Comments Add Comment

सडकमा गीत गाउने तीन बालक स्कुल जान थाले

३० फागुन, काठमाडौं । दैलेखको सडकमा गीत गाएर खाना खर्च जुटाउने तीन बालक पोखराको भास्कर मेमोरियल स्कुल जान थालेका छन् ।

विकास, सुनिल र रविन्द्र वादीले गीत गाएर जीविकोपार्जन गरेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि स्कुलका सञ्चालकद्वय विश्वराज र माधवी बास्तोलाले पढाउने जिम्मा लिएका हुन् । बास्तोला दम्पत्तिले बालकहरुलाई पोखरामा ल्याएर स्कुल पठाउन शुरु गरिसकेका छन् । विश्वराजले भने, ‘हामीले उहाँहरुलाई १२ कक्षासम्म निशुल्क रुपमा पढाउने, बस्ने व्यवस्था गर्ने गरी ल्याएका हौँ ।’

अहिले सुनिल र विकास तीन र रवीन्द्रलाई दुई कक्षामा पढ्न गइरहेका छन् । अंग्रेजीमा कमजोर भएकाले अतिरिक्त कक्षाका लागि एक जना शिक्षक नै खटाएको र विहान बेलुकी ट्युसन पनि पढाइरहेको विश्वराजले बताए ।

आफ्नै आमा–बाको नाममा स्थापना गरेको पिताम्बर होमकुमारी बास्तोला ट्रस्टमार्फत बच्चाहरुलाई पढाउन थालेको पनि उनले जानकारी दिए ।

समाचार पढेपछि मन थाम्न नसकेर हामीले ल्याउने निधो गरेको माधवीले बताइन् । ‘उनीहरुकौ प्रतिभा बचाइराख्नका लागि नियमित रुपमा म्युजिक क्लायस पनि पठाउँनेछौं’, माधवीले भनिन् ।

कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मिएका रवीन्द्र, विकास र सुनिलले पढ्नभन्दा पनि खाना खर्च जुटाउनमा व्यस्त हुनुपथ्र्यो । अनलाइनखबरको कुराकानीमा पनि उनीहरुले आफूलाई पढ्न रहर भएको बताएका थिए । पढ्न पाएपछि यी तीन बालक निकै खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment