Comments Add Comment

लगानीको वातावरण बन्यो, यसै वर्ष १० अर्ब रुपैयाँ ल्याउँछौं

विदेशमा कमाएको नेपालमा लगानी गरौं, देश बनाऔं र मुनाफा कमाएर लैजाऔं

२१ चैत, काठमाडौं । गत विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा उभिएर गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त लगायतले एउटा तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । जुन तस्वीरमा एनआरएनका लागि अध्यागमनबाट बाहिर निस्कने क्रममा पासपोर्ट पेश गर्न अलग्गै डेक्स स्थापना गरिएको थियो ।

लगानी सम्मेलनमा भाग लिन आएका एनआरएन नेताहरुले आफ्नो आग्रह अनुसार गैरआवासीय नेपालीका लागि अलग्गै डेक्स स्थापना गरेकोमा धन्यवाद दिए । यसपटकको लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघको सहभागिता बलियोमात्र छैन, ठूलो लगानीको प्रतिवद्धता पनि आएको छ ।

नेपालमा स्थिर सरकार बनेपछि लगानीको वातावरण बन्नु र सरकारले गैरआवासीय नेपालीको लगानी सुरक्षा तथा नाफा कमाएको पैसा विदेश लैजान पाउने गरी जुन कानुन बनाएको छ, यसबाट उनीहरु उत्साहित छ । अबको एक वर्षमै १० अर्ब रुपैयाँ नेपालमा लगानीका लागि ल्याउने गरी एनआरएन नेतृत्व नेपालबाट फर्किँदैछ ।

अब आउने भनेको गैरआवासीय नेपालीको लगानी कस्तो हो ? के कारण उनीहरु उत्साहित छन् ? यस्तै प्रश्नको जवाफ खोज्ने क्रममा हामीले गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तसँग कुराकानी गरेका छौं । गैरआवासीय नेपाली संघका महासचिव र दोस्रो कार्यकालमा उपाध्यक्षका रुपमा कार्यरत पन्तसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईहरु लगानी सम्मेलनमा आउँदै गर्दा त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा विजयी भावमा रहेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भयो, जसमा अध्यागमनभित्र गैरआवासीय नेपाली डेक्स स्थापना भएको भनिएको छ, खासमा यो तपाईहरुको ठूलो उपलव्धी हो वा सरकारको सदासयता ?

यो त्यति ठूलो त होइन । हामीले नेपाल सरकारसँग आग्रह गर्‍यो र सरकारले कार्यान्वयन गरिदियो । अहिले ८० लाख नेपाली मुलुक बाहिर बस्छन् । देशको एक तिहाई जनसंख्या बाहिर बस्छ भने आउने जाने क्रम पनि त्यतिकै चलिरहेको हुन्छ । विशेष गरी नेपालमै अब लगानीको वातावरण बनेको सञ्चार प्रवाह भएकाले बाहिर पैसा कमाएकाहरु पनि नेपालमा लगानी गर्न आउने क्रम बढेको छ ।

कमसेकम मुलुकमा आउँदा जाँदा राज्यले पनि हामीलाई रेस्पोन्स गरेको छ, नेपालको अर्थतन्त्रको ३५ प्रतिशत हिस्सा ओगट्ने गैरआवासीय नेपालीलाई पहिचान दिएको छ भन्ने पनि हो । आउँदा जाँदा राज्य हामीसँगै छ भन्ने एउटा सन्देश जाओस भनेर हामीले गृहमन्त्रीसँग आग्रह गरेका थियौं ।

वास्तवमा अध्यागमनमा एनआरएनका लागि अलग्गै लाइन र काउन्टरको व्यवस्था हुँदा यसको सबैभन्दा धेरै फाइदा श्रमिक साथीहरुलेनै पाउने हुन् । किनकी ८० लाख गैरआवासीय नेपालीमा सबैभन्दा ठूलो संख्या त श्रमिकहरुकै छ ।

उहाँले तुरुन्तै यो राम्रो कुरा हो भनेर विमानस्थलको अध्यागनमा गैरआवासीय नेपालीको लागि अलग्गै काउन्टरको व्यवस्था गराउनुभयो ।

यो सुविधा वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पनि हो कि ? नत्र त वैदेशिक रोजगारीमा जानेहरुको लागि अलि फरक व्यवहार हुने गरेको छ नि होइन र ?

अवश्य पनि एनआरएन भन्ने वित्तिकै विदेशमा काम गर्ने श्रमिक साथीहरु हुनुहुन्छ । आउँदामात्र होइन,जाँदा पनि एनआरएनका लागि अलग्गै डेक्स स्थापना भएको छ । जाँदाखेरि श्रमिकले विभिन्न कागजात देखाउनुपर्ने भएकाले छुट्टै डेक्स हुने गरेको छ । तर, आउँदा सबै गैरआवासीय नेपालीको समान स्टाटस हो ।

वास्तवमा अध्यागमनमा एनआरएनका लागि अलग्गै लाइन र काउन्टरको व्यवस्था हुँदा यसको सबैभन्दा धेरै फाइदा श्रमिक साथीहरुलेनै पाउने हुन् । किनकी ८० लाख गैरआवासीय नेपालीमा सबैभन्दा ठूलो संख्या त श्रमिकहरुकै छ । उहाँहरुकै लागि भनेरै विशेष डेक्स स्थापना गरिएको हो ।

गैरआवासीय नेपाली पनि केहीले नेपाली पासपोर्ट बोकेका हुन्छन्, कतिपयले जुन देशमा बस्ने हो त्यहिँको पासपोर्ट बोक्छन्, यो सुविधा सबैलाई हो ?

अवश्य पनि यो सुबिधा दुवैखाले पासपोर्ट बोक्नेलाई समानरुपमा हुन्छ । गैरआवासीय नेपालीको परिचय भएपछि हुन्छ । विदेशी पासपोर्ट बोकेका गैरआवासीय नेपाली साथीले प्रयोग गर्ने डेक्स पनि त्यही नै हो, जुन नेपाली पासपोर्ट बोक्नेले प्रयोग गर्छन् ।

अब हामी मुख्य प्रसंगमा जाउँ, लगानी सम्मेलनमा यसपटक तपाईहरु निकै उत्साहका साथ सहभागी हुनुभयो । यस्ता सम्मेलन विगतमा पनि भएकै हुन्, यसपटक केही विश्वसनीय वातावरण बनेको हो र ?

राज्यको ३५ वर्ष अर्थतन्त्रको हिस्सा गैरआवासीय नेपालीले बोकेका छन् । व्यक्तिगतरुपमा हजारौं साथीहरुले बिभिन्न ठाउँमा लगानी गरेका छन् । ठूला लगानीकै कुरा गर्दा हाम्रा पूर्वअध्यक्षहरु उपेन्द्र महतो, शेष घले, जीवा लामिछानेहरुले ठूला ठूला अस्पताल, होटल, बैंक लगायतका पूर्वाधारमा लगानी गर्नुभएको छ ।

अहिलेकै अध्यक्ष भवन भट्टदेखि हामी सबैले नेपालमा व्यक्तिगत रुपमा लगानी गरेका छौं । सानासाना परियोजना गैरआवासीय साथीहरुले नेपालमा चलाइरहनुभएको छ । संस्थागत तर्फबाट पनि केही गर्नुपर्छ भनेर हामीले २०१२ मा परीक्षण प्रोजेक्टका रुपमा हामीले आह्वान गर्‍यौं । हामीले आह्वान गर्नेवित्तिकै झण्डै एक हजारजना साथीले लगानी गरेर लम्जुङमा दोर्दीखोला जलविद्युत आयोजना नै बनिरहेको छ ।

होइन, मैले सोध्न खोजेको चाहिँ विगतको भन्दा यसपटक विश्वासिलो वातावरण बनेको हो र ?

अहिले हामी अरु पनि ठोस लगानीका योजना सहित आउँदैछौं । वास्तवमा नेपालमा अहिले लगानीको वातावरण बनेको छ । स्थायी र बलियो सरकार बनेको छ । दुईतिहाई बहुमतको सरकार छ । आजमात्रै पनि विपक्षी दलको तर्फबाट पूर्वअर्थमन्त्री डा.रामशरण महतले लगानीको कुरामा, देशलाई सम्बृद्ध बनाउने कुरामा हामी एकजुट छौं भन्नुभयो ।

लगानीकर्ताहरुलाई पनि अब नेपालमा शान्ति आएको, स्थायित्व आएको र नेपालमा लगानीको लागि सम्भावनाको ढोका खुलेको छ भन्ने परेको छ । हामीले धेरै देशका लगानीकर्तासँग कुरा पनि गरेका छौं, नेपाल लगानीका लागि नयाँ गन्तव्य हो भन्ने संसारभर सकारात्मक सन्देश गएको छ ।

सरकारले पनि कानुन बनाएरै त्यसलाई सुनिश्चित गरेको छ । यसैपाली हामी गैरआवासीय नेपालीको तर्फबाट ठोस परियोजनाका साथ सम्झौतापत्रमा पनि हस्ताक्षर गर्दैछौं ।

तपाईहरुले यसपटक १० अर्ब रुपैयाँ लगानी एक वर्षभित्र नेपाल भित्र्याउने र २० अर्बको कम्पनीमार्फत काम गर्ने भन्नुभएको छ, यो कस्तोखालको परियोजना हो ? एउटैमा १० अर्ब लगानी गर्ने हो कि ?

यो एउटा म्युचअल फण्ड हो । यसले के गर्छ भने ५ प्रतिशत हामी गैरआवासीय नेपाली साथीहरुको पुँजी रहनेछ पहिला । ५ प्रतिशत नेपाल सरकारले र ५ प्रतिशत निजी क्षेत्रको लगानी हुन्छ । त्यसपछि बाँकी रहेको ८५ प्रतिशत चाहिँ विशेष गरि थोरै थोरै २० डलर, ३० डलर लगानी गर्ने हैसियत राख्ने साथीहरुले पनि लगानी गर्ने अवसर पाउन् भनेर हामी आइपिओमा लिएर जानेछौ ।

भन्नाले, त्यो २० अर्ब रुपैयाँको कम्पनीले धितोपत्र (शेयर) नै जारी गर्छ ?

हो, हामी शेयरमा जान्छौं । नेपालको कानुन अनुसार कुनै पनि कम्पनी ३ वर्ष नपुगी सिधैं आइपीओ जान पाइँदैन भन्ने रहेछ । तर, सरकारले हामीलाई भनेको छ– तपाईहरुलाई त्यो समस्या पनि हामी फुकाइदिन्छौं, तुरुन्तै तपाईहरु आइपीओमा जान सक्नुहुन्छ ।

अहिले लगानीको वातावरण बनेको छ । स्थायी र बलियो सरकार बनेको छ । दुईतिहाई बहुमतको सरकार छ । आजमात्रै पनि विपक्षी दलको तर्फबाट पूर्वअर्थमन्त्री डा.रामशरण महतले लगानीको कुरामा, देशलाई सम्बृद्ध बनाउने कुरामा हामी एकजुट छौं भन्नुभयो ।

हामी २० अर्बको ८५ प्रतिशत रकमचाहिँ आइपीओबाट उठाउँछौं । त्यसरी उठाएको पैसा चाहिँ नेपालको कानुनअनुसार निश्चित क्षेत्र तोकेर कहाँ कति प्रतिशत लगानी गर्नुपर्ने भन्ने रहेछ । त्यो भयो भने विदेशबाट लगानी गर्ने साथीहरुलाई गाह्रो हुन सक्छ, हामीले जुनसुकै क्षेत्रमा पनि लगानी गर्न पाउने गरी खुलाइदिनुस् भनेका छौं । विशेष गरी हामी गैरआवासीय नेपाली साथीहरुले पूर्वाधार भनेको के हो भन्ने कुरा बुझेका छौं । हामी पूर्वाधारको क्षेत्रमा पनि लगानी गर्छौं । तर, जुनसुकै क्षेत्रमा पनि गैरआवासीय नेपालीले लगानी गर्न पाउने वातावरण बनाइदिनुस् भन्दा अर्थमन्त्रीज्यू एकदमै सकारात्मक हुनुभयो ।

मन्त्रिपरिषदबाटै पारित गरेर तपाईहरुका लागि अप्ठेरो फुकाइदिन हामी तयार छौं भन्नुभएको छ । यो भनेको धेरै सकारात्मक कुरा हो । यसले गैरआवासीय नेपालीलाई नेपालमा लगानीका लागि उत्साह थपेको छ ।

सरकारले यसपटक तपाईहरुलाई अलि बढी चासो दियो होइन त ?

विगतमा पनि सरकारले गैरआवासीय नेपालीको लगानी चाहेकै हो । तर, मुलुकको राजनीतिक अवस्थाले गर्दा गैरआवासीय नेपालीहरु आश्वस्त थिएनन् लगानीका लागि । तर अहिले एउटा बलियो नेतृत्व मुलुकले पाएको छ । स्थिर सरकार ५ वर्षका लागि बनेको छ, गैरआवासीय नेपालीले चाहेको यही नै हो ।

लगानी गरिसकेपछि त्यसको प्रतिफल आउने हो कि होइन भन्ने संशय पनि अब रहेन । विदेशी लगानीकर्तामा अझै पनि यस्ता संशय छन् । तर, गैरआवासीय नेपालीको हकमा त्यो छैन । किनकि हामीलाई मुलुकेका अवस्था र वातावरणसँग परिचित छौं । अहिलेको अवस्था गैरआवासीय नेपालीको लगानीका लागि सुविधाजनक बनेको छ ।

अहिले तपाईहरुले २० अर्बको चुक्ता पुँजीको कम्पनी खोल्दै गर्दा १० वर्ष एक वर्षभित्र ल्याउने भन्नुभएको छ, त्यो १० अर्ब यसै वर्ष आउँछ ?

हामी अहिले तुरुन्तै यो सम्झौतापत्रमा हस्ताक्षर भइसकेपछि एउटा कम्पनी बनाउँछौं । अघि मैले भने जस्तै ५ प्रतिशत हामी, ५ प्रतिशत नेपाल सरकार र ५ प्रतिशत नेपालको निजी क्षेत्रको लगानी हुन्छ । बाँकी हामी आइपीओ मार्फत संसारभरका गैरआवासीय नेपालीहरुलाई शेयर किन्न आग्रह गर्छौं ।

तुरुन्तै हामी एउटा कम्पनी बनाएर पैसा संकलनकै क्रममा हामी संसारका बिभिन्न ठाउँमा जान्छौं । अर्थमन्त्रीज्यूले त कतिपय ठाउँमा तपाईहलाई म गइदिँदा सजिलो हुन्छ भन्ने लाग्छ भने म आफैं पनि गइदिन्छु भन्नुभएको छ । प्रधानमन्त्रीज्यूले पनि देशमा लगानी आउँछ भने मैले हरेक काममा सघाउँछु र अप्ठेरो फुकाउँछु भन्नुभएको छ । हामी सबै नेपालीबीच जान्छौं ।

दश अर्ब रुपैयाँ संकलन गर्ने कुरा कति सहज होला एक वर्षभित्र ?

यसमा मैले पनि केही पनि गाह्रो देखेको छैन । किनभने हामी अहिले ८० लाख नेपाली बाहिर बस्छौं । ३५ प्रतिशत मुलुकको अर्थतन्त्र त अहिले पनि गैरआवासीय नेपालीले पठाएको रेमिट्यान्सबाट धानिएको छ । यति धेरै पैसा नेपालमा आइरहेको छ । त्यो चाहिँ अनुत्पादक घरजग्गा क्षेत्रमा लगानी भएर बसेको छ ।

अबचाहिँ गैरआवासीय नेपाली साथीहरु उद्योगधन्दा, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न इच्छुक हुनुहुन्छ । पैसा कहाँ लगानी गर्ने होला भनेर कुरिराखेका साना ठूला व्यवसायी नेपालीहरुको संख्या विदेशमा धेरै ठूलो छ । त्यसैले एक वर्षमा १० अर्ब रुपैयाँ नेपाल भित्र्याउन कुनै समस्या छैन ।

विदेशी भूमिमा रगत पसिना बगाएर कमाएको पैसा लगानी गरेर भोलि प्रतिफल नआउने हो कि भन्ने आशंकालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

अब नेपालमा त्यो दुःखदायी अवस्था आउँछ भन्ने म कल्पना गर्दिनँ । त्यत्रो समुदायले गरेको लगानी ग्यारेन्टी नहुने कुरा छैन । यो कुरा नेपालको सरकारले बुझेरै कतिपय कानुनी ग्यारेन्टी समेत गरिसकेको छ । हामी गैरआवासीय नेपाली संघको नेतृत्व गर्ने साथीहरुले पनि यो कुरा बुझेका छौं ।

पैसा कहाँ लगानी गर्ने होला भनेर कुरिराखेका साना ठूला व्यवसायी नेपालीहरुको संख्या विदेशमा धेरै ठूलो छ । त्यसैले एक वर्षमा १० अर्ब रुपैयाँ नेपाल भित्र्याउन कुनै समस्या छैन ।

जस्तो कि कम्पनी खोल्नासाथ आइपीओमा लैजान पाउने कुरा, जुनुसुकै परियोजनामा लगानी गर्न पाउने कुरा कानुनले ग्यारेन्टी गरिदियो । त्यतिमात्र होइन, नेपालमा लगानी गरेर कमाएको नाफा आफू बसेको देशमा लैजान पाउने कि नपाउने भन्ने विवाद थियो, त्यो पनि पाउने भनेर सरकारले भनिदियो ।

भनेपछि, कुमार पन्त तपाई जर्मनीमा बस्नुहुन्छ भने तपाईले नेपालमा लगानी गरेर आएको प्रतिफल जर्मनी लिएर जान पाउनुहुन्छ होइन त ?

एकदम पाइने भयो । नेपालको नियम कानुनअनुसार कर तिरेर आफू बसेको ठाउँमा पैसा लिएर जान पाउनुपर्छ । विदेशीहरुले गर्ने पनि त्यही हो । गैरआवासीय नेपालीले पनि त्यो सुविधा पाउने भएका छन् । नत्र हिजो के थियो भने उताबाट पैसा नेपाल पठाउन पाइने, तर यताबाट लैजान नपाउने ।

यति ठूलो लगानीको कम्पनी बनाउन लागेपछि त गैरआवासीय नेपाली संघ पनि त्यतिकै बलियो र विश्वासिलो हुनुपर्ने देखियो नि ?

हिजो गैरआवासीय नेपाली संघ स्थापना हुँदा यो केका लागि स्थापना भयो भन्ने कुरा थिए । दुईचारजना व्यापारी वर्गको लागिमात्र हो कि भन्ने सुनिन्थ्यिो । तर, आज संसारको जहाँ गए पनि गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरुको एउटा साझा र बलियो संस्थाका रुपमा मान्यता पाएको छ ।

नेपालको राज्य र नेपाली जनता तथा निजी क्षेत्रले यो कुरा स्वीकार गरेको छ । त्यसकारण गैरआवासीय नेपाली संघ आजको दिनमा आइपुग्दा बलियो संस्था बनेको छ । हामी सबैखाले चुनौति सामना गर्दै अघि बढ्छौं ।

आजसम्म हामी संगठन निर्माणको फेजमा थियौं । अब हामी नतिजा दिने फेजमा आएका छौं । गैरआवासीय नेपाली संघको एउटैमात्र उद्देश्य नेपाललाई समृद्ध बनाउने हो । नेपालमा रोजगारीका अवसर सिर्जना हुनुपर्छ भनेर हामी स्थापना भएको हो । त्यसमा हामी सफल हुँदैछौं ।

तपाईहरु १० अर्ब रुपैयाँ उठाउन जाँदै गर्दा गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्नुस, यो कम्पनीमार्फत भएको लगानीको नाफा पनि पाउनुहुन्छ भनेर आश्वस्त गर्न सक्ने अवस्थामा हुनुहुहुन्छ ?

हामी एकदम त्यो अवस्थामा छौं । हामीले धेरै होमवर्क गरेर ल्याएको हो यो परियोजना । गैरआवासीय नेपाली साथीहरुले ढुक्क भएर लगानी गरे हुन्छ । हामीले भनेको ठाउँमा लगानी गर्ने र त्यसको नाफा लिएर जाने ग्यारेन्टी सरकारले गरेको छ ।

हेर्नुहोस् भिडियो

हामी विदेशमा त लगानी गरेर बसेका छौं भने हाम्रो मुलुकमा लगानी गरौं, त्यो वातावरण अहिले बनेको छ । म आफैं पनि लगानीकर्ता भएकाले यति भन्न सक्छु, हामीले लगानी गरेर नेपालमा प्रशस्त मुनाफा कमाउन सकिन्छ । त्यो मुनाफा अब नेपालमै राख्नुपर्ने भन्ने पनि छैन, विदेशमा लिएर जान पाइन्छ । ढुक्क भएर लगानी गर्नुस् ।

हामी नेपालमा चिर परिचित व्यवसायिक मान्छेलाई टिममा राखेर कम्पनी चलाउँछौं । सबै काम पारदर्शी छ । विदेशमा पैसा कमाउँ, नेपालमा लगानी गरौं, मुनाफा कमाउँ र देश पनि बनाउँ । समृद्ध नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौं । सरकारले भनेको सुखी नेपाली बनाउने अभियानमा पनि हामी सहभागी भएका छौं ।

प्रस्तुत‍ि– मात्रिका पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment