+
+
मधेसमा एसईई स्थगनको असर :

कसैलाई ‘ब्रिजकोर्ष’ को पीर, कसैलाई राजनीतिको !

एसईईका विद्यार्थी प्रदेश र केन्द्र सरकारको कोपभाजनमा

श्रवण देव श्रवण देव
२०७५ चैत १७ गते ११:०५

१७ चैत, जनकपुरधाम । प्रदेश २ मा माध्यमिक स्तरको एसईई परीक्षा स्थगित भएको छ । लगातार तीन विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेशमा परीक्षा स्थगित गरेपछि जाँच दिनुपर्ने विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरेपछि प्रदेश २ मा कतिपय विद्यार्थीहरु आन्दोलित बनेका छन् भने कतिपय विद्यार्थीहरु आफ्नो भविश्यप्रति चिन्तित देखिएका छन् । निर्धारित समयमा परीक्षा सकिएपछि बाहिर गएर उच्च शिक्षाको तयारी गर्ने सोचमा रहेका विद्यार्थीहरुलाई परीक्षा स्थगनले बज्रपात गराएको छ ।

महेन्द्र राजाको मृत्युपछिको दोस्रो घटना

यसअघि नेपालमा माध्यमिक स्तरको एसईई (पहिला एसएलसी) परीक्षाअगावै लगातार प्रश्न पत्र बाहिरिएको इतिहास नरहेको विज्ञहरु बताउँछन् । ‘मुलुकमै यसरी परीक्षा स्थगित भएको सुनेको छैन’ सप्तरीका सेवानिवृत्त प्रधानाध्यापक विजयानन्द झा अनलाइनखबरसँग भन्छन्, ‘एकपटक राष्ट्रिय शोकका बेला एसएलसी परीक्षा स्थगित गरिएको थियो ।’

विसं २०१९ सालमा एसएलसी उत्तीर्ण गरेका झा भन्छन्, ‘०२८ साल माघ २८ मा राजा महेन्द्रको निधन भएपछि त्यसबेला सञ्चालित एसएलसी परीक्षा स्थगित भएको थियो ।’ त्यसअघि र त्यसपछि पनि मुलुकमा यो परीक्षा स्थगित भएको स्मरण आफूलाई नरहेको झाले दाबी गरे ।

कलिला विद्यार्थीको मनोविज्ञानमा असर

सप्तरी बोदे बर्साइनका परीक्षार्थी प्रभास यादवले परीक्षा सकिएलगत्तै बिराटनगर गएर ब्रिज कोर्ष गर्ने मनसाय बनाएका थिए । तर, एक्कासी परीक्षा स्थगित भएपछि उनी चिन्तामा डुबेका छन् ।

राजविराजका परीक्षार्थी पुष्पेन्द्र झा ब्रिजकोर्षका निम्ति बसेर अध्ययन गर्न काठमाडौंको एउटा होस्टेलसँग कुरा पनि गरिसकेको बताउँछन् । स्थानीय ह्याप्पील्याण्ड माविका प्रथम छात्र झा परीक्षा सकिएलगत्तै काठमाडौंमा अध्ययन गर्न बुनेको सपना त्यो समयमा पूरा हुन नसकेको बताउँछन् ।

उनी भन्छन्, ‘अब परीक्षा कहिले हुन्छ, त्यो पनि थाहा छैन । यो घटनाले हाम्रो पढ्ने शक्तिमा पनि ह्रास ल्याइदिएको छ ।’

परीक्षा स्थगित गरिएपछि यादव र झाजस्तै अन्य परीक्षार्थीको मनोभावनामा ठेस पुगेको छ । उनीहरु आफ्नो उच्च शिक्षा पढ्ने रहर पूरा नहुने हो कि चिन्तामा छन् ।

सप्तरीको बोदे बर्साइनस्थित चन्द्रा माविको कक्षा १० का प्रथम छात्र अरबिन्द महतोले एसईई परीक्षा दिएर इन्जिनियरिङ अध्ययनका लागि ब्रिज कोर्ष गर्ने मनसाय बनाएका थिए । तर, एक्कासी परीक्षा स्थगन भएसँगै उनले पढ्ने मनसाय पनि परिवर्तन गरेका छन् । उनी अब राजनीतिशास्त्र अध्ययन गर्ने निष्कर्षमा पुगेको सुनाउँछन् ।

‘प्रश्नपत्र आउट गर्ने अरुले, सजाय भोग्ने हामी विद्यार्थीले ? महतोले अनलाइनखबरसँग भने ‘यदि देशमा राजनीतिले नै सबै थोक हुन्छ भने म पनि अब राजनीति नै पढ्छु ।’

राज्यको लापरवाहीका कारण कलिला विद्यार्थीले पीडा भोग्नुपरेको शिक्षा क्षेत्रका सरोकारवालाहरुको गुनासो छ ।

‘परीक्षा स्थगनले परीक्षार्थीको मनोविज्ञानमा ठेस पुर्‍याउनु स्वाभाविक हो’ पूर्वप्राध्यापक एवं त्रिभुवन विश्व विद्यालयअन्तर्गत मैथिली विभागका प्रमुख परमेश्वर कापडी भन्छन्, ‘परीक्षा दिने ‘टीन एज’ का हुन्छन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।’

कापडीको भनाइलाई मान्ने हो भने बिग्रने र सप्रने उमेर नै यही हो । ‘यस्तो उमेरमा हामी जस्तो वातावरण दिन्छौं, उनीहरु त्यहीअनुरुप अगाडि बढ्छन्’ उनले थपे, ‘परीक्षा स्थगनले उनीहरुलाई आन्दोलन गर्न बाध्य पारिएको छ । यसले उनीहरु गलत बाटोमा जान सक्ने सम्म्भावना पनि उत्तिकै रहन्छ ।’

‘पढेर उच्च तहमा पुग्ने मनसाय बोकेका विद्यार्थीहरुलाई एसईई परीक्षाकै लागि लामो समयसम्म रुमलेर राख्नु ठीक होइन’ राजपानिकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघका राष्ट्रिय अध्यक्ष किशोरकुमार यादव भन्छन्, ‘राज्यको लापर्वाहीले विद्यार्थीले दुःख भोग्नु न्यायोचित होइन ।’

विकल्प : प्रश्नबैंकको प्रयोग गर्न सकिन्थ्यो

एसईई परीक्षाको जुन प्रश्नपत्र बाहिरिएको छ, त्यो ६ या ८ घण्टा पहिला सार्वजनिक भएको देखिएको छ । ‘यस्तो बेलामा प्रश्नबैंकको प्रयोग गरी थोरै ढिलो गरेर भए पनि परीक्षा लिन सकिन्थ्यो’ त्रिभुवन विश्वविद्यालय अन्तर्गत मैथिली विभागका पूर्वप्रमुख कापडीले अनलाइनखबरसँग भने, ‘तर, त्यस्तो पनि गरिएन ।’

आफूसँग यस किसिमको अनुभव रहेको बताउँदै उनले संघीय र प्रदेश सरकार एकले अर्कालाई आरोप लगाएरै समय बिताएको बताए ।

‘प्रदेशले संघलाई बदनाम गर्‍यो भनिरहेका छन्, तर प्रदेशले सपार्नलाई के गर्‍यो ?’ कापडि भन्छन्, ‘लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेशले जसरी स्थगन गर्न आग्रह गर्‍यो, त्यो प्रश्नबैंक प्रयोग गरेर समाभान गर्न सकिन्थ्यो ।’

अहिले सञ्चारको युग भएको र ८ घण्टा पहिला नै प्रश्नपत्र बाहिर आउँदा इमेलको प्रयोग गरेर भए पनि ‘प्रश्नबैंक’ प्रिन्ट गराएर परीक्षा लिन सकिन्थ्यो’ उनले भने, ‘तर यसो गर्नुभन्दा पनि केन्द्र र प्रदेश दुबैले राजनीतिक गरे ।’

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?