Comments Add Comment

चिउरा र चाउचाउले छाक टार्दै आँधीपीडित

सर्वोच्च अदालतमा 'हिरा' ल्याएँ- प्रधानन्यायाधीश जबरा

२४ चैत, काठमाडौं । आइतबार राजधानीबाट प्रकाशित पत्रिकाहरुले विविध विषयलाई प्रमुख समाचार बनाएका छन् । कतिपयले बारा-पर्साका आँधीपीडितको समस्यालाई प्रस्तुत गरेका छन् । केहीले भने न्यायाधीशहरुको सम्मेलनमा प्रधानन्यायाधीशको भाषणलाई प्रमुख समाचार बनाएका छन् ।

कान्तिपुर दैनिकले बाराको फेटा गाउँपालिकाका आँधीपीडित चटपटेको भरमा जीवन गुजारिरहेको लेखेको छ । ‘सामुहिक मेस बन्द भएपछि हुरी प्रभावित क्षेत्रका बासिन्दा चिउरा, चाउचाउ, बिस्कुट, भुजा खाएर छाक टार्दैछन् । दाल-चामल भए पनि भाँडाकुँडा नहुँदा पकाएर खान पाएका छैनन्,’ कान्तिपुरको समाचारको सार छ ।

कान्तिपुरमा नारायणहिटी राजदरबार क्षेत्रका कागमा बर्डफ्लु देखिएको समाचार पनि छ । यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, सर्लाही र मोरङका केही कुखुरा फार्महरुमा बर्डफ्लु पुष्टि भएको थियो ।

गोरखापत्र दैनिकले बारा र पर्साका हावाहुरी पीडितको पुनर्वासको कार्ययोजना पाँच दिनभित्र तयार हुने समाचार लेखेको छ । जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सहरी विकास मन्त्रालयलाई बुधबारसम्म कार्ययोजना ल्याउन भनेको समाचारमा लेखिएको छ ।

सर्वोच्च अदालतमा ‘हिरा’ ल्याएँ- प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनमा दिएको अभिव्यक्तिलाई नागरिक दैनिकले प्रमुख समाचार बनाएको छ । हालै सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशको चर्को विरोध भइरहेका बेला प्रधानन्यायाधीश जबराले भने ‘हिरा टिपेर ल्याएको’ अभिव्यक्ति दिएका छन् । न्यायपरिषदका अध्यक्षसमेत रहेका जबराले न्यायाधीशबाट निकालिएका पीएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताएका छन् ।

नागरिक दैनिकले ललिता निवास जग्गा प्रकरणको समाचारलाई आजको अंकमा पनि निरन्तरता दिएको छ । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललिता निवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले पनि ललिता निवास जग्गा प्रकरणलाई मुख्य समाचार बनाएको छ । भूमाफियाहरुले सरकारी कर्मचारीलाई प्रभावमा पारेर अर्बौं रुपैयाँ मूल्य बराबरका सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएको पाइएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोष्ट दैनिकले गत मंगलबार बेलुकी नेपाल एयरलाइन्सको दुबई उड्न लागेको हवाई जहाजलाई अन्तिम समयमा उड्न नदिएर यात्रुहरुलाई रातभर हवाई जहाजभित्रै राखिएको प्रसंगलाई मुख्य समाचार बनाएको छ । बेलुकी ९ बजे जहाज चढेका करिब १५० जनालालई भोलिपल्ट बिहान ५ः१५ मा मात्र बाहिर निकालिएको थियो ।

अन्नपूर्णले बाराका आँधी पीडितका लागि सञ्चालन गरिएको मेस बन्द भएको विषयलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा स्थान दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले त्रिभुवन विश्वविद्यालयको बेथितिलाई प्रमुख समाचार बनाएको छ । त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजनाबाट प्राप्त हुने रकम शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै विदेश भ्रमणमा खर्चिएको समाचारमा उल्लेख छ । प्रा.डा. त्रिपाठीले आफ्नो श्रीमान प्रा.डा. रमेशप्रसाद भट्टराईलाई विज्ञ बनाएर परियोजनाका हरेक भ्रमणमा सँगै लैजाने गरेको समाचारमा लेखिएको छ ।

कारोबार दैनिकले प्रतिव्यक्ति आयमा सत्तारुढ नेकपा र सरकारको प्रक्षेपण बाझिएको विषयलाई प्रमुख समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार वाम गठबन्धन (तत्कालीन एमाले र एमाओवादी) चुनावी घोषणापत्रको १० नम्बर बुँदामा १० वर्षभित्र अर्थात् २०८४ सालभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने प्रतिबद्धता छ ।

तर, नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हालै बसेको राष्ट्रिय विकास परिषद बैठकले स्वीकृत गरेको १५ औं योजनाको आधारपत्रमा भने अबको करिब ११ वर्षपछि प्रतिव्यक्ति आय २९ सय डलर पुर्‍याउने उल्लेख छ ।

नेपाल साप्ताहिकले निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई वर्ष व्यक्ति घोषणा गरेको छ । यसैगरी हिमाल साप्ताहिकले बारा र पर्सामा आाधीको विषयलाई नै मुख्य खबर बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment