१८ चैत, काठमाडौं । आईपीएलमा नेपाली स्पिनर सन्दीप लामिछानेले बलिङ गरेको एउटा भिडियो क्लीप भारतीयहरुले सामाजिक सञ्जालमा हिजो भाइरल बनाए । भिडियोमा सुनिने एउटा संवादलाई लिएर दिल्ली क्यापिटलका आलोचकहरुले म्याच फिक्सिङको विवाद निकाल्न खोजेका थिए ।
अरु त अरु, आईपीएलका पूर्व प्रमुख ललित मोदीले पनि भिडियो ट्विटरमा सेयर गर्दै उक्त म्याचमा फिक्सिङ भएको दावी गरेका छन् ।
उनले लेखेका छन्, ‘यो विश्वास गर्नै नसकिने कुरा भयो । म्याच फिक्सिङको उच्च रुप । बीसीसीआई कहिले सुध्रिन्छ ? लाजमर्दो के छ भने अधिकारीहरुले यसलाई वास्तै गरेका छैनन् ।’
is this a #joke or cannot believe this. #matchfixing to the highest order. when will @iplt20 @bcci.tv @icc @bcci.cricket ever wake up. #shameful 😢💔💔💔💔💔 that all officials really dont care pic.twitter.com/kjBdHhvD3s
— Lalit Kumar Modi (@LalitKModi) April 1, 2019
तर, धेरैले उनलाई भ्रष्टाचारमा मुछिएर आईपीएल नेतृत्वबाट बाहिरिनुपर्दाको कुन्ठास्वरुप घटिया हर्कतमा लागेको आरोप लगाएका छन् ।
हिजो भाइरल भएको केही सेकेन्डको भिडियो शनिबार राति दिल्ली क्यापिटल र कोलकता नाइट राइडरबीचको खेलको हो ।
दिल्लीका स्पिनर सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरको चौंथो बल फ्याक्ने तयारीमा हुन्छन् । बल फ्याक्नुअघि कसैले बोलेको सुनिन्छ, ‘ये तो चौका है । (यो त चौका हो) ।’ यो आवाज दिल्लीका विकेटकिपर रिसभ पन्तको भएको बताइएको छ ।
र, त्यसलगत्तै सन्दीपले फ्याकेको बलमा रविन उथप्पाले चौका हान्छन् । यही संयोगलाई लिएर मोदीले प्रश्न उठाएका हुन् ।
के भन्यो बीसीसीआईले ?
यो भिडियो क्लीप भाइरल भएपछि भारतीय क्रिकेट बोर्ड बीसीसीआईले प्रष्टिकरण दिएको छ । उसले भिडियोलाई गलत व्याख्या गरिएको जनाएको छ ।
‘रिसभले त्यो वाक्य बोल्नुअगाडि के भनेका थिए भन्ने कसैले सुनेको छैन । खासमा उनले दिल्लीका कप्तान श्रेयस एयरलाई अफ साइडमा चौका रोक्नका लागि फिल्डर खटाउन भनिरहेका हुन्,’ बीसीसीआईका एक उच्च अधिकारीले पीटीआईलाई भनेका छन् । सामाजिक सञ्जालमा नचाहिँदो भ्रम फिँजाइएको प्रति उनले खेद व्यक्त गरेका छन् ।
‘पर्याप्त जानकारीबिना युवा खेलाडीहरुलाई आरोपित गर्न खोज्नु दुर्भाग्यपूर्ण छ । केही मिडियाहरु पनि हल्लाको पछि लागिरहेका छन्,’ ती अधिकारीले भने ।
प्रतिक्रिया 4