराटनगर जुटमिलको खेल मैदान र दुहबीको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता राईले बताए । उनका अनुसार प्रतियोगिताको आन्तरिक तयारी पूरा भएको छ । तयारीका लागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश १ सरकारले ५० लाख बजेट खर्च गरेका छन् ।

साफ महिला फुटबलकै लागि शहीद रंगशालामा चेन्जिङ रुम, प्लेयर्स बक्स, सहित अन्य संरचना निर्माण गरिएको छ । रंगशालाको मैदान मर्मत गरिएको छ भने प्याराफिट पनि रंगरोगन गरिएको छ । प्रतियोगिताको लागि सबै तयारी पूरा भएको प्रवक्ता राईले बताए ।

प्रचण्डले उद्घाटन गर्ने

पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन् । विराटनगर महानगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटनका लागि आग्रह गरेको थियो ।

तर प्रधानमन्त्रीको समय नमिलेपछि पूर्वप्रधानमन्त्री प्रचण्डलाई निम्तो गरिएको हो । मंगलबार दिउँसो २ बजे प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

उदघाटन खेलमा नेपाल भुटानसँग भिड्दै

फागुन २८ गते हुने पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सन् २०१०, २०१२, र २०१४ मा उपबिजेता बनेको नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र भुटान छन् ।

सन् २०१०, २०१२, २०१४ र २०१६ को बिजेता भारतसहित समूह बी मा श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको फाइनल खेल चैत ८ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment