
२४ चैत, काठमाडौं । सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको छ ।
बेंगलुरुमा भएको खेलमा घरेलु टोली बेंग्लोरलाई ४ विकेटले पराजित गर्दै दिल्लीले जारी आईपीएलमा तेस्रो जित हात पारेको हो । यता बेंग्लोरले भने लगातार छैटौं हार ब्यहोरेको छ । हारसँगै बेंग्लोरको आईपीएलको फाइनल यात्रा कठिन भएको छ भने कप्तान विराट कोहलीकै आलोचना तिब्र भइरहेको छ ।
लिग चरणमा अब बेंग्लोरले ८ खेल खेल्न बाँकी छ । सबै जितेको खण्डमा उसको १६ अंक हुन्छ । तर अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने अवस्था भएको कारण बेंग्लोरको प्लेअफमा पुग्ने सम्भावना गणितीय रुपमा मात्रै बाँकी छ ।
१५० रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले अर्धशतकीय पारी खेले । उनले ६७ रन बनाए । ५० बलमा ८ चौका र दुई छक्का प्रहार गरेका उनले आफ्नो टिमलाई जिततर्फ लगेका थिए ।
त्यस्तै, दिल्लीका लागि पृथ्वी शाले २८ रन बनाउँदा कोलिन इन्ग्राम भने २२ रनमा आउट भएका थिए । दिल्लीको जितमा कप्तान श्रेयस र पृथ्वीले दोस्रो विकेटका लागि ६८ रनको साझँदारी गर्दैै टिमलाई उकासेका थिए । यसअघि दिल्लीका शिखर धवनभने शुन्य रनमा आउट भएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको बेंग्लोरले निर्धातिर २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।
दिल्लीविरुद्ध यहाँ चुक्यो बेंग्लोर
आईपीएलमा १५० रनको लक्ष्य न्युन नै मानिन्छ । १.६ ओभरमा पहिलो विकेटको रुपमा पार्थिव पटेललाई गुमाएसँगै बेंग्लोर दबाबमा आयो ।
एक विकेट सस्तैमा गुमाएको बेंग्लोरले ४० रन हुदा एबी डिभिलियर्सलाई १७ रनमा गुमायो । उनी पनि खराब सर्टकै शिकार बने । तर मोइन अली र विराट कोहलीले ३७ रनको साझेदारी गर्दै पारी सम्हाल्ने कोशिस गरेका थिए । कप्तान विराटले ४१ र मोइन अलीले ३२ रन बनाए ।
बलिङतर्फ रबडाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले २१ रन खर्चिएका थिए । त्यस्तै, क्रिस मोरिसले पनि दुई विकेट लिए । दिल्लीका नेपाली बलर सन्दीप लामिछानेले ४ ओभरमा ४६ रन खर्चेर एक विकेट हात पारे ।
जितपछि दिल्ली लिगको पाँचौ स्थानमा उक्लिएको छ । दिल्लीले ६ खेलबाट तीन खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर लिगको लिगको पाँचौं स्थानमा उक्लिएको हो ।
प्रतिक्रिया 4