+
+

आधा घण्टा खुलेर बन्द भयो ओपीडी, चिकित्सक निजी क्लिनिकमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १७:५२

२७ चैत, विराटनगर । बुधवार बिहान कोशी अञ्चल अस्पतालमा बिरामीको चाप थियो । बिरामीहरु डाक्टरसँग स्वास्थ्य जाँच गराउन टिकट काट्ने लाइनमा थिए ।

आधा घण्टासम्म बहिरंग सेवा (ओपीडी)को टिकट पनि वितरण भयो । तर एकाएक पूर्जा वितरण रोकेर ओपीडी सेवा बन्दको जानकारी गराइयो । उपचारका लागि पुगेका सेवाग्राही अलमलमा परे । डाक्टरहरु पनि निस्किए ।

चिकित्सक समायोजनको विरोधमा आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले बुधवार कोशी अञ्चल अस्पतालको ओपीडी सेवा ठप्प पारे ।

सोमबार र मंगलबार काठमाडौंका अस्पताल बन्द हुँदा विराटनगरको अञ्चल अस्पतालमा भने डाक्टरले बिरामी जाँचेका थिए । तर बुधवार सरकारी चिकित्सक संघले बन्द गरिएपछि सेवाग्राहीहरु अलमलमा परेका थिए ।

‘हामीले बिरामी हेर्ने भनेर ओपीडी खोलेका थियौ’ कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेल भन्छन्, ‘सरकारी डाक्टरहरु आएर बन्द गराइदिनुभयो ।’ प्रशासनले बिरामी हेर्नका लागि ओपीडी खुला गरे पनि डाक्टरहरुले बन्द गराएपछि बिरामीलाई इमरजेन्सी मार्फत सेवा प्रदान गरिएको पोखरेल बताउँछन् ।

विहान आधा घण्टा ओपीडी पूर्जा वितरण गरे पनि सरकारी चिकित्सकले अववरोध गरेका थिए ।

कोशी अञ्चल अस्पतालमा कार्यरत अधिकांश चिकित्सकको अस्पताल चोकमा क्लिनिक छ । अस्पतालमा ओपीडी बन्द गराएका चिकित्सकहरु अस्पताल चोक आसपास खुलेका क्लिनिकमा बिरामी हेर्न पुगे ।

ओपीडी पूर्जा थमाएपछि सेवा बन्द गराएका चिकित्सकहरु निजी क्लिनिकमा काम गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् । ‘म पुग्दा चिकित्सकहरु अस्पतालबाट निस्किदै थिए’ उनले भने ‘सरकारी अस्पतालको ओपीडी बन्द गरेर डाक्टर क्लिनिकमा दिनभरी बिरामी हेरे ।’ उपचारका लागि आएका सेवाग्राही डाक्टरको आन्दोलनको शिकार बनेको उनको भनाइ छ ।
क्लिनिकमा बसे कारवाही गर्नुहोस्

बुधबार ओपीडी बन्द गराएर चिकित्सक क्लिनिकमा पुगेका थिए । अफिस समयमा क्लिनिकमा काम गर्न नमिल्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पोखरेल बताउँछन् ।

अस्पतालको समयमा क्लिनिकमा काम गरेको पाइए कारवाही गर्नुपर्ने उनको भनाइ छ । ‘२ बजेसम्म अस्पतालको सेवा गर्नुपर्छ,’ उनी भन्छन् ‘९ बजेअघि र २ बजेपछि बस्न पाइयो तर अफिस टाइममा क्लिनिकमा बसे भने कारवाही गर्न पाइयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?