Comments Add Comment

‘बर्मा गए कर्म सँगै ! नेपाल गए कपाल सँगै !’

नेपाली समाजमा एउटा आहान छ– ‘बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै ।’ यो आहान त्यत्तिकै बनेको होइन । उहिले नेपालबाट बर्मा (म्यानमार) तिर बसाइँ जाने र उतै घरजम गरेर बस्ने चलन थियो । तर, बर्मा पुगेका नेपालीहरुको कर्म भने त्यति सहज रहेन । उनीहरु नेपालबाटै आफ्नो कर्म पनि सँगसँगै लिएर त्यहाँ पुगे । र, बर्मेली सरकारबाट पहिचानको संकट व्यहोर्न बाध्य बने ।

भाषा र जातजातिका हिसाबले बर्मा (म्यानमार) र नेपालबीच धेरै समानता छन् । नेपालभन्दा ५ गुणा ठूलो म्यानमारमा १३५ जनजाति बस्छन् । त्यहाँ दुईसय भन्दा बढी भाषा बोलिन्छन् भन्ने विश्वास छ ।

नेपालजस्तै म्यानमार पनि चीन र भारत जस्ता दुई बिशाल जनसङ्ख्या बीचमा थपक्क बसेको देश हो । एकीकरण हुनुअघि नेपालमा बाइसे चौबीसे राज्य भएझैँ म्यानमारमा पनि ५० भन्दा बढी राज्य थिए । बहुमुल्य पत्थर, काठका लागि घना सालको जंगल र उर्बर भूमि भएका कारण शक्तिशाली मुलुकको आँखामा यो देश परिरह्यो । यही कारण कहिले बेलायत, कहिले जापान त कहिले चीनको युद्धभूमि बन्ने क्रम लामो समय रह्यो ।

बेलायतको शासन हुँदा गोर्खा सैनिकका रुपमा नेपालीहरुले यो देशको सेवा गरेका थिए । यिनै सैनिकले नेपाल फर्कंदा सुनाएका बर्माका कथाबाट प्रभावित भएर नेपालबाट हजारौं व्यक्ति यता आउन थाले । पछि यो देश जापानको अधीनमा गयो । गोर्खाली सैनिकको बीरता सुनेका जापानीहरुले बर्मामा आफ्नो वर्चश्व कायम राख्न नेपालबाट आएका युवालाई आफ्नो सेनामा भर्ना लिए ।

यसरी कहिले बेलायती र कहिले जापानी सेना बनेका नेपालीहरुले नेपालबाट आफन्त बोलाउँदै गए । बर्मा स्वतन्त्र हुँदा यहाँका पहाडी क्षेत्रहरुमा सयभन्दा बढी नेपाली–गोर्खाली बस्ती भएको तथ्याङ्क तत्कालीन बर्मा सरकारले निकालेको थियो । स्थानीय कचिन प्रान्तमा नेपालीहरुले छुट्टै क्षेत्र पाउने बर्माकी राजनेता एवं हालकी शक्तिशाली नेतृ आङ सान सुकीका बुवा आङ साङले कचिन प्रान्त र नेपालीभाषीसँग सहमति गरेका थिए ।

कठिन परिस्थिति झेलेर पनि बर्मामा अहिले झण्डै दुई लाख नेपालीहरु बसोबास गरिरहेका छन् । ती मध्ये ५० हजारजति थाइल्याण्डतिर बसाइँ सरेका छन् । यहाँ रहेका नेपालीहरुको गाउँबस्ती घुम्दा नेपालकै गाउँ घुमेको प्रतीत हुन्छ । नेपालीहरुले मान्दै आएका सबै पर्व यहाँ धुमधामसँग मनाइन्छ । बर्मेली सरकारले नेपाली भाषालाई मान्यता नदिए पनि मन्दिरहरुमा नेपाली भाषामा कक्षा एकदेखि १० कक्षासम्म पढाइ हुन्छ ।

झण्डै ५० वर्ष सैनिक सरकारले ‘एक भाषा एक देश’ र ‘एक धर्म’ को नीति लगाउँदा पनि बर्माका नेपालीहरुले आफ्नो भाषा, हिन्दु धर्म र संस्कृतिलाई बचाएका छन् । निरङ्कुश अवस्थामा पनि ‘बर्मामा नेपाली बचाऊ’ अभियानमा धेरै व्यक्तिहरुले योगदान दिएका छन् । ती मध्ये भाषा, साहित्य र शिक्षण क्षेत्रमा ठाकुर गुरागाईंको नाम उच्च स्थानमा छ ।

विभिन्न जात जातिले आफ्नो अधिकार खोज्दै जाँदा देश टुक्रन्छ भन्ने भय देखाएर बर्मा फौजले सन् १९६२ मा सैनिक शासन सुरु गर्‍यो । बर्मेली जाति र भाषालाई मात्र हित हुने गरी संविधान बनायो । यसले अन्य जातिको जस्तै नेपाली भाषाको पठन–पाठनमा पनि असर गर्‍यो । विभिन्न जातजातिका विदेशी मूलका मानिसलाई देश छाड्न उर्दी जारी भयो । सैनिक सरकारको डरले धेरै विदेशीसँगै हजारौं नेपालीहरु भारत र नेपाल फर्किए । अहिले पनि बर्माबाट फर्किएका हजारौं नेपालीभाषीहरु भारतका त्रिपुरा, मिजोरम, नागाल्याण्ड जस्ता राज्यमा बसोबास गर्छन् ।

साहित्यकार एवं लेखक ठाकुर गुरागाईं तिनै व्यक्ति हुन्, जसले कठोर सैनिक शासनका बेला बर्मामा स–साना बालबालिकालाई नेपाली भाषा शिक्षण सुरु गरे । बन्द समाज भएका कारण कक्षा १ देखि १० सम्मका नेपाली पाठ्यक्रम हातैले लेखेर तयार पारे । यस्ता पुस्तकहरुलाई बर्माभरि छरिएर रहेका सयौं मन्दिरहरुमा धार्मिक पुस्तकका रुपमा पढाउने व्यवस्था मिलाए । सन् १९७५ देखि सुरु भएको यो अभियानकै कारण विलय भैसकेको नेपाली भाषा पुनः मौलाएको छ ।

आज बर्मामा रहेका ८० प्रतिशतभन्दा बढी नेपालीहरु नेपाली भाषामा लेखपढ गर्न सक्छन् । ९८ प्रतिशत नेपालीहरु नेपाली भाषामै घर ब्यवहार चलाउँछन् । बर्मामा ठाकुरप्रसाद गुरागाईंका गीत कण्ठ नभएका बिरलै नेपाली भेटिन्छन् । कठोर सैनिक शासनका बेला पनि नेपाल बाहिर नेपाली भाषा बचाउन संघर्ष गरेको भन्दै मदन पुरस्कार गुठीले ठाकुरप्रसाद गुरागाईंलाई ०५४ सालमा जगदम्बाश्री सम्मान प्रदान गरेको थियो । उनी हालै म्यान्मारको प्रजातान्त्रिक सरकारबाट पनि सम्मानित भएका छन् ।

बालबालिकाका लागि सयौं गीत, कविता र लेख लेखेका गुरागाईंका ६ उपन्यास, एक कथा सङ्ग्रह, एक निबन्ध सङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् । उनका केही पुस्तक बर्मेली भाषामा अनुवाद पनि भएका छन् ।

गुरागाईंं यतिखेर म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनको एउटा अपार्टमेन्टमा अवकाशको जीवन बाँचिरहेका छन् । उनलाई भेट्न अनलाइनखबरका प्रतिनिधि उनको निवास पुग्दा उनी नेपाली पुस्तकका बीचमा घेरिएर बसिरहेका थिए । ७५ बर्षीय गुरागाईंसँग हामीले कुराकानीको सुरुवात यिनै पुस्तकहरुबाट गर्‍यौंर्‍यौं ।

हामी अचानक आउँदा पनि नेपाली पुस्तकहरुकै बीचमा भेटिनुभयो । पुस्तकबाहेक अरु क–कसको संगत गर्नुहुन्छ ?

बर्माबाट एक दिन नेपाल फर्कनुपर्छ भन्ने सोच सबैमा थियो । केही बाठा बाहेक धेरैले बर्मेली नागरिकता लिएका थिएनन् । विदेशीसँग विवाह गरे आफ्नो भाषा र संस्कृति मासिन्छ भन्नेमा सबै सचेत थिए । यो देश गोर्खालीले बचाएका हुन्, यसका लागि धेरै नेपालीले ज्यान दिएका छन् भनेर सरकारले पनि नेपाली भाषा खोल्न, प्रवद्र्धन गर्न खुला छुट दिएको थियो

गाई गोठालो स्याहार गरेको मान्छे बुढेसकालमा पनि एकपल्ट गोठ पुगेरै छाड्छ । उसलाई गोठमा पुगेपछि आनन्द आउँछ । गाई बाख्रासँग उसको मन बसेको हुन्छ । मेरा लागि पुस्तक भनेका त्यस्तै कुरा हुन् । नेपाली भाषा, नेपाली जाति र नेपाली साहित्यबाहेक अरु कुरा मलाई उति साह«ो थाहा पनि हुँदैन । नेपाली जातिसँग भेटघाट गर्छु र बाँकी समय लेखनाथ, देवकोटा, पारिजात र राष्ट्रकविहरुसँग बिताउँछु ।

बर्मामा तमुदेखि मेचिनासम्मका नेपाली गाउँघर चाहार्दा सबैले तपाईका गीत–कविता कण्ठ पारेको भेट्यौं । हजारौं व्यक्तिलाई तपाईंका गीत–कविता कसरी याद भयो होला ?

ती भाइबैनाहरुले मैले लेखेका बाहेक अरु पुस्तक पढ्न पाएकै थिएनन् । कठोर सैनिक शासन थियो । नेपाली समाज र नेपाली साहित्यसँग सम्पर्क टुटेको थियो । नेपाली भाषा पढाउँदा मन्दिरभित्र धार्मिक पुस्तक पढाएको जसरी पढ्नु–पढाउनु पर्दथ्यो । बर्मेली भाषाबाहेक अरु सबै किसिममा भाषालाई प्रतिबन्धित गरिएको थियो । यस्तोबेलामा मैले कक्षा १ देखि १० कक्षासम्मका पाठ्यपुस्तक तयार पारेँ । नेपाली दाजु–भाइले गाउने गीत कविताहरु यस्तै अप्ठ्यारो अवस्थामा सिर्जना गरिएका बाध्यताका उपज हुन् ।

कस्तो हुँदोरहेछ भने नेपाली भाषा बोल्नेलाई नेपाली भाषामा गीत गाउन मन लाग्दो रहेछ । यसरी गाउँदा कसैले नेपालबाट ल्याएका लोकगीत गाउँथे । जो यहीँ जन्मिए, हुर्किए, उनीहरुसँग नेपालका लोकगीतहरु उति थिएनन्, उनीहरुका लागि मेरा गीत–कविता नै आफ्नो भाषामा गाउने साधन बन्न गए ।

नेपाली पुस्तक कसरी प्राप्त भए ?

देवनागरि लिपी देख्नु भनेको करिब करिब दुर्लभ थियो । भारततिरबाट नयाँ कपडामा बेरिएर आएका हिन्दी पत्रिका बाहेक हामीले यस्ता लिपी पढ्न पाउँदैथ्यौं । भानुभक्तको रामायण आफ्नो धार्मिक पुस्तक भएका कारण बोक्न छुट थियो, अरु पुस्तक प्रतिबन्धित थिए । नेपालमा आफन्त भेट्न जानेहरुलाई नेपालबाट केही पुस्तक बोकेर आउन आग्रह गर्दथ्यौं । नेपाली दुतावासका कर्मचारीहरुलाई पनि म अनुरोध गर्दथें । तर, दुतावासले पनि सरकारी नीतिभन्दा बाहिर जान मिल्दैनथ्यो । तैपनि जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ कहिले भारतीय राज्य मणिपुरका नेपालीहरुबाट केही पुस्तक प्राप्त भए । केही नेपालबाट आएका नेपालीहरुबाट ।

नेपाली पुस्तकप्रति मेरो कति साहो भोक थियो भने बर्माको दोस्रो ठूलो सहर मान्डलेमा एकजना नेपाली आएको थाहा भयो । उनले तारानाथ शर्माको पुस्तक ‘नेपाली साहित्यको इतिहास’ बोकेर आएको सुनेँ । मेरो पुस्तकप्रतिको भोक सुनाएर मैले उनीसँग पुस्तक मागेँ । तर, उनले पुस्तक दिन मानेनन् । मैले उनलाई पुस्तकमा उल्लेखित मूल्यभन्दा ५ गुणा तिर्छु भनेपछि मात्र उनले त्यो पुस्तक दिए । देवकोटाको मुनामदन, इन्द्रबहादुर राईका केही पुस्तक र विद्यालयस्तरीय पुस्तकहरु पनि मैले यसैगरी किनेर संकलन गरेको हुँ ।

बर्मामा हराइसकेको नेपाली भाषा बचाउनेमा तपाईंको नाम अग्रपङ्तिमा आउँछ । नेपाली भाषा बचाउनुपर्छ भन्ने सोच कसरी आयो ?

सैनिक सरकार आउनुअघि बर्मामा नेपाली भाषा र संस्कृतिको अवस्था निकै राम्रो थियो । पहाडी क्षेत्रमा ठूलो समूहमा नेपालीहरु बस्थे । यही कारण आज पनि बर्मामा ठूला ठूला नेपाली गाउँ देखिन्छन् ।

एक दिन नेपाल फर्कनुपर्छ भन्ने सोच सबैमा थियो । केही बाठा बाहेक धेरैले बर्मेली नागरिकता लिएका थिएनन् । विदेशीसँग विवाह गरे आफ्नो भाषा र संस्कृति मासिन्छ भन्नेमा सबै सचेत थिए । आफ्ना कुरा बिर्सन नदिन १३३ वटा नेपाली र संस्कृतका विद्यालयहरु खुलेका थिए । यो देश गोर्खालीले बचाएका हुन्, यसका लागि धेरै नेपालीले ज्यान दिएका छन् भनेर सरकारले पनि नेपाली भाषा खोल्न, प्रवद्र्धन गर्न खुला छुट दिएको थियो ।

जसै सैनिक सरकार सत्तामा आयो, उसको नीतिले नेपाली मात्रै होइन, यहाँका सबै जनजातिका भाषालाई असर गर्न थाल्यो । सन् १९७५ सम्म आइपुग्दा नेपाली बोल्नेहरुले पनि देवनागरी लिपि बिर्सन थाले । कतिसम्म भने तिहारमा देउसी भैलो खेल्ने केटाकेटीहरु बर्मेली भाषामा धेउसुरे लेखेर भट्याउन थाले । साहित्यिक गतिविधि रोकिँदा नेपाली भाषा तीब्ररुपमा बर्मेलीकरण हुन थाल्यो । नेपाली बस्तीका नेपाली नाम पनि बर्मेलीकरण हुन थाल्यो । सरकारी जागिर खाँदा नेपालीहरुले पनि बर्मेली नाम राख्न थाले । शब्दहरु खुम्चिँदै जाँदा बर्मा भाषामा एक दुई शब्द नेपाली मिसाएर नेपाली बोल्ने अवस्था सिर्जना भयो । यसले गाउँका अगुवाहरुको चिन्ता बढ्यो । उहाँहरु मिलेर नेपाली भाषा बचाऊ अभियान थाल्नुभयो । त्यसमा म सहभागी भएको हुँ ।

अभियान कस्तो थियो ? यसका अगुवा को को हुनुहुन्थ्यो ?

एक भाषा र एक देशको नीति भए पनि सबैलाई आफ्नो धर्म मान्ने छुट थियो । मन्दिर बनाउन र धार्मिक कुरा पढ्न संविधानले रोकेको थिएन । सरकारको यही कमजोरीलाई चिनेर गंगाप्रसाद पोखरेल र गोले लामाले नेपाली भाषा बचाऊ अभियान सुरु गर्न सरकारसँग स्वीकृति लिने अभियान थाल्नुभयो । नेपालीहरु हिन्दु धर्म मान्ने भएकाले सरकार हिन्दु धार्मिक शिक्षण समितिमार्फत पठन–पाठन गर्न सरकारले अनुमति दियो । त्यसको अध्यक्षमा चिन्तामणि गौतम निर्वाचित हुनुभयो । म शिक्षण प्रमुखसहित संस्थाको सदस्य भएर काम सुरु गरेँ । मलाई साथ दिनेमा पुण्यप्रसाद दाहाल हुनुहुन्थ्यो ।

साहित्यकार एवं लेखक ठाकुर गुरागाईं तिनै व्यक्ति हुन्, जसले कठोर सैनिक शासनका बेला बर्मामा स–साना बालबालिकालाई नेपाली भाषा शिक्षण सुरु गरे । बन्द समाज भएका कारण कक्षा १ देखि १० सम्मका नेपाली पाठ्यक्रम हातैले लेखेर तयार पारे

हामीले मन्दिर भएको ठाउँमा धार्मिक शिक्षणभित्र नेपाली भाषा साहित्यको अध्ययन र चिन्तन अभियान सुरु गर्‍यौं । यसका लागि कक्षा १ देखि कक्षा १० सम्म पाठ्यक्रम तयार पार्‍यौं । शिक्षण प्रमुख भएका नाताले मैले कक्षा एकदेखि कक्षा १० सम्मका गीत, कविता, जीवनी तयार पारेको हुँ । मेरो धाउन्न विद्यार्थीहरुले नेपाली अक्षर चिनून् भन्ने मात्र थिएन, उनीहरुले हामीले बोकिराखेर धार्मिक, सामाजिक र सांस्कृतिक चिन्तनलाई बोकेर भविश्यका पुस्तालाई पनि हस्तान्तरण गरुन् भन्ने पनि थियो । मैले त्यसैअनुसार पाठ्यपुस्तक तयार पारेको थिएँ । त्यही अनुसार शिक्षण विधि, शिक्षकलाई तालिम दिने व्यवस्था मिलाएको थिएँ ।

बालबालिकालाई सिकाउन उनीहरुको मनोबैज्ञानिक अवस्था कस्तो छ भन्ने कुरा पनि बुझ्नुपर्ने हुन्छ । पाठ्यपुस्तक तयार पार्दा उमेर अनुसारका पाठ्यपुस्तक कसरी तयार पार्नुभयो ?

बर्मामा खुला शिक्षण पद्दति हुँदा हामीले पारसमणि प्रधानका ‘ठूलो बर्णमाला’बाट नेपाली भाषा पढेका थियौं । त्योबेला उमेर अनुसार ‘सरलबाट जटिलतिर’ सुत्रनुसार उमेर बढ्दै जाँदा भाषा र विषय जटिल हुँदै जान्छ भन्ने कुरा बुझेको थिएँ । त्यही अनुसार मैले पनि पुस्तक लेख्दा कुन उमेरका बालबालिकाले कस्तो भाषा र शब्द बुझ्छन् भन्ने हिसावले लेख्दै गएँ । म पुस्तक लेख्न योग्य त थिइनँ । तर, बर्माभरि नेपालीहरुमा पुस्तक लेख्छु भन्ने आँट गर्ने मानिस अर्को थिएन । लाइसेन्स नलिई पुस्तक लेख्न पनि पाइँदैनथ्यो ।

लेखेको पुस्तकलाई बर्मेली भाषामा अनुवाद गरेर स्थानीयदेखि केन्द्रका शैक्षिक विभागहरुमा बुझाउनुपर्दथ्यो । उनीहरुले रातो चिन्ह लगाएर यो कुरा नराख्नू भनेपछि त्यो हटाउनुपर्दथ्यो । यही कारण पुस्तकमा मैले धार्मिक, नैतिक र हाम्रा सामाजिक मूल्य मान्यतालाई बढी महत्व दिएको थिएँ । आज बर्माका हजारौं नेपाली भाइबैनीहरुले गाउने जागरण गीतहरु मध्ये धेरै गीत मेरो पर्नुको कारण पनि यही हो ।

शिक्षा उड्ने पखेटा हो । तर, संस्कार कता उड्ने भन्ने दिशा दिने ज्ञान हो । पाठ्यपुस्तकले शिक्षा दिने मात्र होइन, नेपाली समाजलाई कता उडाउने भन्ने ज्ञान दिनुपर्छ स्पष्ट हुनुपर्छ भन्ने मेरो मान्यता थियो ।

पाठ्यपुस्तक निर्माण गर्दा वा शिक्षण गर्दा सैनिक सरकारबाट समस्या पर्‍यो कि परेन ?

सुरुमा लाइसेन्स नलिई र सेन्सर नगरी पुस्तक निकाल्न पाइँदैन भन्ने मलाई थाहा थिएन । यसले गर्दा म सोधपुछमा परेको थिएँ । मैले लेख्न लागेको पुस्तक सामाजिक–धार्मिक प्रकृतिको हो भन्ने बुझेपछि उनीहरुले मलाई लाइसेन्स दिए । मैले लेखेका पुस्तकहरुमा कुनै राजनीतिक वा बर्मेली समाजविरोधी होला कि भनेर उनीहरु निकै सचेत देखिन्थे । पछि नेपाली भाषा बचाउनु बाहेक मेरो अर्को उद्देश्य छैन भन्ने बुझेपछि मलाई पुस्तकको स्वीकृति लिन सजिलो भयो । एउटा पुस्तक लेखेपछि मैले २८ ठाउँबाट स्वीकृति लिनुपर्दथ्यो ।

तपाईलाई यहाँको सैनिक सरकारले पक्राउ पनि गर्‍यो कि ?

एकपटक नेपालबाट भानुभक्त चलचित्र बनाउन बर्माका नेपाली समुदायसँग छलफल गर्न आउनुभएका निर्देशक यादव खरेललाई मैले नेपाली गाउँमा घुमाइरहेको देखेपछि सैनिक सरकार सशंकित भएछ । खरेल फर्कनेवित्तिकै सरकारले मलाई पक्राऊ गर्‍यो । तर, नेपाली दूतावासले यादव खरेलको बर्मा आगमनको उद्देश्य गलत नभएको ग्यारेन्टी गरेपछि सेनाले मलाई छाडिदियो ।

सानोमा हामी गोठाले थियौं । बर्मा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु बेलाबेलामा हाम्रो घरमा खाना खान र बास बस्न आउँथे । त्योबेला उनीहरुको बन्दुक बोकेर हामी शिकार खेल्न जान्थ्यौं । एक दिन विद्रोहीलाई आश्रय दिएको आरोपमा हामीलाई पक्राउ गरेको थियो । यो कुरा सरकारी रेकर्डमा रहेछ । एकपल्ट सैनिक सरकारको नजरमा पर्नु भनेको निकै गम्भीर कुरा हो । यस्ता केही घटनाले भने मलाई गहिरो गरी तर्साएका थिए ।

बर्माका नेपाली गाउँघर घुम्दा तपाईंले ५० वर्ष जति नेपाली भाषा साहित्यको सेवा गरेको बुझियो । कमाइ खानुपर्ने व्यक्तिले पूर्णकालीन भएर भाषासेवी हुनु सामान्य कुरा होइन, कसरी सम्भव भयो ?

‘मगौक’ भन्ने पहाडी सहरमा हाम्रो घर थियो । बुवाका एक छोरी र ६ छोरा मध्ये बुवाले मलाई संस्कृत पढ्न र पण्डित बनाउन चाहनुभएको थियो । संस्कृत भाषा पढ्दा पढ्दै म नेपाली भाषाको पाठ्यक्रम र शिक्षणमा लागेँ । बर्माका सबैजसो नेपाली गाउँमा पुगेर पुस्तक पढाउने शिक्षक उत्पादन पनि गरेँ । यसो गर्दागर्दै मेरो विवाह पनि भयो र सन्तानहरु पनि भए । यिनीहरुलाई राम्रो भरणपोषण गर्न गाह्रो भएपछि मेरा शुभचिन्तकहरुले सुरु गरेको ब्यापारमा मलाई नि:शुल्क पार्टनर बनाए । पैसा नलगाइकन उनीहरुले कमाएको रकममध्ये केही प्रतिशत नाफा म पाउँथे । मैले त्यसैगरी स्वास्नी छोराछोरी पालेको हुँ । अहिले दुई छोराले राम्रो कमाइ गर्न थालेका छन् र रंगुनमा राम्रोसँग राखेका छन् ।

नेपालसँगको नाता कस्तो छ ? तपाईका बुबा कति वर्षमा नेपालबाट बर्मा आउनुभएको थियो ?

बुवा बर्मा आउँदा १४ वर्षको हुनुहुन्थ्यो रे । नेपालमा गरीखान दुःख भएपछि गुरागाईंको एउटा परिवार बर्मा आएका हुन् । बाँकी परिवार नेपालमा हुनुहुन्छ । तर, नेपालसँग मेरो मुख्य नाता भनेको भाषा र साहित्य नै हो ।

मेरो घर पहाडको माथिल्लो डाँडोमा थियो । रात परेपछि रेडियोले मधुरो स्वरमा रेडियो नेपाल टिप्दथ्यो । त्यसैलाई मैले नेपालसँग जोडिने नाता बनाएको थिएँ । बासुदेव मुनालका बाल कार्यक्रम र नेपाली लोकगीत सुनेर हुर्किएको हुँ । अलि पछि खर्साङ रेडियो र बंगलादेश स्वतन्त्र भएपछि बंगला नेपाली रेडियोमा नेपाली भाषा सुनेर आफूलाई दुरुस्त बनाएँ । त्यसयता नेपाली भाषालाई नै आफ्नो राष्ट्र सम्झेर त्यसको सेवा गरिरहेको छु ।

मेरी एउटी छोरी असाध्यै मीठो गाउँछिन् । छोराहरु नलेखे पनि नेपाली साहित्य भनेपछि मरिहत्ते गर्छन् । हाम्रो परिवारको नाता भनेको नेपाली भाषा नै हो । देश भनेको माटो मात्र होइन रहेछ भन्ने कुरा हामीलाई महसुस हुन्छ ।

तपाईंका सबैजसो उपन्यासमा बर्मेली नेपाली जनजीवनको चित्रण देखिन्छ । नेपालका विषयमा केही लेख्न मन लाग्दैन ?

नेपालका विषयमा धेरै लेखिएका छन् । बर्मेली नेपालीका विषयमा धेरै कम छन् । त्यसको पूर्ति गर्न सकिन्छ भनेर यताको जनजीवन लेख्छु । आजभोलि पो टेलिभिजन र इन्टरनेटले नेपाललाई नजिक बनायो र नेपाल पनि चिन्न थालियो । नजानेको नेपाल लेख्न सकिने रहेनछ ।

बर्मेली नेपालीहरुको जीवनलाई कस्तो पाउनुहुन्छ ?

बर्माका नेपालीहरु आधा बर्मेली, आधा नेपाली भएर बाँचेका छन् । लामो समयसम्म हामीले नेपाल फर्कने आशामा बितायौं । आज पनि बर्मेली नागरिकता नलिई बस्ने नेपालीहरु हजारौं छन् । उचित समयमा नेपाल फर्कने भन्दै नेपालीहरु कतिसम्म भने नेपाल फर्कनुपर्छ भनेर धेरै नेपालीहरुले आँप र कटहर जस्ता फलका रुख रोपेनन् । आघौँ साल नेपाल फर्कनुपर्छ, रुख किन लगाउने भन्दै धेरैले दशक बिताएका धेरै उदाहरण छन् ।

पछिल्लो पुस्तामा भने नेपाल फर्किने आशा मरेको छ । रेडियो, टेलिभिजनले भनेका समाचारहरु सुन्दा धेरैले नेपालभन्दा यतै ठीक भनेको सुन्छु । नेपालको तुलनामा यहाँ गरी खान सजिलो छ । जग्गाजमिन प्रशस्त छ र निकै सस्तो पनि छ । गरेर खान्छु भन्नेहरुलाई बाँच्न दुःख छैन । पछिल्लो पुस्ताले नेपाली भाषा र संस्कृति बिर्सेलान् भन्ने मात्र चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment