
२९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ वटा नयाँ ब्रुमर भित्र्याएको छ । काठमाडौंको धुलो टिप्न महानगरपालिकाले ८ करोडभन्दा बढी खर्चेर इटालीबाट ४ वटा ब्रुमर भित्र्याएको हो ।
नयाँ प्रविधिको ब्रुमर भएकाले अब काठमाडौंका धुलोमुक्त पार्न सजिलो हुने महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले अनलाइनखबरसँग बताए ।
महानगरपालिकासँग भएका पुराना ब्रुमरले टिपेको धुलो माथिबाट पुनः खस्ने गथ्र्यो । जसले गर्दा सफा गरेको पनि कुनै अर्थ हुँदैनथ्यो । सडकका विभागका ब्रुमर पनि काठमाडौंका हकमा त्यति उपयोगी नभएको पाइन्छ ।
तर, अब महानगरका बढी भीडभाड हुने क्षेत्रमा यी ब्रुमरले सडक बढार्दै धुलो तानेर सफाइ गरिने मेयर शाक्य बताउँछन् ।
एयरपोर्ट, सिनामंगल, बानेश्वर, त्रिपुरेश्वर, टेकू, कालीमाटी, कलंकी, टुँडिखेल, सिंहदरबार, दरबारमार्ग, चक्रपथ लगायतका मुख्य सडक क्षेत्रका साथै स्वयम्भु, पशुपति, बौद्ध, हनुमानढोका जस्ता ऐतिहासिक सम्पदा क्षेत्रहरुमा ब्रुमरले सफाइ गर्नेछ ।
‘पहिले भन्दा स्पिडमा काम हुन्छ, अब यसले पनि पुगेन भने थप दुई वटा ल्याउँछौं’, उनले भने । अब चालकलाई नयाँ ब्रुमर चलाउन सिकाउने तयारी छ । ‘दुई दिन जति ड्राइभरलाई सिकाउन भनेका छौं, त्यसपछि ब्रुमर फिल्डमा उत्रिन्छ’, मेयर शाक्यले भने ।
महानगरपालिकाले इटालीबाट पाँच वटा ब्रुमर ल्याउने योजना बनाएको थियो । तर, ढुवानीमा समस्या हुँदा एउटा केही समय पछि ल्याइने शाक्यले बताए । एउटा ब्रुमरलाई महानगरपालिकाले २ करोडभन्दा बढी खर्चेको छ ।
मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् ।
जाडो सकिएसँगै फेरि काठमाडौंका सडकमा घाम लाग्दा बुङ्बुङ्ती धुलो थालेका छन् । पानी पर्दा हिलो हुने हुँदा काठमाडौंबासीले सास्तीमात्रै खेप्नु परेको छैन, वायुप्रदुषण पनि हृवात्तै बढेको छ ।
निर्माणाधिन भौतिक संरचनाका कारण पनि काठमाडौंमा धुलो बढेको महानगरपालिकाको ठहर छ । तर, अब काठमाडौंका सडकमा धुलो उड्न नदिने मेयर शाक्यको भनाइ छ । गत ०७४ बैशाखमा नै महानगरपालिकाले इटालीबाट ब्रुमर ल्याउने निर्णय गरेको थियो ।
चीनले दिने भनेको ब्रुमर अझै आएन
गत १५ साउनमा चीनले काठमाडौं महानगरपालिकालाई दुई वटा ब्रुमर दिने घोषणा गरेको थियो । अनुदानका रुपमा दिने भनिएको ब्रुमरको चाबी भव्य समारोहका बीच चीनको छेङ्दु नगर एशोसिएसनका कार्यकारी उपाध्यक्ष जियाङ बिनले महानगरपालिकाका वातावरण व्यवस्थापन विभागका प्रमुखलाई हस्तान्तरण गरेका थिए ।
दुई महिनामै आइपुग्ने भनिएकोमा ८ महिना बित्दा पनि ती ब्रुमर नआएका मेयर शाक्य बताउँछन् । ‘चीनले अनुदानमा दिने भनेको ब्रुमर आइपुगेको छैन’, उनले भने, ‘हामी आफैं किनेर ल्यायौं ।’
प्रतिक्रिया 4