Comments Add Comment

रोनाल्डो हात्ती सौराहामा प्रेमिका रोज्दै, ध्रुबे कता हरायो ?

२४ चैत, चितवन । अहिले सौराहाको ज्वाइँ बनेको छ जंगली हात्ती ‘रोनाल्डो’ । यहाँका घरेलु हात्तीको प्रजनन गर्न रोनाल्डो बेला-बेलामा सौराहा आइपुग्छ । अहिले पनि रोनाल्डो सौराहामै छ ।

रोनाल्डो प्रेमिका खोज्दै सौराहा आएको एक हप्ता बढी बित्यो । प्रजनन केन्द्रभित्र जंगली हात्तीलाई प्रजनन केन्द्रभित्र सजिलै प्रवेश दिइएको छ ।

कहिले कुन प्रेमिका त कहिले कुन प्रेमिकासँग मस्ती गर्दैमा उसले सौराहामा ८ दिन बढी बिताइसक्यो । रोनाल्डो ‘ससुराली’ सौराहा छाडेर कहिले फर्किने हो पत्तो छैन ।

सौराहाको हात्ती प्रजनन केन्द्रमा चैत १५ गते आएको रोनाल्डोले डेरा जमाएर बसेको छ । दुई दिन प्रेरणा कली र दुई दिन चितवनकलीसँग रमाएको रोनाल्डोले कमलप्रसादकी आमा गणेशकलीलाई त्यसपछि सहबासका लागि फकाइरहेको छ ।

गणेशकलीले कमलप्रसादलाई जन्माएको पाँच महिना बित्यो । छेउमा कमलप्रसाद खेलिरहेको छ भने, रोनाल्डो उसकी आमा फकाउन प्रयासमा दिनरात लागिरहेको देखिन्छ ।

हात्ती प्रजनन केन्द्रका माहुतेहरूले अन्य हात्तीलाई चराउन दिउँसो जंगल लैजाँदा गणेशकलीलाई भने रोनाल्डोसँगै छाडिदिन्छन् । उसले मन पराएको गणेशकलीलाई चलायो भने रोनाल्डो रिसाउँछ ।

रोनाल्डोकै कारण गणेशकलीको राम्रो स्याहार गर्न माहुतेहरुले पाएका छैनन् । टाढैबाट हात्तीका लागि माहुतेहरुले खानेकुरा दिन्छन् । रोनाल्डो पनि त्यही खान्छ ।

गणेशकली पछि रोनाल्डोले लोकतन्त्रकलीलाई सहबासका लागि पछ्याउने अनुमान माहुतेहरु गर्छन् । लोकतन्त्रकलीले भर्खरै एक महिना अघि छोरा जन्माएको छ ।

लोकतन्त्रकलीले हालै जन्माएको छावा भने धुवे हात्तीको छोरा हो । निकुञ्ज बाहिर आएर वितण्डा मच्चाउँदै दुई दर्जन बढीको ज्यान लिएको ध्रुबेले पनि दुई वर्षअघि लोकतन्त्रकलीसँग सहबास गरेको थियो । त्यही सहबासपछि जन्मिएको छावा अहिले प्रजनन केन्द्रको मुख्य आकर्षण छ ।

उसको सानो छावा उफि्रएर खेलिरहेको देखिन्छ ।

शालीन रोनाल्डो

सौरहामा सहवासका लागि आएको आएको रोनाल्डोले पनि साना छावाहरुलाई कुनै असर पर्ने काम गर्दैन । छावाहरुको खासै वास्ता गर्दैन ।

धुब्रेभन्दा रोनाल्डो धेरै शालीन भएको हात्ती प्रजनन् केन्द्रका कर्मचारी बताउँछन् । रोनाल्डो प्रजनन केन्द्रमा पुगेर नजिकैबाट चर्तिकला हेरिरहेका पर्यटकहरूप्रति खासै प्रतिक्रिया जनाउँदैन ।

यदि रोनाल्डोको ठाउँमा ध्रुबे हुन्थ्यो भने पर्यटकको आगमन नै रोकेर सहवासका लागि छाड्नुपर्ने अवस्था आउने माहुतेहरु बताउँछन् ।

रोनाल्डो ध्रुबेजस्तो उग्र छैन । उसलाई असर पुग्ने गरी केही नगरेसम्म उसले मान्छेलाई लखेट्दैन । जबरजस्त प्रतिक्रिया पनि दिँदैन ।

जंगलमा पोथी हात्ती चराउन जाँदा रोनाल्डोसँग भेट भइहाल्यो भनेपनि मान्छे भएको अवस्थाका उसले जबरजस्तीको अवस्था निम्त्याउँदैन ।

‘रोनाल्डो अरु जंगली भाले हात्तीभन्दा इमान्दार छ रोनाल्डो । रोनाल्डोको ठाँउमा ध्रुबे हुन्थ्यो भने वित्यास पार्थ्यो, ‘ हात्ती प्रजनन केन्द्रका प्रमुख बुधन चौधरी भन्छन्,’यसले त हाम्रो मन नै जितेको छ ।

रोनाल्डो भन्दा ध्रुबे जेठो छ । ध्रुबे हात्ती प्रजनन केन्द्रमा नझुल्किएको ८ महिना जति भयो । प्रमुख चौधरीको भाषामा रोनाल्डो हात्तीहरुबीच सौराहा एरियाको ‘डन’ हो । ध्रुबे पनि रोडाल्डोसँग डराउँछ ।

‘ध्रुबे लाई देख्यो भने रोनाल्डोले आफ्नो क्षेत्रमा टिक्न दिँदैन । सकेसम्म रोनाल्डोका अगाडि पर्दैन ध्रुबे,’ भन्छन् ।

रोनाल्डो निकै बलियो छ, कहिले ठोरी, कहिलो माडी त कहिले अमलटारीतिर पुग्ने गर्छ ।

फुटबलर क्रिष्टियानो रोनाल्डोले मैदानमा जस्तै धेरै सक्रियता देखाएजस्तै छिटो-छिटो विभिन्न ठाउँमा देखा पर्ने भएकाले यसको नाम माहुतेहरुले ‘रोनाल्डो’राखेका हुन् । संयोग पनि हो कि त्यतिबेला विश्वकप फुटबल चलिरहेको थियो र नाम पनि त्यसैबाट प्भावित भएर जुराइएको थियो ।

किन सत्कार गरिन्छ रोनाल्डोलाई ?

हात्ती प्रजनन केन्द्रमा यसै बर्ष मात्रैं ५ वटा हात्तीले छावा जन्माए । त्यसमा ४ वटा भाले छन् भने, एक पोथी । ४ भाले छावामा एक मात्रै पोथी छावा रुद्रकली रमाइरहेको देखिन्छे । आफ्नो माउ छाडेर अन्यत्र साना साना छावासँग रुद्रकली खेल्न रुचाउँछे ।

केन्द्रमा ७ भाले हात्ती र १० पोथी हात्ती छन् ।

धेरैलाई थाहा छैन कि घरेलु हात्तीको प्रजनन जंगली भाले हात्तीबाट मात्रै हुने गरेको छ । प्रजनन केन्द्रमा पालिएका भाले हात्तीले पोथी हात्तीसँग संसर्ग गर्न पाउँदैनन् ।

पोथी हात्ती जंगली हात्तीबाट नै गर्भवती हुन्छन् । चितवन राष्ट्रिय निकुञ्जमा घरेलु भाले हात्ती नभएका होइनन् ।

पालिएका हात्तीबाट स्वस्थ बच्चा नजन्मने र ठूलो र बलियो समेत नहुने हुँदा जंगली हात्तीलाई नै प्रजनन केन्द्रमा सहजै ज्वाईका रुपमा सत्कार गरिन्छ । जंगली हात्ती आउनु प्रजनन केनद्का लागि शुभ कुरा मान्ने गरिन्छ ।

पोथी हात्ती खोज्दै कहिले दिउँसो त कहिले राती आइपुग्छन् जंगली भाले हात्ती । दुई चारदिनसम्म प्रजनन केन्द्रमा राखिएका पोथी हात्ती छानी-छानी संसर्गको प्रयास गर्छन् ।

प्रजनन केन्द्रका अधिकृत बुधन चौधरीका अनुसार घरलु भाले हात्तीलाई संसर्गमा लगाउँदा उच्च दबावका कारण क्षयरोग लाग्ने समस्या पनि हुन्छ । जंगली हात्तीले जस्तो घरलु भाले हात्ती सहबासका लागि धेरै आकांक्षा पनि देखाउँदैनन् । उनीहरुलाई काममा नै बढी व्यस्त बनाइन्छ ।

पहिले थाइल्याण्डबाट ल्याएर पालिएको बीरेन्द्रप्रसादसँग प्रजनन गराउने गरिन्थ्यो । बीरेन्द्रप्रसाद क्षयरोग लागेर मर्‍यो । त्यसपछि पालिएका भाले हात्तीबाट प्रजनन् गराउने काम गरिएको छैन ।

हाल चितवन रष्ट्रिय निकुञ्जको आफ्नै निकुञ्जका ५६ हात्ती छन् । कोशी टप्पुबाट ल्याइएका ५ हात्ती पनि छन् ।

प्रजनन केन्द्रमा अहिलेसम्म ४८ वटा छावा जन्मिईसकेका छन् । ती मध्ये २ वटा छावा मात्र घरपालुवा हात्ती बीरेन्द्रप्रसादबाट जन्मिएको हो । बाँकी सबै जंगली हात्तीबाट प्रजनन भएको केन्द्रका शाखा अधिकृत चौधरीले जानकारी दिए ।

ध्रबे हात्तीको श्रीमती र छोरा ।

निकुञ्जका तीन ज्वाइँ

प्रजनन केन्द्रका तीनवटा ज्वाइँ छन् । रोनाल्डो, ध्रुबे र गोविन्दे ।

यी तीनै पालैपालो पोथी हात्तीसँग सहवासका लागि आउने गर्छन् । गोविन्दे रोनाल्डो भएकै बेलामा समेत आउँछ भने, ध्रुबे आउँदैन ।

माहुतेहरुको भनाइमा ध्रुबे र रोनाल्डोको दुस्मनी छ । ‘ध्रुबेलाई देख्यो भने रोनाल्डोले लखेटेर कसरा क्षेत्रसम्म पुर्‍याउँछ र आफू फर्किएर आउँछ,’ चौधरी भन्छन् ।

शारीरक आकारमा रोनाल्डो भन्दा ध्रुबे नै ठूलो छ । यी तीनमध्ये गोविन्दे सबैभन्दा कान्छो छ । गोविन्दे र रोनाल्डोको मिल्ती छ । गोविन्देले समेत प्रजनन् केन्द्रका हात्तीलाई गर्भवती बनाएको छ ।

गोविन्दे, रोनाल्डो र ध्रुबे आउनुअघि केन्द्रमा नाना पाटेकर र रोमियो नामा जंगली हात्ती आउँथे । रोमियो केही बर्षअघि मर्‍यो भने नाना पाटेकर बेपत्ता छ ।

जंगलमा ध्रुबेभन्दा ठूलो दारा नभएको ‘मकुना’ हात्ती पनि छ । त्यो अहिलेसम्म केन्द्रमा प्रजननका लागि आएको छैन । मकुना जंगली हात्तीको ग्रुपमा हिँड्छ । त्यही ग्रुपबाट रोनाल्डो छुट्टएिर यता आएको केन्द्रका शाखा अधिकृत वुधन चौधरीले बताए ।

मकुनाले रोनाल्डो र ध्रुबेको दारामा समाएर सजिलै पर्छान सक्छ । मकुना अन्य हात्तीसँग भुल्दा रोनाल्डो नै केन्द्रको ‘बडे ज्वाइँ’ बनेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा गरी ४० देखी ५० वटा जंगली हात्ती रहेको अनुमान छ ।

गण्डकीकली र पृथ्वीकली गर्भवती

हात्ती गभर्वती भएको २२ देखि २४ महिनामा ब्याउने गर्छन् । गर्भवती हात्तीलाई भने भाले हात्तीले केही वास्ता नै गर्दैन । भाले नखोजेको पोथी हात्ती भाले हात्तीले संसर्ग प्रयास गर्दा खुट्टा जोडेर बस्छ ।

अहिले केन्द्रमा गण्डकीकली र पृथ्वीकली गर्भवती छन् । आउने मंसिर/पुसमा सुत्केरी हुनेछन् । सौराहाको सिमसारकली पनि गर्भवती छ ।

प्रजनन केन्द्रमा गत बर्ष चारबटा हात्ती ब्याएका थिए । जीवनकालमा १०/११ पटकसम्म हात्ती ब्याउने गर्छन् । अहिले केन्द्रमा ७ वेत ८ वेत ब्याएका हात्ती पनि छन् ।

प्रायः जसो हात्तीले एक मात्रै छावा जन्माउँछ । तर, कहिलेकाँही जुम्ल्याहा छावासमेत पाउने गरेको केन्द्रका प्रमुख चौधरीले बताए ।

तर, जुम्ल्याहा मध्ये कान्छो लक्ष्मणलाई भने बचाउँन मुस्किल हुने चौधरीले बताए ।

१०/११ बर्षको भएपछि हात्तीको छावा प्रजनन योग्य बन्छन् । पोथी हात्ती गर्भवती भएपछि त्यस हात्तीलाई प्रजनन केन्द्रमा ल्याएर स्याहार सुसार गर्नुका साथै भेली र चामलको खीर, चना लगायतका पोसिलो खाना खुवाउने गरिन्छ । हात्तीलाई दैनिक १५ केजी धान, २५ ग्राम नुन लगायत आहारा दिने गरिएको केन्द्रका शाखा अधिृकत चौधरीले बताए ।

प्रजनन केन्द्रमा के भयो ?

चितवन राष्ट्रिय निकुञ्जले वन तथा वन्यजन्तु व्यवस्थापनसँगै संरक्षणका लागि पनि हात्ती पाल्दै आएको छ । अहिले हात्ती प्रजनन् केन्द्रमा २२, कसरामा ६, ठूलो हात्तीसार सौराहामा ११, प्यारीढाप, अमृते पोष्ट, बेल्सर, सिसुवार, बगई, सुकीभार, बाघमारा, टाइगरटप्स, खोरिया, नवलपुरको गिधापोष्ट, दिव्यपुरीमा दुई-दुई हात्ती राखिएको छ । लामिचौरमा एक हात्ती राखिएको छ ।

विसं ०४० कै दशकमा नेपालले भारतलाई चारवटा गैंडा उपहार दियो । त्यसवापत नेपाललाई भारतले १६ वटा हात्ती दिएको थियो । भारतले ११ पोथी ५ भाले हात्ती दिएको थियो । तिनै हात्ती पालेर चितवनमा हात्ती प्रजनन केन्द्र स्थापना गरिएको हो । निकुञ्जमा हात्ती राख्ने क्रम विसं २०४२ सालबाट सुरु भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको रामपियारी नामक ढोईलाई स्वर्गीय राजा वीरेन्द्रको कोशीटप्पु भ्रमणको बेला चितवनबाट लगिएको थियो । कोशीटप्पुमै गणेश नामको जंगली हात्ती घुम्ने गर्दथ्यो । सो बेला रामपियारी त्यही गणेश भन्ने हात्तीबाट गर्भिणी भएर चितवन फर्किएको चौधरीले जानकारी दिए ।

रामपियारीले ०४४ कार्तिक २५ गते एक छावा जन्माएकी थिई । त्यसको नाम चितवनकली राखियो । त्यो नै चितवनको प्रजनन केन्द्रमा  जन्मिएको पहिलो हात्ती थियो ।

तालिम प्राप्त हात्तीहरूको सहयोगमा चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैँडा, बाघ र अन्य दुर्लभ वन्यजन्तुको संरक्षणको लागि हात्तिमै चढेर गस्ती गर्ने गरिएको छ ।

हात्ती प्रजनन केन्द्रमा जन्मिएर हुर्केका हात्तीका छावालाई तालिमपछि देशका अन्य निकुञ्जहरूमा पठाइने गरिएको छ । अहिले केन्द्रमा ४ वर्ष ५ महिनाको चम्पाकलीलाई तालिम दिइरहेको छ । तीन बर्ष पुग्दा नपुग्दै तालिमका लागि पठाउने गरिन्छ ।

हात्ती प्रजनन् केन्द्र अहिले स्वदेशी तथा विदेशी पर्यटकहरुको आर्कषणको केन्द्र बनेको छ । मासिक झण्डैं ४ हजार पर्यटक केन्द्रमा आउने गरेका छन् ।

नेपाली विद्यार्थीसँग २०, नेपाली साधारणसँग ३० र विदेशीसँग ५० रुपैयाँ टिकट शूल्क लिने गरिएको छ । केन्द्रका ३८ जना कामदार कर्मचारी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment